आधुनिक सभ्यताको सबैभन्दा गहिरो अनुभव अस्थिरता हो। रोजगारी, सम्बन्ध, पहिचान, राज्य, विचार र नैतिकता सबै तरल छन्। प्रसिद्ध लेखक जिग्मुन्ट बाउमनले यस अवस्थालाई तरल आधुनिकताको नाम दिएका छन्, जहाँ कुनै पनि संरचना दीर्घकालीन रूपमा स्थिर रहँदैन र व्यक्ति निरन्तर अनिश्चितताको अवस्थामा बाँच्छ (बाउमन २०००)। यो अनुभव आधुनिक मात्र होइन, महाभारत र उपनिषद्ले पनि यस्तै अवस्थालाई ‘अनित्य संसार’का रूपमा हजारौं वर्षअघि नै दार्शनिक व्याख्या गरिसकेका छन्।
बाउमनका अनुसार आधुनिक समाजमा संस्थागत स्थायित्व विघटन भएको छ। राज्य, परिवार र समुदायजस्ता संरचनाले व्यक्तिलाई दीर्घकालीन सुरक्षा दिन सकेका छैनन्। मानिस स्वतन्त्र देखिन्छ तर त्यही स्वतन्त्रताले उसलाई असुरक्षित बनाएको छ (बाउमन २०११)। यही द्वन्द्व महाभारतको मूल चेतना हो।
महाभारतका अनुसार राज्य स्थायी छैन, शक्ति क्षणिक छ र सम्बन्ध समयसँगै रूपान्तरित हुन्छन्। भीष्मजस्ता आजीवन ब्रह्मचारी र धर्मनिष्ठ पात्र पनि समय र परिस्थितिको बन्धनबाट मुक्त रहन सकेनन्। यस अर्थमा बाउमनको तरल आधुनिकता महाभारतको राजनीतिक र नैतिक यथार्थसँग संरचनागत रूपमा समान छ।
जिग्मुन्ट बाउमन एक प्रसिद्ध पोलिस–ब्रिटिस समाजशास्त्री र दार्शनिक हुन्। उनले तरल आधुनिकता सिद्धान्त प्रतिपादन गरेका छन्। यसमा उनले आधुनिक समाज कसरी अस्थिर, लचिलो र निरन्तर परिवर्तनशील छ भनेर वर्णन गरेका छन्। जहाँ सम्बन्ध, पहिचान र संस्थाहरू ठोसभन्दा तरल छन्, सधैं बगिरहेका र परिवर्तनशील रहेको बताएका छन्। यसले सुरक्षा र स्थिरताको भावनालाई कमजोर बनाउँछ भनेर तरल आधुनिकताको व्याख्या गरेका छन्।
तरल आधुनिकता: यो जिग्मुन्टको सबैभन्दा प्रसिद्ध विचार हो। यस विचारले आजको समाज, पहिलेको समयका ठोस, स्थिर समाजहरूभन्दा फरक र निरन्तर परिवर्तन भइरहेको छ भनेको छ। तरल आधुनिकतामा जसरी पानी तरल र निरन्तर परिवर्तनशील छ, त्यसैगरी आजको समाजमा केही पनि स्थायी छैन भनेर व्याख्या गरेका छन्।
तरल प्रेम: सम्बन्धहरूमा पनि यस्तै अस्थिरता छ। यस्तो सम्बन्धमा प्रतिबद्धता कम र परिवर्तन बढी छ।
तरल भय: आधुनिक जीवनमा अनिश्चितता र असुरक्षाको भावना बढ्दै गएको छ।
तरल जीवन: जीवनका सबै पक्षमा पहिचान, समुदाय र काममा पनि यही अस्थिरता देखिन्छ। बाउमनले यो सिद्धान्तमार्फत कसरी विश्वव्यापीकरण र उपभोक्तावादले हाम्रो जीवनलाई अनिश्चित र क्षणिक बनाएको छ भन्ने बुझाएका छन्। तरल आधुनिकताले हामीलाई कहिल्यै स्थिर महसुस हुन दिँदैन। निरन्तर परिवर्तन भइरहने अवस्थालाई उनले ‘तरल’ भनेका छन्।
उपनिषद्ले संसारलाई अनित्य र असार भन्छ। ‘यद् अनित्यम् तद् दुःखम्’ अनित्य संसारमा दुःख हुन्छ भन्ने भनाइले स्थायित्वप्रतिको आशक्तिलाई दुःखको मूल कारण ठहर गरेको छ। अहिलेका मानिसले पनि यही गल्ती दोहोर्याइरहेको देखिन्छ।
मानिसले अस्थिर संसारमा स्थायित्व खोज्छ र नपाउँदा मानसिक थकान र चिन्तामा फस्छ। बाउमनले समाजशास्त्रीय भाषामा जे कुरा अस्थिरताको रूपमा वर्णन गरेका छन्, त्यही कुरा उपनिषद्ले आध्यात्मिक चेतनाको स्तरमा व्याख्या गरेको देखिन्छ। यहाँ समस्या अस्थिरता होइन, समस्या स्थिरताको भ्रम हो (टेलर, १९८९)।
महाभारतको दृष्टिमा धर्म पनि स्थायी नियम होइन। धर्म परिस्थिति, समय र उत्तरदायित्वसँग परिवर्तन हुन्छ। यसै कारण कृष्ण अर्जुनलाई निश्चित नियम होइन, विवेकको मार्ग सिकाउँछन्। आधुनिक चिन्तनमा जिजेकले देखाएको विचारधाराको आलोचना पनि यहीं पुग्छ। मानिसले नियम, व्यवस्था र नैतिकता स्वतः सत्य ठान्छ तर ती संरचनाले अन्याय लुकाउन सक्छन् (जिजेक, २००८)।
कौरव–सभामा द्रौपदीमाथि भएको अन्याय वैधानिक देखिए पनि नैतिक थिएन। आधुनिक कानुनी राज्यमा पनि यही अवस्था दोहोरिएको देखिन्छ, जहाँ वैधता र न्यायबिचको दुरी बढ्दै गएको छ।
बाउमनको तरल समाजमा सम्बन्धहरू पनि अस्थायी हुन्छन्। मानिस दीर्घकालीन प्रतिबद्धताबाट त्रसित हुन्छ किनभने उसले भविष्यमा विकल्प खुला राख्न चाहन्छ। महाभारतमा सम्बन्धहरू स्थायी देखिए पनि अन्ततः धर्म र कर्तव्यले तिनलाई पुनर्परिभाषित गरेको देखिन्छ। कर्णको जीवन यसको उदाहरण हो। जन्म, मित्रता र निष्ठा स्थिर देखिए पनि अन्ततः सत्य र विवेकसँग ठोक्किँदा ती सबै प्रश्नको घेरामा पर्छन्। यसले तरलता आधुनिकताको विकृति नभएर जीवनको मौलिक यथार्थ हो। यसलाई वैदिक दर्शनले पनि स्वीकार गर्दै त्यसैसँग जीवन जिउने कला सिकाएको छ।
उपनिषद्को आत्मदर्शनले तरल संसारमा आत्मालाई स्थायी केन्द्रका रूपमा प्रस्तुत गरेको छ। बाह्य संसार परिवर्तनशील भए पनि चेतनाको केन्द्र स्थिर रहन्छ भन्ने धारणा आधुनिक चिन्तनमा दुर्लभ छ। चाल्र्स टेलरले आधुनिक पहिचान संकटको मूल कारण नै ‘नैतिक क्षितिजको अभाव’ भनेका छन् (टेलर १९८९)। उपनिषद्ले यही क्षितिज देखाएको छ। आत्मबोधले व्यक्ति अस्थिर संसारमा पनि आन्तरिक सन्तुलन कायम राख्न सक्छ।
यसरी हेर्दा आधुनिक चिन्तकहरूले औंल्याएका समस्याहरू नयाँ होइनन्। नयाँ त भाषा र सन्दर्भ मात्र हुन्। महाभारत र उपनिषद् आधुनिकताको विरोधी नभएर वैकल्पिक आधुनिकताका मूल स्रोत हुन्। जहाँ आधुनिकताले बाह्य संरचनामा समाधान खोज्छ, त्यहाँ वैदिक दर्शनले आन्तरिक चेतनामा खोज्छ। यी दुवै दृष्टिकोणको संवादबाट मात्र समग्र आधुनिकता सम्भव हुन्छ।
तसर्थ तरल आधुनिकता र अनित्य संसार एउटै यथार्थका दुई स्वरूप हुन्। बाउमनले समाजको अस्थिरता देखाउँछन्। महाभारतले त्यसको नैतिक परिणाम देखाउँछ। यस्तै उपनिषद्ले त्यसबाट मुक्तिको चेतनादायक मार्ग देखाएका छन्। यही त्रिवेणीबाट वैकल्पिक आधुनिकताको दर्शन जन्मिन्छ। यसले अस्थिर संसारलाई अस्वीकार नगरी विवेकपूर्वक स्वीकार गर्न प्रेरित गर्छ।
ढोँगीसमाज, मानसिक थकान र गीता–उपनिषद्को कर्मबोध
थकित समाजको पुनर्व्याख्या: आधुनिक सभ्यताले बाह्य दमनभन्दा आन्तरिक दबाबलाई प्रमुख मानेको छ। ब्युंग–चुल हानले यस अवस्थालाई ढोँगी समाज र थकित समाज (बर्नआउट सोसाइटी) को रूपमा विश्लेषण गरेका छन्। यस्तो समाजमा व्यक्ति स्वयं आफ्नो शोषक बन्छ (हान, २०१५)। आजको मानिसलाई कसैले जबरजस्ती काम गराउँदैन; ऊ स्वयं बढी काम गर्न, बढी देखिन, बढी उपलब्धि हासिल गर्न बाध्य भएको महसुस गर्छ। यही निरन्तर आत्म–दबाब आधुनिक मानसिक थकान, चिन्ता र अवशादको मूल कारण हो।
हानका अनुसार आधुनिक शक्ति नकारात्मक होइन सकारात्मक छ। ‘तिमी सक्छौ’ भन्ने सन्देश प्रेरणा जस्तो देखिए पनि अन्ततः मानिसलाई कहिल्यै सन्तुष्ट हुन नदिने चक्रमा फसाउँछ (हान, २०१७)। यो अवस्था भगवद्गीतामा वर्णित राजस र तामस कर्मसँग गहिरो रूपमा मेल खान्छ। गीताका अनुसार कर्म आफैं बन्धन होइन, कर्मप्रतिको आशक्ति र अहंकार नै बन्धन हो। आधुनिक मानिस कर्ममा होइन, फल र पहिचानमा जकडिएको छ।
महाभारतमा अर्जुनको दिक्दारी (विषाद) आधुनिक थकानको प्रतीक जस्तै देखिन्छ। युद्ध गर्नु उसको कर्तव्य हो तर चेतनाको थकानले उसलाई अकर्मण्य बनाउँछ। कृष्णले अर्जुनलाई काम बढाउन होइन, कर्मबोध परिवर्तन गर्न सिकाउँछन्। ‘निष्काम कर्म’ आधुनिक ढोँगी समाजको प्रतिपक्ष हो। हान जहाँ विश्लेषण गर्न रोकिन्छन्, त्यहीं गीताले समाधान दिन्छ।
उपनिषद्ले मानिसको थकानलाई शारीरिक वा मानसिक मात्र मान्दैन। यो अविद्याको परिणाम हो। व्यक्तिले आफूलाई शरीर, उपलब्धि र सामाजिक छविसँग मात्र चिन्न थालेपछि ऊ निरन्तर असन्तुष्ट रहन्छ। ‘नायमात्मा बलहीनेन लभ्यः’ भन्ने उपनिषदीय वाक्यले आत्मा शक्ति होइन, सन्तुलनबाट प्राप्त हुन्छ भन्ने स्पष्ट गर्छ। आधुनिक थकान शक्ति अभाव होइन, आत्मबोध अभाव हो।
समष्टिमा आत्मज्ञान (आत्माको ज्ञान) शारीरिक रूपमा कमजोर, लापरवाह वा बाह्य तपस्या गर्नेहरूले होइन बुद्धिमान, बलवान (आध्यात्मिक रूपमा), एकाग्र र इमानदार प्रयास गर्ने विद्वान्हरूले प्राप्त गर्छन्।
हानले आधुनिक समाजमा विश्रामसमेत उत्पादनको हिस्सा बनेको देखाएका छन्। उनका अनुसार योग, ध्यान र आफ्नै हेरविचार पनि उपलब्धि सूचीकै हिस्सा हुन्छन् भनेका छन्। महाभारत र उपनिषद्मा भने विश्राम उद्देश्य होइन, अवस्था हो। वनवास, मौनता र तपस्या ढोँग होइन, विवेकको साधना हुन्। यही अन्तरले आधुनिक सजगता र वैदिक ध्यानबिच दार्शनिक भिन्नता देखाउँछ।
चाल्र्स टेलरले आधुनिक समाजमा ‘अर्थको क्षय’ भएको उल्लेख गर्छन् (टेलर, १९८९)। मानिस धेरै गर्छ तर किन गर्छ भन्ने बोध हराउँछ। गीता यही प्रश्नबाट सुरु हुन्छ - कर्तव्य के हो र किन हो? हानको थकित समाज अर्थहीन कर्मको परिणाम हो तर गीता अर्थयुक्त कर्मको दर्शन हो।
नेपालजस्तो समाजमा यो द्वन्द्व अझ स्पष्ट छ। वैदेशिक रोजगारी, प्रतिस्पर्धी शिक्षा र डिजिटल प्रदर्शन संस्कृतिले युवालाई निरन्तर सक्षम भएको प्रमाणित गर्न बाध्य बनाएको छ। कर्म धेरै छ तर सन्तोष कम। गीतादेखि उपनिषद्को कर्मबोधसम्मले यहाँ वैकल्पिक आधुनिकताको मार्ग देखाउँछन् -जहाँ काम जीवनको मूल्य हो, जीवन कामको उपकरण होइन।
चुल हानले आधुनिक थकानको संरचनागत यथार्थ देखाएका छन्। गीता र उपनिषद्ले त्यसको चेतनात्मक उपचार प्रस्ताव गर्छन्। ढोँगी समाजले व्यक्तिलाई थकाउँछ, निष्काम कर्मले व्यक्तिलाई मुक्त गर्छ। यही अन्तरले आधुनिकता र वैदिक दर्शनबिचको गहिरो संवाद सम्भव बनाउँछ।
-तिमल्सेना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन्।
प्रकाशित: ३० पुस २०८२ ०८:५७ बुधबार

