अगस्ट ६ र ९ सृष्टिकै सबैभन्दा कहालीलाग्दा दिन हुन्। यी दिन कुनै महाशक्तिको आणविक दम्भले जिउँदै जल्न बाध्य दुई लाखभन्दा बढी मानिसको क्रन्दनलाई सम्झने दिन हो। यी दिनमा मानवता रोएको थियो, विश्व स्तब्ध भएको थियो र विज्ञानले लज्जित हुनुपरेको थियो।
६ अगस्ट सन् १९४५ को दिन बिहान ८.१५ बजे ‘इनोला गे’ नामक अमेरिकी बी– २९ बमवर्षक विमानले हिरोसिमा सहरको केन्द्रमा पहिलो परमाणु बम ‘लिटिल ब्वाई’ खसालेको थियो। विस्फोटसँगै आगोको लप्का उत्पन्न भयो जसले वायुमण्डलको तापमान चार हजार डिग्री सेल्सियस बढायो। विस्फोट पछि रेडियोधर्मी युक्त कालो रङको वर्षा भयो र तिनका कण हावामा फैलिए। यो प्रलयसँगै ६६ हजार मानिस तुरुन्तै हताहत भए। युएस–जापानिज रेडिएसन इफेक्ट्स रिसर्च फाउन्डेसनका अनुसार पहिलो चार महिनामा करिब एक लाख ६६ हजार जनाको मृत्यु भयो।
हिरोसिमामा आणविक बम परीक्षणकोे तीन दिनपछि अगस्ट ९ मा नागासाकीमा दोस्रो परमाणु बम खसालियो। यसको नाम ‘फ्याट म्यान’ राखिएको थियो र यो बमको तौल १० हजार पाउन्ड र गोलाइ पाँच फिट व्यासको थियो। कुनै दुःस्वप्नजस्तै क्षणभरमै ती सहर खरानीमा परिणत भए र लाखौं मानिस एकै चिहान बने। विश्व पहिलो पटक आणविक बम भोग्न बाध्य भयो। यो सृष्टिकै यौटा भयानक प्रलय थियो।
यो बम त्यतिबेला खसालिएको थियो जतिखेर सोभियत संघले याल्टा सम्मेलनमा गठबन्धन सहयोगीहरू अमेरिका र बेलायतसँग भएको सम्झौता अनुरूप जापानविरुद्ध रणनीतिक आक्रमण सुरु गर्दै थियो।
दोस्रो विश्वयुद्धका दौरान ७ डिसेम्बर १९४१ मा जापानले पर्ल हार्बरमा अमेरिकी जहाजमाथि आक्रमण गर्यो। यो आक्रमणमबाट २३ सय जति अमेरिकी सैनिक मारिएका थिए। जबकि एउटा सानो रुसी सहर रझेभको संग्राममा सोभियत लालसेनाले दश लाखभन्दा बढी वीरहरू गुमाएको थियो।
युद्धअघि ५६ हजार मानिस बसोबास गर्ने रझेभ सहरमा मुक्तिपछि जम्मा ३६० मात्र बचेका थिए। पर्ल हार्बरमा जापानी आक्रमणपछि अमेरिका पनि युद्धमा तानियो। अमेरिकी राष्ट्रपति फ्य्रांकलिन रुजवेल्टले त्यतिबेलै जापानसँग बदला लिने घोषणा गरेका थिए।
अगस्ट ६ र ९ को नागासाकी र हिरोसीमामा हमलाभन्दा दुई महिनाअघि मात्र सोभियत सेनाले पोल्यान्ड, चेकोस्लोभाकिया, रोमानिया, बुल्गेरिया, हंगेरी, युगोस्लाभिया, अस्ट्रिया, डेनमार्क, नर्वे आदि मुलुकहरूलाई फासिवादबाट मुक्त गर्दै नाजीकेन्द्र बर्लिनमा विजयको झण्डा फहराएको थियो। यसका लागि उसले आफ्ना दुई करोड ७० लाख वीरहरूको जीवनको मूल्य चुकाएको थियो। योसँगै आफूलाई विश्वविजयको दाबेदार ठान्ने जर्मनीलाई ८ मे १९४५ का दिन घुँडा टेकाएर आत्मसमर्पण सन्धिमा हस्ताक्षर गराइयो। युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भयो।
दोस्रो विश्वयुद्धमा सोभियत जनताले सबैभन्दा ठूलो मानवीय क्षति बेहोरेर युरोपलाई मुक्त गरेका थिए र पश्चिमा साझेदारहरूलाई पराजयबाट जोगाएका थिए। यो तथ्य ०७ नोभेम्बर १९४१ को अक्टोबर क्रान्ति दिवसका दिन सोभियत नेता जोसेफ स्टालिनले गरेको भाषणबाट उजागर हुन्छ। जब युरोप खर्लप्पै निलेर १९४१ को जुन २२ को दिन नाजी जर्मनले सोभियतसंघमा आक्रमण गर्यो, तिनीहरूले सरासर युरोपेली भूभाग कब्जा गर्दै तीन महिनामै मस्को नजिक धावा बोल्न पुगे। यो जताततै पराजयले घेरेको र निराशा हात लागिरहेको बेला थियो
जर्मन कमान्डले नोभेम्बर ०७ मा राजधानी मस्कोको रेड स्क्वायरमा विजय परेड खेल्ने घोषणा समेत गरेको थियो। यही दिन जोसेफ स्टालिनले रेड स्क्वायरबाट मस्कोको रक्षार्थ निस्केका सेनाहरूलाई आह्वान गर्दै भनेका थिए: ‘...कमरेड रेड आर्मीहरू..., सारा संसारले तपाईंहरूलाई नाजी आक्रमणकारीहरूको जमात नष्ट गर्न सक्ने शक्तिको रूपमा हेरिरहेको छ।
युरोपका पराजितहरू, जो जर्मन आक्रमणकारीहरूको जुवामा फसेका छन्, तपाईंहरूलाई आफ्नो मुक्तिदाताको रूपमा हेरिरहेका छन्। महान मुक्तिको अभिभारा अब तपाईंहरूको काँधमा छ। यो मिसनको सहयोद्धा बन्नुहोस्। तपाईंहरूले जुन युद्ध लड्दै हुनुहुन्छ यो मुक्तिको युद्ध हो, न्यायपूर्ण युद्ध हो। हाम्रा महान् पुर्खाहरूको साहसिक छविले तपाईहरूलार्ई यस युद्धमा प्रेरित गरोस्। ...’
सोभियत संघले यतिबिघ्न गुन लगाए पनि गठबन्धन साझेदार बेलायत र अमेरिकाले कहिल्यै पूर्ण रूपमा कृतज्ञ बनेनन्। हो उनीहरू बिच स्पष्ट वैचारिक भिन्नताहरू थिए र हिटलर विरुद्धको उनीहरूको सहकार्य बाध्यात्मक थियो। यी तथ्यलाई इतिहासका विभिन्न घट्नाक्रमहरूले पुष्टि गर्छ।
सन् १९४२ को सुरुका महिनाहरू जब चारैतिर आक्रमण, क्षति र पराजयले घेरेको थियो स्टालिनले गठबन्धन सहयोगी राष्ट्र बेलायत र अमेरिकालाई जर्मन विरुद्ध युरोपमा दोस्रो मोर्चा खोलिदिन आग्रह गरेका थिए। यसो गर्दा सोभियतहरूलाई युद्धको बोझ र दबाब स्वभाविकरूपमा घट्थ्यो। तारन्तारको अनुरोधमा अमेरिकाले रुसी आग्रहप्रति बेवास्ता देखाएका थिए। जब दुई सय दिन र दुई सय रातको स्टालिनग्राडको रणनीतिक लडाइँमा सोभियतहरूले प्रदर्शन गरेको सौर्य, पराक्रम र बलिदानले विजयको ढोका खोल्यो र त्यसपछि उनीहरूले कहिल्यै पछि हट्नु परेन, त्यसले सन् १९४३ को नोभेम्बरमा तेहरान सम्मेलन निम्त्यायो। तब मात्र बेलायत, अमेरिकी मित्र राष्ट्रहरूले पश्चिमी युरोपमा दोस्रो मोर्चा खोल्न सहमति जनाए।
उपरोक्त पृष्ठभूमिमा सोभियतहरूको पूर्वी युरोपमा फैलिएको प्रभाव र १९४५ को वसन्तसँगै स्थापित विजयको सुनिश्चितता देखेर अमेरिका र पश्चिमा राष्ट्रहरू झस्किनु ‘स्वाभाविक’ थियो। यसकै परिणति हुनसक्छ– हिरोसिमा र नागासाकीमा अमेरिकाको ‘अस्वाभाविक’ शक्ति प्रदर्शन। त्यसकै लागि आफू सुपरहिरो भएको उद्घोष गर्न उसले जापानमा बम वर्षा गर्यो। लाखौं निर्दोष नागरिकको जीवनको मूल्यमा खेलबाड गर्यो।
अगस्टका काला दिन
१९४५ को अगस्टमा बम प्रहार हुँदाका दिनहरूसम्म जापान दोस्रो विश्वयुद्धले गलिसकेको थियो तर औपचारिकरूपमा हार मानेको थिएन। केही आलोचकहरू बम खसाल्नु अगाडि नै जापान लगभग आत्मसमर्पण गर्ने अवस्थामा पुगिसकेको पनि बताउँछन्। आखिर पराजित भइसकेको जापानमाथि किन यतिबिघ्न कडा प्रहारगरियो !
बदला लिने नियत होस् वा अन्य, अन्ततः हिरोसिमा र नागासाकीमा आणविक बम खसालियो। यो प्रयोग, धमास वा दादागिरीसँगै मानव इतिहासमा सबैभन्दा क्रुर घटना थियो। यो घटनाको त्रासदी यतिसम्म थियो कि बमले सहर नस्ट गरेको महिनांै पछिसम्म पनि मानिसहरू मर्नेक्रम जारी रह्यो।
बम खस्दा कुनै चोटपटक नलागेका मान्छे पनि अस्पतालहरूमा रहस्मय तरिकाले मरिरहेका थिए। विस्फोटले उत्पन्न भयानक तापले सयौं मृतकहरू यसरी जलेका थिए कि उनीहरू महिला हुन् कि पुरुष भनेर छुट्याउन सम्भव थिएन। बिस्फोटको केन्द्र नजिक मर्नेहरूको त अस्थीसमेत भेटिएन्।
जापानी आक्रमणमबाट अमेरिकी पर्लहार्बरमा २३ सय जति अमेरिकी सैनिक मारिएका थिए तर अमेरिकी परमाणु बम प्रहारपछि हिरोसिमा र नागासाकी सहर खरानी भएको थियो र झन्डै दुई लाख १४ हजार मानिस मारिए।
बमविस्फोटको पाँचदिनपछि अन्ततः जापानले १९४५ को अगस्ट १४ मा आत्मसमर्पण गर्यो। त्यसदिन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमनले भनेका थिए: ‘हामीले पर्ल हार्बरपछि कुरिरहेको दिन आज हो।’
यसको एक दिनपछि जापानी सम्राट हिरोहितोले रेडियोमा जापानलाई आत्मसमर्पण गराउनकै लागि सबैभन्दा क्रुर बमको प्रयोग भएको बताए। उता बेलायती प्रधानमन्त्री क्लेमेन्ट एट्लीले ‘हाम्रो अन्तिम शत्रुलाई आज घुँडा टेकाइएको छ’ भनेका थिए। जापानको यो आत्मसमर्पणको खुशियालीमा ब्रिटेन, अमेरिका र अस्ट्रेलियामा दुईदिन बिदा दिइयो।
नागासाकीमा बम विस्फोटपछि एउटा जापानी केटाले आफ्नो मृत भाइलाई गाड्न पिठ्यूँमा बोकेर हिँडिरहेको तस्बिर
दोहोरो मापदण्ड
दोस्रो विश्वयुद्धको लगत्तै जुलाइ अगस्ट १९४५ मा भएको पोट्सड्याम सम्मेलनले युद्धकाल भएको अपराधमा संलग्न व्यक्ति वा संस्था विरुद्ध कानुनी कारबाही स्थापना गर्ने वा सञ्चालन गर्ने मुद्दालाई सम्बोधन गरेको थियो। जर्मन पुनः एकीकरणपछि सन् १९९२ को जुलाईमा पूर्वी जर्मनीको राज्य परिषद्को अध्यक्ष एरिक होनेकरलाई शीतयुद्धको समयमा गरिएका मानवअधिकार हनन्को निहुँमा मुद्दा चलाइयो र जेल हालियो। डेढ वर्षपछि चिली निर्वासनमा रहेकै बेला उनको मृत्यु भयो।
अल–कायदालाई ध्वस्त पार्ने र तालिबान शासनलाई हटाउने कारण जनाउँदै सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण ग¥यो। आम विनाशकारी हतियार भएको आशंका र आरोपमा संयुक्त राज्य अमेरिकाले सन् २००३ मा इराकमा हस्तक्षेप ग¥यो। इराकको मानवताविरुद्धको अपराधको दोषी ठहर गरेपछि सद्दाम हुसेनलाई सन् ३० डिसेम्बर २००६ मा फाँसी दिइएको थियो।
के यस्तो चासो र सुनवाइ हिरोसिमा र नागासाकी घटनाको लागि भयो ? आणविक बम विस्फोटसँग सम्बन्धित युद्ध अपराधको लागि कसैलाई दोषी ठह¥याइयो ?
साझेदारीबाट शीतयुद्धतर्फ
हिरोसिमा र नागासाकीमा बमविस्फोटको घट्नापछि हिटलर विरोधी मित्रखेमा राष्ट्रहरूबिच तीव्र ध्रुवीकरण सुरु भयो। सन् १९४९ को अगस्टमा सोभियत संघले प्लुटोनिअम बम परीक्षण गर्यो। यसपछि ऊ आणविक शक्ति सम्पन्न राष्ट्र बन्यो। यसले इतिहासको क्रम नै परिवर्तन गरिदियो। योसँगै शीतयुद्ध युगको विजारोपण भयो।
त्यतिखेर सोभियतसंघको यो सफलताका लागि एक अमेरिकी भौतिकशास्त्री थियोडोर एल्भिन हललाई रुसको परमाणु जासुस बनेको आरोप लगाइएको थियो। नब्बेको दशकमा आएर मात्र वैज्ञानिक थियोडोर हलले मुख खोले र आफूमाथिको आरोप स्वीकार्दै न्युयोर्क टाइम्सका पत्रकारलाई भनेका थिए : ‘... इतिहासको क्रममा परिवर्तन नभएको भए सम्भवतः त्यसले विगत पचास वर्षभित्र अनेक आणविक युद्ध निम्त्याइसक्थ्यो। सन् १९४९ –१९५० को सुरुमा चीनमा बम खस्न सक्थ्यो। मैले त्यसो हुन नदिन सघाएको रहेछु भने म विरुद्ध लगाइएको आरोप स्वीकार गर्छुु ...।’
हुन पनि ८० वर्षअघि हिरोसिमा र नागासाकीमा गरिएको बम आक्रमणपछि विश्वले अरू कुनै त्यस्तो आणविक आक्रमण भोग्न परेको छैन। त्यसो हुन नदिनुमा आफ्नो पनि भूमिका रहेको गर्वसहित सन् १९९९ को नोभेम्वरमा वैज्ञानिक थियोडोर हलको मृत्यु भयो।
दोस्रो विश्वयुद्ध समाप्त भएको केही समयपछि १९४९ मा संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपेली राष्ट्रहरूको पहलमा उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) को स्थापना भयो। शीतयुद्धकालभरि यो सोभियत संघ र सम्बद्ध समाजवादी धुरी विरुद्ध रह्यो। यसको ६ वर्षपछि सन् १९५५ मा सोभियतसंघको नेतृत्वमा पूर्वी युरोपका राष्ट्रहरूसहित मित्रता, सहकार्य र पारस्परिक सहयोगको सन्धि, वार्सा सम्झौता भयो। विश्व दुई ध्रुवमा विभाजित भयो। योसँगै शीतयुद्धकालको सुरुआत भयो। इतिहासको कुनै बेलाका साझेदार राष्ट्रहरू अब एकअर्का विरुद्ध खुलमखुल्ला उभिए।
एउटा संयोग भने गजबको छ– दोस्रो विश्वयुद्धपछि खडा भएका दुई विपरीत सैन्य संगठनहरू अमेरिकी धुरीको ‘नाटो’ र सोभियत शिविरको ‘वार्सा प्याक्ट’मध्ये जापानको निकटता सधैं अमेरिकी धुरीसँग रह्यो। जापान इन्डो–प्यासिफिक क्षेत्रमा नेटोको एक प्रमुख साझेदार हो।
एक ध्रुवीय विश्व
०९ नोभेम्बर १९८९ मा बर्लिन पर्खाल भत्काइयो। पुँजीवाद र समाजवादको विभाजन चिह्नको यो पतन निस्सन्देह शीतयुद्ध अन्त्यको संकेत ठानिएको थियो। यसलाई राजनीतिकवादहरू बिचकोे संघर्षको विश्राम भएको मानिएको थियो। पर्खाल भत्काइनुले संसारमा विद्यमान अन्तरविरोध, द्वन्द्वहरू र राजनीतिक ध्रुवीकरण रोक्न सकेन।
सन् १९९१ को जुलाइको पहिलो दिन सोभियत संघ अवसानको पूर्वसन्ध्यामा ‘वार्सा सम्झौता’ समाप्तिको घोषणा गरियो। यसले विश्वशान्तिलाई मार्गप्रशस्त गर्ने विश्वास लिइएको थियो। गोर्वाचोभको यो लचकताको बदला त्योबेला संयुक्त राज्य अमेरिकाबाट ‘पूर्व वार्सा प्याक्ट राष्ट्रहरू नाटोको हिस्सा बन्ने छैन’ र ‘पूर्वमा नाटो विस्तार नगर्ने’ जस्ता बाचा र सहमति भएको थियो भन्ने गरिन्छ तर समयकालमा त्यो गलतसिद्ध भयो।
रुसमा प्रजातन्त्रको उदयसँगै प्रथम राष्ट्रपति बोरिस यल्त्सिनको अमेरिका र पश्चिमाहरूप्रति अचम्मको क्रेज र तिनीहरूसँग मेलमिलापमा रहने उत्कट चाहना थियो। यसका निम्ति उनलाई एकध्रुवीय विश्वको मुख्य अनुयायी मान्न सकिन्छ। १७ जुन १९९२ मा यल्त्सिनले अमेरिकी कांग्रेसमा सम्बोधन गर्दै भनेका थिए : ‘... अब संसारले सहज सास फेर्न सक्छ।
पृथ्वीमा जताततै सामाजिक विद्वेष, वैमनस्य र क्रूरता छर्ने, मानव समुदायमा भय जगाउने कम्युनिष्ट मूर्ति ढल्यो। ... र म तपाईहरूलाई आश्वस्त पार्न यहाँ छु, हाम्रो पृथ्वीमा, हामी उसलाई फेरि उठ्न दिनेछैनौं।... धेरै वर्षसम्म हाम्रा राज्यहरू दुई चरम विपरीत ध्रुवमा थिए। ... अब यो शैतानी परिदृश्य विगतको भएको छ। ...’
यो इतिहासको एउटा सबैभन्दा तीतोपक्ष छ– एक प्रकारले अमेरिका र पश्चिमाहरूको खुसीको लागि सोभियत संघ टुक्रयाइयो, बर्लिनको पर्खाल भत्काइयो, वार्सा सैनिक संगठन भंग गरियो, लेनिनका मूर्तिहरू ढालिए। एकध्रुवीय विश्व खडा भयो तर इतिहासको यो बहाव विपरीत उत्तर एटलान्टिक सैनिक संगठनलाई विस्तार गर्न थालियो, यसले युक्रेन संकट निम्त्यायो। विश्व आकाशमा फेरि अशान्तिको कालो बादल मडारियो।
बोरिस यल्त्सिनले भनेजस्तै परस्पर विपरीत विचारधारारहित एकध्रुवीयतामा संसारले सहज सास फेर्न सकेन। इरान, इराक, लिबियामा युद्धहरू भइरहे। अफगानिस्तान बल्झिरह्यो। बरु पूर्व सोभियत खेमाहरूको लचकताको विपरीत अल्बानिया, बुल्गेरिया, क्रोएसिया, चेक, इस्टोनिया, हंगेरी, लाटभिया, लिथुआनिया, स्विडेन, मोन्टेनेग्रो, उत्तरी म्यासेडोनिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, फिनल्यान्डहरूमा नाटो विस्तार गरियो। सेप्टेम्बर २०२२ मा युक्रेनले नाटोको सदस्यताको लागि आवेदन दियो।
आखिर सोभियतसंघ र त्यसधुरीको रक्षाकवच ‘वार्सा सैनिक संगठन र शीतयुद्धको कारक मानिएको विचारधाराको युग नै नरहेपछि एकध्रुवीय भइसकेको विश्वमा नाटोको औचित्य के? किन ऊ रुस घेर्न आइपुग्यो। के, नाटो विस्तारको कदम र युक्रेनको त्यसमा आबद्ध हुने रहर हालको द्वन्द्वको जरो होइन र? आज बोरिस यल्त्सिन जिउँदै भए के गर्थे होलान्? मलाई यो प्रश्नले चिमोटिरहन्छ।
इतिहासको बिडम्बना आज रुस र युक्रेन युद्ध लड्दै छन्। सृष्टिको आदिकालदेखिका दाजुभाइहरू; सत्तरीवर्ष यौटै मिसन बोकेर साझा सोभियत देश निर्माणमा जुटेका सहयात्रीहरू; काँधमा काँध मिलाउँदै एउटै मोर्चाबाट नाजी फासिष्टविरुद्ध लडेका सहयोद्धाहरू एकापसका दुश्मनमा परिणत भएका छन्।
महान देशभक्तिपूर्ण युद्धमा सहादत गर्ने दुई करोड सत्तरीलाख सोभियतहरू मध्ये एक करोड त युक्रेनीहरू थिए। इतिहासमा यो भन्दा पीडादायी कुरा के हुनसक्छ ?
एकध्रुवीयताको सन्नाटामा आज प्यालेस्टाइन गाजा जलिरहेछ। बोल्ने कोही नभए जस्तै निरीह छ– विश्व। एकध्रुवीय विश्व व्यवस्थाले पृथ्वीमा फैलाएको युद्ध, अशान्ति, आतंकवाद, गरिबी, जलवायु संकट, आर्थिक संकट, साना देशहरूमाथि हस्तक्षेप र हमला आदिले आजित संसार यो शासन व्यवस्थाको विकल्पको खोजीमा छ।
शान्ति ! शान्ति !! शान्ति !!!
संसारमा सबै शान्ति चाहन्छन्, अमनचयन चाहन्छन्। त्यो सहिष्णुताबाट मात्र संभव छ र त्यो निरपेक्ष हुन सक्दैन्। त्यसले भिन्न भाषा, संस्कृति र रङहरूबिच पारस्पारिक सम्मानको माग गर्छ– त्यो पनि कागजी होइन वास्तविक सम्मानको। हरेक मुलुकको आआफ्नो मौलिक विशिष्टता र स्वतन्त्र निर्णयको सम्मान हुनुपर्छ। कुनै देश विशेषको एकपक्षीय मानक, प्रभुत्व र निर्णयको हालीमुहालीले उकुसमुकुस र टुलुटुलु हेरिरहेको संसारमा बहुध्रुवीय न्याययुक्त विश्व निर्माण आवश्यक छ।
विश्वमा शान्ति फैलिरहोस्! दुःखजिलो गरेर कमाएको खानलाई कसैलाई त्राहीत्राही नहोस्!! हिरोसिमा र नाकासाकीमा भएको विज्ञानको दुरुपयोगबाट सबैको चेत खुलोस्।
प्रकाशित: २१ श्रावण २०८२ ०७:४२ बुधबार

