नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो। कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो। कोरिया र नेपालको सम्बन्ध गहिरो छ।
कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइन, दुई देशबीच सामाजिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यताहरूमा केही समानता पनि देखिन्छ। नेपालको प्रतिनिधित्व गर्दै डा. शिवमाया तुम्बाहाम्फेले राजदूतको औपचारिक जिम्मेवारी लिएर काम सम्हालेको एक वर्ष ९७ जनवरी २०२५ देखि ७ जनवरी २०२६० मा पूरा भएको छ। यस अवधिमा भएका केही उल्लेखनीय कार्य तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ।
विभिन्न मुलुकका राजदूतसँगको औपचारिक भेटघाट
कोरियामा रहेका कूटनीतिक नियोगहरूको प्रमुख मोरेक्कोका कोरियाको लागि नेपाली राजदूतसँग शिष्टाचार भेट गरिएको थियो। सो भेटको क्रममा व्यक्तिगत अनुभव, भविष्यमा हुन सक्ने सहकार्य र राम्रो अभ्यासहरूबारे छलफल भएको थियो। कोरियाका लागि भारत, चीन, बङ्गलादेश, जापान, किग्रिज, म्यानमारका राजदूतहरूसँग शिष्टाचार भेट गरी दुई देशको अन्तरसम्बन्धबारे छलफल भएको थियो।
त्यस्तै कोरियाका लागि चिनियाँ राजदूतसँग शिष्टाचार भेट गरिएको थियो। ती देशहरूसँग नेपालको लामो समयदेखि राजनीति, सामाजिक, सांस्कृतिक साथै अन्य विभिन्न विषयमा रहँदै आएको अन्तर सम्बन्धबारे छलफल भएको थियो। यस बीचमा गणतन्त्र कोरियाका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग पनि भेटघाट गरिएको र समसामयिक विषयमा छलफल भएको थियो।
कोरियाको नेशनल एसेम्ब्लीको कोरिया–नेपाल मैत्री समूहका सभापति तथा सदस्यहरूसँग पनि भेटवार्ता गरी दुई देशको मैत्री समूहको बीचमा समन्वय गर्ने काम भएको छ। नेपाल र कोरियाको संसदीय मैत्री समूह बीचमा अनुभव आदानप्रदान कार्यक्रम गर्ने सन्दर्भमा कोरिया–नेपाल मैत्री समूहको नेपालमा भ्रमण हुने कार्ययोजना छ। यो बैठकमा नेपालमा कोरियाको प्रविधि र विकासको मोडललाई नेपालमा सम्भव भएसम्म कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।
नेपाली प्राध्यापक तथा विद्यार्थीसँगको छलफल
लामो समयदेखि कोरियामा अध्यापन गर्दै आएका नेपाली प्राध्यापकहरूसँग कोरियाको शिक्षण पद्धति, नेपाल र कारियाको शिक्षा क्षेत्रमा रहेका भिन्नता, नेपाली विद्यार्थीहरूको समस्या र अवस्था, प्रभावकारी शिक्षाका लागि कोरियाले अपनाएका विधिहरू, नेपालले अनुसरण गर्न सक्ने र नेपालका लागि आवश्यक सवालमा छलफल गरिएको थियो।
उक्त बैठकमा १५ प्राध्यपकको सहभागिता थियो। छलफलमा प्राध्यापकहरूले नेपालको शिक्षा प्रणालीको स्तरोन्नतिमा सरकारले पहल गर्नुपर्ने, कोरियाको विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीका लागि थप छात्रवृत्ति र अध्ययनपछि रोगजारीको अवसरका लागि ध्यान दिन विश्वविद्यालयहरूसँग समन्वय गर्ने, अध्ययनपछि नेपाल फकिर्ने विद्यार्थीका लागि सरकारले रोजगारी तथा अन्य आवश्यक व्यवस्था गर्ने, गुणस्तरीय कोरियन विश्वविद्यालयको सूचीकरण गरिएकोबारे नेपाली विद्यार्थीहरू तथा अभिभावकहरूमाझ जानकारी प्रवाह गर्ने लगायतका विषयमा जोड दिइएको थियो।
कोरियाको विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूलाई दूतावासमा निमन्त्रणा गरी विद्यार्थीहरूको अवस्थामा छलफल गरिएको थियो। छलफलमा विद्यार्थीहरूले विभिन्न समस्याबारे जानकारी गराएका थिए।
विद्यार्थीहरूले भिसा प्राप्त गर्न सहज बनाउन राजदूतावासले समन्वय गरी कोरियाको परराष्ट्र मन्त्रालय र राजदूतावासबीच दुई पक्षीय बैठक गरिएको थियो। त्यसपछि नेपालमा भिसा सहजीकरण केन्द्रको स्थापना भएको छ।
नेपालबाट कोरियामा अध्ययनक लागि आउने विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ। ३० नोभेम्बर २०२५ सम्म कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या १५ हजार ५९९ छ। विद्यार्थीको हित प्रवर्द्धनका लागि विभिन्न समयमा नेपाली विद्यार्थीहरू अध्ययनरत विश्वविद्यालयमा भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको छ।
त्यस क्रममा विश्वविद्यालयका अध्यक्ष, डिन, विभागीय प्रमुखहरू, प्राध्यापक, विद्यार्थीका प्रतिनिधिहरूसँग विद्यार्थीका समस्याहरू, विश्वविद्यालयद्वारा विद्यार्थीलाई दिइएका सेवासुविधा, होस्टलको सुविधा, ट्यूसन फि, विद्यार्थी ल्याउने प्रक्रिया र माध्यमबारे छलफल भएको थियो।
नेपाली राजदूवासबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विद्यार्थीको समस्याको विषयमा गरिएको पत्राचारको आधारमा मन्त्रालयले एक समिति गठन गरी प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ।
विप्रेषण तथा बैंकका प्रतिनिधिसँगको बैठक
विप्रेषण तथा बैंकका प्रतिनिधिहरूसँग नेपाली राजदूतावासमा विभिन्न १४ रेमिटेन्स कम्पनीसँग बैठक गरिएको थियो। नेपालमा वैधानिक रूपमा विप्रेषण पठाउन संस्थाहरूले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै अझ प्रभावकारी रूपले काम गर्न प्रोत्साहित गरिएको थियो। राजदूतावासद्वारा सञ्चालित विभिन्न स्थानमा गरिएको घुम्ती सेवामा समेत रेमिटेन्स कम्पनीहरूको उपस्थिति हुने गरेको छ।
एनआरएनएसँग छलफल
कोरियामा रहेका गैरआवासीय नेपालीहरूको संस्था (एनआरएनए) सँग नेपाली राजदूतावासमा भएको बैठकमा एनआरएनएको भूमिका नेपालको विकासको लागि अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
एनआरएनएबाट कोरियामा रहेका नेपाली कामदार र विद्यार्थीहरू समस्या परेको अवस्थामा सहयोग गर्दै आएकामा अझ बढी काम गर्ने तथा लगानी प्रवर्द्धनकाे क्षेत्रमा काम गर्नुपर्ने विषयमा दूतावासको तर्फबाट जोड दिइएको थियो।
कोरियाली तथा बहुराष्ट्रिय कम्पनीहरू, सरकारी संस्थाहरूसँग बैठक
नेपालमा लगानी गर्ने इच्छुक कोरियाली कम्पनीहरू, कोरियाका सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू तथा अन्य बहुराष्ट्रिय कम्पनीहरूसँग नेपालमा लगानी प्रवर्द्धन गर्न विभिन्न समयमा बैठकहरु सम्पन्न गरिएका थिए।
नेपालको जलविद्युत् क्षेत्र, स्मार्ट यातायात, कृषि, रेल पूर्वाधारको विकास, फोहर व्यवस्थापन, स्मार्टसिटीहरूमा लगानी गर्ने सम्बन्धमा छलफल भएको थियो।
नेपालमा लगानी गर्न राम्रो वातावरण रहेकाले लगानीका लागि अनुरोध गरिएको थियो भने लगानीका नीतिहरूबारे जानकारी गराइएको थियो।
नेपालको रेल यातायत विकासका लागि कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया रेलरोड कर्पोरेशनका प्रतिनिधिसँग विभिन्न चरणमा बैठक गरिएको थियो।
यसैगरी बुसान टेक्नोपार्कका अध्यक्षसँगको बैठकपछि सूचना तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी सो कम्पनीसँग काम गर्न प्रक्रिया अगाडि बढेको छ। हिमाल संरक्षण, वातावरण, शान्तिको अभियानमा जोडिएर नेपालमा सहयोग र योगदान गर्ने व्यक्तित्वहरूसँगको शिष्टाचार भेटघाट भएको छ।
दूतावासबाट प्रदान गरिएका सेवाहरू
विगत एक वर्षमा दूतावासबाट विभिन्न सेवा प्रदान गरिएका छन्। यस बीचमा ३१ नेपाली कामदारको दुःख्द निधन भएको भनी अस्पतालवाट मृत्यु प्रमाणपत्र प्राप्त भएको एवं घट्नाबारे नेपालमा घरपरिवारलाई यथाशीघ्र खबर गरी शव नेपाल पठाई परिवारलाई हस्तान्तरण गरिएको छ। कोरियामा मृत्यु भएका नेपाली १६ कामदारको परिवारलाई क्षतिपूर्ति रकम नेपाल पठाइसकेको तथा अरू मृतक कामदारको बाँकी बक्यौता रकम र क्षतिपूर्ति सङ्कलन हुँदै छ।
व्यक्तिगत प्रयत्नमा कुक (सेफ) काम गर्न कोरियामा आउने गत वर्षको पुसदेखि हालसम्म जम्मा ६४ कामदारको श्रम सम्झौतापत्र प्रमाणीकरण गरिएको छ। श्रम स्वीकृति, सामाजिक कोषमा आवद्धता, कोरियाको कानूनी व्यवस्था, राहदानी र कन्सुलर सेवा, मादक पदार्थ सेवनबाट उत्पन्न समस्या, पारिवारिक सम्बन्धमा तिक्तता, मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, कामदारहरूको उद्धार, राहत, क्षतिपूर्ति, सेल्टर र दोभासेको उपलब्धता लगायत अन्य विविध विषयको सामाजिक सञ्जाल र फोनमा हुने दैनिक ५० देखि १०० जति गुनासा/ जिज्ञासाहरूको समाधानका लागि पहल गरिएको छ।
नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय, वैदेशिक रोजगार विभाग, इपीस कोरिया शाखा, तथा कोरियामा परराष्ट्र मन्त्रालय, न्याय मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालय, मानव संसाधन विकास तथा विभिन्न निकायहरूसंग आवश्यकता अनुसारका विभिन्न विषयमा पत्राचार र प्रतिवेदन तयार गरी पठाएको छ।
मानवीय सहयोग
कोरियामा कार्यरत मानसिक समस्या आएका केही कामदारलाई मानसिक अस्पतालमा उपचार गर्न र मनोसामाजिक परामर्श सेवाप्रवाह गर्न सहयोग गरिएको छ। मानसिक स्वास्थ्यमा समस्या आएका १७ कामदारलाई परिवार तथा कोरियास्थित नेपाली समाजको सहयोगमा नेपाल पठाइएको छ।
दूतावासमा जानकारी प्राप्त भएबमोजिम नेपाली छ कामदार औद्योगिक दुर्घटनामा परी उपचाररत रहेकोमा उनीहरूको स्वास्थ्य उपचारका लागि समन्वय र काउन्सेलिङ तथा सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको छ।
मानसिक स्वास्थ्य समस्या भएका ४० जनालाई भर्चुअल माध्यमबाट मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको र आवश्यकताअनुसार चिकित्सा सेवाका लागि पठाइएको छ।
नेपाली राजदूतावास दक्षिण कोरिया, वैदेशिक रोजगार बोर्ड सचिवालयको आयोजना र दुतावासको सहकार्यमा फेसबुक पेजबाट कामदारहरूको शारिरीक तथा मानसिक स्वस्थ्य समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन भैरहेको तथा १० भिडियो ‘अपलोड’ भइसकेको छ।
नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा स्वस्तिक हिमालयन ग्रुप प्रालिको व्यवस्थापकीय सहयोगमा संचालन गरिएको कार्यक्रम - सुनौ सिकौ कार्यक्रम निकै प्रभावकारी भएको छ।
सन् २०२५ मे १३ तारिखसम्ममा कोरियाको बन्दीगृहमा सजाय भोगिरहेका नेपालीको सङ्ख्या पुरुष पाँच र महिला एक गरी छ जना छन् । विभिन्न कामदार नेपाल पठाउन दूतावासबाट आर्थिक सहयोग गरिएको छ। विरामी तथा अस्पताल भर्ना भएका विभिन्न व्यक्तिलाई उपचार खर्च स्वरूप प्रति व्यक्ति एक लाखका दरले दूतावासबाट सहयोग प्रदान गरिएको छ।
जनरल फिजिसियन एवं साइकोलोजिष्ट डा. राजन लुइँटेलबाट कोरियामा रहेका श्रमिकहरूलाई आवश्यकताअनुसार मनोसामाजिक परामर्श उपलब्ध गराउने गरी यही पुस ७ गते राजदूतस्तरीय निर्णय भई प्रक्रिया अघि बढिसकेको छ। कोरियाका विभिन्न १६ स्थानमा श्रमिक सचेतना तथा कन्सुलर सेवा सम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन तथा सेवा प्रदान गरिएको छ।
पर्यटन प्रवर्द्धन
दूतावासबाट विदेशी पर्यटकलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने ध्येयले पर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न दुई भिडियोको निर्माण गरी विभिन्न कार्यक्रममा प्रदर्शन गरिनेछ। नेपाल आयोजक रहेको २०२५ सेप्टेम्बर २६ देखि २८ सम्म दक्षिण कोरियाको उल्सान शहरमा सम्पन्न भएको उल्सान उल्जु माउन्टेन फिल्म फेस्टिभल फिल्म फेस्टिभलको उद्घाटन गर्दै राजदूतले नेपालको पर्यटन प्रवद्र्धन र हिमालको सुन्दरतालाई विश्वमाझ प्रचारप्रसार गर्न यस्ता चलचित्र महोत्सवहरूको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिएका थिए।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्यस्थल बनाउन आह्वान गर्दै उनले सबैलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिए।
दक्षिण कोरियाको छाङ्वान शहरमा २०२५ को अक्टोबर २७ देखि २८ मा सम्पन्न आप्रवासी लक्षित बहुसांस्कृतिक महोत्सवमा विभिन्न देशका आप्रवासीहरूका बीचमा भएको गायन प्रतियोगितामा राजदूतले विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गरेका थिए।
महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको सांस्कृतिक झाँकीमा नेपालको जीवन्त संस्कृति झल्काउने विभिन्न झाँकी प्रदर्शन गरिएको थियो। महोत्सवमा नेपालको जीवित देवी कुमारीको झल्को दिने झाँकीको विशेष उपस्थिति सबैको आकर्षणको केन्द्र बनेको थियो।
कोइका र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको ‘नेपाल फर्केका नवप्रवर्तकहरू कार्यक्रम २६ जुलाई २०२५ मा सफलतापूर्वक भएको थियो। दक्षिण कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको उद्यमशील क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको दिगो पुनःस्थापना सुनिश्चित गर्ने कार्यक्रमको उद्देश्य छ।
कार्यक्रमले प्रवासी नेपालीहरूको क्षमता र सीपलाई देश विकासमा समावेश गर्न सकिने सम्भावनाको जीवन्त उदाहरण प्रस्तुत गरेको छ। कोरियाली श्रम मन्त्रालय तथा एचआरडी कोरियाको आयोजनामा राजधानी सोलमा ६ अगस्ट २०२५ मा इपिएस सम्मेलन भएको थियो।
कोरियाका श्रम तथा रोजगार मन्त्री किम यंग – हूनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा नेपालका राजदूतसहित श्रमिक आपूर्ति गर्ने १७ वटै देशका राजदूतहरू र प्रतिनिधिहरू, एचआरडी कोरियाका अध्यक्ष, विभिन्न देशका श्रम काउन्सेलर, नीति निर्माता र सरकारी अधिकारीहरूको सक्रिय सहभागिता थियो।
सम्मेलनमा नेपाली राजदूतले हाल इपिएस भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका नेपालीहरूको संख्या ३० हजार नाघिसकेको छ तर वार्षिक कोटा न्यून रहँदा समय, पैसा र मेहनतले उत्तीर्ण कामदारहरू लामो समयसम्म अन्योलमा पर्नु पर्दा योग्य उम्मेदवारहरूको मनोबलमा असर पार्ने हुँदा यसलाई मध्यनजर गर्दै कोटा विस्तार गर्ने वा परीक्षा नतिजाको मान्यता अवधि लम्ब्याउने वा अरू कुनै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे।
इपिएस प्रणालीबाट सन् २०२५ मा दक्षिण कोरियाले नेपाली कामदारलाई छनोट गरी जम्मा ११ हजार १७८ जना ल्याएको तथ्याङ्क छ। इपिएस स्थापनादेखि हालसम्म दक्षिण कोरियाले नेपाली कामदार छनोट गरी एक लाख २१ हजार ७३१ जना ल्याएको छ।
नेपाल डे कार्यक्रम २०२५
नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाको सह–आयोजनामा ‘नेपाल डे २०२५’ कार्यक्रम सम्पन्न भएको थियो। विशेषगरी ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक सन्देश र ‘सगरमाथा संसारकै सर्वोच्च शिखर हो भन्ने राष्ट्रिय गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा प्रस्तुत गरिए पनि हाम्रो संस्कृति, कला, परम्परा, लोकसङ्गीत, नृत्य र पर्यटन यी सबै विविधता र परिचय विश्वसामु चिनाउने उद्देश्य यस कार्यक्रमको रहेको थियो। कार्यक्रममा कोरियामा विभिन्न ओहदामा रहेका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो।
विगत एक वर्षमा दूताबासबाट विभिन्न कन्सुलर सेवा प्रदान गरिएको छ। राहदानी नवीकरण, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, शैक्षिक कागजात प्रमाणीकरण, विमाको लागि नाता प्रमाणित, सम्बन्धविच्छेद पत्र प्रमाणीकरण, जन्मदर्ता, विवाह–दर्ता तथा विवाह प्रमाणीकरण, नाता प्रमाणीकरण, प्रहरी रिपोर्ट प्रमाणीकरण, नागरिकता परित्याग, यात्रा अनुमति पत्र, विदेशी नागरिकलाई भिसा प्रदान लगायतका सेवाहरूबाट १९ हजार २७४ जना लाभान्वित भएका छन्।
(प्रस्तुत विचार दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेसँग गरिएको कुराकानीमा आधारित)
प्रकाशित: २४ पुस २०८२ १३:१४ बिहीबार

