२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
विचार

कांग्रेस, युवा नेतृत्व र राष्ट्रहित

संविधानको बचेखुचेको धुकधुकी पनि जेनजी आन्दोलन र तत्पश्चात् सरकार गठनले समाप्तप्रायः भयो। नेपालको लामो इतिहासमा कहिल्यै नदेखिएका अप्रिय र अग्राह्य घटनाहरू गणतन्त्रले देखायो। दलहरू संविधानको मरणोन्मुख अवस्थाका मूल कारक बने। आज नेपालमा विधिबिनाको ‘वैधानिकता’ र नीतिबिनाको ‘नैतिकता’ हाबी भइरहेको छ र राजनीतिक सफलताका लागि स्थापित विधि लत्याउनुलाई ‘लोकतान्त्रिक गणतन्त्र’ भनिन्छ।

 यिनै दलले तिसवर्षे पञ्चायतकालीन संविधान समाप्त पारे, २०४६ सालको जनआन्दोलनको उपज र सबैले ‘संसारकै उत्कृष्ट संविधान’ को गौरवगान गरेको २०४७ को संविधानलाई मिल्काए। त्यसपछि करिब नौवर्ष चलेको अन्तरिम संविधानलाई सेलाए। अहिले संविधानसभाले बनाएको संविधान पनि यिनीहरूकै एकछत्र राजमा मृत्युन्मुख ‘वैतरणी र दशदान’ को घिटीघिटी भोगिरहेको छ।

दलहरूलाई मुलुकको त के, आफ्नै पार्टीको अखण्डता जोगाउन कठिन भइसक्यो। राष्ट्रिय सहमतिको धरातलबाट प्रणालीका रूपमा गणतन्त्र विकसित हुँदो हो त यसको रूप र चरित्र सायद यति विकृत र देशघाती हुने थिएन। देशभित्र विदेशीहरूको चासो र गतिविधि बढ्दै जानु तर विदेशमा नेपालको भूमिका तीव्र गतिमा खुम्चिँदै आउनु यही कालखण्डमा भयो।

एकातिर नेतृत्व लिन उत्साही युवापुस्ता तथा नयाँ अनुहारहरूको चहलपहल छ भने अर्कातिर घृणा र आक्रोशको तारो बनिरहेका र आफ्नो हुर्मत जोगाउन सकस भोगिरहेका पुराना नेताको तानातानको कठोर वातावरण छ। सतहभन्दा अझ गहिरिएर हेर्दा ‘गणतन्त्र नेपाल’ का हर्ताकर्ता पार्टीहरूसँग झगडिया गतिविधि मात्र रहेको तर निर्णायक हैसियत वा लगाम फुत्किसकेको देखिन्छ।

गणतन्त्रको चाहना र प्रयासको प्रारम्भ नै गलत उद्देश्य र कलुषित भावनाबाट गरिएकाले दुष्परिणाम यो भयो कि देश असफल मात्र होइन, राज्य विघटनको खतरातिर धकेल्ने कुत्सित नियतका खेल निर्बाध चलिरहे। ‘असफल राज्य’ भन्नु पनि एउटा अस्तित्व हो, जसमा राज्य व्यवस्थाको सामथ्र्यको मात्र मापन हुन्छ, तर राज्य विघटन राज्यको समाप्ति नै हो। मुलुक जोगाउने शक्ति जनता उठेनन् भने स्वाधीन नेपालको मानचित्र बिलाउने भयावह स्थिति यसैगरी आउन लागेको छ।

गणतन्त्रले आफ्नो विवादास्पद र रुग्ण जीवनकालमा अस्तित्व टिकाउन अनेक क्रूरतापूर्ण हर्कत र हतकन्डा अपनाउँदै आएको छ। निर्वाचनको बाटोबाट मात्र पुग्न पाउने प्रधानमन्त्रीको ओहदामा कहिले दुई निर्वाचन क्षेत्रबाट पराजित व्यक्तिलाई विराजमान गराइयो, कहिले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाइयो। करिब दुईतिहाइ संसदीय समर्थनको प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट भाग्नुपरेका ठाउँमा पूर्वप्रधानन्यायाधीशलाई विराजमान गराइयो।

आपसी दन्तबजान र गाँड कोराकोरले इच्छाशक्ति गुमाइसकेका सत्ताप्रेमी नेताहरू कमजोर, शिथिल र संवेदनहीन देखिन्छन्, तै पनि सत्ता, ओहदा र शक्तिको नसाले मुग्ध बनिरहेको ज्वलन्त उदाहरण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जेनजी आन्दोलनले प्रधानमन्त्रीबाट अपदस्थ गरिएका खड्गप्रसाद ओलीको रहस्यमयी भेटघाट ताजै छ। यसभित्र उनीहरूको आपसी हितको खेल होला तर देश र जनताले पाउने केही छैन, थप क्षति ब्यहोर्नुपर्ने सम्भावनालाई उपेक्षा गर्न सकिन्न।

कांग्रेसमा युवा नेतृत्व र ‘गगन लहर’ संस्थागत भएमा नेकपा एमालेको आसन्न महाधिवेशनबाट ओली फेरि अध्यक्ष बने पनि मनोभाव मिल्ने देउवा बिदा हुने, जेनजी भावना बोकेका युवाहरू नेतृत्वमा आउने प्रबल सम्भावना देखिसकेका ओलीलाई चिन्ताले घचघच्याएर देउवासँग गुप्तमन्त्रणा गर्न पुगेको पक्षलाई उपेक्षा गर्न मिल्दैन।

कांग्रेसमा गगनको नेतृत्वमा युवाहरूले पार्टी सम्हाले भने कतिपय ठुला पार्टीका केन्द्रीय नेताहरू सम्मिलित समूह कांग्रेस प्रवेश गर्ने चर्चित सम्भावनालाई तिरोहित गर्ने मिसनमा देउवा र ओलीको उक्त भेट आयोजित थियो भन्ने चर्चाले ठाउँ पाएको छ।

हिजोआज ओलीमा भ्रष्टाचारको कारबाहीमा परिने सम्भावनाले चिन्ता, आवेग र तनावयुक्त मनोदशामा परेको स्वतः अनुभव गर्न सकिन्छ। पार्टी अध्यक्ष निर्वाचित भए पनि श्रेयस्कर नहुने र पार्टीमा अभूतपूर्व उदासीनता र विचलन छाउने तत्त्वबोधले ओली थप विस्मयमा देखिन्छन्। अन्य पार्टीहरूमा पुरानै अनुहारको अपरिवर्तित रूप र रवैया यथावत् रहने निश्चितप्रायः भए पनि कांग्रेसमा परिवर्तनकारी युवापुस्ताको नेतृत्वका लागि महामन्त्री गगनको पक्षमा सशक्त लहर चलिरहेको छ।

राष्ट्रिय मूलप्रवाहका रूपमा स्थापित राजशक्तिसँग आफ्नो समर्थनको लहरलाई उहाँले कांग्रेसका संस्थापक राजनेताहरूले बनाएको सैद्धान्तिक धरातलमा नवीन समझदारी, सद्भाव र मेलमिलापको वातावरण दिन सक्नुभयो भने उहाँको युगान्तकारी सफलता हुने सम्भावना, अत्युक्ति नहोला।

देउवाका लागि आफ्ना ‘सातभाइ’ ढाल बन्न सकेनन्, बरू देउवा नै उनीहरूको कारणले जनआक्रोशको सिकार बन्नुपरेको छ। जनाधारमा कमजोर यिनीहरू कसैले देउवाको औंला, कसैले दौराको फेरो समातेका छन्।

युवा नेतृत्वको पक्षमा कांग्रेसभित्र उठेको लहर संस्थागत भयो भने आफ्नो टेक्ने–समाउने आधार र खाईपाई आएको सुविधा गुम्ने निश्चितताबोधले आत्तिएर गगन थापाको व्यक्तित्वलाई सत्तोसराप गरेर आत्मसन्तोष लिइरहेका छन्।

आफ्नो अस्तित्व र राजनीतिक समाप्तिको सवाल उठेको बेला आफूलाई हैसियत बनाइदिएका देउवाको अनुकूलतामा यस्ता गतिविधि गर्नु स्वाभाविकै मान्नुपर्ला। असहाय अवस्थामा जकडिएर निरीहता प्रदर्शन गरिरहेका उनीहरूको बारेमा यसभन्दा बढी शब्द खर्चेर चर्चा गर्नु निरर्थक हुन्छ।

जे भए पनि अब यसरी राष्ट्रिय जीवन चल्न सक्दैन, न त पार्टीहरूले समाधानको बाटो पाउन सक्छन्। आगामी पुस २६–२८ गते कांग्रेसको पन्ध्रौं महाधिवेशन र फागुन २१ मा संसदीय निर्वाचन हुनसक्ने वस्तुगत आधार र ग्यारेन्टी बनेकै छैन। जेनजी आन्दोलनका हर्ताकर्ताहरू नै भन्दै छन्– यथास्थितिको शासकीय गतिविधिमा २०८४ को निर्वाचनलाई वर सारेर २०८२ मा चुनाव गर्ने हतारले मात्र जेनजी आन्दोलन भएको थिएन।

राष्ट्रिय हित र समाधानमूलक राजनीतिलाई गति दिने युवा नेतृत्वको कांग्रेस र राजशक्तिका बिच नयाँ समझदारीको विकास हुनसक्यो भने त्यो नै जेनजी आन्दोलनपछिको नेपालका लागि आशा र उत्साहको नयाँ युग हुनेछ।

पराजित मानसिकताले राजा ज्ञानेन्द्रलाई गाली गरेको आधारमा न त नेताहरूको गुमेको लोकप्रियता फर्किन्छ, न त उनीहरूको क्रान्तिकारिता नाप्ने कसी त्यो हुनसक्छ। बरु पार्टीहरूको औचित्य र सान्दर्भिकता हराउँदै जाने अवश्यम्भावी छ। पुराना पार्टीका नेताहरूमा सद्बुद्धि छ भने आफ्नो नेतृत्व–कौशल र सफलताका लागि पनि राजासँग सम्बन्ध पूर्ववत् सुमधुर बनाउने पहल र प्रयास हुनुपथ्र्यो।

यो यथार्थलाई कांग्रेसमा स्थापित हुन लागेको युवापुस्ताले न्यायोचित तरिकाले आत्मसात गरी नयाँ वातावरणको निर्माण गर्नु आवश्यक भइसकेको छ। अहिले सिंगो कांग्रेसका लागि गगन थापा अपेक्षा र आकर्षणको केन्द्र बनेका छन्। सारा सचेत नेपालीले खोजेको उहाँको नेतृत्वलाई अवरुद्ध गर्न केही समय झमेला खडा गरिएला तर उहाँको नेतृत्वलाई रोक्न कसैले सक्दैन।

 जनता–जनार्दनभन्दा शक्तिशाली अरू कुनै शक्ति छैन तर एक व्यक्ति एक पदको नीतिअनुरूप यो लहरका सहकर्मी साथीहरूलाई पनि उचित जिम्मेवारीमा राख्न सक्नुपर्छ। कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का, अर्का प्रभावशाली महामन्त्री विश्वप्रकाश शर्मा र वरिष्ठ नेता डा. शेखर कोइराला लगायत पार्टीका अन्य प्रभावशाली नेताहरूसँग लचिलो समझदारी र सहमतिका साथ उहाँले आफूमाथि आइरहेको ऐतिहासिक जिम्मेवारी सम्पन्न गर्नुपर्छ।

बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, किसुनजीजस्ता पार्टीका संस्थापक नेताले एकैमतले ‘नेपालको भूराजनीतिक परिस्थितिका कारण राजाले हामीलाई दुस्मनको व्यवहार गरे पनि हामीले नेपालका लागि राजाको आवश्यकता देखेका हाैं’ भनेका थिए तर अहिलेका नेताले राजसंस्था हटाएर गणतन्त्र लाद्ने र आजको दर्दनाक परिस्थिति खडा गरे।

गलत निर्णय गरेर निषेध र मनपरीतन्त्र चलाउने काम जसले गरे पनि अब उन्मुक्ति पाउने होइन, दण्डित गर्ने अनिवार्य पद्धतिको स्थापनाको लागि समेत कांग्रेसमा देखिएको गगन लहर संस्थागत गर्ने परिवर्तनलाई सुनिश्चित गर्नुपर्छ। सधैंको कचिंगल र देशहित विपरीतका गतिविधिलाई समाप्त गरेर नयाँ नेतृत्व, राष्ट्रिय एकता र सद्भावको वातावरणमा नेपाललाई प्रवृत्त गराउनु जरुरी छ।

प्रकाशित: २५ मंसिर २०८२ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App