नेपालको इतिहासमा भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले देशलाई गहिरो संकटमा धकेलेकोप्रति कोही अनभिज्ञ छैन। यो आन्दोलनले केवल भौतिक सम्पत्तिको मात्र विनाश गरेन, बरु नेपाली समाजको नैतिक, सांस्कृतिक र आध्यात्मिक आधारलाई पनि नराम्रोसँग प्रश्नचिह्न लगायो। पहिलो दिन सरकारको अत्यधिक बल प्रयोगले १९ जनाको ज्यान गयो, सयौं घाइते भए।
दोस्रो दिनको हिंसा, आगजनी र लुटपाटले संघीय संसद् भवन, सर्वोच्च अदालत, जिल्ला अदालतहरू, निजी घरहरू र व्यापारिक प्रतिष्ठानहरू खरानीमा परिणत भए। यो घटनाले कुल गार्हस्थ उत्पादनको करिब आधा (३१ खर्बभन्दा बढी) को क्षति पुर्यायो, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई अस्थिर राष्ट्रका रूपमा चित्रित गर्यो।
उदाहरणका लागि युएई लगायत देशले नेपाली प्रवेशाज्ञामा कडाइ गरे। यो बाहिरी विनाशको कथा हो तर भित्री अन्तर्य भने नेपाली समाजमा नैतिकता, आध्यात्मिकता र मानवीयताको क्रमिक ह्रासमा निहित छ, जसले अवसरवादी र विध्वंसात्मक प्रवृत्तिलाई उजागर गर्यो। यस विषयमा अब बहस थालिनुपर्छ, कसरी तिनको पुनर्जागरण गर्ने भन्नेमा समयमै ध्यान दिन जरुरी भइसकेको देखिन्छ।
आन्दोलनको उत्पत्ति र सतही कारणहरू
जेनजी आन्दोलनको सुरुवात सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भयो। सरकारले २६ वटा सामाजिक सञ्जाललाई कर दायरामा नल्याएको बहानामा स्थगित गर्ने निर्णय गर्यो, जसलाई जेनजीले आफ्ना आलोचकलाई दबाउने षड्यन्त्र र आफ्नो रोजीरोटी खोस्ने रूपमा बुझ्यो। यी प्लेटफर्महरू केवल सञ्चारका माध्यम होइनन्, लाखौं युवाको रोजीरोटी र विश्वभरका आफन्तसँग सम्बन्ध जोड्ने सुविधासम्पन्न साधन र आधार पनि थिए। यसभित्र अन्तर्निहित सत्य कुरालाई सरकारले बुझ्न ढिला गर्यो।
नेपालमा १.२ करोडभन्दा बढी सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता छन् भन्ने तथ्याङ्कले देखाउँछ र यिनमा ६० प्रतिशतभन्दा बढी १८–३५ वर्ष उमेर समूहका छन्। प्रतिबन्धले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो, जसमा घुसपैठिएका अनेक तत्त्व, आन्तरिक प्रतिशोधी, बाह्य शक्ति, ईर्ष्या, द्वेषले भरिएका स्वार्थी तत्त्व, भूराजनैतिक अवसरको खोजीमा रहेका गुटबन्दी समूह पनि संलग्न हुन सक्छन् भन्ने कुरा अनुमानगम्य छ। यिनै अनेक रूप र स्वरूपका ढुन्डकारी, दानवी चरित्रका मानिसले विध्वंस मच्चाए। यसको नकारात्मक परिणाम र पुर्याएको नोक्सानी भरपूर हुन वर्षौंवर्ष लाग्न सक्छ। यसभित्र अन्तर्निष्ट भएको सूक्ष्म र गहिरा कारणमा लामो समयदेखि सत्ताधारीहरूको सत्तालिप्सा, भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन निहित छन्।
राजनीतिक र सामाजिक कारकहरू: अपेक्षा र अवस्थाको खाडल
नेपालको राजनीतिक नेतृत्वले दशकौंदेखि जनताको विश्वास गुमाउँदै आएको थियो। त्यसलाई समयमा बुझ्न नसक्दाको परिणाम पनि यो हो। पजेरो काण्ड, धमिजा काण्ड, ललिता निवास जग्गा काण्ड, सुन काण्ड, भुटानी शरणार्थी काण्ड, पतञ्जली जग्गाकाण्डजस्ता अनेकौं काण्डले सत्तासीनहरूको भ्रष्टाचार र गैरजिम्मेवारीलाई उजागर गर्यो। यी काण्डले जनतामा वितृष्णा पैदा गर्यो, विशेषगरी जेनजी पुस्तामा, जो डिजिटल युगमा जन्मे र सामाजिक सञ्जालमार्फत विश्वव्यापी चेतनासँग जोडिएका छन्।
नेपालमा बेरोजगारीको दर बढ्दै २०.८ प्रतिशतमा पुगेकोलाई अनदेखा गरियो। त्यसलाई रोकेर देशभित्रै रोजगारीको उपयुक्त वातावरण सिर्जना गर्नेतिर कुनै राजनीतिक दल र सरकारको ध्यान गएन। दैनिक दुई हजारभन्दा बढी युवा रोजगारीको खोजीमा रुँदै विदेश पलायन हुन्छन्। यसलाई कुनै पनि लोकतान्त्रिक, गणतान्त्रिक नामको सरकारले बुझ्न सकेन। भएका पुराना उद्योगधन्दा, कलकारखानालाई पनि कवाडीको भाउमा बेचेर सके। उल्टो नेपालमा बाह्र कक्षा उतीर्णहरूलाई पनि विदेश पढ्न जाने सुविधा दिँदा बल्लबल्ल खुलेका कलेजहरू पनि विद्यार्थीविहीन बनेर धमाधम बन्द भएको टुलुटुलु हेरेर बस्नुपर्ने अवस्थामा सरकारको कत्ति पनि ध्यान जान सकेन।
आफ्नो देशमा रोजगारीको अभावमा गह्रुंगो मन, गहभरि आँसु लिएर परदेशको कजाइमा जाँदाका अनेक प्रकारका दुःख, कष्ट, प्रताडना र खतराको दर्दनाक कहानीहरू पनि यो उदण्डताको कारक तत्त्व बनेकोलाई बिर्सनु हुन्न। यसमा आमा, दिदीबहिनीहरूले पाउने गरेको अलग्गै प्रकारको श्रमशोषण, पीडा र अझ कतिपय ठाउँमा हुने गरेको यौनशोषणको आर्तनादले चेलीबेटीको आँसु र श्राप पनि सँगसँगै मिसिन गयो।
यिनै बेथिति, कुशासन, राजनीतिक अस्थिरता, आर्थिक असमानता र अवसरको अभावले नेपाली जनताको अवस्था र अपेक्षाबिचको खाडललाई घनीभूत रूपले गहिरो बनायो, जसको विष्फोटन भदौ २४ गते हुन पुग्यो। सरकारको दुईचार जनालाई ढालेपछि सबै ठिक हुन्छ भन्ने अनुमान प्रत्युत्पादक बन्न पुग्यो।
ठुला भनिने दलविशेषका र्याल, सिँगान चुहाउने शीर्ष नेताको सात पटकसम्म प्रधानमन्त्री हुने चाहना, अर्कोतिर व्यङ्ग–बाण, उखानटुक्काकै भरमा देश चल्छ भनिठान्ने विनादूरदृष्टिका नेताको कहरले उनीहरूको पार्टीभित्रै पनि उकुसमुकुस भइरहेको देखिएको, शीर्षनेताले पछिल्लो पुस्ताका नेतालाई कुनै परबाह नगरेको अवस्था बाहिर छरपस्टिन जाँदा पनि निकै लामो समयदेखि राजनीतिक वातावरण दिनानुदिन नकारात्मक र भित्रभित्रै तनावपूर्ण बन्दै गइरहेको जो कोहीले अनुमान गरेका थिए। भदौ २४ मा ती सोचविचार पनि कुनै न कुनै रूपले घुसपैठ भएको अन्दाज लगाउन माथापच्चिसी गर्नु पर्दैन।
वैश्विक सन्दर्भमा हेर्दा, यो आन्दोलन श्रीलङ्का (२०२२ को अराग) र बंगलादेश (२०२४ को युवा विद्रोह) सँग मिल्दोजुल्दो छ, जहाँ युवा असन्तुष्टिले सरकार त ढाल्यो, तर संस्थागत सुधार र लक्ष्यको अभावमा समस्याहरू ज्युँका त्युँ रहन पुगे। नेपालमा अबको दिन के कस्तो हुने हो, जताततै शङ्काको दृष्टिले हेरिन थालेको अवस्था छ।
अन्तरिम सरकार त बन्यो तर यसको लक्ष्य र गन्तव्य मूर्त रूपमा अझै नबाहिरिएकाले जेनजीको मागको सम्बोधन के कसरी गरिँदैछ? चुनावअघि देखिने अनगिन्ती समस्याको समाधान कसरी गरिन्छ? युवा, पिछडिएका जाति–जनजाति र सीमान्तकृत समुदायहरूको प्रतिनिधित्वलाई कहाँ के कसरी बढाइन लागेको छ? यी महत्त्वपूर्ण विषयहरू अबका दिनमा के हुन सक्छन्? यो अहम् र गम्भीर प्रश्न छ। अनेक शंका, आशंकाहरू छरपस्टिएका छन्। डिजिटल प्लेटफर्महरू (जस्तै डिस्कर्ड र टेलिग्राम) ले आन्दोलनलाई तीव्र त बनायो र अहिलेको अवस्थामा ल्याइपुर्यायो तर नैतिक आधारहरू हरेक दृष्टिकोणबाट विशृङ्खलित भएकाले विध्वंसात्मक रूप धारण गर्यो। जसलाई न जेनजीले आँकलन गरेका थिए न सरकार र आमनागरिकले।
नैतिक र सांस्कृतिक ह्रास: अवसरवादको विस्फोट
आन्दोलनका क्रममा देखिएको लुटपाटको दृश्य, केटाकेटी, युवादेखि प्रौढहरूले निजी पसलहरूबाट सामान लुट्न गरेको दौडधुप, मोटरबाइकमा सामान सकी-नसकी ओसारेका दृश्यले नेपाली समाजको नैतिक पतनलाई छर्लंङ पार्यो। नेपाली संस्कृतिमा ‘परद्रव्येषु लोष्टवत्’ (अर्काको धन माटो बराबर) भन्ने सनातन मूलमन्त्रलाई चटक्कै बिर्सिएको देखियो। यसो किन भयो? के नेपाली सोच यस्तै निकृष्ट भएको हो? होइन, सबैमा यो लागु हुँदैन। यसलाई गुणात्मक विकासको अभाव र अवसरवादी प्रवृत्तिको विस्फोटको झिल्का हो भनेर मान्न सकिन्छ।
भदौ २३–२४ लाई साइत पारेर भनेजसो यी सारा असन्तुष्टि बाहिर निस्कियो, जसले नेपालीहरू सोझा हुन्छन्, इमानदार छन् भन्ने विश्वव्यापी मान्यता र छविलाई एकैछिनमा धुमिल तुल्याइदियो। पुनः यसलाई कायम राख्न धेरै मेहनत, परिश्रम गर्नुपर्ने त छँदैछ। साथै अबको देशको भविष्य राजनीतिक दलका क्रियाकलापले पनि निर्धारण गर्ने हुनाले उनीहरूको भूमिका कस्तो हुन्छ? कस्तो उपस्थिति हुन्छ? देशको विकास, उन्नति र संवर्धनमा के के योजना र कार्यक्रमको माध्यमबाट देश र जनताको भाग्य कोरिन लागेको छ? बृहत् रोडम्याप के हो? यसमा आमचासो हुने र पार्टीको भविष्य पनि यसैले निश्चय गर्ने हुन्छ। जीवन्त पार्टी बन्ने कि एकादेशको पार्टी बन्ने उनीहरूकै हातमा छ।
अहिलेको अवस्थाले विश्व समुदायमा नेपालको विश्वसनीयता र पर्यटन उद्योगमा समेत दीर्घकालिक असर पार्यो, जसले नेपालको अर्थतन्त्रको ७.८ प्रतिशत हिस्सा ओगट्छ। यसलाई कसरी उठाउने भन्ने चुनौती अघिल्तिर छ। अबका केही वर्ष नेपाललाई माया गर्ने, संस्कृति र सम्पदाहरूको अवलोकन गर्न चाहने, भगवान् पशुपतिनाथलाई आराध्यदेव सम्झने, लुम्बिनीलाई प्राण सम्झने, पहाड-पर्वत-हिमालयमा घुम्न चाहनेहरूलाई न्यूनतम पन्ध्र दिन जतिको भिसा निःशुल्क दिने, नेपालको केही क्षेत्रलाई आइटी हब बनाउने, स्वास्थ्य उपचारमा विदेशबाट आउन चाहनेलाई केही दिनको भिसा निःशुल्क उपलब्ध गराउने, उत्पादनमुखी उद्योगधन्दालाई प्रोत्साहन दिने खालका उद्यममा विदेशी लगानी भित्राउनेजस्ता कामले नेपाललाई माथि उठाउन भरथेग गर्न सक्छ।
भदौमा जे घटना घट्यो, त्यसको नैतिक ह्रासको जड शिक्षा प्रणालीमा छ। यो हाम्रो शिक्षा प्रणालीले जीवनमूल्य, आध्यात्मिकता र मानवीयताको पाठ पढाउन छोडेको परिणाम हो भन्न हिचकिचाउनु पर्दैन। प्राचीन गुरुकुल पद्धतिमा चार आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास) को व्यवस्थाले व्यक्ति र समाजलाई संयमित, सेवामय र त्यागमय बनाउँथ्यो। ‘सा विद्या या विमुक्तये’ (विद्या मुक्तिका लागि हो) र भगवद्गीताको ‘अध्यात्मविद्या विद्यानाम्’ जस्ता सिद्धान्तले इहलोक र परलोक दुवैको कल्याण सिकाउँथे तर पश्चिमी शिक्षापद्धतिले भौतिक सुख र कामोपभोगलाई प्राथमिकता दियो। फलस्वरूप, हिंसा, लुटपाट, दुव्र्यसन र गुन्डागर्दी बढ्यो।
आजको अर्थकरी शिक्षाले धनी र सफल बन्ने लक्ष्य राख्छ, तर असल, ज्ञानी र आध्यात्मिक बनेर आफू, परिवार, समाज, राष्ट्र र मानवताका लागि ‘उदारचरितानां तु वसुधैव कुटुम्वकम्’को सन्देश दिने त्यो महान् लक्ष्यमा कलंकको दाग लागेको अनुभूति सबैले गरेको हुनुपर्छ।
वैश्विक सन्दर्भ र सांस्कृतिक विचलन
वैश्विक रूपमा हेर्दा पश्चिमी समाज सनातन धर्म (वैदिक, बौद्ध, जैन, सिख) र ‘सादा जीवन, उच्च विचार’को खोजीमा भट्किरहेका छन्। उदाहरणका लागि, योग र ध्यानको विश्वव्यापी लोकप्रियताले पूर्वीय दर्शनको महत्त्व देखाउँछ।
अहिले विश्वमा ३० करोडभन्दा बढी मानिस योगको अभ्यास गर्छन्। नेपालमा योगका अन्तर्राष्ट्रिय स्तरका अनेक सेन्टर, आश्रमहरू स्थापना गर्न सकिन्छ। सरकारले यसलाई सहयोग गर्नुपर्यो, स्वामित्व लिनुपर्यो। यसविपरीत नेपालमा हामी आफ्नो सांस्कृतिक धरोहर बिर्सेर पश्चिमी भौतिकताको पछि दौडिरहेका छौं।
जेनजी पुस्ता डिजिटल विश्वमा हुर्किएको छ, सामाजिक सञ्जालमार्फत वैश्विक चेतनासँग जोडिएको छ तर सांस्कृतिक र नैतिक आधारको अभावले उनीहरूको प्रदर्शन विध्वंसको कारक बन्न पुग्यो। अब आगामी दिनमा यस्तो नहोस् भन्नाका लागि डिस्कर्ड र टेलिग्राम जस्ता प्लेटफर्महरूका माध्यमबाट अनुशासन र नैतिकताको विषयलाई स्थान दिनु जरुरी छ।
दोषी को? समाधानका उपाय के?
यो संकटको दोष सत्तापक्ष, अवसरवादी घुसपैठिएका तत्त्व र सामाजिक चेतनाको कमजोरी सबैमा छ। यो दूरदर्शनीय घटनाको छानबिनका लागि भिन्न भिन्न आयोगहरू गठन होलान्, हुनुपर्छ तर प्रतिवेदन दराजमा थन्किएर बेकम्मा हुनेछैन भन्ने आशा राखौं। यस्तो संकट समाधानका लागि दीर्घकालिक र तात्कालिक उपायहरू आवश्यक छन् -
जीवनमूल्यमा आधारित शिक्षा
पाठ्यक्रममा सनातन सूत्रहरू जस्तै ‘परद्रव्येषु लोष्टवन्’ (अर्काको धन माटो बराबर), ‘आत्मन प्रतिकूलानी परेशां न समाचरेत’ (आफूलाई नरुच्ने काम अरूलाई नगर), ‘लोभ पापस्य कारणम्’ (लोभ पापको कारण हो) जस्ता शिक्षालाई समावेश गर्नुपर्छ। यी सार्वभौम शिक्षाले व्यक्तिलाई नैतिक र संयमित बनाउन मद्दत गर्छ।
सुशासन र जवाफदेही नेतृत्व
भ्रष्टाचार, नातावाद र कृपावादलाई निर्मूल गर्न पारदर्शी नीति र कडा कानुनी कारबाही चाहिन्छ। स्वतन्त्र आयोगहरूले विविध काण्डहरूको निष्पक्ष छानबिन गर्नुपर्छ।
आर्थिक अवसर र समावेशिता
बेरोजगारी र असमानता न्यूनीकरण गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। नेपालका डेढ लाख साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्न कर छुट र सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ।
युवालाई उद्यमशीलतामा प्रोत्साहन
देशमा रहेका, विदेशमा रहेका युवालाई उनीहरूको सिप, योग्यता, अनुभवको आधारमा विभिन्न किसिमका उपयोगी काम, व्यवसाय, उद्यमलाई प्रस्तावको आधारमा सहयोग गर्दै जाने योजना र कार्यक्रमलाई व्यापक बनाउनु आवश्यक छ।
सांस्कृतिक पुनर्जागरण
सनातन धर्म र संस्कृतिका सकारात्मक पक्षलाई प्रोत्साहन गर्नुपर्छ। विद्यालयमा योग, ध्यान र नैतिक शिक्षा, जुन जीवनसँग जोडिएको होस्, यसलाई सबैले आत्मसात् गर्नु पनि त्यत्तिकै आवश्यक भइसकेको छ।
डिजिटल साक्षरता र जिम्मेवारी
जेनजी पुस्तालाई डिजिटल प्लेटफर्महरूको जिम्मेवारीपूर्वक प्रयोग सिकाउनुपर्छ, ताकि भावी दिनमा आन्दोलनहरू विध्वंसात्मक, हिंसात्मक नबनून्।
भदौ २३–२४ को जेनजी आन्दोलनले नेपालको सामाजिक, राजनीतिक र सांस्कृतिक संकटलाई उजागर गर्यो। यो केवल सत्ताविरुद्धको विद्रोह थिएन, नैतिकता, आध्यात्मिकता र मानवीयता ह्रासको परिणाम पनि थियो। हाम्रो सनातन संस्कृतिले सिकाएको संयम, सेवा र त्यागलाई बिर्सेर भौतिकताको पछि दौडँदा समाजमा हिंसा र अवसरवाद बढ्यो।
अबको बाटो आधुनिक प्रविधि र ज्ञानलाई आत्मसात् गर्दै सनातन मूल्यलाई पुनर्जागृत गर्नु हो। भौतिकता साधन हो, अध्यात्म साध्य भन्ने सत्यलाई कहिल्यै नबिर्सौं। अबको सरकारले जीवनमूल्यमा आधारित शिक्षा, सुशासन र समावेशी नीतिमार्फत नेपाललाई शान्ति, सुव्यवस्था र समुन्नतिको मार्गमा डोर्याउन सक्यो भने सफल हुन्छ, अन्यथा समस्या जहींका तहीं भए देश माथि उठ्न गाह्रो छ।
प्रकाशित: २५ आश्विन २०८२ ०६:३६ शनिबार

