कुनै समय नेपालको ऋतुचक्र एउटा कविता जस्तो थियो। वसन्तको आगमनसँगै पलाउने रातो–पहेँलो गुराँस, गर्मीमा लहराउने खेत, शरदमा स्वच्छ निलो आकाश र जाडोमा सेतो हिमालको चम्किलो दृश्य, त्यो नेपाल जहाँ बाल्यकालमा सुत्दा पनि झरेका पातको सुगन्ध आउने गर्थ्याे, जहाँ नदीको पानी सिधै पिउन मिल्थ्यो र हावामा धुलोको सट्टा फूलको महक हुन्थ्यो। हाम्रा बुबा–हजुरबुबाको कथा होइन, मजस्ता चालिस पार गरेकाहरूको बाल्यकालको यथार्थ हो तर आज त्यो यथार्थ इतिहास बन्न लागेको छ। आजको नेपालमा वसन्त धुलो र धुवाँमा मडारिन्छ, गर्मी प्लास्टिकको तापले जलेको हुन्छ, शरद ऋतुको आकाश धुवाँधुलोले लुकेको हुन्छ र सेतो हिमाल कालो हुँदै गएको छ, प्लास्टिकको मैलो लुगा लगाएको जस्तो देखिन्छ।
यस परिवर्तनको मूल कारण के हो? यो प्रकृतिले उकालेको रिस होइन, मानवकै सिर्जना हो। हामीले आफ्नो सुविधाका लागि प्रकृति सताउँदै गएका छौं। कुनै समयमा हामी ‘रिसाइकल’ को अर्थ बुझेर बाँच्थ्यौं? त्यो समयमा २० चाउचाउको खोल ल्याउँदा एक चाउचाउ फ्रि जस्ता नारा दिइन्थ्यो। यो बिक्रीयुक्त थिएन, एउटा सुन्दर र सर्कुलर इकोनोमीको उदाहरण थियो। खाली खोलहरू पसलमै फर्किन्थे, उद्योगले संकलन गथ्र्यो र पुनः प्रयोग वा रिसाइकल ल्याउँथ्यो।
त्यस्तै सिसाको बोतलमा पेय पदार्थको स्वाद अलिक फरक त हुन्थ्यो तर त्यो बोतल धोएर, सफा गरेर फेरि भरिन्थ्यो। हामीले ‘धरौटी’ तिरेर पेय पदार्थ किन्थ्यौं र खाली बोतल फिर्ता गरेपछि त्यो धरौटी फर्काइन्थ्यो। यो प्रक्रियाले न फोहोर कम गर्थ्याे तर हामीमा उपभोगपछिको जिम्मेवारीको चेतना पनि सिर्जना गर्थ्याे तर के परिवर्तन आयो त? समय बित्दै जाँदा हामी ‘आधुनिक’ भयौं। एकल पटक मात्र प्रयोगमा आउने प्लास्टिक, सुविधाजनक प्याकेजिङ र प्रयोग गरेपछि फ्याँकिने संस्कृतिले हाम्रो जीवनमा प्रवेश गर्याे।
सरल भयो, सस्तो भयो तर हामीले के मूल्य तिर्याैं र तिर्दैछौ? त्यो मूल्य, हाम्रो स्वच्छ वातावरण, हाम्रो नदीनाला, हाम्रो स्वास्थ्य र हाम्रो भविष्य हो। आज काठमाडौंको हावा विश्वकै प्रदूषित हावामध्ये एक हो। वाग्मती नदी सफा पार्न करडौं रुपैयाँ खर्च भइसकेको छ र हुँदैछ तर नदीमा प्लास्टिक फाल्ने मानसिकता अझै रोकिएको छैन। वातावरण, नदीनाला, पानी, वायु आदिको संरक्षण नेपाल सरकारको प्रमुख दायित्वमा कहिल्यै परेको छैन। यो खालि सरकारको असफलता होइन, यो हामी सबैको सामूहिक चेतनाको संकट हो।
यसको उत्तम मार्ग भनेकै, विस्तारित उत्पादक दायित्व हो। उत्पादकले आफ्नो उत्पादनको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिनुपर्छ। यसका लागि कानुन मात्र बनाउँदैमा हुँदैन। उत्पादकले उत्पादन गरेको वस्तु बजारमा गएपछि, उपभोगपछिको व्यवस्थापनको जिम्मेवारी पनि उत्पादककै हुनुपर्छ। हामीले हराएको त्यो सर्कुलर इकोनोमीको संस्कृति पुनर्जीवित गर्नुपर्छ। यसको लागि सबै क्षेत्र (सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज, समुदाय, आदि) को सामुहिक पहल चाहिन्छ
पहिलो, सरकारको भूमिका, सरकारले कानुन बनाउने मात्र नभएर कार्यान्वयनको निगरानी गर्ने “वातावरण प्रहरी’ को सशक्त इकाइ बनाउनुपर्छ। भएका नीतिहरू, जस्तै फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई परिमार्जन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्छ।
उद्योगहरूलाई विस्तारित उत्पादक दायित्व लागू गर्न बाध्य पार्नुपर्छ तर साथै रिसाइकल गर्ने उद्योगलाई कर छुट, सहुलियत सहयोग जस्ता प्रोत्साहन पनि दिनुपर्छ। नेपालको संविधान २०७२ को धारा ३० ले ‘स्वच्छ वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था कागजमा मात्र सीमित नराखी, एउटा जीवन्त वास्तविकता बनाउनुपर्छ।
दोस्रो उत्पादक तथा उद्योगहको भूमिका, उद्योगले सामाजिक उत्तरदायित्वबाट पर जानुपर्छ। उनीहरूले वातावरणमैत्री प्याकेजिङ अपनाउनुपर्छ। ‘खरिद गर्नुहोस्, फिर्ता गर्नुहोस’ को मोडेल पुनः स्थापना गर्नुपर्छ। चाउचाउको खोल, पेय पर्दाथको बोतल फिर्ता गरेमा छुट वा अंक दिने, उपभोक्तालाई प्रोत्साहित गर्ने प्रणाली हुनुपर्छ। उद्योगसंघहरूले सामूहिक रूपमा संकलन र पुनर्चक्रण केन्द्रहरू स्थापना वा स्थापना भएका रिसाईकलहरूलाई सहयोग गर्नुपर्छ। यो उनीहरूको खर्च होइन, भविष्यमा लाग्ने विशाल पर्यावरणीय भुक्तानीभन्दा राम्रो लगानी हो।
तेस्रो नागरिकको भूमिका, हामी सबै उपभोक्ता हौं, हाम्रो हातमा शक्ति छ। हामीले ‘फोहोर कम गर्ने, पुनः प्रयोग गर्ने, रिसाइकल गर्ने” सिद्धान्त आत्मसात गर्नुपर्छ। फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने बानी बसाल्नुपर्छ, कम्पोष्ट मल बनाउने, पुनः प्रयोगयोग्य वस्तुको उपयोग बढाउने,रिसाइकल योग्य र ल्यान्डफिल जाने वस्तु निर्धारण गर्ने जस्ता कार्य हाम्रो दैनिक व्यवहार हुनुपर्छ।
हामीले एकल प्रयोगमा आउने प्लास्टिक बहिष्कार गर्नुपर्छ। स्थानीय स्तरमा कम्पोष्ट गर्ने, बजार जादाँ आफ्नो कपडाको झोला लैजाने, पुनः प्रयोगमा आउने बोतल प्रयोग गर्ने जस्ता साना कदमले ठूलो प्रभाव पार्न सक्छ। हामीले वातावरण प्रदूषण गर्ने उद्योग वा उत्पादनहरुको निगरानी तथा खवरदारी गर्नुपर्छ। हामी नागरिकले नै वातावरण संरक्षणको सबैभन्दा ठूलो प्रहरी हौ।
सामुहिक पहलको शक्ति, जब सबै पक्ष एकजुट हुन्छौ, तब मात्र परिवर्तन सम्भव हुन्छ। उदाहरणका लागि, सरकारले प्लास्टिक उत्पादनमा कर लगाउँछ, उद्योगले त्यसैअनुसार पुनर्चक्रण योग्य विकल्प वा प्लास्टिकरहित वस्तु सिर्जना गर्छ र नागरिकले त्यस्तो उत्पादनको बढी माग गर्छन् र खरिद गर्छन्।
सरकारले विद्यालयस्तरदेखि पर्यावरण शिक्षा अनिवार्य गर्ने, उद्योगले त्यस्ता कार्यक्रमहरूलाई सहयोग गर्ने र अभिभावकले घरमा त्यो संस्कार सिकाउँछन्। यो एउटा चक्र हो जसले हामीलाई बलियो बनाउँछ।
स्वच्छ वातावरण असम्भव कार्य होइन भन्ने हाम्रो अतीतले हामीलाई सिकाएको छ। त्यो हाम्रो सांस्कृतिक धरोहर अझै छ। हामीले हराएका राम्रा बानीहरू, सिसाको बोतल फिर्ता गर्ने, कपडाको थैली प्रयोग गर्ने, जैविक फोहोरलाई कम्पोष्ट गर्ने जस्ता कार्यलाई पुनः जीवन दिनु आजको आवश्यकता हो। यो पछाडि फर्कने होइन, अगाडि बढ्ने बुद्धिमत्तापूर्ण कदम हो।
आजको आवश्यकता भनेको वातावरणीय पुनर्जागरणको हो। हामी जतीसुकै आधुनिक भए पनि, हामीले आफ्नो इतिहास स्वच्छ हावा, स्वच्छ पानी र हरियालीसँग जोडिनैपर्छ। राष्ट्र इट्टा र सिमेन्टको मिश्रणले मात्र बन्दैन, स्वच्छ वातावरण, हरियाली, स्वच्छ हावा, स्वच्छ पानी, स्वस्थ नागरिकहरुले बन्छ। नागरिकहरू मतदाता मात्र नभई वातावरणका संरक्षक हुन् भन्ने जिम्मेवारी बढाउन जरुरी छ। सरकार शासक मात्र नभई वातावरण संरक्षणको सेवक हुनुपर्छ।
हामी सबै नागरिकले वातावरण संरक्षणका लागि आफ्नो भूमिका बलियो रूपमा खेल्नुपर्छ। हाम्रा साना कदमहरू मिलेर एउटा स्वच्छ, हरियाली र सुन्दर नेपालको पुनर्निर्माण हुन्छ। हामी फोहोरबाट फूलसम्मको यात्रा गर्न सक्छौं। त्यो फूल हाम्रो भविष्य हो, हाम्रो सपना हो। आउनुस्, यो सपना साकार पारौं। वातावरण संरक्षण हाम्रो कर्तव्य हो र त्यो कर्तव्य निभाउनु नै आजको सबैभन्दा ठूलो आधुनिकता हो।
प्रकाशित: ८ माघ २०८२ १४:१६ बिहीबार

