२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
विचार

सम्भव छ विकासोन्मुख देशमा अर्को वित्तीय संकट?

जब विश्व सेयर बजारले नयाँ रेकर्ड तोड्दै छ, अमेरिका र युरोपभर वित्तीय अस्थिरताका संकेतले त्रास उत्पन्न गरिरहेको छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि हालै यस्तै चिन्ता दोहोर्‍याएको छ, जसले आगामी संकटको भय थप बढाएको छ।

चेतावनीका संकेत सर्वत्र छन् र तिनले यसअघिका संकटलाई झल्काउँछन्। सम्पत्तिको मूल्य तिनका मौलिक आधारहरूभन्दा धेरै माथि पुगेका छन्, जबकि गैरबैंकिङ वित्तीय संस्थाहरूले सन् २००८ को वित्तीय संकटअघिका ‘छाया बैंक’ अर्थात् स्याडो बैंकका जस्तै भूमिका खेल्न थालेका छन्। यससँगै ‘स्ट्याबल क्वाइन्स’को बढ्दो प्रयोगले नियमनमा रहेका बैंकलाई समेत क्रिप्टोकरेंसीको अपारदर्शी संसारमा तानेको छ र एआई सेयरहरूमा आँखा चिम्लेर गरिने अटकलबाजीबाट ठुलो पुँजी प्रवाह भइरहेको छ, जसलाई प्रमाणित नाफाभन्दा हल्लाले बढी चलाएको छ।

यी प्रवृत्तिले वित्तीय फोका (बबल)को सबैभन्दा जोखिमपूर्ण चरणको संकेत गर्छन्, जहाँ लगानीकर्ताको भावनामा सानो परिवर्तनले पनि ठुलो गिरावट ल्याउन सक्छ। अमेरिकाको अटो पाट्र्स आपूर्तिकर्ता फस्टब्रान्ड र सवप्राइमको ट्राइकलर नामक गाडी भाडा दिने संस्थाको हालैको पतनलाई एक उदाहरण मान्न सकिन्छ, यी दुवै उच्च ऋणमा र गैरबैंक वित्तीय संस्थासँग जोडिएका थिए। यो संरचनात्मक कमजोरीको सुरुआती संकेत हुन सक्छ।

यो बढ्दो अस्थिरताका पछाडि पछिल्लो दशकमा निजी वित्तीय संस्थाको तीव्र विस्तार जिम्मेवार छ। वित्तीय स्थायित्व बोर्डका अनुसार खुद्रा लगानीकर्ताबाट रकम उठाएर आक्रामक ऋणमार्फत आफ्नो स्थिति बलियो बनाउने यी संस्था अहिले विश्वका कुल वित्तीय सम्पत्तिको करिब आधा हिस्सा ओगटिरहेका छन्।

व्यापारिक अनिश्चितता र नीतिगत अस्थिरताबिच पनि तिनको जोखिम लिने भोकले पनि सम्पत्तिको मूल्य बढाइरहेको छ। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनमा कमजोर वित्तीय नियमनहरूलाई झन् कमजोर पारिँदा जोखिम अझ बढेको छ।

यी सबै शक्तिहरूले अर्थशास्त्री चाल्र्स किन्डलबर्गरले वर्णन गरेको चक्रलाई पुनः सक्रिय पार्न सक्छन्, जसको पहिलो चरण ‘उन्माद’ हो, जहाँ अत्यधिक आशावाद हुन्छ। त्यसपछि ‘कठोरता’को चरण आउँछ, जब ऋण असफल हुन थाल्छ र क्रेडिट संकुचित हुन्छ। अन्ततः ‘विकर्षण’को चरण आउँछ, जहाँ डरले बजारलाई समाउँछ र सशक्त ऋणीहरूसमेत ऋण पाउन संघर्ष गर्नुपर्ने हुन्छ। यो क्रम पूर्ण स्तरको डर र पतनमा पुग्ने कि नपुग्ने विषय सम्बद्ध सरकारहरूले कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा निर्भर हुन्छ तर पतनकै अवस्था नआए पनि त्यसका परिणाम गम्भीर हुन सक्छन्।

इतिहासले देखाएको पाठ अर्को ठुलो वित्तीय संकट कहिले आउँछ भन्ने हो, आउँछ कि आउँदैन भन्ने होइन तर विश्वको ठुलो जनसंख्याका लागि मुख्य चिन्ता भनेको अमेरिका र युरोपबाट सिर्जना हुने यस्तो संकटले कस्तो असर पार्छ भन्ने हो।

अघिल्ला उदाहरणहरू उत्साहजनक छैनन्। सन् २००८ को संकट र कोभिड–१९ महामारी दुवैले देखाए कि धनी देशहरूमा उत्पन्न अशान्तिले सीमित राजकोषीय क्षमताका कारण गरिब देशहरूलाई गम्भीर क्षति पुर्‍याउँछ। यस्तो संकट वित्तीय बजारलाई पार गरेर अन्यत्र फैलिँदा लगानी हराउँछ, वृद्धि घट्छ, बेरोजगारी बढ्छ, निर्यात माग घट्छ र वैदेशिक मुद्राको आम्दानी (जस्तै पर्यटन र वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स) घट्छ । यी सबैले विश्वव्यापी असर पुर्‍याउँछ।

मुद्रा पदनुक्रमले समस्या अझ गहिरो बनाउँछ। उदाहरणका लागि अमेरिकी डलरको वर्चस्वका कारण जब विश्वमा अनिश्चितता बढ्छ, निजी पुँजी फेरि अमेरिकामै फर्किन्छ, जसले निम्न आय भएका देशमा मुद्रा अवमूल्यन र बैंकिङ संकट निम्त्याउँछ। पुँजी पलायनको डरले सरकारहरूलाई प्रतिचक्रीय नीति अपनाउन अवरोध पुर्‍याउँछ, जसले समायोजन प्रक्रियालाई झन् कठिन बनाउँछ।

यसको प्रभाव ऋण–संकटग्रस्त देशका लागि अझ घातक हुन सक्छ, किनभने तीमध्ये धेरैले आफ्नो विकास रणनीति धनी देशहरूसँगको निर्यातमा आधारित पारेका हुन्छन् तर ट्रम्प प्रशासनको संरक्षणवादी नीतिले यो मोडेललाई कमजोर पारेको छ, जसले ती देशहरूलाई आर्थिक, भूराजनीतिक र जलवायुसम्बन्धी आघातहरूको संयोजनको सामना गर्न असहज बनाएको छ। परिणामस्वरूप अर्को विश्वव्यापी वित्तीय संकट साँच्चिकै विनाशकारी बन्न सक्छ।

विकासोन्मुख देशहरूले यी जोखिमलाई गम्भीरतापूर्वक लिनु र आफ्नो आर्थिक प्रतिरोध क्षमता बढाउन तत्काल कदम चाल्न आवश्यक छ। व्यापारिक सम्बन्धको विविधीकरण उनीहरूको शीर्ष प्राथमिकता हुनुपर्छ। ट्रम्प प्रशासनका अस्थिर र धेरैजसो अव्यावहारिक मागको सामना गर्दै केही देशले अमेरिकामा निर्भरता घटाउन थालिसकेका छन्। यो प्रक्रिया आवश्यक भए पनि त्यति सजिलो भने हुनेछैन।

वित्तीय स्थायित्वका लागि विकासोन्मुख देशहरूले अस्थिर पुँजी प्रवाहबाट हुने जोखिम सीमित गर्न प्रभावकारी पुँजी व्यवस्थापन उपकरण अपनाउनुपर्छ र वित्तीय नियमनलाई मजबुत बनाउनुपर्छ। केवल सावधानीपूर्ण नियमहरूबाट मात्र होइन, अटकलबाजी र अपारदर्शी गतिविधिलाई नियन्त्रण गरेर पनि यसो गर्न सकिन्छ। यस्ता सुरक्षात्मक उपायहरू अर्को संकट आउनुअघि नै लागु हुनुपर्छ। मध्यम अवधिमा बाह्य ऋणमा निर्भरता घटाउनु र विदेशी लगानीकर्ताहरूका लागि स्थिर र उत्तरदायी सर्तहरू तय गर्नु अत्यावश्यक छ।

स्वीकार गर्नुपर्ने कुरा के हो भने ट्रम्प प्रशासनले क्रिप्टोकरेन्सीजस्ता क्षेत्रको नियमनलाई ढिलाइ गर्न र नियन्त्रण कम गर्न आफ्ना व्यापारिक साझेदारहरूलाई दबाब दिइरहेको छ। यसले यी सुधारलाई झन् कठिन बनाउँछ तर यस्ता दबाबहरूलाई प्रतिरोध गर्न सके मात्र विकासोन्मुख देशहरू अर्को संकटमा फस्नबाट बच्न सक्छन्।

- लेखक जयति घोष म्यासाचुसेट्स एम्हस्र्ट विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक हुन्।  (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: २० कार्तिक २०८२ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %