नेपालीले यसपटक दसैं मनाइसकेका छनु। दशैंमा मालश्रीको धुन बजिरहेको थियो। कहीँकतै पिङ पनि मच्चिरहेको थियो। तर यसपालि मालश्रीको धुन तपाईंलाई शोकधुनजस्तो लागेन ? पिङको चचहुइमा कोही छुटेको जस्तो त भएन ?
दशमीको साइत कुन घडी र पलामा जुरेछ क्यारे ! कुनै ज्योतिषले त्यो जोखाना हेरेर भनिसके थिए। जमरा र टीका लगाउन जाँदा घरको थकाली (परिवारको जेष्ठ सदस्य) ले क्वकाली (परिवारको कान्छो सदस्य) लाई के कस्तो आशीर्वाद दिने अथवा तिनले के भनेर आशिष् थापे होलान् ?
एक महिना पनि भएको छैन, राजधानीको बानेश्वर चोकमा १७ जना कलिला बाबुनानीहरू, तन्नेरी युवाहरूको झन्डै एकै समयको ‘साइत’मा बन्दुकको गोली लागेर ज्यान गएको थियो। त्यो एकदमै अकल्पनीय थियो, उनका लागि अनि हामी सबैका लागि पनि। त्यहाँ कुनै युद्धको आह्वानमा दुन्दुभि बजेको थिएन। त्यहाँ महाभारतका कुनै पात्र आएर कुनै पाञ्चजन्य शंख फुकेको पनि थिएन। मात्र बेथिति अन्तका केही नाराबाजी लागेको थियो। कतिजना त राष्ट्रिय गान गाइरहेका थिए ।
तिनीहरू सबै निहत्था थिए। हातमा थिए त नेपाल देशकै झन्डा। त्यहाँ गोली नै दाग्नुपर्ने, कुनै दुस्मनी साँध्नुपर्ने अवस्था थिएन। यो कलेजमा पढ्ने जेनजी पुस्ताको आह्वानमा भर्खरै भएको आन्दोलनको कुरा हो। एउटा शान्त र भद्र विरोध प्रदर्शनको स्मृति हो ।
ती बच्चाका आमाहरूले गमेका होलान्– टाउकामै गोली लाग्दा तिनका मासुमहरू कसरी छटपटाए होलान्, छातीमै कुनै तिखो धातु पस्दा कति दुख्यो होला ?
घाउचोट लाग्दा असाध्य दुख्छ। विज्ञानले के भन्छ भने यस्तो दुखाइ वास्तवमा तपाईंलाई आफ्नो शरीर बचाउनका लागि दिइएको सूचना हो किनभने दुखाइकै कारणले तपाईं बेवास्ता नगरी घाउ निको पार्नेतिर अग्रसर बन्नुहुन्छ। तर ती जो बितेर नै गइसके, जसको संख्या पनि अब ७५ नाघिसकेको छ। उनको दुखाइ र पीडा उनीहरूसँगै गए। त्यो दुखाइ र पीडा उनका परिवारजन, बाआमा, दिदीबहिनी, दाजुभाइ, केही इष्टमित्रहरूमा स्थानान्तर भएको छ, जो बाँचिरहेका छन्। यसलाई वियोग हुनुको दु:ख वा मृत्युशोकको पीडा भनिन्छ, जुन बाहिर देखिँदैन तर असह्य वेदना त्यहाँ सलबलाइरहेको हुन्छ ।
जो अस्ति बितेर गए, अहिले तिनका परिवारजन अगम्य वेदनामा पिसिएका छन्। यो दसैंको बेला, उनीहरू शोकाकुल छन्। दसैंले पनि तिनलाई भुलाउन सक्दैन, बरु बढी बल्झाउँछ मात्र ।
शोक किन यति पीडादायी र असह्य हुन्छ ? यसको वैज्ञानिक उत्तर खोज्नु त छँदैछ, तर के कुरा अझ मननयोग्य छ भने शोक मानव जीवनको स्वाभाविक अंश हो। शोक मनाउनु उत्तिकै आवश्यक छ, जति आवश्यक यसलाई भुल्नु हुन्छ। वास्तवमा मृत्युको शोक मनाएरै यसबाट भइरहने अनन्त पीडाबाट उन्मुक्ति पाउने हो। मनोवैज्ञानिकहरू यसै भन्छन् ।
विज्ञानको भाकामा कुरा गर्दा शोक मस्तिष्कबाट उत्थान हुन्छ। तर यसले तपाईंको सम्पूर्ण देहलाई असर पुर्याउन थाल्छ, जब हामीलाई कुनै नोक्सानीको पत्तो लाग्छ। अहिलेको सन्दर्भमा आफ्नो प्रियजन गुमाएको कुरा थाहा लाग्यो भने हाम्रो मस्तिष्कले ‘लड या भाग’ भन्ने प्रतिक्रियालाई सक्रिय बनाउँछ। त्यो क्षण तपाईं कत्तिको सम्झनुहुन्छ ? विचारशून्यको अवस्था हुन्छ। भयंकर एउटा बज्र खसेजस्तो हुन्छ ।
विशेषत: जब त्यस्तो घटना सोच्दै नसोचेको अवस्थामा भएको हुन्छ अथवा कुनै तयारी नभएको स्थितिमा प्रियजनको मृत्यु भएको हुन्छ, तपाईंलाई आश्चर्य, विश्मय अनि अविश्वासले एकैचोटि निस्सासिँदो बनाउँछ। त्यस्तो अकस्मात्को विशद अवस्थामा हाम्रा शरीरका अंग–प्रत्यंग र तिनका कार्यहरूमा थप दबाब पैदा भएको हुन्छ। सामान्यतया यस्तो स्थिति केही मिनेटदेखि केही दिनसम्म रहन्छ। तर नजिकको प्रियजन गुमाउँदा भने यो प्रतिक्रिया महिनौंसम्म रहिरहन सक्छ। यहाँसम्म कि वर्षौंपछि, त्यो नोक्सानी सम्झिँदा यो प्रतिक्रिया फेरि सक्रिय भएर जान्छ। यसलाई हामी दु:खको घाउ बल्झियो भन्छौं ।
वैज्ञानिक अध्ययन र विश्लेषणले के भन्छ भने शोकका पाँच चरणहरू हुन्छन्– अस्वीकार, क्रोध, सौदाबाजी, अवसाद र स्वीकृति। यद्यपि यो कुनै चक्रीय प्रणालीमा जस्तो एउटा जाने र अर्को आउने हुँदैन। यो चरण खप्टिन पनि सक्छ, फेरि प्रारम्भविन्दु वा कतै बिचबाट दोहोरिन पनि सक्छ। मानव मनोविज्ञानलाई ठम्याउन बडो गाह्रो हुन्छ।
आजका मितिले बानेश्वरको घटना भएको तीन साता बितेको छ। गोली लागेर वा थापेर जसको मृत्यु भयो, जसलाई हामीले सहिद भनेका छौं, तिनका परिवार र नातेदारका लागि पीडाको घाउ एकदमै आलो छ। तिनलाई नचिनेकाहरू, जसले तिनबारे पढेसुनेका छन्, उनीहरूका लागि पनि अपत्यारिलो छ, त्रासदीपूर्ण छ। किन र कसका आदेशले ती मारिए भन्ने प्रश्नले पूरै समाजलाई उद्वेलित बनाएको छ। दसैंको रमझम ती प्रश्नहरू बिर्साउने बहाना बन्न सक्दैन। उत्तर त यसले झन् दिन सक्दैन। बरु प्रश्न थप्न सक्ला, वेदना बढाउन सक्ला ।
मनोविज्ञान साथै जीवविज्ञान पनि के भन्छन् भने आफ्ना प्रियजन गुमाएसँग जोडिएका भावनाहरू मानव विकासक्रम सँगसँगै भएको हो। मानव जातिलाई वैज्ञानिक भाषामा होमो सेपिन्स भनिन्छ। यो ल्याटिन भाषा हो। यसको अर्थ हुन आउँछ, बुद्धिमान (सेपिन्स) मानिस (होमो)।
मस्तिष्कको विकास भएकाले उनीहरू ‘बुद्धिमान’ कहलिएका हुन् तर शारीरिक रूपले उनीहरू साना र निर्धा छन्। जस्तो एउटा अफ्रिकी हात्तीले ६ हजार किलोसम्म पनि उचाल्न सक्छ, मानिसको तुलनामा त्यो एक सय गुनाले बढी हो। त्यस्तो हात्तीलाई मान्छेले कजाउँछ।
प्रारम्भकालदेखि नै मानिसहरू समूह बनाएर बस्न थाले, समूह बनाएर सिकार गर्न सिके। समूहको शक्ति र एकतासित उनीहरू परिचित भए। समुदायको माध्यमबाट बाँचे, हुर्के, सहकार्य गरे। आपसमा प्रेमभाव जगाए। अनि कोही हराउँदा वा बितेर जाँदा विरह गरे, पीडाको बोध गरे। त्यही पीडा बोधले पुन: शक्ति आर्जन गरे। यसै जगमा टेकेर हामी यहाँसम्म आइपुगेका हौं ।
जेनजी आन्दोलनका दिन उर्लिएको त्यो भव्य मानवसागर र त्यो सागरको उत्साह यही सामूहिक भावना र समूहमा शक्ति र सामथ्र्यको ओज देख्ने भावनाको प्रतिविम्ब थियो। साथै, जब त्यहाँ हामीले आफ्ना साथीभाइ, प्रियजनहरू एकाएक गुमायौं र आहत भयो, त्यो पनि सामूहिक भावनाबाट उत्सर्जित प्रतिक्रिया थियो ।
दसैंको यो माहोलमा मानिसहरू शुभकामना आदानप्रदान गरिरहेका छन्, जुन अहिले नेपाल र नेपालीमा व्याप्त छ। कोही विजयादशमीको महान् चाड भन्छन्, कोही दुर्गामाताको आशीर्वाद मान्छन्, कोही असुरमाथि सुरहरूको विजय ठान्छन्। ओहदाका हाकिमहरू, मन्त्रीहरू, सांसदहरू आफ्ना नामबाट शुभकामना कार्ड बाँड्छन्। व्यापारी व्यवसायीहरू तिनका घरमा कोसेली लैजान्छन्। राजा–महाराजा, राष्ट्रपति, प्रधानमन्त्रीहरू टीका लगाइदिने गर्छन् ।
कमसेकम यो वर्ष दसैंका यी अभ्यासहरू अपेक्षित भएन्। किनभने जेनजी आन्दोलनको बेला जो बन्दुकको निसानीमा परे, उनीहरू आफ्नो वा आफ्नो परिवारका लागि आन्दोलनमा गएका थिएनन्। गएका थिए त सम्पूर्ण समाजका लागि। यसकारण, उनलाई गुमाउनुको पीडाले उनका घरपरिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई दुखेको हुनुपर्छ।
सामाजिक सञ्जालको युग छ। कहीँकतै तपाईंको शुभकामना पनि ती विक्षिप्त परिवारकोमा त पुगेको छैन ? अथवा, बितिसकेकाको ठेगानामा त गएको छैन ? कमसेकम यति चाहिँ हेक्का राखिदिनुहोला।
–नास्टका प्राज्ञ एवं हाल नर्थ–वेस्ट विश्वविद्यालयका प्राध्यापक ।
प्रकाशित: २१ आश्विन २०८२ ०७:५८ मंगलबार

