४ चैत्र २०८२ बुधबार
image/svg+xml
विचार

पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : विचार-संवाद र दक्षिण एशियाली राजनीतिमा सम्भावित प्रभाव

तस्बिर : पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालय

दक्षिण एशिया आज गम्भीर राजनीतिक संक्रमणको दौरबाट गुज्रिरहेको क्षेत्र हो। लोकतन्त्र औपचारिक रूपमा संस्थागत भएको देखिए पनि व्यवहारमा यसको सार क्रमशः कमजोर हुँदै गएको छ। 

निर्वाचनहरू भइरहेका छन्, सत्ता हस्तान्तरण पनि भइरहेको छ, तर जनताको जीवनस्तर, सामाजिक न्याय र समान अवसरका आधारभूत प्रश्नहरू अझै अनुत्तरित छन्। असमान विकास, राज्यसत्ताको केन्द्रीकरण, सामाजिक बहिष्करण, कमजोर सुशासन र बदलिँदो भू-राजनीतिक दबाबले दक्षिण एशियाली राजनीतिलाई जटिल बनाउँदै लगेको छ।

यही पृष्ठभूमिमा पुस ६ देखि ९ गतेसम्म सम्पन्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणलाई केवल औपचारिकतामा मात्र बुझ्न खोज्नु अपूरो विश्लेषण हुनेछ। यो भ्रमण विचार, संवाद र वैकल्पिक राजनीतिक दृष्टिकोणको सशक्त हस्तक्षेपका रूपमा महत्वपूर्ण रह्यो, जसले नेपाल-भारत सम्बन्ध मात्र होइन, समग्र दक्षिण एशियाली राजनीतिक बहसमा दीर्घकालीन वैचारिक प्रभाव पार्ने सम्भावना बोकेको छ।

डा. भट्टराईको भारत भ्रमणको सबैभन्दा विशिष्ट पक्ष यसको विचार-आधारित चरित्र हो। उनले भारतका राजनीतिक, बौद्धिक र कूटनीतिक वृत्तसँग गरेका भेटवार्ताहरू औपचारिक सौजन्य आदान-प्रदानमा सीमित रहेनन्। ती संवादहरू लोकतन्त्रको सार, राज्यको चरित्र, समावेशिता, विकासको मोडेल, संघीयता र क्षेत्रीय सहकार्यजस्ता दीर्घकालीन विषयमा केन्द्रित थिए। आजको दक्षिण एशियामा राजनीति प्रायः तात्कालिक शक्ति सन्तुलन, रणनीतिक लाभ र प्रतिक्रियात्मक निर्णयमा केन्द्रित देखिन्छ। यस्तो अवस्थामा विचार, मूल्य र दीर्घकालीन दृष्टिलाई केन्द्रमा राखेर संवाद गर्नु आफैंमा एक वैकल्पिक राजनीतिक अभ्यास हो।

मुम्बईस्थित विश्वप्रसिद्ध ‘आइटी बम्बे’ को ‘टेकफेस्ट’ मा डा. भट्टराईले दिएको ‘कीनोट स्पीच’ यस भ्रमणको वैचारिक केन्द्र रह्यो। ‘दक्षिण एशियामा लोकतन्त्रको भविष्यः युवा, प्रविधि र समावेशी लोकतन्त्र’ शीर्षकको उक्त भाषण शैक्षिक प्रस्तुति मात्र थिएन; यो दक्षिण एशियाली लोकतन्त्रको वर्तमान अवस्थामाथि गरिएको गहिरो आत्मसमीक्षा थियो। 

उनको तर्क स्पष्ट थियो-दक्षिण एशियामा लोकतन्त्र संकटमा छ भने यसको मूल कारण व्यक्तिको असफलता होइन, राज्य संरचनाको बहिष्करणकारी चरित्र हो। चुनाव भइरहेका छन्, तर लोकतन्त्र जनताको जीवनसँग जोडिन सकेको छैन। आर्थिक असमानता बढिरहेको छ, सामाजिक न्याय कमजोर छ, र शासन प्रणाली सीमित राजनीतिक-आर्थिक वर्गको नियन्त्रणमा केन्द्रित हुँदै गएको छ।

डा. भट्टराईले लोकतन्त्रलाई केवल शासन गर्ने विधि होइन, समाज रूपान्तरण गर्ने परियोजनाका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए। यदि लोकतन्त्रले गरिबी, असमानता र बहिष्करणको समाधान दिन सकेन भने जनताको नजरमा यसको वैधता क्रमशः कमजोर हुँदै जान्छ। यही प्रश्न आज नेपाल-भारत सम्बन्ध र दक्षिण एशियाली राजनीतिमा पनि केन्द्रीय बहसको विषय बन्न आवश्यक छ।

‘कीनोट स्पीच’ को अर्को महत्वपूर्ण आयाम युवाको भूमिकासँग सम्बन्धित थियो। दक्षिण एशिया विश्वकै सबैभन्दा युवा जनसंख्या भएको क्षेत्र हो, तर राजनीतिक नेतृत्व र नीति निर्माण तहमा युवाको अर्थपूर्ण सहभागिता अत्यन्त सीमित छ। युवालाई ‘भोलिको भविष्य’ भनेर वर्तमानबाट बहिष्कृत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै डा. भट्टराईले युवालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। युवाको असन्तुष्टि यदि लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन हुन सकेन भने त्यो असन्तुष्टि अतिवाद, अधिनायकवाद वा राजनीतिक उदासीनतामा रूपान्तरण हुन सक्छ, जसको असर समग्र दक्षिण एशियाली स्थायित्वमा पर्छ।

प्रविधिको सन्दर्भमा डा. भट्टराईको दृष्टिकोण सन्तुलित र यथार्थपरक रह्यो। डिजिटल प्रविधिले सूचना पहुँच, नागरिक सहभागिता र पारदर्शिता बढाउने ठूलो सम्भावना बोकेको छ। तर नियमनविहीन अवस्थामा यही प्रविधि गलत सूचना, जनमत हेरफेर र निगरानी राज्यको उपकरण पनि बन्न सक्छ। प्रविधि आफैंमा न लोकतान्त्रिक हुन्छ न अलोकतान्त्रिक; यसको चरित्र राज्यको नीति, नियमन र राजनीतिक नियतले निर्धारण गर्छ भन्ने उनको तर्क दक्षिण एशियाली सन्दर्भमा अत्यन्त सान्दर्भिक छ।

भारत भ्रमणका क्रममा डा. भट्टराईले विभिन्न राजनीतिक नेताहरू, नीति-विश्लेषकहरू, शिक्षाविद्हरू र कूटनीतिक व्यक्तित्वहरूसँग गरेका भेटवार्ताहरूको साझा विशेषता विश्वास निर्माण थियो। नेपाल-भारत सम्बन्ध ऐतिहासिक रूपमा संवेदनशील रहँदै आएको छ। असमानता, शंका र गलत बुझाइले यो सम्बन्धलाई पटक-पटक जटिल बनाएको छ। यी भेटवार्तामा डा. भट्टराईले नेपालको राजनीतिक रूपान्तरण-संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी राज्य निर्माण र समुन्नत समाजवादको वैचारिक यात्राबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरे। यसले भारतका बौद्धिक र नीति-वृत्तमा नेपालको राजनीतिक दिशाबारे थप स्पष्टता ल्याउने सम्भावना देखिन्छ।

यो भ्रमणको दीर्घकालीन प्रभाव नेपाल-भारत सम्बन्धमा संवादको गुणस्तर सुधार हुनु हो। परम्परागत कूटनीति प्रायः सरकार-सरकारबीच सीमित हुन्छ। तर विचार-आधारित कूटनीतिले समाज, बौद्धिक वृत्त र नीति निर्माण तहसम्म प्रभाव पार्छ। डा. भट्टराईको संवादले नेपाललाई केवल ‘साना छिमेकी’को रूपमा होइन, दक्षिण एशियाली लोकतान्त्रिक प्रयोगशालाको रूपमा बुझ्ने दृष्टिकोण बलियो बनाउन सक्छ। यदि भारतले नेपालका लोकतान्त्रिक प्रयोगहरूलाई सम्मान र सहकार्यको दृष्टिले हेर्न थाल्यो भने द्विपक्षीय सम्बन्धमा नयाँ सम्भावनाका ढोका खुल्न सक्छन्।

समग्रमा, डा. भट्टराईको भारत भ्रमण र उनको ‘कीनोट स्पीच’ ले दक्षिण एशियाली राजनीतिमा तीन तहमा प्रभाव पार्ने सम्भावना देखिन्छ। पहिलो, लोकतन्त्रबारेको बहसलाई चुनाव-केन्द्रित दृष्टिकोणबाट संरचनागत र समावेशी दृष्टिकोणतर्फ मोड्ने। दोस्रो, युवा र प्रविधिलाई क्षेत्रीय राजनीतिक परिवर्तनका निर्णायक कारकका रूपमा स्थापित गर्ने। तेस्रो, साना र ठूला राष्ट्रबीचको सम्बन्ध शक्ति सन्तुलन होइन, मूल्य, विश्वास र साझा हितको आधारमा पुनर्परिभाषित गर्ने बहसलाई बलियो बनाउने।

डा. बाबुराम भट्टराईको भारत भ्रमण तत्कालीन राजनीतिक लाभका लागि गरिएको यात्रा थिएन। यो दीर्घकालीन वैचारिक हस्तक्षेप हो। विचारले तत्काल सत्ता परिवर्तन नगर्ला, तर विचारले राजनीतिक दिशा परिवर्तन गर्छ। आज दक्षिण एशियालाई त्यही वैचारिक हस्तक्षेपको आवश्यकता छ-जहाँ लोकतन्त्रलाई केवल टिकाउने होइन, सार्थक बनाउने बहस होस्; जहाँ नेपाल-भारत सम्बन्ध शक्ति होइन, विश्वासमा आधारित होस्; र जहाँ राजनीति केवल वर्तमान व्यवस्थापन होइन, भविष्य निर्माणको साहस बनोस्।

डा. भट्टराईको भारत भ्रमणले यही बहसको ढोका खोलेको छ। अब प्रश्न यो होइन कि यो भ्रमण औपचारिक रूपमा कति सफल भयो; प्रश्न यो हो-दक्षिण एशियाली राजनीतिले यसबाट कति गहिरो पाठ सिक्न सक्छ। 

लेखक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन्। 

प्रकाशित: १३ पुस २०८२ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %