मानिसले झुटो किन बोल्छ? पहिले कसले बोल्यो? कहिलेदेखि बोलियो? किन बोलियो? झुटो बोल्नैपर्ने भएर बोलिएको हो? यस्ता सामान्य तर स्वीकार्य प्रश्नहरू अनेक छन्। चिन्तकहरूले वास्ता नै नगरी छाडेको विषय भने यो होइन। झुट चिन्तनलाई यहाँ चर्चाको विषय बनाइएको छ।
मानव मन, भय र सामाजिक संरचनालाई विश्लेषण गर्दा झुट मानव सभ्यतासँगै देखा परेको व्यवहार हो । इतिहास, धर्म, दर्शन र साहित्यको कुनै पनि कालखण्डमा कुनै न कुनै किसिमले झुट बोलिएकै देखिन्छ। मानिस किन झुट बोल्छ भन्ने प्रश्न सतही रूपमा सरल देखिए पनि यसको स्रोत मानव मनको गहिराइ, सामाजिक संरचना र अस्तित्वगत असुरक्षासँग गाँसिएको पाइन्छ। झुट नैतिक पतनको परिणाम मात्र होइन । यो अधिकांश मानिसको आत्म संरक्षण, सामाजिक अनुकूलन र अस्तित्व जोगाउने प्रयासको अभिव्यक्तिका रूपमा आएको देखिन्छ।
मानव मन स्वभावतः भयग्रस्त हुन्छ। भय अनेक हुन्छन्, मृत्युको, अस्वीकारको, अपमानको, दण्डको र असफलताको। सत्यले उपर्युक्त भयलाई प्रत्यक्ष चुनौती दिएपछि मानिस सत्यबाट टाढा भाग्न खोज्छ। झुट यहाँ एउटा मनोवैज्ञानिक ढाल बनेर उभिन्छ। फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तअनुसार ‘अहं’ले बाह्य यथार्थ र आन्तरिक चाहनाबिच सन्तुलन कायम गर्न रक्षा–प्रविधिहरू अपनाउँछ र झुट त्यही रक्षा–प्रविधिको परिष्कृत रूप हो।
मानवमस्तिष्कमा बाल्यकालदेखि नै झुटको बिउ रोपिएको हुँदोरहेछ । बच्चाले जब सत्य बोलेर दण्ड पाउँछ र झुटो बोलेर बच्न सफल हुन्छ, त्यही क्षण झुट व्यावहारिक रूपमा उपयोगी बन्न थाल्छ। समाज, परिवार र शिक्षण प्रणालीले अनजानमै झुटलाई पुरस्कार दिन थाल्छ। परिणामस्वरूप झुट असामान्य व्यवहार होइन, सामाजिक सिपका रूपमा विकसित हुन पुग्छ।
सामाजिक संरचनाले झुटलाई अझ संस्थागत बनाउन सहयोग गर्छ। शक्ति, पद, प्रतिष्ठा र प्रतिस्पर्धामा आधारित समाजमा सत्य धेरै पटक जोखिममा परेको देखिन्छ। राजनीति, व्यापार, कूटनीति र पारिवारिक सम्बन्धमा पनि ‘पूरा सत्य’ भन्दा ‘उपयुक्त सत्य’ बोल्ने संस्कार विकसित हुन्छ। मानिस जस्तो छ, त्यस्तो देखिनुभन्दा जस्तो देखिनुपर्छ, त्यस्तो देखिन बाध्य हुन्छ। यही दोहोरो जीवनशैली झुटको स्थायी आधार बन्छ। दार्शनिक दृष्टिले हेर्दा झुट सत्यको अभाव मात्र होइन, सत्यसँगको द्वन्द्वसमेत हो। अस्तित्ववादी दार्शनिकहरूका अनुसार मानिस आफ्नो स्वतन्त्रताको बोझबाट डराउँछ। सत्य स्वीकार गर्नु भनेको आफ्नो जिम्मेवारी स्वीकार गर्नु हो र यही जिम्मेवारीबाट भाग्न मानिस झुटको शरण लिन पुग्छ।
पूर्वीय दर्शनले झुटलाई नैतिक दोषका रूपमा मात्र होइन, अविद्या (अज्ञान) को अभिव्यक्तिका रूपमा हेर्छ। जब मानिसले आफ्नो उद्देश्य र जीवनको यथार्थलाई स्पष्ट रूपमा बुझ्न सक्दैन तब झुट स्वाभाविक रूपमा जन्मिन्छ (उपनिषदहरू)। झुट यहाँ बाह्य व्यवहार मात्र होइन, आन्तरिक भ्रमको परिणाम हो। मानिसले पहिले आफूसँग झुट बोल्छ, त्यसपछि मात्र समाजसँग।
आधुनिक मनोविज्ञानले पनि आत्म–झुटलाई झुटको मूल स्रोत मान्छ। मानिसले आफूलाई नै भ्रममा राखेर आफ्नो निर्णय, चाहना र कमजोरीलाई न्यायोचित ठहर गर्छ। यस्तो आत्म–झुट सबैभन्दा खतरनाक हुन्छ किनभने यसले आत्मबोधलाई नै विकृत बनाउँछ। आत्मबोध विकृत भएपछि सत्य र झुटको सीमा धमिलो हुनपुग्छ।
यसरी मानिस झुट बोल्छ किनभने ऊ डराउँछ, असुरक्षित महसुस गर्छ, सामाजिक स्वीकृति चाहन्छ, शक्ति जोगाउन चाहन्छ र आफ्नै अस्तित्वसँग आँखा जुधाउन डराउँछ। झुट मानव कमजोरीको संकेत मात्र नभएर मानव अवस्थाको जटिल यथार्थ पनि हो। झुटलाई बुझ्न मानिसको भय, चाहना, सामाजिक संरचना र अस्तित्वगत द्वन्द्व बुझ्न आवश्यक पर्छ। झुट न व्यक्तिगत दोष हो न त सामाजिक रोग मात्र। यो मानव चेतनाको अपूर्णताको दर्पण हो।
झुटको नैतिक, मनोवैज्ञानिक र दार्शनिक वर्गीकरण
झुट एकै किसिमको हुँदैन; यसको उद्देश्य, सन्दर्भ र प्रभावका आधारमा विभिन्न प्रकारका हुन्छन्। दार्शनिक, मनोवैज्ञानिक र सामाजिक दृष्टिले झुटको वर्गीकरण गर्न मानव व्यवहार बुझ्न आवश्यक हुन्छ।
स्वार्थप्रेरित झुट स् यस प्रकारको झुट व्यक्तिको आफ्नै लाभका लागि बोलिन्छ। आर्थिक, राजनीतिक वा व्यक्तिगत लाभका लागि अरूलाई भ्रममा पार्नु यसको मुख्य उद्देश्य हो। पश्चिमी नैतिक दर्शनमा यो झुट सधैं अनैतिक मानिन्छ किनभने यसले अरूको स्वतन्त्र निर्णय क्षमतामा हस्तक्षेप गर्छ। राजनीति, व्यापार र कूटनीतिमा यस प्रकारको झुट प्रायः प्रयोग भइरहेको देखिन्छ। यसलाई निकृष्ट झुट पनि भनिन्छ किनभने यसले अरूको हितमा प्रत्यक्ष प्रतिकूल असर पुर्याउँछ।
रक्षात्मक झुट: जब व्यक्तिले डर, दण्ड वा सामाजिक बहिष्कारबाट आफूलाई जोगाउन झुट बोल्छ, त्यसलाई रक्षात्मक झुट भनिन्छ। पूर्वीय दर्शनमा यस प्रकारको झुट सन्दर्भअनुसार आंशिक रूपमा क्षम्य मानिन्छ। विशेषगरी सत्यले अनावश्यक हिंसा वा विनाश निम्त्याउने अवस्थामा यसको सहारा लिइएको देखिन्छ। उदाहरण स्वरूप, रामायण र महाभारतमा युद्धको सन्दर्भमा झुट बोल्ने परिस्थितिहरूलाई लिन सकिन्छ। नर वा कुञ्जर अशोस्थामा हतोहतः लाई यस प्रसंगमा उल्लेख गर्नु उपयुक्त हुन्छ।
करुणाजन्य झुट: यसमा कसैको मन नदुखोस् भनेर आशा–भरोसा जगाउन, सान्त्वना दिन बोलिने झुटलाई करुणाजन्य झुट भनिन्छ। यो स्वीकार्य झुटका रूपमा चिनिन्छ। यस प्रकारको झुटले नैतिक द्वन्द्व उत्पन्न गर्छ– सत्यको पालन गर्नु कि करुणालाई प्राथमिकता दिनु? पूर्वीय ग्रन्थहरू, विशेष गरी महाभारतमा कृष्णले अर्जुनलाई युद्धको सन्दर्भमा दीक्षा दिने क्रममा झुटको प्रयोग गरेका छन्, जसले करुणा र धर्मबीचको द्वन्द्वलाई देखाउँछ।
आत्म झुट: यसमा व्यक्तिले अरूलाई होइन, आफैंंलाई भ्रममा राख्छ। आधुनिक मनोविज्ञानले यस झुटलाई सबैभन्दा गम्भीर प्रकृतिको मानेको छ। मानिसले आफ्नो कमजोरी वा असफलतालाई स्वीकार नगरी वैकल्पिक कथन सिर्जना गर्न यस्तो झुट बोल्छ। आत्मझुटमा व्यक्तिले आफूलाई न्यायोचित ठहर गर्ने मानसिक संरचना विकास गरेको हुन्छ। जसले निर्णय र बोधशक्तिलाई प्रभावित गर्छ।
सामाजिक वा रणनीतिक झुट: सामाजिक संरचनाले पनि झुट बोल्न सिकाउँछ। शक्ति, प्रतिष्ठा र प्रतिस्पर्धामा आधारित समाजमा झुट प्रायः अनिवार्य बन्ने गर्छ। मानिसले आफ्नो सामाजिक छवि सुरक्षित राख्न वा समूहमा स्वीकार्य हुन यस्तो झुट बोल्छ। निर्वाचनका क्रममा राजनीतिकर्मीहरूले गर्ने झुटा प्रतिबद्धतालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ।
झुटको मूल्यांकन: दार्शनिक कान्टका अनुसार झुट सधैँ अनैतिक हुन्छ तर उपयोगितावादी दृष्टिकोणमा भने झुटले अधिकतम सुख र न्यूनतम दुःख दिन्छ भने स्वीकार्य हुन्छ । पूर्वीय दृष्टिमा झुट सधैं अनैतिक हुँदैन। सत्य, करुणा र धर्मबीचको सन्तुलन कायम गर्न झुटलाई विवेकको अधीनमा राखिन्छ।
यस प्रकार झुटको विविधता व्यावहारिक दृष्टिकोणमा मात्र होइन, दार्शनिक, मनोवैज्ञानिक र सामाजिक दृष्टिमा पनि बुझ्नु आवश्यक हुन्छ। यसले समाजको जटिल संरचनाको प्रतिनिधित्व गरिरहेको देखिन्छ। मानव व्यवहारमा झुटको उपस्थितिले मनोवैज्ञानिक र सामाजिक कारणले मात्र होइन, दार्शनिक रूपले पनि गहिरो अर्थ बोकेको पाइन्छ। झुटको मूल्यांकन धेरैपटक सत्य, नैतिकता, करुणा र सामाजिक हितबीचको द्वन्द्वसँग जोडिएको देखिन्छ। विशेष गरी निकृष्ट, स्वीकार्य र सन्दिग्ध झुटको अवधारणाले झुटलाई अझ सूक्ष्म रूपमा बुझ्न सहयोग गर्छ।
पश्चिमी दर्शनमा झुट: पश्चिमी चिन्तनमा झुटको मूल्यांकन प्रायः नैतिक नियम र परिणाममुखीका आधारमा गरिएको पाइन्छ। इमानुएल कान्टका अनुसार झुट सधैं अनैतिक हुन्छ किनभने यसले सार्वभौमिक नैतिक नियमको उल्लंघन गर्छ र अरूको स्वतन्त्र निर्णय क्षमतामा हस्तक्षेप गर्छ। यस दृष्टिमा निकृष्ट झुट वा स्वार्थप्रेरित झुट पूर्ण रूपमा अस्वीकार्य हुन्छ।
उपयोगितावादी दृष्टिकोणमा झुटले अधिकतम सुख र न्यूनतम दुःख उत्पन्न गर्छ भने त्यसलाई स्वीकार्य मान्न सकिन्छ। यस दृष्टिमा स्वीकार्य झुटले सामाजिक हित र करुणा सुनिश्चित गर्ने हुनाले स्वीकार्य ठहरिन्छ। सन्दिग्ध झुट अर्थात् आत्म झुटले परिणाममा न्यूनतम हानि पुर्याउँछ भने केही हदसम्म स्वीकार्य नै मानिन्छ । यसरी पश्चिमी चिन्तनमा झुटको मूल्यांकन गर्दा स्पष्ट नियम र परिणामलाई आधार मानेको देखिन्छ तर करुणा र सन्दर्भको सूक्ष्म पक्षलाई भने प्रायः कमै मात्र महत्त्व दिएको देखिन्छ।
पूर्वीय चिन्तनमा झुट: पूर्वीय चिन्तनमा झुटको मूल्यांकन अझ जटिल र सन्दर्भ–सापेक्ष हुन्छ। यहाँ सत्य, धर्म र करुणाबीचको सन्तुलनलाई ध्यानमा राखिन्छ। महाभारत र रामायणमा बोलिएका झुट प्रायः सामाजिक वा नैतिक आवश्यकताअनुसार बोलेको देखिन्छ । उदाहरणस्वरूप कृष्णले अर्जुनलाई युद्धको सन्दर्भमा विभिन्न जानकारी छिपाउने क्रममा झुटको सहारा लिएको देखिन्छ। यसले धर्म र करुणाबिचको द्वन्द्व प्रस्तुत गर्छ । यस्तो झुट प्रायः स्वीकार्य झुट वा सन्दिग्ध झुटको श्रेणीमा पर्छ।
बौद्ध चिन्तनमा सही वाणीको सन्दर्भमा सत्य बोल्नु मात्र होइन, समय, आशय र प्रभाव विचार गरिन्छ। कुनै वचनले हिंसा वा मानसिक पीडा रोक्छ भने झुटलाई पूर्णतः अस्वीकार नगरी विवेकपूर्ण रूपमा प्रयोग गर्न सकिन्छ।
निकृष्ट, स्वीकार्य र सन्दिग्ध झुटको मूल्यांकन: तुच्छ झुट अर्थात् स्वार्थप्रेरित झुट प्रायः सबै चिन्तन परम्परामा अनैतिक मानिन्छन् तर पूर्वीय चिन्तनमा परिस्थिति अनुसार यसको विवेचना सम्भव हुन्छ। स्वीकार्य झुट, जसले अरूलाई दुःखबाट बचाउँछ वा सामाजिक हित सुनिश्चित गर्छ भने पश्चिमी चिन्तन परम्पराले परिणामका आधारमा स्वीकार्य मान्छ।
यसैगरी पूर्वीय दृष्टिमा करुणा र धर्मसँग जोडिएको हुनाले यसलाई स्वीकार गरिएको देखिन्छ। सन्दिग्ध झुटलाई पश्चिमी चिन्तनमा परिणामअनुसार स्वीकार्य वा अस्वीकार्य मानिन्छ । पूर्वीय दृष्टिमा भने यसको मूल्यांकन व्यक्ति, समय र सामाजिक सन्दर्भमा निर्भर रहेको देखिन्छ।
नेपाली सन्दर्भ र झुटो ज्ञान
झुट चिन्तन मात्र होइन झुटो ज्ञानसम्बन्धमा पनि चर्चा आवश्यक छ । झुटो ज्ञान नै अज्ञानको एउटा रूप हो।
अन्धविश्वास र उपचारको भ्रम: नेपालको ग्रामीण समाजमा अझै पनि धेरैजसो रोग र प्राकृतिक घटनाका कारणबारे गलत ज्ञान प्रवाह भएको देखिन्छ। धार्मिक अन्धविश्वास, झारफुक वा ‘देउता रिसायो’ भन्ने धारणा विज्ञानभन्दा बलियो ठानिन्छ । यसले असंख्य मानिसलाई आधुनिक उपचारबाट टाढा राखेको छ । यो अज्ञान होइन बरु झुटो ज्ञान हो किनभने यसले नयाँ कुरा सिक्नबाट रोकिरहेको छ।
राजनीतिक प्रचार र जनमतको भ्रम: नेपालको राजनीति पनि झुटो ज्ञानको खेल बनाइएको छ। नेताहरूले आधा–सत्य, मिथ्या आँकडा र भ्रामक आदर्श प्रस्तुत गरिरहेका छन्। जनताले त्यसैलाई ‘सत्य’ ठान्छन् र बारम्बार भ्रमित हुन्छन्। यो प्रवृत्ति अज्ञानताभन्दा गम्भीर छ किनभने जनतालाई गलत ज्ञानले नै ‘सत्यको आवरण’ बनेर सिध्याउँछ।
सामाजिक सञ्जाल र डिजिटल युगको मिथ्या जानकारी: फेसबुक, टिकटक, वा युट्युबमा गलत तथ्य, विकृत समाचार र षड्यन्त्रमूलक सिद्धान्तहरू सजिलै फैलिन्छन्। यी सूचनाले सामाजिक विभाजन, घृणा र हिंसाको बिउ रोप्छन्। जब हजारौं मानिसले त्यो झुटो ज्ञानलाई सत्य ठान्छन्, समाज अराजक बन्नपुग्छ।
धार्मिक ग्रन्थहरूको गलत व्याख्या: हिन्दु, बौद्ध वा अन्य धर्मका शास्त्रहरूमा गहिरो दार्शनिक सत्य लेखिएका छन्। ती ग्रन्थहरूमा करुणा, सत्य र समभावको आह्वान छ। त्यहाँ लेखिएका वाक्यको भावार्थभन्दा शाब्दिक अर्थको प्रयोग गरेर विभाजनकारी रूपमा प्रयोग गर्ने गरेको देखिन्छ। त्यस्ता बेलामा धर्म पनि झुटो ज्ञानको उपकरण बन्नपुग्छ। धर्मले मुक्तिको बाटो देखाउँछ तर झुटो व्याख्याले सत्यलाई बन्दी बनाउँछ।
झुटो ज्ञान र नैतिक अन्धकार: झुटो ज्ञान तथ्यको गल्ती मात्र होइन। जब मानिसले सत्यभन्दा पनि आफ्नो पक्षलाई समर्थन गर्ने जानकारी मात्र खोज्छ, त्यसबेला विवेक मर्छ। यसले सत्य खोज्ने साहस हराउँछ र नैतिक चेतना ढाकिन्छ। त्यसैले झुटो ज्ञानले मानिसलाई भ्रमित मात्र होइन नैतिक रूपमासमेत अन्धो बनाइदिन्छ।
समाधान: सत्य खोज र आलोचनात्मक चेत
झुटो ज्ञानविरुद्धको मुख्य औषधि आलोचनात्मक चेत हो। शिक्षाले जानकारी संग्रह गर्न मात्र होइन विवेक जगाउनसमेत सक्नुपर्छ। प्रश्न गर्ने संस्कार, तथ्य जाँच्ने बानी र खुलेआम छलफल गर्ने वातावरणले मात्र समाजलाई झुटो ज्ञानबाट बचाउन सक्छ। नेपालको शिक्षा प्रणाली, मिडिया र धार्मिक शिक्षामा सत्यको खोज र उचित तर्क गर्ने संस्कार पुनस्र्थापित गर्नुपर्छ। वेदहरूले भनेझैं ‘सत्यंएव जयते, नानृतम्’ अर्थात् सत्य नै विजयी हुन्छ, असत्य कहिल्यै होइन।
निष्कर्ष
झुट नैतिक कमजोरी मात्र होइन। यो मानव चेतना, समाज र अस्तित्वसँग जोडिएको जटिल व्यवहार हो । निकृष्ट, स्वीकार्य र सन्दिग्ध झुट को अवधारणाले झुटको बहुआयामिकता र यसको दार्शनिक अर्थ बुझ्न मदत गर्छ। पूर्वी र पश्चिमी दर्शनको तुलना गर्दा झुटको मूल्यांकन सन्दर्भ, उद्देश्य, परिणाम र करुणाको सन्तुलनमा निर्भर रहेको पाइन्छ। यसरी झुटसही वा गलत कुरा मात्र होइन, मानव चेतना र नैतिक विवेकको दर्पणसमेत हो।
समग्रमा अज्ञानता एक प्रकारको रिक्तता हो जहाँ सत्य राख्न सकिन्छ तर झुटो ज्ञान एक प्रकारले भरिएकै भाँडो हो जसमा सत्यको स्थान हुँदैन। त्यसैले, झुटो ज्ञान अज्ञानताभन्दा बढी खतरनाक हुन्छ किनभने त्यसले सत्य खोजी गर्ने ढोका बन्द गरिदिन्छ।
प्रकाशित: २४ माघ २०८२ ०७:२३ शनिबार

