१५ असार २०८३ सोमबार
image/svg+xml
विचार

अल्गोरिदम: साम्राज्यवादको नयाँ रूप

कार्ल मार्क्सले जब आफ्नो राजनीतिक अर्थशास्त्रको सिद्धान्तमा ‘आर्थिक आधार’ र ‘उपरिसंरचना’को जग खनेका थिए, उनको त्यो आर्थिक उपरिसंरचना भत्काउनुपर्छ वा त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने विचारले विश्वभरि नयाँ तरंग पैदा ग¥यो। त्यो विचारले पुँजीवादीहरूलाई नयाँ चरणमा जान बाध्य गरायो। यसलाई अझ यसरी भनौं– सबै उत्पादनका साधनहरू भौतिक र दृश्यमान थिए, जस्तै कारखानाका मेसिन, भूमि, सेना, कानुन, राज्यका नोकरसाही संयन्त्र तथा राज्यका संरचनामा पुँजीवादीहरूको आधिपत्य थियो। शताब्दीयौंसम्म पुँजीवादले यिनै भौतिक संरचनाहरूमार्फत श्रमको शोषण र मानव चेतनाको नियन्त्रण गरिरह्यो। एक्काइसौं शताब्दीको यो तेस्रो दशकसम्म आइपुग्दा पुँजीवादले आफ्नो रूपलाई यति अभौतिक र सूक्ष्म बनाएको छ कि अब यसलाई चिन्न पुरानो विचार र चस्मा मात्र पर्याप्त हुँदैन। आजको नवउदारवादी विश्व पुँजीवादले मानिसको भौतिक शरीरलाई बन्दी बनाउन छाडेर सिधै उसको मगज र चेतनामाथि शासन गर्न आइपुगेको छ। यो नयाँ साम्राज्यको सबैभन्दा घातक र अदृश्य हतियार हो– अल्गोरिदम।

साम्राज्यवादको नयाँ रूप अल्गोरिदम के हो त ? के यो वास्तवमै घातक नै हो ? आज यी दुई कुरामा केन्द्रित हुँदै राजनीतिक आन्दोलनलाई यसले दुस्मनका रूपमा कसरी हेर्छ भन्नेदेखि युवाको सिर्जनशीलता र संघर्षशील क्षमतालाई कसरी निस्तेज गर्छ भन्ने कुरामा केन्द्रित हुन्छौं।

मूलतः अल्गोरिदम कम्प्युटर प्रयोग हुने प्रणाली वा प्रक्रिया मात्र हो। सजिलो भाषामा भन्दा अल्गोरिदम भनेको कुनै पनि काम पूरा गर्न वा समस्या सुल्झाउन कम्प्युटरलाई दिइने ‘क्रमबद्ध निर्देशनहरूको सूची’ हो। वास्तवमा कम्प्युटरसँग हामी मानवमा जस्तो चेतना वा विवेक हुँदैन। त्यसैले हामीले उसलाई बुझिने भाषामा एक–एक गरी नियमहरू सिकाइदिनुपर्छ।

जस्तै, हामीलाई ‘चिया पकाउनु’ छ। चिया पकाउने एउटा निश्चित र क्रमिक विधि हुन्छ– भाँडोमा पानी बसाल्ने, पानी उम्लिएपछि चियापत्ती हाल्ने, त्यसपछि दुध र चिनी मिसाउने। केही बेर उमालेपछि चिया कपमा छान्ने।

हामीले पानी उम्लिनुअघि नै सुक्खा भाँडोमा चिनी र चियापत्ति हाल्यौं भने चिया बिग्रिन्छ। अर्थात्, चिया पकाउन निश्चित नियम र सही क्रम चाहिन्छ। हो, कम्प्युटर विज्ञानमा यही नियम र सही क्रमको विधिलाई नै ‘अल्गोरिदम’ भनिन्छ। तर यही विधिलाई अल्गोरिदमले आफ्नो बौद्धिक क्षमताअनुसार व्याख्या गर्दै गयो र यसलाई बाघभन्दा पनि खतरनाक हो भन्ने चर्चा चल्न थाल्यो। त्यसपछि यसको चर्चा राजनीतिमा धेरै हुन थाल्यो।

राजनीतिक अर्थशास्त्रको दृष्टिकोणबाट भन्दा अल्गोरिदम भनेको २१ औं शताब्दीको वित्तीय र बहुराष्ट्रिय पुँजीवादले आममानिसको समय, ध्यान, उपभोक्तावादी व्यवहार र राजनीतिक चेतनालाई आफ्नो नियन्त्रणमा राख्न निर्माण गरेको ‘अदृश्य डिजिटल नोकरसाही’ हो। माक्र्सवादी कसौटीमा यसको राजनीतिक आयामलाई तीनवटा मुख्य बुँदामा परिभाषित गर्न सकिन्छ।

ध्यानको चोरी र नयाँ अतिरिक्त मूल्य

एन्टोनियो ग्राम्सीले शासक वर्गले आफ्नो ‘सांस्कृतिक आधिपत्य’ टिकाउन विद्यालय, मिडिया र चर्चजस्ता संस्थाहरू प्रयोग गर्छन् भनेका थिए। आज अल्गोरिदम आफैंमा सबैभन्दा ठुलो ‘डिजिटल उपरिसंरचना’ बनेको छ। यसको राजनीतिक परिभाषा यो हो कि यसले समाजमा स्थापित राजनीतिक व्यवस्थाहरू, जस्तै नवउदारवाद र उपभोक्तावादविरुद्ध कुनै गम्भीर वैचारिक विकल्प जन्मनै दिँदैन। यसले युवाहरूलाई स्थापित आर्थिक बेथितिका विरुद्ध सडकमा संगठित हुनबाट रोक्छ र उनीहरूको आक्रोशलाई टिकटक वा फेसबुकका ‘लाइक’, ‘कमेन्ट’ र क्षणिक संवेगमै अल्झाएर समाप्त पारिदिन्छ।

वर्ग विभाजन र ‘प्रिकारियट’को नियन्त्रण

राजनीतिक रूपमा अल्गोरिदम आजको नयाँ वर्ग (प्रिकारियट ः अनिश्चित श्रमजीवी वर्ग) लाई नियन्त्रण गर्ने आधुनिक कारखाना–चाबुक हो। पठाओका राइडर, अनलाइन डेलिभरी गर्ने युवा वा संसारभर छरिएका फ्रिलान्सरहरू कुनै भौतिक मालिकको अगाडि झुक्दैनन् तर उनीहरू मोबाइलको ‘अल्गोरिदम’ र त्यसको ‘रेटिङ’को इसारामा दिनरात कुद्न बाध्य छन्। मालिक अदृश्य छ तर शोषण झन् कडा र निर्मम छ।

हिजो पुँजीवादले मानिसको शरीर र श्रमलाई फलामे साङ्लोले बाँधेर कलकारखानामा राख्थ्यो भने आजको पुँजीवादले ‘अल्गोरिदमको अदृश्य साङ्लो’का माध्यमले मानिसको दिमाग र औंलाहरूलाई मोबाइलको स्क्रिनमा बाँधेर संसारकै सबैभन्दा ठुलो डिजिटल कारखानामा उपभोक्ता र अदृश्य मजदुर दुवै बनाइराखेको छ। सिर्जनशील युवाहरूको विद्रोहको चेतना नै समाप्त पारिदिने यो डिजिटल प्रणाली नै अल्गोरिदमको वास्तविक राजनीतिक रूप हो।

हिजोका साम्राज्यवादीहरूले देश कब्जा गर्न र आफ्नो विचार लाद्न भूगोलमा सेना पठाउँथे। साम्राज्यवादी नीतिबारे एन्टोनियो ग्राम्सीले भनेका छन्, ‘शासक वर्गले आफ्नो सांस्कृतिक आधिपत्य टिकाइराख्न विद्यालय, सञ्चारमाध्यम र धार्मिक संस्थाहरूको सहारा लिन्थे।’ आज सिलिकन भ्यालीका मुट्ठीभर बहुराष्ट्रिय कम्पनीहरूले निर्माण गरेको ‘अल्गोरिदमको साम्राज्य’ले भौतिक सेना र परम्परागत संस्था दुवैलाई विस्थापित गरिदिएको छ।

आजको युवा पुस्ताले बिहान आँखा खोलेदेखि राति नसुत्दासम्म जुन स्मार्टफोनको स्क्रिन नियाल्छ, त्यसभित्र एउटा अदृश्य डिजिटल उपरिसंरचना क्रियाशील छ। जस्तो कि टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबका स्क्रोलिङ रिल्स र सट्र्सहरू सामान्य मनोरञ्जनका साधन मात्र होइनन्, यी युवा चेतनालाई एउटा निश्चित उपभोक्तावादी घेराभित्र बन्दी बनाउने आधुनिक हत्कडी हुन्।

अल्गोरिदमको साम्राज्यले आजको पुस्तामाथि मुख्यतः दुई ठुला अपहरण गरिरहेको छ।

पहिलो, क्रान्तिकारी चेतनाको अपहरण। माक्र्सले इतिहासका क्रान्तिहरूको विश्लेषण गर्दा वर्ग–चेतना र वैचारिक जागरणलाई प्राथमिक सर्त मानेका थिए। उनका विश्लेषण पढेर नयाँ पुस्ताले अझै नयाँ विचार निर्माण गर्थे। त्यो विचारलाई समाजमा लागु गर्नु ठुलो विद्रोह, क्रान्ति गथ्र्यो। यता त्यही विचारको माध्यमले ठुला–ठुला वैचारिक तथा राजनीतिक आन्दोलनहरू चलाइरहन्थ्यो। जस्तै, चीनमा माओवादी क्रान्ति, इन्डोनेसियाली कम्युनिस्ट क्रान्ति, नेपालको माओवादी जनयुद्ध आदि। तर आजको १५ सेकेन्डको डिजिटल अल्गोरिदमले मानिसको गम्भीरतापूर्वक सोच्ने, विश्लेषण गर्ने र संगठित हुने क्षमतालाई क्षतविक्षत पारिदिएको छ। युवाहरूलाई निरन्तर क्षणिक आनन्दको कुलतमा फसाएर समाजका वास्तविक र निर्मम आर्थिक संकटहरू, जस्तै बेरोजगारी, बढ्दो वर्ग–विभेद र पराश्रित उत्पादन प्रणालीबाट ध्यान पूर्ण रूपमा भड्काइदिएको छ। परिणामस्वरूप आजको पुस्ता व्यवस्थाप्रति आक्रोशित त छ तर त्यो आक्रोश कुनै वैचारिक क्रान्तिमा बदलिनुको सट्टा ‘भर्चुअल’ दुनियाको गालीगलौज, ट्रोल र रमाइलोमा सीमित भइरहेको छ। यो डिजिटल युगको एउटा भयानक ‘भर्चुअल थर्मिडोर’ हो, जहाँ क्रान्तिको सम्भावना अंकुरमै निसासिन्छ।

दोस्रो, श्रम र पहिचानको वस्तुकरण। पुँजीवादको नियम नै हरेक अभौतिक कुरालाई बजारमा बिक्ने वस्तुमा बदल्नु हो। अल्गोरिदमको यो खेलमा आजको युवा पुस्ता केवल उपभोक्ता मात्र होइन, आफैंमा एउटा वस्तु बनेको छ। युवाहरूको हरेक ‘लाइक’, ‘सेयर’, ‘क्लिक’ र अनलाइन व्यवहारलाई डाटाका रूपमा संकलन गरेर वैश्विक पुँजीवादी बजारमा अर्बौं डलरमा बेचिने गरिन्छ। एकातिर, यो डिजिटल सञ्जालले युवाहरूलाई सस्तो र भ्रमपूर्ण उपभोगको लत लगाउँछ भने अर्कातिर यही पुँजीवादी चक्रले नेपालजस्ता तेस्रो विश्वका देशहरूको आन्तरिक उत्पादन प्रणालीलाई ध्वस्त पारेर तिनै युवाहरूलाई खाडी वा मलेसियाका मरुभूमिमा सस्तो श्रम बेच्न बाध्य तुल्याउँछ। स्क्रिनमा देखिने रंगीन डिजिटल संसार र खाडीको तातो बालुवामा बग्ने नेपाली युवाको पसिना वास्तवमा एउटै वैश्विक पुँजीवादी सिक्काका दुईवटा पाटा हुन्।

डिजिटल पुस्ता र परम्परागत राजनीतिबिच वैचारिक द्वन्द्व

प्रविधिको विकासले विश्वलाई एउटा औंलाको क्लिकको अवस्थामा पु¥याइदिएको छ। त्यसले विश्वका कुनै पनि कुनामा बसेर सबै गतिविधिको जानकारी सहज ढंगले लिन सक्ने अवस्था पुगेको छ। यही अवसरलाई प्रयोग गर्दै डिजिटल पुस्ताले राज्यसत्तालाई चुनौती दिइरहेका छन्। नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि यो द्वन्द्व सतहमा आइसकेको छ। परम्परागत राजनीतिक दलहरू अझै पनि उन्नइसौं वा बिसौं शताब्दीको सांगठनिक ढाँचा, दस्ताबेज र भाषणको शैलीमा बाँचिरहेका छन्। भने अर्कोतर्फ, भूमण्डलीकरणको हुरीले चेतना निर्माण भएको नयाँ युवा वर्ग छ, जसको संसार अल्गोरिदमले डो¥याएको छ। उनीहरूलाई पुराना दलहरूको वैचारिक जडता र ‘क्रान्तिका पुराना संस्मरण’मा कुनै रुचि छैन। उनीहरू तत्काल परिणाम, प्रविधि र सहजता चाहन्छन्।

नेपालमा हालैका दिनमा परम्परागत राजनीतिक शक्तिहरू र सामाजिक सञ्जालको लहरबाट उदाएका नयाँ ‘पपुलिस्ट’ शक्तिहरूबिच जुन राजनीतिक द्वन्द्व निर्माण भएको छ, त्यो वास्तवमा परम्परागत राजनीतिक वर्ग र अल्गोरिदमले निर्माण गरेको नयाँ प्राविधिक–सचेत वर्गबिचको टकराहटको परिणाम हो। वास्तवमा यो बहुराष्ट्रिय कम्पनीका मालिकहरूले अहिलेसम्मका चर्चित विचार, सिद्धान्त र राजनीतिक व्यवस्थाविरुद्ध गरिएको अदृश्य आक्रमण हो।  

प्रकाशित: १५ असार २०८३ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %