तत्कालीन राणा शासनको साम्राज्य रहेको समयमा एक दिन काठमाडौंको सरहदभित्र ‘राणाहरू अन्त’ शीर्षकका पर्चा छरिन्छन्। जसको ब्यहोरा यस्तो थियो– ‘राणा हो, यो नठान कि पापको पोल खुल्दैन, तिमीहरूको क्रूरताको फल पाउनेछैनौ। यो ईश्वरको कानुन हो। तिमीहरूले जुन भयङ्करतामा क्रूर कर्म गरेका छौ, उही भयङ्करतामा त्यसको फल पाउनेछौ। प्रजाको आँखा मात्र खुलोस्, तिमीहरूको तरबारको बलजस्तो मुखले फुकेको बतासले आकाशको बादललाई हटाउने कोसिस नगर। अझै पनि दशदान गर्ने समय छ। आशा छ, मौका चुकाउने छैनौ।’
नागरिकलाई रैतिका रूपमा राखेर शासन गर्ने राणाकालमा त्यो समय जुद्धशमशेर सत्तासीन थिए। मान्छे जतिसुकै अत्याचारी–अन्यायी किन नहोस्, उसको छातीभित्र पनि सबैका झैं धड्किरहने मुटु हुन्छ। फरक के भने त्यो मुटु कसैको संवेदनशील हुन्छ भने कसैको संवेदनहीन हुन्छ। यो निश्चित हो, जुद्धशमशेरको मुटु संवेदनहीनताको चालमा धड्किन्थ्यो। यसै कारणले राणाको समाजले उनको व्यक्तित्वलाई बहादुरका रूपमा चित्रित गरेको थियो र यस अर्थमा उनी क्रूर थिए। अर्थात्, बाघको जस्तो थियो उनको मुटु। तथापि, मान्छे नै थिए उनी। आफ्नो शासनसत्ताविरुद्धको त्यस्तो कडा अभिव्यक्तिले भरपुर पर्चाका शब्दहरूले उनको बाघको जस्तो मुटु पनि सम्भवतः एकछिन रोकिन खोजेको उनलाई महसुस भएको हुनुपर्छ। त्यसैले त त्यो पर्चा लेख्ने/छर्ने व्यक्तिलाई पक्राउ गर्न सक्ने वा पक्राउ गर्न मद्दत गर्ने नै भए पनि उसलाई नगद मोरु पाँच हजार प्रदान गरिने हुकुम जारी गरे। त्यसो त, त्यसअघि नै त्यस्तै ब्यहोराका पर्चा दुई–तीनपटक नछरिएका होइनन्। तर, ती पर्चाका दाँजोमा यो पटक निकै कडा र चुनौतीपूर्ण शब्दावली अङ्कित भएका पर्चाले जुद्धशमशेरको होस नै उडायो भन्दा पनि हुन्छ।
जुद्धशमशेरको हुकुममुताबिक राणा शासनविरुद्धका पर्चा लेखेर छर्ने व्यक्तिहरूको खोजी हुन थाल्यो। एक–एक नागरिकसँग सोधपुछ हुन थाल्यो। नेपालको राणाकालीन इतिहास जानकारीमा राख्नेहरूलाई पक्कै थाहा हुनुपर्छ कि निकै लामो समयको कसरतपश्चात् प्रशासनले मूल विद्रोहीका रूपमा पक्राउ पर्ने व्यक्तिको नाम थियो– गणेशमान सिंह।
गणेशमान सिंह तिनै व्यक्ति हुन्– जसका हजुरबा राणा–सरकारका बडाकाजी थिए। त्यही नाताले उनी पनि राणाहरूसँग नजिक थिए। नजिक मात्रै थिएनन्, उनी जागिरे नै थिए। अड्डा जाँदा उनी साइकल चढेर जान्थे। जागिरकै सिलसिलामा एक दिन जाँदाजाँदै उनको अपमान हुने गरी एक सैनिकले उनलाई बिनाकारण गाली गरे। बाल्यकालदेखिकै सुरो उनले ती सैनिकलाई नराम्रोसँग पिटिदिए।
यो घटनाको रिपोर्टिङ तत्कालीन महाराज पद्मशमशेरलाई गरिसकिएको थियो। तसर्थ, खुद पद्मशमशेरको निर्णयबमोजिम गणेशमानलाई कान समातेर चारपटक उठबस गर्न लगाइयो। गणेशमान सिंहको जीवनमा सम्भवतः यही सजाय नै एउटा बहाना थियो, जसले राणाशासनविरुद्ध उनीभित्र बिउ रोपेको थियो। यसै समयको क्रममा गणेशमानलाई जुवा खेल्ने लतले गाँजेको थियो। जुवा खेल्दाखेल्दै उनी यसरी ऋणमा डुबे कि एक दिन उनले आफ्नो घरको ढुकुटी फोडे र कलकत्ता भागे। तर, कलकत्तामा उनी टिकेनन्, फर्केर हेटौंडा आइपुगे।
तर, अब जिन्दगीलाई नयाँ बाटोमा लैजाने उद्देश्यले उनी पढ्नका लागि भनेरै पुनः कलकत्ता पुगे। नभन्दै, कठोर मेहनतसाथ पढेपछि उनले प्रथम श्रेणीमा म्याट्रिक पास गरे। पछि कलकत्तामै साइन्स पढ्न लागे। पढाइका साथसाथ राजनीतिक गतिविधिप्रति उनको चाख बढ्दै गयो। यसमा कलकत्तामा दिनहुँजस्तो भइरहने नाराजुलुसले उनलाई आकर्षित मात्र गरेन, साथीहरूसँगै त्यस्ता नाराजुलुसमा सहभागीसमेत हुन थालिसकेका थिए। यसैबिच उनको भेट कलकत्तामै शुक्रराज शास्त्रीसँग भयो। शास्त्रीको वाकपटुताबाट गणेशमान यति आकर्षित भए कि राणाशासनप्रतिको वितृष्णालाई अझ मलजल गर्न ठुलो सघाउ पुर्यायो। त्यही समयमा भारतीय अखबारहरूमा छापिने नेपालको राजनीतिमाथिका टीकाटिप्पणीका कारण गणेशमानभित्र राणाविरुद्ध थप विद्रोहको भावना जागृत हुन थाल्यो। उनलाई थाहा थियो, यस्ता टीकाटिप्पणीबाट देशभित्र भने सबै बेखबर छन्। त्यसैले, यस्ता कुरा देशवासीलाई पनि पढाउन जरुरी छ भन्ने सोचेर उनले राणा शासनमाथि प्रहार गरेर टिप्पणी गरी छापिएका अखबारहरू पाँच सय प्रतिसम्म किनेर कटिङ गर्दै नेपालमा पठाउन लागे।
यता काठमाडौंमा राणाशासनविरुद्ध गंगालालले गर्ने भाषणहरूको चर्चा दिनहुँ बढिरहेको थियो। यो चर्चाबाट कलकत्तामा गणेशमान पनि बेखबर थिएनन्। केही समयपछि गंगालाललाई भेट्ने उद्देश्यसाथ उनी नेपाल फर्किए।
नेपाल आएपश्चात् गणेशमानको जीवनमा धेरै घटना–परिघटना भए। अन्ततः निकै लामो विचार–विमर्श र अभ्यासपछि उनी तत्कालीन प्रजापरिषद्सँग नजिक भए। वास्तवमा उनी राणाशासनविरुद्ध क्रान्तिको बिगुल फुक्ने प्रजापरिषद्का सदस्य नै बनेका थिए। यो तथ्यको पुष्टि उनको ‘मेरो कथाका पानाहरू’मा पढ्न सकिन्छ, जसमा भगवती मन्दिरसामुन्ने गंगालाललाई दायाँतिर र उनलाई बायाँतिर राखेर बिचमा उभिई धर्मभक्तले खुवाएको शपथ यसरी अङ्कित भएको छ– ‘आजदेखि हामी जिउज्यान दिएर प्रजापरिषद्लाई मजबुत पार्छौं। कदाचित त्यो प्रक्रियामा बिचमा कहीं पक्राउ परियो भने बरु मरेर जानेछौं तर सास रहुन्जेल कसैलाई धोका दिनेछैनौं।’ तथापि, आधिकारिक रूपमा धर्मभक्तको घरमा उनी प्रजापरिषद्का सदस्य बनेका थिए।
त्यसपछि गणेशमानले प्रजापरिषद्को सदस्यका हैसियतले पर्चाको काम गर्न लागे। पर्चा गंगालालले आफ्नो टाइपराइटरमा टाइप गर्थे। इतिहास भन्छ– राणा सरकारविरुद्ध पर्चा लेख्ने त्यो टाइपराइटरलाई गंगालालले आफ्नो घरमा खानतलासी हुने आशङ्काले गणेशमानलाई हस्तान्तरण गरेका थिए।
गणेशमानकै भनाइमा– ‘धर्मभक्तको घरमा एक रात प्रशासनले खानतलासी गरेको थाहा पाएपछि गंगालाल भोलिपल्ट सखारै गणेशमानकहाँ खास्टो ओढेर आए। खास्टोभित्र टाइपराइटर लुकाएर ल्याएका थिए। गणेशमानले टाइपराइटर जोगाउन आफूले लिए तर उनलाई पनि राणा प्रशासनबाट उत्तिकै खतरा भएकाले टाइपराइटर मिल्ने साथीलाई सुरक्षित राख्न दिए। दुःखको कुरा, गंगालाललगायत गणेशमानहरू पक्राउ परेको खबर आउनासाथ उनले टाइपराइटर इनारमा फ्याँकिदिए।’
प्रजातन्त्रका लागि विगुल फुक्ने आधारस्तम्भ बनेको पर्चा र पर्चा लेख्ने त्यो माध्यम टाइपराइटरको यति रोमाञ्चक इतिहासबाट सम्भवतः आजको पुस्ता अनभिज्ञ छ। त्यसो त तत्कालीन प्रजातन्त्रको जग हाल्ने यस्तो पृष्ठभूमियुक्त इतिहास हेर्दा/पढ्दा हामीलाई कथाझैं लाग्न सक्छ। तर, यो हाम्रै देशको इतिहास हो भनेर बुझेपछि भने हाम्रो छाती गर्वले चौडा हुन्छ।
देशमा आज जुन लोकतन्त्रको कुरा गर्दै छौं, यो यत्तिकै स्थापित भएको होइन। यसपछाडि राणासत्ताको निरङ्कुशता र त्यसविरुद्धको आवाज, कार्यकलाप र त्यससँग सम्बन्धित व्यक्तिहरूको महत्त्वपूर्ण योगदानवापत प्राप्त भएको प्रजातन्त्रको ठुलो हात छ। यो अलग कुरो हो कि त्यही प्रजातन्त्रलाई कुनै खेलौनाझैं खेलाउँदा खेलाउँदै २०१७ सालमा आएर कुठाराघात हुन गयो। त्यसलाई आफ्नो ठाउँमा ल्याउन पूरै तीन दशक पर्खनुपर्यो। तर ‘ढिलै भयो राम्रै भयो’ भन्ने उक्ति चरितार्थ गर्दै पुनः प्रजातान्त्रिक व्यवस्था स्थापना भयो।
समयको गतिसँगै त्यो व्यवस्थाले पनि परिवर्तन खोज्यो र आज आएर देशमा लोकतन्त्र र त्यसभन्दा पनि अघि बढेर गणतान्त्रिक शासन व्यवस्था कायम छ। सिद्धान्ततः प्रजातन्त्रको योभन्दा परिष्कृत रूप अर्को छैन। तर, यसो भन्दैमा गणतन्त्रको नाममा देखिएको अराजकतालाई ‘उपलब्धि’ मान्न कदापि सकिन्न। तथापि, वर्तमान गणतन्त्रको पृष्ठभूमिमा रहेको इतिहासको त्यो समयलाई सम्मान गर्नबाट कोही पनि चुक्नु हुँदैन।
प्रकाशित: १७ श्रावण २०८२ ०६:५६ शनिबार

