८ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

समाजवादका आधारभूत चिन्तनमा विपी

सन्दर्भ: विपी जयन्ती

‘समाजका प्रत्येक वर्ग तथा मानवका सम्पूर्ण समस्यालाई देश, काल, परिस्थिति अनुसार समाधान गर्न प्रयत्नशील भइरहे मात्र समाजवादले आफ्नो दायित्व पूरा गर्न सक्दछ । समाजवादी लक्ष्य कुनै एउटा तात्कालिक परिवर्तनबाट पूरा हुन सक्दैन । यो त एउटा त्यस्तो दिनचर्या हो जो निरन्तर चलिरहन्छ ।’ — विपी 

जननायक विपीले समाजवादको वैचारिक धरातल, त्यसको विकासक्रम र नेपालको अर्थ राजनीतिक सन्दर्भमा पर्याप्त दृष्टिकोणहरू व्यक्त गरेका छन् । उनले विश्व प्रसिद्ध समाजवादी दार्शनिक कार्लमाक्र्सदेखि लिएर उनीभन्दा पहिले र पछिका एसियाली, युरोपेली राजनीतिक चिन्तक एवं दार्शनिकहरूको पनि पर्याप्त अध्ययन गरेका थिए । अध्ययनको व्यापकताले उनलाई चिन्तन र विश्लेषणको गहिराइतर्फ पुग्न मदत पुर्‍यायो । त्यसैले उनका समाजवादी दृष्टिकोणहरू मुलुकको समकालीन वस्तुस्थिति र राजनीतिक परिस्थितिको विश्लेषणमा मात्र केन्द्रित रहेनन् । उनका दृष्टिकोणहरू दार्शनिक चिन्तनको धरातलबाट उद्बोधित भएका देखिन्छन् । 

मानव समाज सधैं परिवर्तन र विकासको आकांक्षी रहिरहन्छ । समाज जुनसुकै शासन व्यवस्था वा दलविशेषको नेतृत्वबाट निर्देशित रहे पनि त्यसले ल्याउने परिवर्तन सापेक्षिक मात्र हो । समाजवादको लक्ष्य कुनै एक कालखण्डको शासनसत्ता वा नेतृत्वबाट मात्र पूरा हुन सक्ने कुरा होइन । यसको यात्रा अनन्तदेखि नै अनवरत थियो र अनन्तसम्म चलिरहने एउटा निरन्तरको प्रक्रिया हो भन्छन्– विपी । 

समाजवाद भन्नेबित्तिकै स्वत: समाज जोडिएर आउँछ । समाज भन्नेबित्तिकै त्यहाँ बस्ने मानिसको उपस्थिति अगाडि आउँछ । समाजको उत्पत्ति प्राग्–ऐतिहासिक कालखण्डको प्रारम्भदेखि नै हुँदै आयो । जब अज्ञात अतीतमा मानव चेतनाले परिवारको आवश्यकता महसुस गर्न थाल्यो, समाजवादको प्रारम्भ विन्दु त्यही हुनुपर्छ भन्ने चिन्तन विपीले गरेका छन् । 

मानव चेतनाको विकाससँगै समाज पनि विकास हुँदै जानु स्वाभाविक हो । चेतनाको विकास यथास्थितिमा रहिरहँदैन । त्यसले वैयक्तिक आवश्यकता वा सामाजिक अपेक्षाहरूलाई बढावा दिँदै जान्छ । चेतनशील मानिस समाजबाट बढीभन्दा बढी आवश्यकता पूरा गर्न लालायित रहन्छ । समाजसँगको प्रारम्भिक वा प्राग्–ऐतिहासिककालीन मानव अपेक्षा नै समाजवादी भावनाको प्रथम अंकुरण रहेको विपीको चिन्तनमा देखिन्छ; ‘कुनै पनि भावुक हृदय भएका संवेदनशील व्यक्तिले जब ऊ, आफू र समाजतिर दृष्टि दिन्छ, उसलाई असन्तोष हुन्छ, समाज त राम्रो भएन, समाज त राम्रो हुनुपर्छ भनेर । यो भावना नै सबभन्दा पहिलो अंकुरित समाजवादको भावना हो ।’ 

विपीले समाज र समाजवादको विकास एवं अवधारणाबारे ज्यादै मिहीन ढंगमा चिन्तन, विश्लेषण गरेका छन् । त्यसबाट नेपाली समाज मात्र होइन, सामान्यत: समग्र मानव समाजको विकासक्रमको गतिलाई पनि चियाउन मदत पुग्छ ।

समाजवादले राजनीतिक वा आर्थिक समाजवादको विषयलाई मात्र स्पर्श वा विश्लेषण गर्दैन । यो यस्तो मानवीय, अवधारणा हो जसले मानवसमाज र सभ्यताको विकासक्रमलाई यसैभित्र राखेर अथ्र्याउन पनि सकिन्छ । मानवीय कला, संस्कृति, धर्म, सामाजिक रीति र व्यवहारहरू एवं मान्छे–मान्छेबीच रहेका सम्बन्धका अनेक पक्षहरू पनि समाजवादको दायराभित्र अटाउँछन् । यसरी हेर्दा विपीले समाजको बाहिरी आर्थिक वा राजनीतिक पक्षमा मात्र नभई त्यसको विकासक्रमको भित्री गहिराइमा पुगेर अध्ययन गरेका देखिन्छन् । समाजशास्त्रीय दृष्टिकोणले सभ्यताको गतिक्रमलाई बुझ्न पनि विपीका यस्ता विचारहरूले एउटा भिन्नै दार्शनिक आयामलाई उद्घाटित गरेका छन् ।

आदीम मानव समाजको प्रारम्भ विन्दुबारे विपीले चिन्तन गरेका छन्, ‘समाजको व्यवस्था नभइकन एउटा बच्चा जन्मेर त्यो बाँच्न सक्दैन, केवल आमाको रेखदेखमा मात्रै त्यो बाँच्न सक्दैन । बालकलाई जन्मने बित्तिकै आमाको पनि संरक्षण चाहिया छ । आमाको संरक्षणको निम्ति पुरुष चाहिया छ । हुँदा–हुँदा एउटा सामाजिक वातावरण चाहिया छ । त्यसो हुनाले मानिस आउनुभन्दा पहिले, उसको प्रादुर्भाव हुनुभन्दा पहिले समाजको संरचना भएको हुनुपर्छ ।’ 

विपीको उक्त भनाइले मानिसभन्दा पहिले नै समाजको उत्पत्ति भएको हुनुपर्छ भन्ने जनाउँछ । फेरि पनि समाज त मानिसले बनाउने हो । समाज नभएमा आमा, बच्चाको संरक्षण कसरी हुने ? आमा, बाबु र बच्चाको अस्तित्वको लागि समाजको निर्माण हुनैपर्छ । बच्चालाई पालनपोषण गर्न आमा मात्रैले पुग्दैन, आमाको संरक्षणका लागि पुरुष नभई हुँदैन । आमा, बाबु र बच्चा भनेका परिवाररूपी एउटा सानु एकाइ हो र त्यो एकाइ नै समाजको पनि सबभन्दा सानो एकाइ हो । विपीले पारिवारिक जीवनको आरम्भ र समाजको आरम्भ कुन पहिले भएको हो त त्यसबारे बहस हुन सक्ने विषयको उठान पनि गरेका छन् । 

विपी मानिसको प्रादुर्भाव हुनुभन्दा पहिल्यै नै समाजको आरम्भ भइसकेको हुनुपर्छ भन्ने तर्क गर्दछन् । यसको तात्पर्य, मानिस पूर्ण विकसित अवस्थामा आउनुभन्दा पहिलेको अर्ध विकसित अवस्थादेखि नै अव्यक्त सामाजिक चेतको अंकुर पलाइसकेको हुनुपर्छ भन्ने हो । प्रारम्भिक मानव चेतनाको त्यो अंकुर क्रमश: विकसित हुँदै जाँदा पूर्ण मानवको पनि विकास भयो । जब त्यस चेतनाको अंकुरले पारिवारिक आवश्यकताको बोध गर्‍यो, समाजको प्रथम आदीम एकाइको पनि निर्माण भयो । समाज र मानिस क्रमश: एकार्कामा अपरित्याज्य अंगका रूपमा रहन थाले । विपीको यस विचारको सार बहसका लागि भन्दा पनि समाजवादी विचारको अमूर्त चेतनाको आरम्भ मानवसमाजको उत्पत्तिसँगै भएको हो भन्ने कुरा स्मरण गराउनका लागि थियो भन्ने हामी बुझ्न सक्छौं ।

विपीका अनुसार बुद्धले पनि समाजको दु:खपूर्ण अवस्थालाई अनुभूत गरेर दया, करुणाको मार्गमा चल्नका लागि मानिसलाई आह्वान गरे । विपीले बुद्धमा रहेको त्यो करुणाको भावना पनि अपरिभाषित रूपमा समाजवादको एउटा रूप हो भनेका छन् । त्यस्तै रामायण, महाभारत आदि अध्यात्मिक ग्रन्थहरू पनि मानव कल्याणको भावनाबाटै सिर्जित भए । समाजवादी विचारको प्रारम्भिक विन्दु पहिल्याउन मानव विकासको आरम्भदेखि प्राग्–ऐतिहासिक, पौराणिककालतिर पनि दृष्टि पुर्‍याउनुपर्छ भन्ने विपीको धारणा रह्यो । 

समय र परिस्थिति अनुसार आर्थिक क्षेत्रमा समाजवादको अवधारणा जन्मनु भन्दा पहिल्यै धार्मिक, आध्यात्मिक क्षेत्रमा यस विचारको आरम्भ भइसकेको थियो । सामूहिक भावनाको प्रतिनिधित्व गर्ने मन्दिर देवालय वा गिर्जाघरहरूले मानवीय चेतना र साझा विचारकै प्रतिनिधित्व गर्दै आएका हुँदा ती वर्तमानमा विकसित समाजवादी धारणाकै प्रारम्भिक स्वरूप हुन् भन्ने विपीको दृष्टिकोण थियो । त्यस्तै प्राग्–ऐतिहासिक कालदेखि वर्तमानसम्म जे जति आविष्कार र अन्वेषणहरू भए ती आ–आफ्नो समयका मानव चेतनाकै उपजका रूपमा रहेका छन् । विभिन्न युगमा मानव चैतन्यले भिन्नभिन्न सोच, विश्वास र सो अनुसारका कामहरूलाई प्राधान्यता दिँदै आयो । सो अनुसार औद्योगिक युगको पनि प्रादुर्भाव भयो । सँगसँगै समतापूर्ण समाजको आवश्यकताको चिन्तन पनि विकसित हुँदै आयो । 

यसर्थ, समाजवादको अवधारणा विल्कुलै नौलो मानव आविष्कार नभएर क्रमिक विकास हुँदै आएको चिन्तन हो भन्नेमा विपी विश्वास राख्दथे । समय बित्दै जाँदा मानिसका आवश्यकता र प्राथमिकताहरू पनि फरक हुँदै जान्छन् । व्यक्ति र समाजका आवश्यकताहरूद्वारा प्रेरित भएर नै नयाँ नयाँ सम्भावनाहरूको खोजी र प्राप्तिको लागि मानिस प्रेरित भइरहन्छ । मानिसले क्रमश: अतीतदेखि नै परिवर्तनकारी सोच र सिर्जनाहरूलाई अघि बढाउँदै आयो । पूर्वीय चिन्तकहरूले एकप्रकारले आ–आफ्ना दर्शनलाई विकसित गरे, पश्चिमाहरूले भिन्न प्रकारले । पूर्वीय चिन्तन र पद्धतिअनुसार समाजको संरचना पारिवारिक, आर्थिक ढाँचा, सांस्कृतिक व्यवहारहरू र पश्चिमी समाजमा तिनका प्रारूपहरू फरक हुँदै आए । 

समाजको विकासका क्रममा स्वभावत: पूर्व र पश्चिम दुवैतर्फ कतिपय सामाजिक समानताहरू पनि रहे । प्लेटो, एरिस्टोटल जस्ता ग्रिक दार्शनिकहरूले सामाजिक पद्धति बसाउन साम्यवादका प्रारूपहरूको रूपरेखा तयार गरे भने त्यसै कालखण्डमा हिन्दू दार्शनिकहरूले पनि समाजिक सुधारका लागि कतिपय दस्तावेजहरूको चिन्तन गरे । पछि आएर सामन्तवादी सोचको बाहुल्यता बढ्दै गयो । शासक वर्ग र शासितहरूको वर्गीय भिन्नता चुलिँदै गयो । औद्योगिक क्रान्तिसँगै आर्थिक हिसाबले समाज विभाजित हुन थाल्यो । औद्योगिक क्रान्तिले पुँजीवादी युगको सुत्रपात गर्‍यो । औद्योगीकरण युगको सुरूवात भएसँगै आधुनिक समाजवादी विचारको पनि प्रादुर्भाव हुन थाल्यो । 

यस पृष्ठभूमिमा आर्थिक रूपमा असमान समाजलाई आधार मान्दै कार्लमाक्र्सले आर्थिक समाजवादको मात्र व्याख्या गरेका छन् भन्ने धारणा राख्दै विपी भन्छन्, ‘उनले (माक्र्सले) समाज र इतिहासको एउटै आधार बनाए– आर्थिक आधार । इतिहासलाई चलाउने पनि त्यही तत्व हो र समाजको रचनाको तत्व पनि त्यही हो । माजिसको विवेक भन्नुस् वा बुद्धि भन्नुस् त्यसले पनि आर्थिक तत्वलाई इंगित गर्दछ, उनले भने ।’ समाजवादीहरूमा माक्र्सको ठूलो प्रभाव परेको कुरा मूल्यांकन गर्दै विपी भन्छन्; ‘यद्यपि म केही हदसम्म मात्र उनलाई मान्दछु, सबै कुरामा मान्दिन ।’

विपीले माक्र्सलाई सबै कुरामा मान्दिन, केही हदसम्म मात्र मान्छु भन्नुको तात्पर्य, माक्र्सले मानिसलाई एउटा आर्थिक प्राणीको रूपमा मात्र व्याख्या गरे, जवकि मानिस आर्थिक प्रेरणा वा अभिलाषाले मात्र सञ्चालित हुँदैन भन्ने विपीको मान्यता हो । मानव समाजको विकास वा आधार एउटा मात्र हुन सक्दैन, विपीको बुझाइ रह्यो । उनले भनेका छन्; ‘आर्थिक आधार मात्र मानिसको सबथोक होइन । त्यसैले समाजवाद भनेको एउटा ठूलो सभ्यता र संस्कृति हो । समाजवाद भनेको अहिलेसम्म इतिहासमा जति मानवसमाजले प्राप्ति गर्दै आयो, त्यही हो ।’ 

विपीको समाजवादी व्याख्या अत्यन्त बृहत् र विस्तारित छ । मानवीय संस्कृतिको समग्र विकासक्रम केवल आर्थिक आधारले मात्र भएको छैन । ज्ञान–विज्ञान, सिर्जना र मानवीय सम्बन्धका अनेक पक्षहरूको विकास समाजवादी मूल्यमान्यताकै आधारमा हुँदै आएको छ । मानिस केवल पेटको लागि मात्र अस्तित्वमा छैन । पेटको समस्याले मात्र क्रान्ति हुँदैन, भएको छैन । संसारका प्राय: सबै ठूला क्रान्ति वा आन्दोलनहरू स्वतन्त्रता, जनअधिकार, सामाजिक समानता, राष्ट्रियता, साझा पहिचान जस्ता भावनात्मक उपलब्धिहरूका लागि भएका छन् । तसर्थ समाजवादी विचारले आर्थिक समानताका लागि मात्र प्रेरित गरेको छैन । यो त मानव सभ्यताकै सर्वव्यापी एवं सर्वपक्षीय चिन्तन धारा हो । यो सीमित छैन भन्छन्– विपी । 

समाजवादले आर्थिक समानताको मात्र व्याख्या गर्छ भन्नु यसले दिने विस्तृत चैतन्यदायी अवधारणालाई संकुचित पार्नु हो । यसरी समाजवादप्रति विपीको व्याख्या र बुझाइ विस्तारित छ । विपीको समाजवादी विचारले मानिसलाई सिर्जनशील, आशावादी, उद्योगी, सामाजिक एवं राजनीतिक रूपमा सचेत, व्यक्तित्व विकासका लागि उद्यत र कर्मशील आदि सम्भावना र सफलताको पुञ्जका रूपमा अथ्र्याउँछ; आर्थिक समानताका लागि मात्र तड्पिरहने छुद्र र एकांगी मानवका रूपमा चित्रण गर्दैन । 

विपीका समाजवादी चिन्तनहरू कुनै एक दलविशेषका लागि मात्र अध्ययन र विश्लेषणका सामग्री होइनन् । ती जोकोही पनि बौद्धिक व्यक्ति वा राजनीतिक पक्षका लागि मननीय रहेका देखिन्छन् । उनका समाजवादी चिन्तनहरू नेपालको आधुनिक राजनीतिक इतिहासका दार्शनिक आधारशीलाका रूपमा रहेका छन् । उनको समाजवादी विचारभित्र नै वर्तमान लोकतान्त्रिक राजनीतिक पद्धतिको अन्तरात्मा सन्निहित छ । विपीकै शब्दमा लोकतन्त्र र समाजवाद एउटै सिक्काका दुई पाटा हुन् ।

प्रकाशित: २४ भाद्र २०८२ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App