२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
विचार

जल अनिश्चयको भुमरीमा मधेस

हालै मधेसमा निम्तिएको पानी संकट चर्चाको शिखरमा छ। खासगरी धानखेती गर्ने यो समयमा नियमित मनसुनी वर्षा नभएका कारणले यो चर्चा चुलिएको हो। सरकारको मधेस विपद्को तीन महिने घोषणासँगै अब के गर्ने? भन्ने बहस बाक्लिँदै गएको छ। खासगरी यो बहस चुरे दोहन र बढ्दो जलवायु परिवर्तनले निम्त्याएको पानी–चक्रको अनिश्चयसँग जोडिएको छ। यो स्वाभाविक बहस हो। यस्ता बहस विगतमा पनि नभएका होइनन् तर यी बहस अन्त्यहीन र निष्कर्षविहीन बनेका छन्। यस पटक पनि त्यस्तै भयो भने अचम्म मान्नुपर्ने केही छैन।

मधेस आधुनिक कालखण्डको सुरुदेखि धेरै दृष्टिले दोहन र उत्पीडनको चेपमा छ। यसबाट मुक्त हुन सघर्ष गरिरहेको मधेसमाथि थपिएको यो विपद्को भारी तत्कालै बिसाउने र भविष्यमा यो भारीबाट थिचिनु नपर्ने स्थायी समाधानको उपाय खोजी गर्नुपर्ने बेला हो। यस्ता बेलामासमेत उत्ताउला माग, अर्ति र आदेशका खहरेले यो बहस फेरि अल्मलिएको छ। फेरि पनि यिनै बहसका खहरेको भेलमा बगेर मधेसले लिनुपर्ने बाटो बिराउने खतरा बढ्दै गएको छ।

यसको सुरुवात ५०० डिप बोरिङ धसेर जमिनमुनीको पानी तान्ने र मधेसमा आजको भोली जलबहार ल्याउने राज्य प्रमुखको घोषणा र यसै क्रममा गरिएका उर्दीका कारण सुरु भएको छ। माथिल्लो सतहको पानीको पुनर्भरणको दीर्घकालीन सोचविना यो भण्डार रित्तिएर तल्लो सतहमा पुग्नुपरेको अवस्थालाई बेवास्ता गरेर गरिएको यो घोषणा मधेसलाई सधैंका लागि मरुभूमि बनाउने यात्रा हो। सतहमुनिको पानी पुनर्भरणको सामान्य ज्ञानको समेत हेक्का नराखी दिइएको उर्दीले यसैतर्फ इंगित गर्छ।

मधेसको घना जंगल र यसको मलिलो माटो, तत्कालीन शासकको आँखामा परेर सुरु भएको यसको दोहन र उत्पीडनको यात्रा विकासे हुन गरिएको समग्र प्रकृतिको उत्ताउलो विनाशसँगै थप दोहन र उत्पीडनमा परेको छ।

खासगरी मधेसको जीवनबाहिनी चुरे क्षेत्रको दोहन, अहिले अपनाइएको खेती प्रणाली र जलवायुमा आएको परिवर्तनले पानी–चक्रमा परेको प्रभाव नै अहिलेको मधेसको पानी संकटका कारक हुन्। यिनलाई सच्याउने दूरदृष्टिविना यो समस्याको समाधान हुँदैन।

पहिलो, चुरे दोहनको शृंखलावद्ध अभियानले चुरे क्षेत्रमा पानीको पुनः भण्डारण नभएको धेरै वर्ष भइसकेको छ। चुरेक्षेत्रको वन फडानी गरी बसाइका अव्यवस्थित बस्ती, यहाँ अपनाइएको खेती प्रणालीसँगै स्रोत दोहन गरी समृद्धि भित्र्याउन गरिएको गिटी बालुवाको निकासी जानेर वा नजानेर मधेसमा पानी संकट ल्याउने प्रमुख कारण हुन्। यो गल्ती सच्याउन बेलाबेलामा आवाज उठे पनि निहित स्वार्थको साँघुरो गल्लीमा भट्केका नेतृत्वले यसको गम्भीरतालाई कहिल्यै स्वीकार गरेनन्।

त्यसैले कागजमा दुरुस्त चुरे संरक्षण कार्यक्रमले पैसाको खोलो पानी सरह बगाए पनि यहाँको पानी जोगाउन सकेन। चुरे दोहनले सतहमुनि पानी भण्डारण हुन नसकेको चुरे क्षेत्रमा पानीको मुहान फुट्न सकेको छैन। धेरै खोलाखोल्सामा हिउँदमा पानी नभएको वर्षौं भइसकेको छ। परिणामतः जमिनको सतहमुनि जानुपर्ने पानी आफ्नै सतह बगाउँदै मधेसमा इहलिला मच्चाइरहेको छ।

माथिल्लो तटीय क्षेत्रमा बालुवा भरिएको छ भने छ भने तल्लो तटीय क्षेत्र डुवानमा पर्ने गरेको छ। चुरे दोहनले मधेसमा परेको दीर्घकालीन प्रभाव हो। यसको संभावित जोखिमको समयमै आँकलन गरेर चुरे बचाउने अठोट गर्न नसकेको सरकार सतहका गिटी बालुवामा आँखा लगाउँदै यसैलाई बेचेर समृद्धि सपना बाँड्न उद्यत् छ। सँगै यही चुरेमा भण्डार भएर विस्तारै मधेसको पैतालामुनि जम्मा भएको पानी र नियमित वर्षाले भरिभराउ रहेको जमिनमुनिको पानीमा भरपर्ने कुराले आज यो संकट बेहोर्नु परेको हो। यी भण्डार सुरक्षित भएको भए यो तहको संकट आउने थिएन।

चुरे मासेर मधेसको जीवनबाहिनी नसा काटेको काठमाडौंलाई धेरैले धारे हातलगाए तर यसलाई सच्याउने पहल गर्नुभन्दा गर्भमा रहेको पानी तान्न मै गर्व गर्न हौस्याए। अहिले पनि चुरे र मधेसको तल्लो सतहमा रहेको पानी ५०० त के २००० डिप बोरिङ गरेर पनि नसकिने जिकिर गर्दै चुरे बचाउनेभन्दा यसैको दोहन गर्न उक्साउने विकासे अतिवादी जमात कुतर्कको पुलिन्दा खोलिरहेको छ।

पृथ्वीको गर्भमा पानी छ यसमा दुई मत छैन तर यो पुनः भण्डारण अवरुद्ध भएर सतहको पानीको चक्रीय प्रवाह बिथोलिएर तल्लो तहमा पुग्नुपरेको कुरा बिर्सनुहुँदैन। माथिल्लो सतहको पानीचक्र बिथोलिए खेती प्रणालीमा पर्ने प्रभावको यो हचुवा तर्कसँग कुनै साइनो छैन।

नियमित वर्षा भएन भने मधेसको लागि आवश्यक पानी कहाँ जोगिएला? यो मूल प्रश्न हो। त्यो पानी हामीले अपनाउने खेती प्रणाली र चुरे संरक्षणको गर्भमा छ। एकीकृत खेतीपाती अपनाएर हामी जुनसुकै बेलाभएको वर्षालाई वर्षैभरि उपयोगी बनाउन, जमिनमुनि भण्डारण गर्न र चाहिएको बेला निकाल्न सक्छौं। चुरे मधेसको वर्षैभरिको पानीको स्रोत हो।

चुरे नै अहिलेसम्म मधेसको कृषि धान्ने जीवनबाहिनी हो भन्ने कुरा बिर्सेर मधेसको खेतीपाती जोगाउन सकिँदैन। तसर्थ चुरे संरक्षण गरेर मधेसले माथिल्लो तटीय क्षेत्रमा पानी जतन गर्न सक्छ। यो नै अनिश्चय बन्दै गएको वर्षा र पानीको अभाव झेल्ने पानी बन्दोबस्त गर्ने उपाय हो।

दोस्रो, मधेसलाई अन्न भण्डारको भाष्यमा अलमल्याएर थोपरेको सम्म मैदानी हरित कृषि क्रान्तिको ललिपपमा लोभिएर यसको आफ्नै मौलिक एकीकृत खेती प्रणालीलाई तिलान्जली दिइयो।

अहिलेको विज्ञान र प्रविधिको विवेकसम्मत उपयोग गर्नुको साटो रसायन र विषादीमा आधारित खेतीको उक्साहटमा आफ्नो पुर्खाकोे पानीको बन्दोबस्त गर्ने परम्परागत विवेकलाई बिर्सेको अवस्था छ। जलवायु संकटसँगै बढेको पानीको अनिश्चियसँग जुध्न प्रकृतिसम्मत कृषि विवेक थप उन्नत बनाएर फर्काउनुपर्नेछ।

तेस्रो, विश्वव्यापी रूपमा बढेको तापक्रमको असर मधेसमा बढी रहेको संकेतलाई समयमै कसैले वास्ता गरेन। अझै पनि यो विवेक फर्केको छैन। मधेस अन्य मैदानी क्षेत्र जस्तै तातो बढेको तर चिसोको सीमावर्ती क्षेत्र चुरेसँगै रहेको छ। यसले मधेसमा पानी पार्ने हावाको चाप बन्न सकेन। यो अहिलेको मौषममा बढेको तापक्रम र यसका प्रभावका कारण उत्पन्न मौषमी परिस्थिति हो। यही जलवायुको अवस्थामा अब यो मौषममा तापक्रम घट्ने नजिकको कुनै सम्भावना छैन। तसर्थ चुरे बचाउने र कृषि वन प्रणाली फेरेर जमिनलाई धेरै तातो हुन नदिने, माटोलाई खुकुलो बनाएर परेको पानी जमिनमुनि जान सक्ने बनाउने र माटोमा पानी बचत गर्ने विधि र प्रविधि अपनाएर मात्र अब पानीको अनिश्चय सम्बोधन गर्न सकिन्छ।

वर्षाको अनिश्चितता र मौषमी पानी–चक्रमा आएको फेरबदलसँगै हामी सबैले पानीलाई खास समयमा आकाशतिर हेर्ने परम्परागत दृष्टिकोण नै फेर्नुपर्ने भएको छ। अहिलेसम्म यसबारे धेरै सोच्न परेको थिएन। त्यसैले अहिले पनि यो यथार्थले हामीलाई गिज्याए जस्तो लाग्छ तर अलिकति गम्भीर भएर सूक्ष्म विश्लेषण गर्ने हो भने यो फेरबदलको चित्र सजिलै देख्न सकिन्छ। वर्षा समय घर्केको, छिटफुट भएको, हिउँदमा पानी नपरेको धेरै भइसक्यो। यस्तो किनभयो? भनेरसँगै विचार गर्‍यो भने तापक्रम वृद्धिसँगै जोडिएको देखिन्छ।

पानी–चक्रमा आएको फेरबदल र अनिश्चितता सम्बोधन गर्न स्थान विषेशमा यसको मसिनो लेखाजोखा भइनसके पनि पानीविना जैविक प्रक्रिया हुँदैन भन्ने कुरामा कुनै द्विविधा छैन। पानीको अभावमा मानिस मात्र होइन सबै जीव बसाइँसराइ गर्न बाध्य हुन्छन्। यसले समग्र जैविक प्रक्रिया खल्बलिन्छ। पानी घट्दै जाँदा हाम्रो आफ्नै खानाको बन्दोबस्तमा पर्ने दूरगामी प्रभाव त अहिलेकै संकटबाट समेत आँकलन गर्न सकिन्छ।

यसरी हेर्दा मधेसमा पानी संकट निम्त्याउन चुरे दोहन र अहिलेको खेती प्रणाली जिम्मेवार छ भने यसको धार बलियो बनाउन जलवायु परिवर्तनले पाइनको काम गरेको छ। यसले बढाएको तापक्रमको असर मधेसको मनसुनीवर्षामा देखिएको छ। यो कुको भेदपाउन मनसुनी वर्षाको प्रकृति र यसमा आएको फेरबदलको विज्ञानमा घोत्लिनुपर्ने हुन्छ। सामान्यतया वर्षा हावाको न्यूनचापमा रहेको बादलमा चिसो हावा पसेपछि हुने गर्छ। अहिले मधेस क्षेत्रको जमिन धेरै तातेको अवस्थामा पानी पर्नुको सट्टा बादल फाट्ने प्रक्रिया भएको छ। यसले मधेससँगै रहेको चुरे क्षेत्रमा केही पानी पर्दासमेत मधेसमा पानी पर्न सकेको छैन। अनपेक्षित तापक्रम वृद्धि जलवायुमा आएको परिवर्तनको कारण हो। यसलाई सच्याउन दीर्घकालीन रूपमै स्थानीय स्तरमा तापक्रम घटाउने उपाय अवलम्बन गर्नुपर्छ। यो हरित क्षेत्र बढाएर मात्र सम्भव छ। यसका लागि कृषिवनको एकीकृत प्रणाली एक मात्र उपाय हो।

यी सबै कुराले मधेसको समग्र जैविक प्रणालीमा गडबडी आएको छ र यो थपिने क्रम जारी छ भन्ने देखाउँछ। अहिले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि गरिएका माग, सुझाइएका अधिकांश उपाय र यसका लागि दिइएको आश्वासनले यो समस्या समाधान हुने भन्दा थप जटिल बनाउने देखिन्छ। मनसुनी वर्षा हुन नसकेको परोक्षकारण रहेका यी दुवै समस्या समाधानका उपाय होइनन्। मूलतः यसले मधेसको कृषि प्रणाली थप तहसनहस हुँदै जाने र पानीको समस्या झन् विकराल हुन्छ।

यो समस्यालाई सम्बोधन गर्न सघाउनुपर्ने सरकार र यसका विज्ञले सुझाएका थोरै उपाय कामचलाउ र धेरै अर्थमा उल्टा छन्। डिप बोरिङ जस्तो आकस्मिक सेवालाई नै उपचार कक्ष बनाइको छ भने कतिपय अहिले भइरहेका असफल अभ्यास गर्न सुझाइएका अर्ति र आदेश छन्। मधेसको पानी भण्डारको घैंटो र्फोने मति फेरेर चुरेको पानी भण्डारको जतन र वितरण गर्ने र खेतीपातीलाई प्रकृतिसम्मत बनाएर अहिलेका जोखिम सम्बोधन गर्ने सोच अहिलेको आवश्यकता हो।

यसलाई पानी–चक्रमा आएको महत्त्वपूर्ण फेरबदलको रूपमा लिएर मधेसको कृषि तथा खाद्य प्रणालीको दृष्टिकोण र ढाँचामा तत्कालै फेरबदल गर्नुपर्ने भएको छ। खेतीपातीका साथै विकासका अन्य आयामलाई प्रकृतिसम्मत दिगो विकासको दृष्टिकोण र ढाँचा पुनर्निर्माण गर्न आवश्यक देखिएको छ। यसका लागि विकासको दृष्टिकोण र ढाँचा, स्थानीय पर्यावरणीय विशेषता, पानी–चक्र, कृषिजैविक विविधताको बुझाइलाई उन्नत बनाउँदै प्रभावकारी नीतिगत हस्तक्षेप बढाउन सबै तहमा उच्चनैतिक बल चाहिएको छ।

प्रकाशित: २५ श्रावण २०८२ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %