१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
विचार

खुसी विज्ञान

सबै मानिस खुसी चाहन्छन्। बौद्ध धर्मगुरु दलाई लामाको विचारमा जिन्दगीको लक्ष्य नै प्रसन्नता हो। आखिर जिन्दगीको उद्देश्य नै ‘ह्याप्पिनेस’ हो भने त्यसको प्राप्ति कसरी गर्ने त भन्ने प्रश्न उठ्छ नै। कोही सोच्छन्, आफ्नो आकांक्षा पूरा भएपछि प्रसन्नता मिल्छ तर विज्ञहरूको राय फरक छ।

एकाघरका दुई दाजुभाइमध्ये एउटा सानैदेखि खुसी देखिन्छ भने अर्को सधैं उदासीनतामा किन अल्झन्छ? एकै पारिवारिक वातावरणमा हुर्किएका दुई बच्चामा किन प्रफुल्लताको मात्रा फरक पर्छ? भन्ने प्रश्नको उत्तरका लागि आनुवंशिक तत्त्व, जिनको उत्खनन आवश्यक हुन्छ।

सन् २०११ मा ‘जर्नल अफ ह्युमन जेनेटिक्स’मा प्रकाशित अन्वेषणले केवल एक जिनले कसरी मानिसको खुसीलाई निर्देशित गर्छ भन्ने देखाएको छ। शरीरमा ‘सेरोटोनिन’ भन्ने रासायनिक पदार्थ स्वाभाविक रूपले पैदा हुन्छ। प्रसन्नता दिने भएकाले यो तत्वलाई ‘फिल गुड केमिकल’ पनि भनिन्छ तर यो पदार्थ देहमा बन्नेबित्तिकै मानवले हर्षित महसुस गरिहाल्ने होइन। बरु आफ्नो प्रभाव देखाउन यो केमिकल मस्तिष्कमा पुग्नुपर्छ। उत्पादित रासायनिक पदार्थ दिमागमा पुर्‍याउने काम सेरोटोनिन ट्रान्सपोर्टर अथवा ‘फाइभ एचटिटी’ जिनको हो। मानिसमा यो जिन पूर्ण स्वरूप र अर्धढाँचा दुवै अस्तित्वमा छन्। कुनै विशेष कारणबिना नै केही मानवमा लामो अनि केही मानिसमा छोटो जिनको उत्पादन हुन्छ। पूर्ण आकृतिको जिनले सेरोटोनिनलाई छिटोछिटो दिमागमा पुर्‍याउँछ भने अर्धढाँचाको जिनले ‘फिल गुड केमिकल’ मस्तिष्कमा धिमा गतिमा मात्र पम्प गर्न सक्छ, नहरको पानी नयाँ र पुरानो दमकलले खेतमा पुर्‍याएजस्तै।

मानवीय शरीरमा कुनै पनि जिनको संख्या एक जोर हुन्छ। बाबु र आमाबाट एक–एक जिन आउने भएकाले मानिसमा दुई आनुवंशिक तत्त्व हुने हो। तसर्थ, अन्यझैं हाम्रो शरीरमा पनि एक जोर ‘फाइभ एचटिटी’ जिन पाइन्छ तर मानव मात्रमा दुवै जिनहरू पूर्ण स्वरूप वा दुवै अर्धस्वरूप अथवा मिश्रणको सम्भाव्यता रहन्छ। भाग्यले जुन व्यक्तिमा दुवै जिन पूर्ण आकृतिका हुन्छन्, उसको दिमागले अत्यधिक सेरोटोनिन पाउँछ। 

परिणामस्वरूप व्यक्ति अधिक प्रसन्न देखिन्छ। त्यस्तै, दुवै अर्धढाँचाको जिन भएको व्यक्तिको मस्तिष्कले न्यून मात्रामा रासायनिक तत्त्व पाउने भएकाले उक्त मानिस अर्काको दाँजोमा कम खुसी हुन्छ। उदाहरणका लागि प्रस्तुत गरिएको एक जिनले मात्र हाम्रो खुसीपनलाई निर्देशित गर्दैन, बरु दर्जन जिनहरूले व्यक्तिको प्रसन्नतामा भूमिका खेल्छन्। फेरि कुनै पनि मानिसमा प्रसन्नता दिने सबै जिनहरू खराब अथवा असल नै हुने पनि होइन। बेदाग ‘ह्याप्पी जिनहरू’ भएको व्यक्ति अन्यको दाँजोमा थप प्रसन्न हुनु अन्यथा भएन। त्यसैले एकै परिवारका दाजुभाइमध्ये एक सानैदेखि सन्तुष्ट अनि अर्को नाखुस देखिनुलाई अस्वाभाविक मान्न सकिन्न। हालसम्म प्रकाशित अन्वेषणहरूलाई आधार मान्दा झन्डै ३० प्रतिशत प्रसन्नतामा व्यक्तिले जन्मँदै आमाबाबुबाट प्राप्त गरेको आनुवंशिक तत्त्वले भूमिका खेल्छ भने ७० प्रतिशत खुसी आफ्नो मेहनतले आर्जन गर्ने हो। तसर्थ, प्रसन्नताका लागि व्यक्तिको प्रयास प्रधान देखियो।

किन खुसी हुने? प्रसन्नताले शारीरिक र मानसिक स्वास्थ्यमा के भूमिका खेल्छ? हर्षले व्यक्तिको रक्तचाप र मुटुको धड्कनलाई सन्तुलित राखी मुटुरोगबाट जोगाउँछ। प्रसन्नताले प्रतिरक्षा प्रणाली सबलीकरणमार्फत बाह्य संक्रमण अनि आन्तरिक रूपले शरीरमा उत्पन्न हुने क्यान्सरलगायतका लक्षणबाट जोगाएर आयुसमेत लम्ब्याउन भूमिका निर्वाह गर्छ। प्रफुल्लताका कारण उत्पादन हुने रासायनिक तत्त्वले बुढेसकालमा देखिने शारीरिक दुखाइ पनि कम गर्छ। प्रसन्नतासँग सम्बन्धित सेरोटोनिन र डोपामिनजस्ता असल हर्मोनहरूको संयोजनमार्फत दिमागी थकान र बेचैनीबाट छुटकारा दिन्छ। सन्तुष्ट व्यक्ति दिमागी बोझबाट मुक्त रहने भएकाले सहजै समस्या समाधान गर्न सक्छ, उत्पादकत्व बढ्छ। बहुसंख्यक खुसी कर्मचारी भएको कार्यालयमा काम चुस्त हुन्छ।

खुसीको मतलब सधैंको प्रसन्नता होइन, बरु कुनै पनि परिस्थितिलाई सकारात्मक आँखाबाट हेर्ने संस्कार र समस्याबाट छिटो रिहाइ पाउनु हो भन्ने बुझ्नुपर्छ। मानवीय जीवनमा नैराश्य, दु:खपीडा, दिक्दारी, अनिश्चिततालगायतका नकारात्मक परिस्थिति अपरिहार्य छन्। दर्दविहीन व्यक्ति हुनै सक्दैन। मुख्य कुरा असहज परिस्थितिबाट कति छिटो पार पाउने भन्ने हो।

प्रत्येक व्यक्तिको प्रसन्नताको मात्रा फरक हुन्छ। प्रफुल्ल रहन सक्ने क्षमतालाई उक्त व्यक्तिको ‘बेसलाइन ह्याप्पिनेस’ भनिन्छ। यो आधारभूत प्रसन्नताको मात्रा व्यक्तिपिच्छे फरक हुन्छ। कोही बढी प्रसन्न हुन्छ अनि कोही कम। तर, व्यक्तिले एक्कासि कुनै कुरा ठूलो सफलता पाउँदा वा गुमाउँदा उक्त ‘बेसलाइन’ केही समयका लागि माथि–तल हुन्छ तर समय व्यतीत भएपछि प्रसन्नताको मात्रा पहिलेकै अवस्थामा पुग्छ। पति–पत्नी गुमाएको व्यक्ति केही वर्षको अन्तरालपछि पहिलेकै अवस्थामा आउँछ, आफ्नो नियमित कार्यतालिकामा फर्कन्छ। केही व्यक्तिलाई भने दुःखपछि पूर्वावस्थामा फर्कन लामो समय लाग्छ। प्रसन्नताको अभ्यास गरेको व्यक्ति पीडाबाट छिटो निस्कन्छ अनि खुसीको अनुभूति पनि लामो समयसम्म गर्छ।

अध्ययनहरूले धेरै सम्पत्ति र बाह्य विलासिताले खुसी दिँदैन, बरु हर्ष हासिल गर्न आन्तरिक शान्ति, दया र करुणाको आवश्यकता देखाएका छन्। धनले नै प्रसन्नता दिने भए सम्भ्रान्त मुलुकमा धेरै मानिस खुसी हुनुपर्ने हो तर यथार्थमा उल्टो देखिन्छ। त्यसको मतलब गरिबीले हर्ष दिन्छ भन्ने हुँदै होइन। आधारभूत आवश्यकता पूर्ति भएपछि खुसीको प्राप्ति सहज हुन्छ भन्ने हो। घरबार चलाउन र दालभात खान पुग्ने व्यक्ति संसारकै खुसी बन्न सक्छ भन्ने देखाएको छ। उक्त सफलता हासिल गर्न संहिताको पालन आवश्यक छ।

जसरी स्वस्थ जीवनका लागि निरन्तरको प्रयास आवश्यक हुन्छ, त्यसैगरी सुखका लागि समेत सधैंको मेहनत अपरिहार्य ठान्छिन्, हर्षप्राप्तिका सम्बन्धमा वर्षौंदेखि अनुसन्धानरत युनिभर्सिटी अफ क्यालिफोर्निया रिभरसाइडमा साइकोलोजीकी वरिष्ठ प्राध्यापक सोनिया लुबोर्मोस्की। एकपटकको उपलब्धिले सधैं प्रसन्नता दिन नसक्ने भएकाले साधनाको आवश्यकता देख्छिन् डा. लुबोर्मोस्की। यद्यपि, प्रसन्न जीवन व्यतीत गर्न ठुलो लगानीको आवश्यकता हुँदैन, बरु ससाना प्रयास नै पर्याप्त हुन्छ।

सुखी जीवनका लागि सबैभन्दा ठुलो हतियार दरिलो सम्बन्ध देखियो। दर्जनौं अध्ययनहरूले मनमिल्ने तीनदेखि पाँचजना सच्चा मित्र भएको व्यक्ति सबैभन्दा प्रसन्न हुन्छ भन्ने देखाएको छ। बुढेसकालमा प्रसन्न रहन ३० वर्षको उमेरमै मित्रको जगेर्ना गर्न सल्लाह दिन्छन् मिचिगन स्टेट युनिभर्सिटीका मनोविज्ञानका प्राध्यापक विलियम चोपिक। जीवनको पूर्वार्धमा स्थापित मित्रता लामो कायम रहने देख्छन् डा. चोपिक।

नभएको कुरामा लिप्तता देखाउनुभन्दा पाएको कुरामा ईश्वरप्रति कृतज्ञता देखाउने व्यक्ति प्रसन्न हुन्छ। सानो घर भएको व्यक्तिले दर्जनौं बंगला भएकासँग आफ्नो तुलना गर्नुभन्दा हजारौं घरबारविहीन भएको अवस्थामा आफूसँग बस्ने छाना भएकोमा खुसी हुनुपर्छ। जे काम गरेको छ, त्यसलाई जीवनको लक्ष्य मान्दा हर्ष मिल्छ। सन्तान हुर्काउने, राष्ट्रको सेवा गर्ने अनि खेती गर्ने व्यक्तिले आफ्नो कामलाई जीवनको लक्ष्य मान्दा मानसिक लाभ मिल्छ। बच्चा हुर्काउनेभन्दा ठुलो कर्म अर्को छैन भन्ने बुझाइले मातालाई कहाँ दिक्दार हुन दिन्छ र? तरकारी फलाएर सहरमा बेच्ने किसानले आफ्नो कामका कारण सहरका बासिन्दाले ताजा खान पाएको यथार्थको स्मरण गर्दा कति आनन्द दिन्छ होला। त्यस्तै, शरीर स्वस्थ नभए अन्य सबै कुरा तपसिलका विषय बन्ने भएकाले स्वयंको कायाको हेरचाह दीर्घकालीन हर्षका लागि आवश्यक छ।

तमाम प्रयासका अतिरिक्त जीवनको मोहभन्दा पर पुगेका महात्माको समेत मन भड्कन्छ भने अरूको के कुरा। त्यस्तो अवस्थामा मन्दिर, भजनकीर्तन, योगा, कसरत, हिँडाइजस्ता क्रियाकलापले तनाव नियन्त्रणमा मद्दत गर्छ। मनैदेखि नि:स्वार्थ दानधर्म गर्ने व्यक्ति पुलकित हुन्छ। कति रकम दान गर्दा व्यक्ति प्रसन्न हुन्छ भन्ने सम्बन्धमा भएका अध्ययनहरूले सानो रकमको सहयोगले ठुलो सुख दिने मात्र देखाएको छैन, बरु थेग्नेभन्दा अधिक चन्दा दिँदा व्यक्ति झनै दुःखित हुने भन्छ।

सुखको अनुभूतिले धेरै किसिमको पीडा र जटिलताबाट उन्मुक्ति दिन्छ। प्रसन्नताको प्राप्ति स्वतः हुँदैन। यसका लागि निरन्तर लगानीको आवश्यकता हुन्छ भन्ने कुरा स्मरण गर्दै आफ्नो बानीलाई तदनुरूप ढाल्न सके व्यक्ति जीवनभर खुसी हुन्छ भन्ने कुरा आफू पनि स्मरण गरौं अनि अन्यलाई पनि बताऔं। 

प्रकाशित: १३ आश्विन २०८३ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %