१७ पुस २०८२ बिहीबार
image/svg+xml
विचार

नक्कली प्रमाणपत्र सक्कलीसरी

रूपन्देहीको बेलैया बसपार्कबाट साउन ३० गते भारतीय नागरिक नक्कली प्रमाणपत्रसहित पक्राउ परे। उनका साथबाट नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका ग्रेडसिट, स्थायी प्रमाणपत्र, तिनमा प्रयोग हुने होलोग्राम र छापहरू बरामद भए। देख्दा पूरै सक्कली लाग्ने ती प्रमाणपत्र नेपालकै बजारमा बिक्री वितरणका लागि ल्याइएको बुझिन्छ।

प्रहरी अनुसन्धानका क्रममा चितवनका बासिन्दा हरिप्रसाद कँडेल नक्कली प्रमाणपत्र बनाउने क्रियाकलापमा संलग्न भएको पाइयो। त्यसो त यसभन्दा अगाडि उनी शिक्षक थिए। नक्कली प्रमाणपत्र प्रयोग गरेर शिक्षक भएका कँडेललाई उनका प्रमाणपत्र नक्कली प्रमाणित भएपछि सेवाबाट बर्खास्त गरिएको थियो। बर्खास्तीपछि सामाजिक तथा राजनीतिक कार्यकर्ता बनेका कँडेलले नक्कली प्रमाणपत्र बेचबिखनको ठुलै सञ्जाल बनाएर कारोबार गरिरहेको बुझिएको छ।

काठमाडौंको प्रतिष्ठित संस्थामा कार्यरत रविलाल (परिवर्तित नाम) काठमाडौंकै विद्यालयबाट एसएलसी उत्तीर्ण व्यक्ति हुन्। उनी अस्कल क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भए। पढाइ पूरा नगर्दै उनले अस्कलबाट आइएस्सी पूरा गरेको भनी जागिरे जीवन सुरू गरे।

विश्वासकै आधारमा संस्थाले उनलाई प्रमाणपत्र बुझाउन ताकेता गरेन। समयान्तरमा संस्थाले प्रमाणपत्र मागेपछि उनी अप्ठ्यारोमा परे तर नक्कली प्रमाणपत्र बनाउने सञ्जालकै सम्पर्कमा पुगेपछि भारतको उत्तर प्रदेशको कुनै विश्वविद्यालयको प्रमाणपत्र प्राप्त गरे र जागिर जोगाए।

यति मात्र होइन, उनले सोही प्रमाणपत्रका आधारमा स्नातक र स्नातकोत्तरसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयबाटै पूरा गरे। माथिल्लो तहको अध्ययन पूरा गरेपछि अहिले उनी सक्कली प्रमाणपत्रधारी भएका छन्।

अमेरिकी डिभी भर्ने बेला ११ कक्षामा पढ्दै गरेका नवीन भिसा छनोट प्रक्रियामा सफल भए। १२ कक्षा उत्तीर्ण नगरेकाले उनी अमेरिका जान नपाउने अवस्था सिर्जना भयो। कन्सल्टेन्सीका माध्यमबाट उनी नक्कली प्रमाणपत्र बनाउने सञ्जालको सम्पर्कमा पुगे। तत्काल उनले सक्कली जस्तै लाग्ने नक्कली प्रमाणपत्र प्राप्त गरे। अहिले उनी अमेरिकामा स्थायी आवास सुविधासहित उबर चालक रहेका छन्।

अस्ट्रेलिया जान खोजेकी रमिलाको स्नातक तहको प्रमाणपत्र त्यति आकर्षक थिएन। कन्सल्टेन्सीकै सहयोगमा उनले नक्कली बैंक ब्यालेन्स प्रमाणपत्र र उनकै रजिस्ट्रेसन नम्बर र रोल नम्बर उल्लेख भएको त्रिविबाट जारी प्रथम श्रेणीको प्रमाणपत्र बनाइन्। अन्य प्रमाणपत्र सक्कली र ग्रेडसिट नक्कली प्रस्तुत गरेर उनी अस्ट्रेलियाको विश्वविद्यालयमा पढ्न जान सफल भइन्।

तपाइँ हाम्रो समाजमा यी र यस्तै पात्रहरू प्रशस्तै भेटिन्छन्। कुनै समय बढुवाका लागि नक्कली प्रमाणपत्र प्रस्तुत गर्ने फेसन चलेको थियो। अख्तियार तथा प्रहरी अनुसन्धान तीव्र भएपछि धेरै शिक्षक, प्रहरी र कर्मचारीले राजीनामा दिने लहर चल्यो। केही समय पहिले भारतको बिहारमा गई त्यहाँकै विश्वविद्यालयका नाममा जारी गरिएका नक्कली प्रमाणपत्र ल्याउने चलन थियो।

प्रविधिको विकाससँगै यस्ता प्रमाणपत्र देशभित्रै निर्माण हुन थाले। काठमाडौंमा मात्र नभएर मोफसलमा समेत नक्कली प्रमाणपत्र बनाउने गिरोहको सक्रियता बढ्यो। नक्कली प्रमाणपत्र सहजै छुट्याउन सकियोस् भनेर विश्वविद्यालय र विद्यालयहरूले होलोग्राम प्रयोग गर्न थाले तर नक्कली प्रमाणपत्रका गिरोहको सम्पर्क होलोग्राम छाप्ने संस्थासम्मै पुगेकाले सक्कली होलोग्राम नै उनीहरूले हात पार्न सके। यसरी होलोग्रामले नक्कली प्रमाणपत्र रोक्न सहयोग पुर्‍याएन बरू नक्कली प्रमाणपत्रको प्रमाणीकरणमा नै सहयोग गर्‍यो।

विश्वविद्यालय अध्ययन गर्न तथा अन्य सेवा क्षेत्रमा प्रवेश गर्नका लागि पनि नेपाल सरकारले विदेशी विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्रको समकक्षता निर्धारण गर्नैपर्ने व्यवस्था गरेको छ। यसले विदेशमा रहेका विश्वविद्यालयको स्तर, अध्ययन गरिने विषय क्षेत्र र विद्यार्थीले प्राप्त उपलब्धिको स्तरीकरण गर्न सहयोग पु¥यायो। विद्यालय तहको प्रमाणपत्रका लागि पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुर र विश्वविद्यालय तहका प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयले मान्यता र समकक्षता निर्धारण गर्दै आएका छन्।

समकक्षता निर्धारण गर्न विश्वविद्यालय वा बोर्डले मान्यता प्राप्त गरेको हुनुपर्ने प्रावधान छ। विश्वविद्यालय वा बोर्डलाई मान्यता दिने सन्दर्भमा विश्वविद्यालयको अवस्था, त्यहाँ पठनपाठन हुने विषय र पाठ्यभार, परीक्षा प्रणाली तथा अन्य विश्वविद्यालयले त्यसलाई दिएको मान्यतालाई आधार मान्ने गरेको पाइन्छ।

कुनै पनि विश्वविद्यालयलाई मान्यता दिइसकेपछि भने अन्य जो कोही व्यक्तिले सोही विश्वविद्यालयबाट जारी गरिएको प्रमाणपत्र ल्याएमा समकक्षता प्रदान गरिन्छ। त्रिभुवन विश्वविद्यालयले मान्यता दिएका विश्वविद्यालय, बोर्ड र तिनका कार्यक्रमका लागि समकक्षता पुस्तिका प्रकाशन गरेको छ। जसबाट कुन कुन विश्वविद्यालयले नेपालका विश्वविद्यालयका कार्यक्रमसँग समकक्षता पाउन सक्छन् भन्ने कुरा सहजै जानकारी पाउन सकिन्छ।

माध्यमिक शिक्षा (कक्षा १० र १२) का लागि भने शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा (कक्षा १० र कक्षा १२) सरह मान्यता तथा समकक्षता निर्धारण निर्देशिका २०७३ का आधारमा समकक्षता प्रमाणपत्र दिने गरेको छ।

समकक्षता प्रदान गर्ने क्रममा सम्बन्धित विश्वविद्यालय वा बोर्ड आधिकारिक हो वा होइन भन्ने निक्र्योल गरिन्छ। आधिकारिक विश्वविद्यालयको नाम अंकित प्रमाणपत्रलाई भने सक्कली हो वा होइन भनेर छानबिन गर्ने संयन्त्र छैन। ती विश्वविद्यालयबाट जारी प्रमाणपत्रलाई आधार मानेर पाठ्यक्रम विकास केन्द्र वा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रमाणपत्र प्रदान गर्छन्।

यसरी जारी समकक्षता सम्बन्धित विद्यार्थीले प्राप्त गरेको उपलब्धि नेपालमा सञ्चालनमा रहेका कार्यक्रमको निश्चित कक्षा वा तहसँग समान स्तरमा छ भन्ने कुराको प्रमाण हो तर समकक्षता प्रमाणपत्र प्राप्त गर्नु नै प्रमाणपत्र सक्कली हो भन्ने बुझाइ जनमानसमा रहेको छ। यसैले उत्तर प्रदेशको महाविद्यालयबाट नक्कली प्रमाणपत्र ल्याएका रविलाल पाठ्यक्रम विकास केन्द्रको समकक्षता प्रमाणपत्रकै आधारमा स्नातक तहमा भर्ना हुन सके। उनले यही आधारमा स्नातक र स्नातकोत्तर तह समेत पूरा गरे। उनका प्रमाणपत्र खोजी गर्दा स्नातक र स्नातकोत्तरका सक्कली नै देखिन्छन् तर उनले सेवा प्रवेश गर्दा प्रस्तुत गरेको विवरण र प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र भने मिल्दैन।

किर्ते प्रमाणपत्रका कारण समस्या सिर्जना भई सेवाबाट भिन्न हुन खोजेका उनलाई पाठ्यक्रम विकास केन्द्रले जारी गरिदिएको समकक्षता प्रमाणपत्रले ढुक्क बनायो। यसरी पछिल्लो समय नक्कली प्रमाणपत्रका गिरोहले प्रमाणपत्र किन्नेलाई नेपाली समकक्षता प्रमाणपत्रसमेत उपलब्ध गराउने ग्यारेन्टी गर्न थालेको सुनिन्छ।

नपढी उच्चस्तरको उपलब्धि देखाउने प्रमाणपत्र प्राप्त गर्न सकेपछि र समकक्षता प्रमाणपत्रसमेत प्राप्त गरी नक्कलीलाई सक्कली प्रमाणित गर्न सकिने भएकाले पछिल्लो समय नक्कली प्रमाणपत्रको कारोबार झन् बढेको पाइन्छ। यसले समाजमा विकृतिलाई बढावा मात्र दिएको छैन नक्कली प्रमाणपत्र बनाएरै वैदेशिक यात्रामा सहयोग पुगेको वा सामाजिक प्रतिष्ठा प्राप्त गरेको भ्रमले गर्दा अन्य व्यक्ति सहज बाटोको खोजीतर्फ अग्रसर हुने वातावरण सिर्जना भएको छ।

नेपालमै जागिर गर्नका लागि चुनौतीपूर्ण जस्तो देखिए पनि विदेश जान भने यस किसिमका प्रमाणपत्र निकै प्रयोग हुने गरेको बताइन्छ। शैक्षिक प्रमाणपत्र मात्र नभएर बजारमा खुलेआम व्यावसायिक र गैरव्यावसायिक सवारीचालक अनुमतिपत्र र अन्य प्रमाणपत्रको समेत कारोबार हुने गरेका समाचार समयसमयमा प्रकाशित हुने गर्छन्। थेसिस र बढुवाका लागि आवरण पेज मात्र परिवर्तन गरेका पुस्तक पेस गर्ने परिपाटीले त्रिभुवन विश्वविद्यालय ग्रस्त बनेकै छ।

नक्कली सवारीचालक प्रमाणपत्रकै आधारमा पाँच वर्षसम्म सार्वजनिक सवारी चलाएका व्यक्ति लाइसेन्स नवीकरण गर्ने बेलामा मात्र आफूसँगको प्रमाणपत्र नक्कली हो भन्ने थाहा पाएर पेसा परिवर्तन गर्न बाध्य भएको समाचार हालसालै प्रकाशित भएको थियो।

प्रविधिको विकाससँगै दुरुस्तै कागजात तयार गर्न सकिने भएकाले कुनै पनि प्रमाणपत्र वास्तविक हो वा होइन भन्ने प्रमाणित गर्न कठिनाइ बढ्दै गएको छ। शैक्षिक प्रमाणपत्रका सन्दर्भमा सम्बद्ध देशका विश्वविद्यालयले अर्को विश्वविद्यालयसँग सहकार्य गरी रूजु गर्ने प्रणालीको विकास नगर्ने हो भने यस प्रकारका समस्याले झन् ठुलो रूप लिने छन्।

उजुरी परेपछि मात्र छानबिनको प्रक्रिया अगाडि बढाउने वर्तमान परिपाटीले नक्कली प्रमाणपत्रलाई निरूत्साहन गर्न सम्भव देखिँदैन। छानबिन प्रक्रियामै अगाडि बढेका घटनासमेत पहुँचका आधारमा बिचैमा थामथुम पार्ने गरेको समेत पाइएको छ। यसले नक्कली प्रमाणपत्रको सञ्जाल विस्तारमा टेवा पुर्‍याएको देखिन्छ। नक्कली शैक्षिक परामर्शदात्री संस्था तथा नक्कली प्रमाणपत्र निर्माण गर्ने गिरोहको जालले प्राज्ञिक क्षेत्रमा सङ्गठित अपराध बढाएका छन्।

राज्यले लागु औषध र अवैधानिक हातहतियारका घटनालाई जस्तै नक्कली प्रमाणपत्रको कारोबारलाई नियन्त्रण गर्न सशक्तता र सक्रियता नदेखाउने हो भने प्राज्ञिक क्षेत्रमा मात्र होइन, अति संवेदनशील प्राविधिक क्षेत्रमा समेत अदक्ष र अयोग्य व्यक्तिले स्थान पाउने छन्। उनीहरूका कारण योग्य व्यक्तिको परिश्रमले महत्त्व पाउने छैन। अदक्ष व्यक्तिका गैरजिम्मेवार कामको सिकार आमनागरिक बन्ने अवस्था सिर्जना हुन्छ। यसैले अवैधानिक शैक्षिक परामर्शदात्री संस्था तथा विभिन्न संस्थामा विभिन्न तहमा रहेका शंकास्पद व्यक्तिका प्रमाणपत्र छानबिन गर्ने काममा सक्रियता र पारदर्शिता कायम गर्नु आवश्यक छ।

प्रकाशित: ११ भाद्र २०८२ ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App