मानव सभ्यता आज विभिन्न चुनौतीहरूबिच गुज्रिरहेको छ। विश्वका विभिन्न भागमा भइरहेका युद्धहरूले निर्दोष मानिसहरूलाई अन्धकारतर्फ धकेलिरहेका छन्, जहाँ उनीहरूले आफ्नो भविष्य अत्यन्तै अनिश्चित र निराशाजनक देखिरहेका छन्। यस्तो परिस्थितिमा विज्ञान र प्रविधिको क्षेत्रमा प्राप्त भएका उपलब्धिहरूमध्ये हालको मानवको चन्द्रमातिरको प्रयासले मानिसमा एक उमंग, प्रोत्साहन र आशा जगाउने काम गरेको छ। हालै सम्पन्न भएको ‘आर्टेमिस–२ मिसन’ त्यस्तै एउटा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि हो, जसले विश्वभरका मानिस, विशेष गरी युवापुस्तामा नयाँ उत्साह र आशा पैदा गरेको छ।
‘आर्टेमिस–२’ मिसनले चार जना अन्तरिक्ष यात्रीसहित चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा पूरा गरेको छ। नासाका अनुसार यसले नयाँ पुस्ताको अन्तरिक्षयान गहिरो अन्तरिक्ष यात्राका लागि सक्षम रहेको प्रमाणित गरेको छ। यो मिसन केवल वैज्ञानिक सफलता मात्र नभई मानव जातिको दीर्घकालीन अन्तरिक्ष यात्राको दिशामा एउटा महत्त्वपूर्ण पाइला पनि हो। यसले भविष्यमा चन्द्रमामा मानव पुनः अवतरण र त्यसपछिको लक्ष्य—मंगल ग्रहसम्म पुग्ने योजनालाई अझ मजबुत बनाएको छ।
पचास वर्षभन्दा बढी समयपछि चार जना अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच (अमेरिका) र जेरेमी ह्यान्सन (क्यानडा) २०२६ अप्रिल १ मा चन्द्रमातर्फ प्रस्थान गरेका थिए र १० दिनपछि ११ अप्रिलमा सुरक्षित रूपमा पृथ्वीमा फर्किएका थिए। उनीहरूलाई नासाको स्पेस लन्च सिस्टममार्फत केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो। यो यात्रा केवल एक प्राविधिक परीक्षण मात्र थिएन, मानव साहस, जिज्ञासा र सम्भावनाको एउटा उत्कृष्ट उदाहरण पनि थियो।
चार जना अन्तरिक्षमा जानेहरूमध्ये एक जना महिला हुनु पनि विशेष महत्त्वको विषय हो। क्रिस्टिना कोचको समावेशले विश्वभरका धेरै महिला अन्तरिक्ष यात्रीहरूलाई प्रोत्साहन गर्नुका साथै किशोरीहरूलाई पनि आफूले चाहेमा एक दिन चन्द्रयानमा सवार भएर चन्द्रमामा पुग्न सक्छु भन्ने हौसला दिएको छ। हाल पनि धेरै देशमा विभिन्न धार्मिक, सामाजिक र परम्परागत मान्यताका कारण महिला र किशोरीहरूलाई घरबाट बाहिर जान रोकतोक हुनुका साथै आफूले चाहेअनुसार पढ्न र जागिर गर्न समेत गाह्रो छ। विकसित देशहरूमा ऐनकानुनको आधारमा महिलालाई अगाडि बढ्न सजिलो भए पनि विकासोन्मुख देशहरूमा कतै ऐनले नै रोक लगाएको छ भने कतै ऐन भएर पनि आफ्नो हक लिन धेरै बाधा–अड्चन छन्। यस्तो बेलामा महिला पनि आफ्नो हैसियतले पुरुष सहकर्मीसँग घरबाट मात्रै होइन, पृथ्वीबाटै बाहिर चन्द्रमामा जान सक्छन् भन्ने सत्यता ‘आर्टेमिस मिसन’ले दिएको छ।
यी अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षयान सञ्चालन, त्यसको क्षमता परीक्षण, चन्द्रमालाई नजिकबाट अवलोकन र पृथ्वीलाई टाढाबाट हेर्ने जस्ता महत्त्वपूर्ण अनुभवहरू हासिल गरे। यसका साथै उनीहरूले खिचेका तस्बिरहरूले वैज्ञानिक अनुसन्धानका लागि नयाँ सम्भावना खोलिदिएका छन्।
विशेषगरी ‘अर्थसेट’ भनिने उच्च गुणस्तरका तस्बिरहरूले चन्द्र सतहको संरचना र इतिहास बुझ्न वैज्ञानिकहरूलाई सहयोग गर्ने विश्वास गरिएको छ। रिड वाइजम्यानले २०२६ अप्रिल ६ मा खिचेको उक्त तस्बिरले अन्तरिक्षबाट पृथ्वीलाई अस्ताउँदै गरेको दृश्य देखाउँछ, जुन मानव दृष्टिकोणलाई अझ फराकिलो बनाउने खालको छ।
यसअघि सन् १९६८ मा ‘अपोलो–८ मिसन’का विलियम एन्डर्सले ‘अर्थराइज’ नामक ऐतिहासिक तस्बिर खिचेका थिए, जसले पृथ्वीलाई नयाँ दृष्टिले हेर्ने अवसर दिएको थियो। आज ‘आर्टेमिस–२’ले त्यस परम्परालाई नयाँ उचाइमा पुर्याएको छ।
आर्टेमिस मिसन अन्तर्राष्ट्रिय सहकार्यको उत्कृष्ट उदाहरण पनि हो। यसमा विभिन्न देशको सहभागिता र योगदान रहेको छ, जसले भविष्यका अन्तरिक्ष अभियानका लागि सहकार्यको नयाँ मार्ग प्रशस्त गरेको छ। यद्यपि यस मिसनमा केही चुनौती पनि देखिएका थिए। सुरुवाती रूपमा २०२४ मा गर्ने योजना भए पनि प्राविधिक जाँच र सुरक्षा सुनिश्चितताका कारण यसलाई २०२६ सम्म सार्नुपरेको थियो। उडानका क्रममा केही साना प्राविधिक समस्या जस्तै शौचालय बिग्रिनु र इमेल प्रणालीमा समस्या आउनुजस्ता घटनाहरू भए पनि ती सबै समाधान गरिएका थिए।
आजको विश्वमा एकातिर विज्ञानले यति ठुलो उपलब्धि हासिल गरिरहेको छ भने अर्कातिर युद्ध र द्वन्द्वले मानव जीवनलाई संकटमा पारिरहेको छ। यो एक प्रकारको विरोधाभास हो। ‘आर्टेमिस–२’का अन्तरिक्ष यात्रीहरूले भने पृथ्वीलाई एक सुन्दर र संवेदनशील ग्रहका रूपमा चित्रण गरेका छन्, जसलाई जोगाउनु हाम्रो साझा दायित्व हो। उनीहरूले अन्तरिक्षमा बिताएका क्षणहरूमा खुसी, दुःख, हाँसो र आँसु सबै बाँडेका थिए, जसले मानव सम्बन्धको गहिराइलाई देखाउँछ।
क्रिस्टिना कोचले आफ्नो अनुभव साझा गर्दै भनेकी छन्, ‘एउटा ‘क्रू’मा सबैका आवश्यकता र चिन्ताहरू समान हुन्छन् र उनीहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका हुन्छन्।’
उनले थपिन्, ‘हामीले सानो पृथ्वीलाई देख्दा हामीलाई सबैभन्दा बढी प्रभाव पार्ने कुरा पृथ्वी मात्र होइन, वरिपरि फैलिएको गहिरो अन्धकार थियो।’
उनको भनाइअनुसार पृथ्वी एउटा शान्त रूपमा अन्तरिक्षमा झुन्डिएको जीवनरूपी डुङ्गाजस्तै हो।
यो विचार अत्यन्तै महत्त्वपूर्ण छ। मानव जातिले पृथ्वीका स्रोतहरू प्रयोग गरेर अन्तरिक्षसम्म पुग्ने क्षमता विकास गरेको छ। तर त्यही स्रोतहरूको दुरुपयोग गरेर एकअर्काविरुद्ध युद्ध गर्ने प्रवृत्ति पनि देखिएको छ। युद्धका कारण धेरै मानिसहरूको जीवन कष्टकर बनेको छ, जसले मानवताको मूल मूल्यलाई चुनौती दिएको छ।
‘आर्टेमिस–२’का अन्तरिक्ष यात्रीहरूले पृथ्वीलाई एउटा ‘क्रू’जस्तो व्यवहार गर्नुपर्ने सन्देश दिएका छन्। उनीहरूका अनुसार जसरी एउटा ‘क्रू’का सदस्यहरूले कठिनाइ र सुखद क्षणहरू सँगै बाँड्छन्, त्यसैगरी सम्पूर्ण मानव जातिले पनि एकअर्कालाई साथ दिनुपर्छ। यदि हामीले पृथ्वीलाई साझा घरका रूपमा स्वीकार्न सक्यौं भने सहकार्य, सहअस्तित्व र शान्तिको मार्ग अझ सुदृढ हुन सक्छ।
आज जलवायु परिवर्तनले पनि पृथ्वीको जीवन प्रणालीलाई गम्भीर असर पारिरहेको छ। यसको मुख्य कारण मानव गतिविधि नै हो। त्यसैले अब हामीले पृथ्वीका स्रोतहरूको प्रयोग जिम्मेवारीपूर्वक गर्न आवश्यक छ। ‘आर्टेमिस–२’को सन्देश यही हो– हामी सबै एउटै ‘क्रू’का सदस्य हौं, र हाम्रो भविष्य पनि साझा छ।
दुर्भाग्यवश, विज्ञान र प्रविधिको प्रगतिसँगै मानवताको संवेदनशील पक्ष भने कमजोर हुँदै गएको जस्तो देखिन्छ। शक्ति र सम्पत्तिको लोभमा मानिसहरूले एकअर्काको जीवन समाप्त गर्ने, अन्य जीवजन्तुहरूको विनाश गर्ने प्रवृत्ति बढिरहेको छ। यस्तो अवस्थामा अन्तरिक्षबाट फर्किएका यात्रीहरूको अनुभव र उनीहरूको सन्देशले हामीलाई पुनः सोच्न बाध्य बनाउँछ।
हरेक व्यक्तिको जीवन महत्त्वपूर्ण छ। प्रत्येक मानिस कुनै न कुनै परिवारको सदस्य हो। एक जनाको क्षतिले अर्कोमा पीडा र द्वेष जन्माउँछ। त्यसैले अब विश्वभर शान्ति, समानता र सहकार्यलाई प्राथमिकता दिनु अत्यावश्यक भएको छ।
हामीले यस्तो भविष्यको परिकल्पना गर्नुपर्छ जहाँ कुनै पनि मानिस भोकै नबसोस्, आधारभूत आवश्यकताहरूबाट वञ्चित नहोस् र हरेक बालबालिकाले शिक्षा प्राप्त गर्न पाओस्। बालबालिकाहरूलाई आफ्नो क्षमता विकास गर्ने अवसर दिइयो भने उनीहरूले भविष्यमा पृथ्वीलाई अझ राम्रो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
अन्ततः ‘आर्टेमिस–२’ सम्भव बनाउने अन्तर्राष्ट्रिय सहकार्यलाई पृथ्वीमा शान्ति स्थापना गर्न पनि प्रयोग गर्न सकिन्छ। राष्ट्रहरूबिचको सहकार्य, समझदारी र विश्वासलाई सुदृढ बनाउँदै युद्धको अन्त्य गर्नतर्फ अघि बढ्नुपर्छ। यही नै ‘आर्टेमिस–२’को सन्देश हो– हामी सबै एउटै पृथ्वीका सदस्य हौं, एउटै ‘क्रू’ का हिस्सा हौं र हाम्रो साझा भविष्य सुरक्षित राख्ने जिम्मेवारी पनि हामी सबैको हो।
प्रकाशित: ४ वैशाख २०८३ ०८:२७ शुक्रबार

