विश्व अर्थतन्त्रको शक्ति सन्तुलन पछिल्ला केही दशकयता क्रमशः एसियातर्फ सर्दै गएको छ। विशेषगरी चीनले हासिल गरेको अभूतपूर्व आर्थिक तथा प्रविधिगत प्रगतिले विश्वलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ। एक समय सस्तो श्रमशक्तिमा आधारित उत्पादन केन्द्रका रूपमा परिचित चीन आज विश्वको प्रमुख नवप्रवर्तन, अनुसन्धान तथा उच्च प्रविधि विकास गर्ने राष्ट्रका रूपमा स्थापित भइसकेको छ। यस्तो अवस्थामा चीनको विकास यात्राको अध्ययन र त्यसबाट प्राप्त अनुभवहरूको विश्लेषण नेपालजस्ता विकासोन्मुख राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ।
हालै चीन सरकार तथा चीन महिला महासंघको आयोजनामा विज्ञान, प्रविधि, डिजिटल नेतृत्व र क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो। यस क्रममा बेइजिङ, सेन्जेन तथा अन्य अत्याधुनिक औद्योगिक तथा प्रविधि केन्द्रहरूको अवलोकन गर्दा चीनको विकासको वास्तविक आधारबारे प्रत्यक्ष रूपमा बुझ्ने अवसर मिल्यो। बाहिरबाट हेर्दा चीनको सफलता विशाल जनसंख्या, ठुलो बजार वा बलियो उत्पादन क्षमतामा आधारित देखिए पनि यसको गहिरो आधार भने शिक्षा, अनुसन्धान, नवप्रवर्तन, प्रविधि विकास र अनुशासित कार्यसंस्कृतिमा रहेको स्पष्ट अनुभूति भयो।
विशेषगरी ग्वाङ्डोङस्थित विश्वस्तरीय प्रविधि कम्पनीहरूको भ्रमण अत्यन्त प्रेरणादायी रह्यो। त्यसमध्ये क्लक चिप डिजाइन तथा उच्चस्तरीय सिग्नल–चेन समाधान विकास गर्ने एक अग्रणी कम्पनीको अवलोकनले चीनको प्रविधि आत्मनिर्भरता नीति कति सुदृढ छ भन्ने कुरा स्पष्ट गरायो।
सन् २००५ मा स्थापना भएको उक्त कम्पनीले आज चिप डिजाइनदेखि एल्गोरिदम विकास, मोड्युल निर्माण र अन्तिम उपकरण उत्पादनसम्मको सम्पूर्ण प्रविधि प्रणाली आफ्नै देशभित्र विकास गर्ने क्षमता हासिल गरेको छ। यो केवल एउटा कम्पनीको सफलता होइन, चीनले निर्माण गरेको दीर्घकालीन राष्ट्रिय रणनीतिको प्रतिफल हो।
चीनले विगत केही दशकदेखि अनुसन्धान तथा विकासमा निरन्तर लगानी गर्दै आएको छ। विश्वका विकसित राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नका लागि उसले विज्ञान र प्रविधिलाई राष्ट्रिय प्राथमिकताको विषय बनायो। परिणामस्वरूप आज चीन उच्च गतिको डाटा सञ्चार, कृत्रिम बुद्धिमत्ता, स्मार्ट उपकरण, अटोमोबाइल इलेक्ट्रोनिक्स, औद्योगिक नियन्त्रण प्रणाली, डिजिटल पूर्वाधार तथा सटिक मापन प्रविधिजस्ता क्षेत्रमा विश्वकै अग्रणी राष्ट्रमध्ये एक बनेको छ। यस सफलताका पछाडि अनुसन्धान र विकासमा गरिएको दीर्घकालीन लगानी तथा नवप्रवर्तनप्रतिको दृढ प्रतिबद्धता रहेको देखिन्छ।
चीनको विकास मोडलले विश्व समुदायलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ– राष्ट्रको समृद्धि केवल प्राकृतिक स्रोत, भौगोलिक अवस्था वा जनसंख्याले निर्धारण गर्दैन, ज्ञान, सिप, अनुसन्धान र प्रविधिले नै दीर्घकालीन समृद्धिको आधार निर्माण गर्छ। चीनले विश्वविद्यालय, उद्योग र सरकारबिच सशक्त सहकार्यको वातावरण सिर्जना गरेको छ। विश्वविद्यालयमा विकसित हुने अनुसन्धान उद्योगसम्म पुग्छ, उद्योगले त्यसलाई उत्पादनमा रूपान्तरण गर्छ र सरकारले आवश्यक नीति तथा पूर्वाधार उपलब्ध गराउँछ। यही त्रिपक्षीय सहकार्यले चीनलाई विश्वको उत्पादन केन्द्रबाट नवप्रवर्तन केन्द्रमा रूपान्तरण गरिरहेको छ।
नेपालका लागि चीनको अनुभव अझ बढी सान्दर्भिक देखिन्छ। नेपालसँग प्राकृतिक स्रोत, युवा जनशक्ति र उद्यमशीलताको सम्भावना प्रशस्त छ। तर ती सम्भावनालाई आर्थिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक नीति, अनुसन्धान संस्कृति र प्रविधिमैत्री वातावरण अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन। आज पनि उच्च शिक्षाका धेरै संस्थाहरू अनुसन्धानभन्दा सैद्धान्तिक शिक्षामा केन्द्रित छन्। उद्योग र विश्वविद्यालयबिचको सम्बन्ध कमजोर छ। अनुसन्धानबाट उत्पादन र उत्पादनबाट बजारसम्म पुग्ने प्रभावकारी प्रणालीको अभाव देखिन्छ।
नेपालले चीनबाट सिक्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण पाठ भनेको दीर्घकालीन सोचको विकास हो। विकास केवल पाँच वर्षे योजनाले सम्भव हुँदैन। त्यसका लागि दशकौंसम्म निरन्तरता पाउने राष्ट्रिय दृष्टिकोण आवश्यक पर्छ। चीनले शिक्षा, विज्ञान र प्रविधिलाई राष्ट्र निर्माणको केन्द्रमा राखेर नीति निर्माण गर्यो। परिणामस्वरूप आज विश्व अर्थतन्त्रमा उसको प्रभाव उल्लेखनीय रूपमा बढेको छ। नेपालले पनि राजनीतिक परिवर्तनभन्दा माथि उठेर शिक्षा, अनुसन्धान, डिजिटल रूपान्तरण र प्रविधि विकासलाई राष्ट्रिय सहमतिका विषय बनाउन आवश्यक छ।
यस यात्राको अर्को महत्त्वपूर्ण पक्ष महिला नेतृत्व र आर्थिक सशक्तीकरणसँग सम्बन्धित थियो। चीनले महिलालाई केवल सामाजिक विकासका सहभागीको रूपमा मात्र होइन, आर्थिक परिवर्तनका प्रमुख साझेदारका रूपमा स्थापित गरेको छ। डिजिटल सिप, सूचना प्रविधि, उद्यमशीलता, नेतृत्व विकास तथा नवप्रवर्तनका क्षेत्रमा महिलाको उल्लेखनीय सहभागिता देख्न सकिन्छ। महिलाहरू प्रविधि कम्पनीको नेतृत्वदेखि अनुसन्धान संस्था र डिजिटल व्यवसायसम्म सक्रिय भूमिकामा रहेका छन्।
नेपालका सन्दर्भमा यो अनुभव अझ महत्त्वपूर्ण छ। नेपाली महिलाहरूले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आए पनि प्रविधि र डिजिटल उद्यमशीलतामा उनीहरूको सहभागिता अपेक्षाकृत कम छ। ग्रामीण क्षेत्रका महिलाहरू अझै डिजिटल पहुँच, वित्तीय साक्षरता तथा प्रविधि सिपबाट वञ्चित छन्।
नेपालले महिलालाई डिजिटल सिप, उद्यमशीलता प्रशिक्षण, प्रविधिमैत्री वित्तीय पहुँच तथा नेतृत्व विकासका अवसर उपलब्ध गराउन सक्यो भने आर्थिक विकासमा उनीहरूको भूमिका अझ प्रभावकारी बन्न सक्छ।
त्यसैगरी नेपालका युवाहरूलाई प्रविधिसँग जोड्नु आजको अपरिहार्य आवश्यकता हो। विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको छ। कृत्रिम बुद्धिमत्ता, डाटा विज्ञान, साइबर सुरक्षा, सफ्टवेयर विकास, रोबोटिक्स तथा डिजिटल उद्यमशीलताजस्ता क्षेत्रहरू भविष्यका आर्थिक अवसरका प्रमुख स्रोत बन्न गइरहेका छन्। नेपाली युवाहरूलाई यी क्षेत्रमा आवश्यक सिप, प्रशिक्षण र अवसर उपलब्ध गराउन सकियो भने उनीहरू रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने शक्तिका रूपमा विकसित हुन सक्छन्।
स्टार्टअप इकोसिस्टमको विकास पनि नेपालका लागि महत्त्वपूर्ण विषय हो। चीनले हजारौं नवप्रवर्तनशील कम्पनीहरूलाई अनुसन्धान अनुदान, लगानी पहुँच, कर सहुलियत तथा पूर्वाधार उपलब्ध गराएर विश्वस्तरीय कम्पनीहरू जन्माएको छ। नेपालले पनि युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने, नवप्रवर्तनलाई संरक्षण गर्ने र अनुसन्धानमा आधारित व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्छ। यसले स्थानीय समस्या समाधानका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादन तथा सेवाहरू विकास गर्न मद्दत पुर्याउनेछ।
स्थानीय उत्पादनलाई विश्व बजारसँग जोड्ने रणनीति पनि उत्तिकै आवश्यक छ। डिजिटल प्रविधिको प्रयोगमार्फत साना तथा मझौला उद्यमहरूलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच दिलाउन सकिन्छ। कृषि, हस्तकला, पर्यटन तथा सेवा क्षेत्रका नेपाली उत्पादनहरूलाई डिजिटल प्लेटफर्ममार्फत विश्व बजारसम्म पुर्याउने सम्भावना अत्यन्त ठुलो छ। यसका लागि डिजिटल पूर्वाधार, अनलाइन भुक्तानी प्रणाली तथा अन्तर्राष्ट्रिय बजार पहुँच सहज बनाउने नीति आवश्यक छ।
चीनको अनुभवले एउटा स्पष्ट सत्य उजागर गर्छ– राष्ट्रको भविष्य उसको युवाशक्ति, महिलाशक्ति, शिक्षा र प्रविधिमा गरिएको लगानीले निर्धारण गर्छ। कुनै पनि राष्ट्र रातारात विकसित हुँदैन। त्यसका लागि दूरदर्शी सोच, प्रभावकारी कार्यान्वयन, निरन्तर लगानी र नवप्रवर्तनप्रतिको प्रतिबद्धता आवश्यक पर्छ। चीनले यही मार्ग अवलम्बन गरेर विश्वको प्रमुख आर्थिक तथा प्रविधि शक्तिका रूपमा आफूलाई स्थापित गरेको हो।
नेपालसँग पनि समृद्धिको अथाह सम्भावना छ। आवश्यक कुरा त्यो सम्भावनालाई सही दिशामा परिचालन गर्ने इच्छाशक्ति र दीर्घकालीन रणनीति हो। आजको विश्वमा प्रविधि केवल विकासको साधन मात्र होइन, राष्ट्रको प्रतिस्पर्धात्मक शक्ति पनि हो। त्यसैले नेपालले अब शिक्षा, अनुसन्धान, डिजिटल पूर्वाधार, नवप्रवर्तन र प्रविधिलाई विकासको केन्द्रबिन्दुमा राख्दै समृद्ध नेपालको यात्रालाई तीव्रता दिनुपर्छ। यही बाटोले नेपाललाई आत्मनिर्भर, प्रतिस्पर्धी र समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर गराउन सक्छ।
प्रकाशित: १७ असार २०८३ ०६:५३ बुधबार

