८ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

पूर्वोन्मुख शताब्दी वैचारिक नेतृत्व

मध्ययुगको पुनरावृत्ति

एक्काइसौं शदीको प्रारम्भ लाजमर्दो भएको छ किनभने यतिखेर संसारभर अमानवीयता, सर्वसत्तावादी अहंकार र राज्यक्रुरताको पराकाष्ठा दोहरिँदैछ। जताततै बलियाले निर्धामाथि अत्याचार गर्दैछ। संस्कृति, नैतिकता तथा सभ्यतालाई गिज्याउँदै गाजा र प्यालिष्टाइनमा महिला, अबोध बालबालिका र गैरसैनिक मानिस अनि पत्रकारमाथि बर्बरतामा उत्रिएको छ– यहुदी श्वेत वर्चस्ववाद र उसको मतियार इजरायल।

मानवतामाथि निर्लज्ज प्रहार गरिएको छ– त्यहाँ। बीभत्स नरसंहार र लाखौंको सामूहिक चिहानले कालो मध्ययुग (डार्क एज) दोहरिएको संकेत दिन्छ। यसले आधुनिक–नैतिक समाज, प्रगतिशील चेतना र एक्काईसौ शदीको दर्शनको धज्जी उडाइरहेको छ। मानौ पाँचौं शदीको अँध्यारो मध्ययुग फेरि पुनरावृत्ति भएको छ।

खासगरी अमेरिका, युरोप र पश्चिमा विकसित मुलुकले इजरायली शासकबाट गाजामा भइरहेको यस्तो जघन्य नरसंहार र आमभोकमरी रोक्न कति पनि प्रयास गरेनन् । उल्टै इजरायललाई पुलपुल्याए। यसबाट पश्चिमाजगत्को मानवअधिकारको नाटक र सभ्य नागरिक भन्ने गरिएको श्वेत जातीय वर्चश्ववादी मखुण्डो नराम्ररी च्यातिएको छ। लाग्छ पश्चिमा पुँजीवाद ग्लोबल साउथ र मेहनती मानिस विरुद्ध छ। पश्चिमा समाज शोषण, दमन, हत्या, हिंसा, विभेद र औपनिवेशिक अहंकारी दर्शन–विचारमा मात्रै निर्माण भएको हो। एक हजार वर्ष लामो बर्बर कालारात्रीबाट उन्मुक्ति दिलाउँदै पन्ध्रौं शताब्दीपछि त्यही पश्चिमा समाजले युटोपिया, जागरण, उद्वोधन, स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार, समाजवाद, साम्यवादजस्ता उत्कृष्ट चेतना एवं विचारहरू आविष्कार गरेको थियो र समाजलाई अग्रगामी दिशामा हिँडाएको थियो। यिनै विचार टेकेर मानव सभ्यता हमेसा उज्यालो दिशामा हिँड्ने प्रयत्न गर्‍यो अनि उत्पादनमुखी, स्वतन्त्रताप्रेमी, समानतामूलक, शोषणरहित र मानवतावादी सामाजिक संरचना निर्माणको उद्देश्यमा जुटिरह्यो। यसै सिलसिलामा उत्कृष्ट वैचारिक मन्थनबाट भौतिकवाद (मटेरियालिजम) जस्तो श्रेष्ठ विश्वदृष्टिकोण पनि पेश गर्न सक्यो। १८औं, १९औं र बीसौं शदीमा यिनै विचारहरूले समाजको प्रगतिशील रूपान्तरण, सम्पन्न मानव सभ्यता र सामूहिक कार्यप्रणाली अपनाउन राज्यहरूलाई हमेशा दिग्दर्शन गरिरहे।

आज एक्काइसौं शदीको प्रारम्भमा यी विचार अप्रभावी, क्षयीकृत र अवसान भइरहेको देखिन्छ भने यस्ता स्थापित विचारहरू उपर अराजकतावाद, लोकप्रियतावाद, युद्धोन्मुख सैन्यकृत नव फासिवाद, नव औपनिवेशिकवाद, ओलीगार्की, अन्धराष्ट्रवाद, मैमत्त धार्मिक कट्टरतावाद, नवउदारवाद र कर्पोरेट पुँजीवाद जस्ता पश्चगामी धारणाले निरन्तर आक्रमण गरिरहेका छन्।

यतिबेला मानवता र सामूहिक भलाइका लागि साझा अग्रगामी दर्शन, ज्ञान एवं विचारको आविष्कार, अभ्युदय, पुनर्संस्करण, परिष्करण वा पुनर्स्थापना हुन नसक्नु एक्काईसौं शदीको विडम्बना देखिएको छ। फेयरवेल अफ मोर्डनिजम (२०१६) मा भारतीय अर्थशास्त्री आर रजनीकान्थले युरोसेन्ट्रिक आधुनिकतावादले एकातिर विज्ञानलाई कब्जा गर्दैछ भने अर्कोतिर पूर्वका सामाजिक–सांस्कृतिक, बहुल–रैथाने र प्राकृतिक–आदिवासी विचारहरूलाई अर्थतन्त्र, जिडिपी र प्रतिव्यक्ति आयको पर्या–मूल्यांकित ढाँचामा समेट्न सकेन। फलतः युरोप अँध्यारो युगतिरै फर्केको भनेर आलोचना गरेका छन्।

त्यति मात्र होइन अहिले प्रश्न गरिँदैछ– कतै एक्काईसौं शताब्दी विचार शून्यताको युग त हुने होइन? अब्र्रचेट युनिर्भसिटीका प्राध्यापक रिकार्डो मार्टिनले पनि अहिले युरोपले शान्ति, सामाजिक भलाइ र सामूहिक प्रजातन्त्र (लोकतन्त्र) छोडेर आणविक युद्ध, अष्ट्रेरिटी र सैनिकीकरणको गलत बाटो हिँडेको भनेका छन् । लोकतन्त्र र विचारको पतन किन भइरहेको छ युरोपमा? उनी पनि प्रश्न गर्छन्। धेरै दार्शनिकहरू वैचारिक रिक्तताको गोलचक्करमा छन्, त्यसैले यतिखेर पूर्वतिर फर्किरहेका छन्। किनभने पूर्व सामूहिकतावाद, सम्पूर्णतावाद (होलिजम) र भाइचारावादमा अडिएको छ। के पूर्वीय दर्शनले वैश्विक नेतृत्व दिन सक्ला? चौतर्फी संकटले घेरिएको मानवजातिलाई संकटमोचन गर्ने उत्कृष्ट विचार दिने सामथ्र्य पूर्वले राख्ला? यसै वरिपरि हामी पनि घोत्लिने चेष्टा गरौं।

अहिलेको वैश्विक संकट

इतिहासको आधुनिक कालखण्डमा मानवजातिले ज्ञान, विज्ञान र उत्पादनमा बढोत्तरी गर्न सफल भयो । मेसिन र प्रविधिको विकासले अभूतपूर्व फड्को पनि मा¥यो । स्वतन्त्रता, भाइचारा, उदारवाद र उच्च लोकतन्त्रमार्फत सर्वसत्तावादको अन्त्य गर्दै राज्य सामूहिकतावादी विचारमा चल्नुपर्ने मत बलियो बनायो तर राज्यको उपरी ढाँचासहित उत्पादनका साधनहरूमा निरन्तर उपल्लो वर्गको नियन्त्रण र आय वितरणको असमानताले गर्दा धनाढ्य वर्गका मानिसहरूले मात्रै सुख र समृद्धि उपभोग गर्न पाए। यस्तो सुख पाउने मानिस युरोप, अमेरिका र पश्चिमा मात्रै देखिए। बाँकी ग्लोबल साउथ, एसिया, अफ्रिका र ल्याटिनका ६ अर्ब जनसमूह भने अझै पनि गरिबी, अशिक्षा, अन्याय, विभेद र अत्याचारको चक्रव्यूहमा फँसिरहे।

बीसौं शदीको उत्तरार्धमा आएको नव–उदारवादले समग्र ग्लोबल साउथलाई भूमण्डलीकरणको मूलप्रवाहमा ल्याउँदा क्याचिङ अप इफेक्ट पैदा हुने र उच्च प्रतिव्यक्ति आयको सपना देखाए पनि त्यस्तो भएन। उल्टो ‘फलिङ अफ इफेक्ट’ सिर्जना भई त्यहाँ कम औद्योगीकरण, कम आय र कम उत्पादन, अधिक बाह्य ऋण, बढी अशिक्षा, बढी बेरोजगारी र जलवायु संकट भयावह रूपले मडारियो। प्रसिद्ध अर्थशास्त्री थोमस पिकेटी (२०२१) का अनुसार संसारका एक प्रतिशत धनाढ्यको हातमा बाँकी ९९ प्रतिशत मानिसकोभन्दा दोब्बर सम्पति थुप्रिएको छ। यसबाट के देखिन्छ भने पश्चिमाहरू मात्रै धनी र सम्पन्न बने पूर्वेली र दक्षिणका मानिस गरिब रहे।

अमेरिका र युरोपमा मात्रै थुप्रिएको धन सामाजिक अन्यायको पर्याय हो । यो धन औपनिवेशिक लुटको थुप्रो हो। यसमा नाफा छ, बजार छ, मौद्रिकता छ तर मानवीय मूल्य छैन। तापनि उक्त धनको रक्षार्थ पश्चिमले आणविक र सैन्यप्रभूत्ववाद लाद्न सुरु ग¥यो। यसैले हुन सक्छ, यतिबेला पूरै पश्चिम सिधासाधा पूर्वका विरुद्ध धम्कीको भाषा बोल्दैछ, जसको नेतृत्व डोनाल्ड ट्रम्पले गर्दैछन्।

यो नै विश्वभाइचारा र सामूहिकतावाद विरुद्ध विकसित भइरहेको गैरजिम्मेवार पश्चिमेली एकत्ववादी (रिडक्सनिजम) विचारधारा हो। यसले के देखाएको छ भने पश्चिमले संसारभर एकाधिकार जमाउने र सैन्यधम्कीमार्फत दक्षिणका सबै प्राकृतिक–आर्थिक स्रोत एक्लै कब्जा गर्ने साम्राज्यवादी नीतिलाई आजको विकसित चेतना फष्टाइरहेको एक्काईसौं शदीमा पनि निरन्तरता दिन खोजेको छ, जो इतिहासको अपमान हो । यो मानवजातिले मिल्काइसकेको थोत्रो विचार हो।

यो पश्चिमा दर्शनको महाभ्रष्टीकरण हो र कार्ल माक्र्सले भनेजस्तै यो पुँजीवादी प्रणाली र पश्चिमा दर्शनको दरिद्रताको प्रदर्शन पनि हो। यस्तो नव–फाँसिवादी विचारले आजका वैश्विक अन्तरविरोधहरू र उदाउँदै गरेका मानवीय संकटहरू हल गर्न सक्दैन पनि। किनभने यसले हामी, समावेशिता र बहुलता अस्वीकार गर्छ।

भर्खरै अमेरिका जलवायु उत्तरदायित्वबाट विमुख भएको छ– बहुपक्षीय पेरिस सहमतिबाट फर्केर। यति गैरजिम्मेवार काम किन गरे ट्रम्पले? भन्दा उनी विश्व जवाफदेही चाहँदैनन्, केवल नाफा र लुट चाहन्छन्, जो पश्चगामी विचारको मूलस्रोत हो। यसमा पुँजीवादी प्रणालीकै वैचारिकी कमजोर देखिएको छ। जबकि पाँचसय वर्षअघि समग्र वैश्विक संकट निवारणार्थ युटोपियाको सपना देख्दै आधुनिक युगमा प्रवेश गर्दा आममानिसले व्यक्तिगत उन्नति, स्वतन्त्रता र सामाजिक भलाइको सर्वस्वीकार्य विश्वदृष्टिकोण समाजवाद (सोसलिज्म) नै रहेको सत्यबोध गरेका हुन्।

यसैको लागि अर्थ–राजनीतिक प्रणालीलाई ‘नेसन–स्टेट डायलेक्टिक’को प्रारूपमा मूलतः तीनवटा सार्वभौम विचार प्रणाली उनीहरूले बनाएका पनि थिए, जो डेमोक्य्राटिक सोसलिज्म, लिबरेटारिनियन सोसलिजम र रिभोल्युसनरी सोसलिजम थिए। आधुनिक समाजले बार्बरिजम, फासिजम र टोटालिटारियन विचार सदाका लागि त्यागेको हो। यसको नागरिक अनुमोदन पनि प्रथमतः युरोपले नै गरेको थियो तर बिडम्बना यतिबेला पश्चिम पुनश्चः एकत्ववाद र नवफासिवादतर्फ लाग्दै गरेकाले नै वैचारिक संकटको अवस्था आएको हो। यही कारण समग्र विश्व अहिले एसिया र पूर्वपट्टि फर्केको छ।

सत्यभन्दा परको युग: कमजोर सामाजिक बहस

खासमा सन् २०१६ पछि डिजिटल सञ्चारको फैलावटपछि बनेको आधुनिक समाजका संरचना र गतिविधिहरूलाई सत्यभन्दा परको युग (पोष्ट ट्रुथ एरा) को फ्रेममा हेर्ने गरिएको छ। ब्रिष्टोल युनिर्भसिटीका प्राध्यापक स्टेफान लेभान्डोस्की समेत (२०१७) ले गरेको एक अध्ययनमा राज्य, नागरिक र समाजले गलत सूचना (मिस इन्फर्मेसन) र मिथ्या तथ्यहरूका भरमा महत्त्वपूर्ण निर्णयहरू लिने गरेको देखाएको छ। यसले गलत सांस्कृतिक अभ्यासतिर समाजलाई अग्रसर गराएको छ। सामाजिक पुँजीमा घटोत्तरी, आर्थिक असमानतामा वृद्धि, विज्ञानका खोजमा अविश्वास, मिडिया प्रोपागान्डा र सांस्कृतिक उपनिवेश जस्ता कारण स्थानीय एवं रैथाने सामाजिक मन्थन र भाषाशैलीहरूको प्रभावलाई कमजोर पारिँदैछ।

 यतिवेला सामाजिक सञ्जालमा भेरिफिकेसन नहुँदा सही विचार के हो भन्न गाह्रो बनाएको छ। नाफाका लागि जे गर्न पनि ठूला व्यावसायिक संस्था (बिग कर्पोरेट) हरूले सञ्चार कपट ‘मिडिया मेनिपुलेसन’मार्फत गलत सूचना प्रवाह गर्छन् र सामाजिक भ्रमलाई बढावा दिन्छन्, जसका कारणबाट उन्नत दर्शन र विचार निर्माणमा अवरोध सिर्जना हुनेगर्छ र नयाँ विचारधारालाई सत्यतामा आधारित खोज र तथ्यहरूमा उभ्याउन गाह्रो पर्छ। यसले सामाजिक नैतिकता र आदर्शहरू विलोपन गराउने खतरा उत्तिकै बढाउँछ यसर्थ राज्यले नै दर्शन–एकेडेमी र स्वस्थानीय कल्चरल इन्स्टिच्युट (सांस्कृतिक संरचना) हरूलाई प्रोत्साहन गरी निरन्तर ‘सोसल डिस्कोर्ष’हरू चलाउने कार्य गर्नुपर्छ। यसले नयाँ दर्शन, विचार, भाष्य र ज्ञानमिमांसाको अभ्युदय गराउँछ। यही काम पश्चिमले गरेको छैन– यतिबेला। ट्रम्पले त ज्ञानका स्रोत (विश्वद्यिालय) र सोसल डिस्कोर्स बन्देज नै गरेका छन्।

ख्याल गर्नैपर्ने तथ्य के हो भने आलोचनात्मक सामाजिक बहस (क्रिटिकल सोसल डिस्कोर्स) प्रतिस्थापन गर्न पश्चिमले कृत्रिम बुद्धिमता (एआई) अघि सारेको छ। सामाजिक संज्ञान र चैतन्य वृद्धि गर्नेभन्दा एल्गोरिदम प्रविधि उन्नतिकरणबाट नाफाको व्यवसाय गर्ने भएकाले यसले क्रिटिकल थिंकिङलाई बढावा दिँदैन। यसैले एआईले मानिसहरूलाई केवल कन्जुमर (वस्तु उपभोक्ता) बनाउने छ। उपभोगवादले समाजमा आलोचनात्मक सोचाइ आउन दिँदैन। यसले नयाँ सत्य र नयाँ विचार पैदा हुन पनि दिँदैन।

विचारको नेतृत्व: पूर्व र एसियाले गर्छन्

ठीक यतिबेला चीनमा सम्पन्न सांघाइ कोअपरेसन (एससिओ) सम्मेलनको चर्चा चुलिएको छ। सांघाइमा २६ देशहरूले सामूहिकतावादी सन्देश र विचार पनि निर्माण गर्दैछन्। खासमा त्यहाँ बढी छलफल भएको विषय अमेरिका किन व्यापार युद्धको बाटोमा हिँड्दैछ? भन्ने र अमेरिका, युरोप र पश्चिमाहरू किन युद्धपिसासु बन्दैछन् भन्ने नै हो।

निश्चय नै अमेरिका र समग्र पश्चिम चीनको प्रगतिदेखि आत्तिएको छ। हो यही सन्दर्भमा पूर्वको प्रतिनिधि अर्थात् चीन किन अविचलित मार्गमा छ भन्ने उत्तर दिएका छन्– फुदान युनिभर्सिटीका प्राध्यापक झान बिइबिईले। उनको भनाइमा ग्लोबल साउथ वा पूर्वीय विचार वा चिनियाँ वा भारतीय विचार वा एसियाको विचार यो सबै उस्तैउस्तै हो, जो सामूहिकतावादको जगमा अडिएको छ।

यो युरोप–अमेरिकी कोलोनियल विचारभन्दा माथिल्लो तहको सामूहिक (बहुल) ज्ञान प्रणालीमा आधारित छ। यो विज्ञानजन्य पनि छ। उनले केही उत्कृष्ट वैचारिकी आधार दिँदै अबको एक्काईसौ शदी एसियाको हुने भनेका छन्। खासमा पश्चिमा विचार डिभाइड एन्ड रुलमा आधारित भयो तर पूर्वभने युनाइट एन्ड प्रोस्परमा आधारित छ जसले समग्र दक्षिणलाई एैक्यबद्धता र गोलबन्द गर्छ। पश्चिमले फ्रेन्ड अर फोय (मित्र वा शत्रु) को आधार लिन्छ तर पूर्व मित्र र सदासर्वदा मित्रता भन्ने विचार बोक्छ, जो गाजाको नरसंहार र आणविक हमलाको परिकल्पना पनि गर्दैन। पश्चिम सैन्यछहारी, धम्की, भिडन्त र शक्तिब्लक (गुट) निर्माण गर्छ जस्तैः नाटो, इन्डोपेसिफिक, क्वाड, अकुस र ट्यारिफ वार। पूर्व सहकारिता एवं दक्षिणी कोरिडोर कनेक्टिीभिटी फैलाउँछ, जस्तैः ब्रिक्स प्लस, सांघाइ कोअपरेसन, बिआरआई, आसियान, सार्क, विमस्टेक र यस्तै अन्य। जसले सबैको सार्वभौमिकताको सम्मान गर्छ। हो जीवाश्म इन्धन अन्त्य गर्दै अबको पर्यावरणीय दायित्व र जलवायु न्यायको नेतृत्व पनि पूर्वले नै गर्छ। अनि नैतिक विज्ञान र विवेकशील एआई पनि पूर्वले बनाउँछ।

यिनै दार्शनिक आधारमा सोसलिज्म, मल्टिल्याटरिज्म, कुटम्बकम–मित्रता र सहकारितालाई अँगाल्दै पूर्व हाम्रो भविष्य लेख्न अगाडि बढ्यो बढ्यो । यी तत्त्वज्ञानले एक्काईसौ शदीको विचारलाई पूर्वले नै नेतृत्व गर्छ। अब यही मानवतामैत्री पथमार्गमा आउने छनौट पश्चिम र युरोपले नगरी धरै छैन। पश्चिमले पूर्वबाट सिक्नुपर्ने दर्शन–ज्ञान र विचार नै नैतिकता, बहुलता, मानवतावाद र वसुधैव कुटम्बकम नै हो। नवउपनिवेशवाद, सर्वसत्तावादी र नवफासिवादका विरुद्धको यही विचार सम्प्रेषण सांघाइ कोअपरेसन सम्मेलनले गर्न सकेको पनि छ। आशा गरौं– समग्र पूर्व र ग्लोबल साउथ यसै विचारको नेतृत्व सँगसँगै अघि बढ्नेछ।

प्रकाशित: १९ भाद्र २०८२ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App