२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
विचार

नेतृत्व र नैतिकता

कुनै पनि देशको जागृत इच्छाशक्तिका लागि नेतृत्वसँग कस्तो नैतिक पुँजी छ? कस्तो आदर्श छ? भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण हुन्छ। भन्ने, गर्ने र देखिनेमा अन्तर छ कि छैन? यो अहम् प्रश्नलाई मिहिन तरिकाले विश्लेषण गर्नुपर्छ।

इतिहास अत्यन्तै क्रूर शिक्षक हो- यसबाट शिक्षा नलिनेहरूलाई यसले कठोर दण्ड दिन्छ। राष्ट्रिय जोस र स्वाभिमानका लागि नेतृत्वको राजनीतिक संस्कार निर्णायक हुन्छ। नेताहरू भिडबाट हाँकिनु हुँदैन, उनीहरूले लोकरिझ्याइँको मोहबाट पनि आफूलाई जोगाउन सक्नुपर्छ।

क्षणिक ठट्टा गर्ने ध्येय राखेर नेतृत्वले प्रमाणहीन र हावादारी भनाइ राख्दा तुष्टि होला तर त्यसले नेतृत्वप्रतिको विश्वास गुमाउँछ। त्यो विश्वास गुमेपछि दण्ड केवल पार्टीले होइन, सम्पूर्ण देशले भोग्नुपर्छ। हरेक राष्ट्रको राष्ट्रिय प्रतिबद्धता संविधानले निर्धारण गर्छ।

 शक्तिपृथकीकरणको सिद्धान्तले शासन प्रणालीमा शक्ति सन्तुलनको संयन्त्र बनाउँछ। न्यायिक र अर्धन्यायिक निकायहरूले स्वतन्त्र रूपमा काम गर्न पाएका छन्, छैनन्? - यही मानकले राष्ट्रिय चरित्र कोर्छ। हामी यही मानकमा आफ्नै देशलाई नियालौं। हालसालै सरकार र अदालतले हाम्रो दल र प्रशासनिक भ्रष्ट मानसिकता उजागर गरिदियो। यसले नेतृत्वको नैतिक धरातल कति खस्किएको छ भन्ने यथार्थ बाहिरिएको छ।

आदर्श नेतृत्व खोइ?

नेल्सन मन्डेलाले सत्तामा रहँदा रंगभेदविरुद्ध लड्दै समानता र मेलमिलापको सन्देश दिए। रंगभेद विरुद्धको लडाइँमा २७ वर्ष जेल परेका मण्डेलाले कहिल्यै गोरा जातिसँग बदलाको भाव राखेनन्। सत्ताको दुरूपयोग नगरी सधैं विनम्र र जनतासँग जोडिएको व्यवहार प्रदर्शन गरे।

सत्तामा दोहोरिएनन्। भारतका दोस्रा प्रधानमन्त्री लालबहादुर शास्त्री सामान्य जीवनशैलीका लागि विश्वप्रसिद्ध छन्। उनले सधैं साधारण खादीको कुर्था–पाइजामा लगाए। विलासी जीवनलाई पूर्ण रूपमा अस्वीकार गरे। प्रधानमन्त्री हुँदा पनि उनको परिवार सामान्य घरमा बस्थे। सरकारी सुविधाको दुरूपयोग गरेनन्। उनकी पत्नी ललिताले घरको खर्च चलाउन ऋण समेत लिनुपरेको थियो तर शास्त्रीले सरकारी कोष प्रयोग गरेनन्।

सन् १९६५ को भारत–पाकिस्तान युद्धको समयमा खाद्यान्न संकट हुँदा उनले आफू र आफ्नो परिवारलाई ‘हप्तामा एक दिन उपवास’ बस्न आह्वान गरे। यो नियम आफ्नै घरबाट सुरु गरेर जनतालाई प्रेरित गरे। शास्त्रीले सरकारी गाडीको सट्टा साधारण सवारी प्रयोग गरे। उनले व्यक्तिगत प्रयोगका लागि कार किन्दा बैंकबाट ऋण लिएका थिए। मृत्युपछि पत्नी ललिताले त्यो ऋण तिरिन्।

कम्युनिस्ट नेता

कम्युनिस्टहरूमा एकातर्फ रुमानियाका चाउसेस्कु जस्ता विलासी र भ्रष्ट शासक पनि थिए भने अर्कातर्फ आदर्श नायक पनि।

भ्लादिमिर लेनिन र माओ त्से–तुङ दुवै कम्युनिस्ट क्रान्तिका विश्वप्रसिद्ध नेता हुन्। उनीहरूले सिद्धान्तलाई देशको सन्दर्भमा लागु गरे। लेनिनले रुसी क्रान्ति सोभियत संघको स्थापना गरे, भने माओले चिनियाँ क्रान्ति। लेनिनले व्यक्तिगत जीवनमा साधारण जीवनशैली अपनाए। उनले साधारण लुगा (प्रायः टोपी र कोट) लगाउँथे र साधारण खाना खान्थे। सत्तामा पुगेपछि पनि उनको परिवार क्रेमलिनस्थित साधारण अपार्टमेन्टमा बस्थ्यो। उनले सरकारी सुविधाको न्यून प्रयोग गरे।

निर्वासनको समयमा (स्विट्जरल्यान्ड, फ्रान्स) मा पनि उनले साधारण जीवन बिताए  माओ त्से–तुङले विचारलाई चिनियाँ सन्दर्भमा ढालेर ‘माओवाद’ विकास गरे र किसान–केन्द्रित क्रान्ति, सामूहिकता र सांस्कृतिक क्रान्तिलाई जोड दिए। ‘लङ मार्च’को समयमा उनले सैनिक र किसानसँगै कठिनाइ बाँड्दै साधारण खाना खाए, साधारण लुगा लगाए र युनानमा कम्युनिस्ट आधार क्षेत्रमा रहँदा गुफा–घरमा बसे। सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना भएपछि राज्यको प्रमुख पात्र भएकाले पनि माओको जीवनशैलीमा केही परिवर्तन त आयो, तर उनको निवास साधारण नै थियो। सांस्कृतिक क्रान्तिको समयमा माओले फेरि साधारण जीवनशैली अपनाए।

हो चि मिन्ह (१८९०–१९६९), भियतनामका क्रान्तिकारी नेता, कम्युनिस्ट विचारक र राष्ट्रपति (१९४५–१९६९) सादगी, जनताप्रति समर्पित, र सामान्य जीवनशैलीका लागि प्रख्यात छन्। उनले भियतनाम स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्दै फ्रान्सेली उपनिवेशवाद तथा अमेरिकी हस्तक्षेपविरुद्ध लडेर भियतनामलाई एकताबद्ध गरे।

सत्तामा रहँदा पनि सादापन र जनतासँगको निकटताले उनलाई विश्वभर आदर्श नेताको रूपमा स्थापित गर्‍यो। उनले सधैं खाकी वर्दी, साधारण खानालाई प्राथमिकता दिए। राष्ट्रपति हुँदा पनि उनी हानोइस्थित साधारण काठको घरमा बसे, विलासी सुविधा अस्वीकार गरे। उनले आफूलाई ‘हो चि मिन्ह’ (प्रकाश ल्याउने) भन्दा पनि ‘बा’ (बुबा) वा ‘काका हो (अंकल हो)’ भनेर सम्बोधन गर्न रुचाए।

होसे अलोबेर्टो ‘पेपे’ मुहिका (१९३५–१३ मे २०२५) उरुग्वेका ४० औं राष्ट्रपति थिए। उनी पूर्व गुरिल्ला लडाकु, राजनीतिज्ञ र किसान थिए। उनलाई विश्वभरिका ‘सबैभन्दा गरिब राष्ट्रपति’ को रूपमा चिनिन्छ। पेपे राष्ट्रपति हुँदा पनि आफ्नी पत्नीको सानो फार्महाउसमा बस्थे। उनले आफैं पुरानो भोक्सवागन बिटल कार चलाउँथे।

उनले आफ्नो तलबको ९० प्रतिशत गरिब र सामाजिक कार्यमा दान गर्थे। उनको साँघुरो घरमा कुनै विशेष सुविधा थिएन। उनले आफूलाई ‘राष्ट्रपति’ भन्दा ‘किसान’ को रूपमा चिनाउन रुचाए। पेपेले उरुग्वेमा सामाजिक सुधारलाई जोड दिए। गरिबी निवारणका कार्यक्रमहरूले उनको शासनकालमा उरुग्वेले सामाजिक समानता र आर्थिक स्थिरता प्राप्तिका क्षेत्रमा उल्लेख्य प्रगति गर्‍यो। उनी ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनका प्रतीक थिए। उनको व्यावहारिक दृष्टिकोणले सबै पक्षबाट सम्मान प्राप्त ग¥यो।

हाम्रै छिमेकी देश भारतमा सत्तामा पुगेका केही कम्युनिस्ट नेताहरूले पनि सादगी र सामान्य जीवनशैलीका कारण उल्लेखनीय परिचय बनाए। उनीहरू सत्ताको उपयोग, व्यक्तिगत वैभव र विलासिताबाट टाढा रहने प्रयास गरे। सबैमा यो गुण नहुन सक्छ तर केही प्रख्यात नेताहरूको सामान्यपनाले उनीहरूलाई जनतामाझ विशेष बनाएको देखिन्छ।

ज्योति बसुः भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का वरिष्ठ नेता, पश्चिम बंगालका मुख्यमन्त्री थिए। उनलाई एक पटक प्रधानमन्त्रीको प्रस्ताव पनि आयो तर पार्टीको आन्तरिक किचलोले अवसर गुम्यो। बसुले सधैं साधारण जीवनशैली अपनाए। उनी कोलकातामा साधारण घरमा बसे। महँगा सवारी र विलासी जीवनबाट टाढा रहे। लामो कार्यकालमा पश्चिम बंगालमा भूमि सुधार र ग्रामीण विकासमा महत्त्वपूर्ण योगदान गर्न सफल भए।

माणिक सरकारः माणिक त्रिपुराका मुख्यमन्त्रीको रूपमा लगातार २० वर्ष पदमा रहे। उनले चुनावी बकपत्रमा जम्मा एक हजार ११० रूपैयाँ मात्र नगद भएको उल्लेख गरेका थिए भने मुख्यमन्त्रीबाट बाहिरिँदा केही हजार मात्रै बैंक व्यालेन्स थियो। उनी भारतमा सबैभन्दा लामो समय सेवा गर्ने मुख्यमन्त्रीमध्ये एक हुन्। उनले आफ्नो सम्पूर्ण तलब पार्टीमा दान दिन्थे र पार्टीबाट सामान्य भत्ता लिन्थे। उनको नाममा कुनै निजी घर वा कार थिएन। उनले अत्यन्त सादा जीवन जिए। पत्नी विष्णु सरकार पनि सरकारी शिक्षिका थिइन्। उनीहरू साधारण जीवन बिताउँथे। माणिक सरकार सामान्य फ्ल्याटमा बस्थे। मुख्यमन्त्री हुँदा पनि सरकारी गाडी निश्चित नियमअनुसार मात्र प्रयोग गर्थे। राजीनामापछि पनि उनले कुनै बङ्ला वा विशेष सुविधा लिएको प्रमाण छैन।

बिट मार्दै गर्दा

राजनीतिमा आदर्शको शक्ति भनेको नैतिकता, सत्य, निष्ठा र जनताप्रति समर्पणमा आधारित मूल्यहरूले नेतृत्व र समाजलाई सकारात्मक दिशामा डोर्‍याउने क्षमता हो। आदर्शले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर समाजको हितमा काम गर्न प्रेरित गर्छ।

यो शक्ति दीर्घकालीन परिवर्तन र सामाजिक एकताको आधार बन्छ। कथनी र करनी अर्थात् भन्ने, गर्ने, र हुनेमा के–कति समानता छ? को कति वास्तविक वा आदर्शवादी छ? को पाखण्डी र भावनाको शिकार छ? जनताले छुट्याइरहेका हुन्छन्। विचार, भूमिका, र मान्यता फरक–फरक हुन सक्छन् तर नेताहरूको भूमिकाले त्यस समयको राजनीति र सामाजिक सोचमा कस्तो प्रभाव पार्‍यो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।

राजनीति सेवा र आदर्शभन्दा व्यवसाय बनेपछि समाज र युगको प्रेरक नेतृत्व बन्न सक्दैन। आदर्शको कमीले भ्रष्टाचार र अविश्वास निम्त्याउँछ। पछिल्ला दशकहरूमा नेपालको राजनीतिलाई उदाहरण मान्न सकिन्छ। सत्तामा रहँदा पनि सामान्य रहने शासकहरू सत्ताको शक्ति र वैभवमा लिप्त नभई जनताको जीवनशैली र आवश्यकतासँग जोडिएर रहन्छन्। यस्ता शासकहरू विलासिता र अहंकारबाट टाढा रहन्छन्। व्यवहारमा पारदर्शिता, र नैतिकता कायम राखेर जनताको विश्वास जित्छन्।

सत्तामा रहँदा सामान्य रहने शासकले नैतिकता, र जनताप्रति जवाफदेही भएर नेतृत्व गर्छन्। यस्ता नेताहरू नै नायक ठहरिन्छन्। एउटा मात्रै व्यक्तिको भूमिकाले सिंगै मुलुक जागृत इच्छा शक्ति बन्न पुग्छ। यस्ता नेतृत्वले मात्र समाजमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्छन् अरू त पानीका फोका जस्ता हुन्, जसले इतिहासको एक पातो पनि ओगट्न सक्दैनन्।  

प्रकाशित: २२ श्रावण २०८२ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App