नयाँ वर्ष २०८३ को आगमनसँगै सम्पूर्ण नेपालीको मनमा नयाँ ऊर्जा, उत्साह र अझ ठुलो आशा जागृत भएको छ।
नयाँ वर्ष केवल समय मिति मात्र परिवर्तन होइन, यो सोच परिवर्तनको अवसर हो, दृष्टिकोण सुधार्ने समय हो र विगतका कमजोरीहरूबाट सिकेर भविष्यलाई सही दिशामा अघि बढाउने संकल्प पनि हो। आजको दिनले हामीलाई सोधिरहेको छ– के हामी अझै आशामा बाँच्ने हो कि अरू उपलब्धि सिर्जना गर्न दृढतापूर्वक लाग्ने अनि अघि बढ्ने हो ?
यो वर्ष हाम्रो देशमा विशेष परिवर्तन आएको छ। यो वर्ष विशेषतः राजनीतिक रूपमा महत्त्वपूर्ण छ। बालेन्द्र शाहको नेतृत्वको नयाँ सरकारप्रति जनताले अभूतपूर्व विश्वास व्यक्त गरेका छन्। संसार यो परिवर्तनमा अचम्मित भएको छ। नेपालीको यो विश्वास केवल मत मात्र होइन, जिम्मेवारी पनि हो, यो केवल विजय मात्र होइन, परीक्षा पनि हो।
अबको नेतृत्वले युवाको सपना र उद्यमशीलताको आकांक्षा बोकेको छ। त्यो सपनामा रोजगारी, शिक्षा, पारदर्शिता, रहरहरू पूरा गर्ने भरोसा छ। आफ्नै देशमा काम गर्न पाउने वातावरण निर्माण गर्नु आजको सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो, जहाँ यथार्थमा आधारित विकास गर्नुपर्ने छ।
नेपाल भौगोलिक, सांस्कृतिक र आर्थिक विविधताले भरिएको देश हो, जहाँ एकै किसिमको विकास मोडल अर्थात् एउटै बास्केटको नीति सम्भव छैन। हिमालको समस्या फरक छ, तराईको आवश्यकता फरक छ, पहाडको चुनौती फरक छ। त्यसैले अबको सरकारले एक देश एक योजना होइन, एक देश बहुयोजनाको अवधारणा अपनाउनु आवश्यक छ। स्थानीय सरकारसँग सहकार्य, जनताको सहभागिता र क्षेत्रीय आवश्यकतामा आधारित नीति निर्माण नै दिगो विकासका आधार हुन्।
आजको सबैभन्दा ठुलो शक्ति युवा शक्ति हो। यो शक्तिअन्तर्गत पर्ने १६–४० वर्षको उमेर समूहमा लगभग ४३ प्रतिशत जनसंख्या छ। तर दुर्भाग्यवश यही शक्तिको धेरैजसो अंश विदेश पलायन भइरहेको छ। लाखौं युवा आफ्नो देशमा अवसर नपाएर परदेशमा पसिना बगाउन बाध्य छन्।
अबको सरकारको पहिलो प्राथमिकतामा युवालाई देशमै रोक्ने, उनीहरूको सिपलाई देशमै प्रयोग गर्ने, उनीहरूलाई नयाँ–नयाँ अवसर प्रदान गर्ने, ऋणको व्यवस्था गर्ने, स्टार्टअपको व्यवस्था २० लाखबाट बढाएर सिलिङ ओपन गरिदिने, ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई प्रोत्साहन दिनेजस्ता नीति आउनुपर्छ। यसका लागि देशमा उद्यमशीलताको वातावरण सिर्जना गर्नुपर्छ। अझै पनि हामी भुल्न सक्दैनौं, युवा पीडाको स्वर– हातमा डिग्री, आँखामा सपना तर बाटो अझै अँध्यारो छ, देशमा केही गरौं भन्ने चाहना। तर अवसर किन टाढा ?
अबको विकासको मूल आधार देशव्यापी रूपमा उद्यमशीलतालाई अगाडि लानुपर्छ। साना तथा मझौला उद्योग, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’, स्टार्टअप संस्कृति, डिजिटल अर्थतन्त्र, कृषि, नवप्रवर्तन, पर्यटन आदि क्षेत्रमा स्पष्ट नीति, सहुलियतपूर्ण कर्जा, कम ब्याजमा ऋण, करमा छुट र बजार पहुँच सुनिश्चित गर्दै ‘लोकल टु ग्लोबल’ अवधारणा अगाडि बढाउनुपर्छ। रोजगारी खोज्ने मानसिकतामा रूपान्तरण गर्नु आजको आवश्यकता हो।
यसैगरी देशको लगभग ५२ प्रतिशत जनसंख्या ओगटेको महिला जनशक्तिलाई पनि उद्यमशीलतामा लगाउनुपर्छ। महिला सशक्तीकरण केवल नारा होइन, यो आर्थिक क्रान्तिको आधार हो। महिलालाई संख्यामा मात्र अवसर दिने होइन, उनीहरूलाई नेतृत्वमै पुर्याएर मात्र देशको वास्तविक विकास सम्भव हुन्छ। गाउँदेखि सहरसम्म, साना व्यवसायीदेखि अन्तर्राष्ट्रिय व्यापारसम्म महिलाको पहुँच र सहभागिता सुनिश्चित हुनुपर्छ। ‘घरको चौघेराबाट बाहिर निस्केर भविष्य आफैं कोर्छु, समर्थन पाए देशकै अर्थतन्त्रलाई नयाँ दिशा दिन सक्छु,’ यो हाम्रो देशका महिलाको आवाज हो।
हाम्रो देशमा विकासको सबैभन्दा ठुलो अवरोध अझै पनि भ्रष्टाचार नै हो। राजनीतिक भ्रष्टाचार, नेतृत्व भ्रष्टाचार, आफू नेतृत्वमा आउन भोट प्रोक्सी किन्ने प्रवृत्ति, यी सबै गम्भीर समस्या हुन्। जबसम्म नीति कार्यान्वयनमा इमानदारिता हुँदैन, तबसम्म कुनै पनि योजना सफल हुन सक्दैन। भ्रष्टाचारले केवल अर्थतन्त्रलाई कमजोर बनाउँदैन, यसले जनताको विश्वास पनि तोड्छ र नैराश्य फैलाउँछ। त्यसैले अबको सरकारले ‘शून्य सहनशीलता’को नीति अपनाएर पारदर्शिता, उत्तरदायित्व र सुशासनलाई प्राथमिकतामा राख्नुपर्छ।
हाम्रो देशको अर्को ठुलो आवश्यकता रोजगारी सिर्जना हो। यो एक प्रमुख आवश्यकता हो। कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, यी चारै स्तम्भलाई सशक्त बनाउन सके मात्र देश आत्मनिर्भर बन्न सक्छ। स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रणनीति अबको स्थिर बहुमत सरकारको प्राथमिक अजेन्डा हुनुपर्छ।
२०२४ को तथ्यांक हेर्दा नेपालमा सामग्री आयात ३२.९ प्रतिशत र निर्यात ७.६२ प्रतिशत हुने देखिन्छ। हामी विश्व व्यापार संगठनमा २००४ अप्रिल २३ मा प्रवेश गरेको भए पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेका छैनौं। त्यसैले हामीले जे सक्छौं, त्यसैलाई केन्द्रमा राखेर काम गर्दै जानुपर्छ। नेपाललाई विश्वमा सकारात्मक रूपमा चिनाउने समय आएको छ। हामीसँग प्राकृतिक सौन्दर्य छ, सांस्कृतिक सम्पदा छ, मेहनती मानव शक्ति छ, सोच र आँट छ, साथै अपार सम्भावना छ। अब हामीले नेपाललाई गरिब देश होइन, सम्भावनाको केन्द्रका रूपमा प्रस्तुत गर्नुपर्छ।
थाकेका हातहरूलाई अब अवसरको साथ चाहिएको छ। यो वर्षले देशलाई उज्यालो भविष्यतर्फ डोर्याओस् भन्ने आशा चाहिएको छ। यसरी जनमानसमा आशाको स्वर थपिएको छ। नयाँ वर्ष २०८३ केवल एउटा सुरुवात हो। यस वर्षले हामीलाई झकझकाउँछ– प्रतिबद्धता बलियो छ भने परिवर्तन सम्भव छ। सरकार, निजी क्षेत्र, नागरिक समाज र प्रत्येक नागरिकले आआफ्नो भूमिका इमानदारीपूर्वक निभाउन सके समृद्ध नेपाल निर्माण सम्भव छ।
वर्ष- २०८३ ले सम्पूर्ण नेपाली जनताको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्। वर्तमान निर्वाचित बहुमतको सरकारले जनताको भावना बुझेर यथार्थमा आधारित विकासको मार्ग तय गरोस्। अब देश यथार्थमै समृद्ध अर्थतन्त्रको मार्गमा अगाडि बढोस्।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
अध्यक्ष, नेपाल रिपब्लिक मिडिया
प्रकाशित: १ वैशाख २०८३ ०६:५८ मंगलबार

