हरेक युगमा परिवर्तन ल्याउने शक्ति युवा पुस्तामै निहित हुन्छ। चाहे त्यो बेलायती शासनलाई भारतबाट हटाई स्वतन्त्रता प्राप्त गर्ने आन्दोलन होस् वा नेपालमा राजतन्त्रको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना गर्ने संघर्ष होस्, इतिहासले देखाएको छ कि परिवर्तनका अग्रदूत युवाहरू नै बनेका छन्।
त्यतिबेला भारत र नेपालका युवाहरूले आआफ्नो देशमा लामो संघर्ष र आन्दोलन गर्दै उपनिवेशवाद तथा निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र र लोकतन्त्र स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। समय बित्दै जाँदा यी लोकतान्त्रिक व्यवस्थाभित्र भ्रष्टाचार, कुशासन, राजनीतिक स्वार्थ र जनअपेक्षाको अनाधार बढ्दै गएको तथ्य विभिन्न अध्ययन, प्रतिवेदन र अनुभवहरूले देखाउन थाले। शासन प्रणाली परिवर्तन भए पनि नागरिकको दैनिक जीवनमा अपेक्षित सुधार हुन नसकेको गुनासो बढ्दै गयो। विशेष गरी युवाहरूले रोजगारी, सुशासन, गुणस्तरीय शिक्षा र समान अवसरको अभाव महसुस गर्न थाले। त्यसपछि यी दुवै देशमा फेरि नयाँ पुस्ताले परिवर्तनको आवश्यकता महसुस गर्दै नयाँ सोच, नयाँ नेतृत्व र उत्तरदायी शासनको मागलाई अगाडि बढाउन पहल गरेका छन्। इतिहासले फेरि एकपटक देखाइरहेको छ कि समाज र राष्ट्रलाई नयाँ दिशा दिने शक्ति अन्ततः युवाहरूकै हातमा हुन्छ।
सोनम वाङ्चुकले आफ्नो अनशन अन्त्य गरिरहँदा र कक्रोच जनता पार्टीले इतिहास रच्दै मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) गठबन्धन सरकारका शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य बनाएको घटनाले भारतमा अब युवा फेरि जागेको संकेत दिन्छ।
सोनम वाङ्चुकको यसमा संलग्नताबारे अध्ययन गर्दा मलाई लद्दाख भ्रमणको सम्झना गराएको छ। आफ्नो भूमिमा सुधार ल्याउने दृढ इच्छा र उत्साह बोकेका शिक्षित युवाले निरन्तर आफ्नो अजेन्डामा अडिग रहेर काम गर्ने हो भने शासनसत्ताबाट जस्तोसुकै दबाब आए पनि परिवर्तन सम्भव हुन्छ भन्ने कुरा मैले त्यहाँ देखेकी थिएँ।
सोनम वाङ्चुकले भाजपा नेतृत्वको सरकारविरुद्ध थालेको आन्दोलन कक्रोच जनता पार्टी अस्तित्वमा आउनुभन्दा धेरै अघिदेखि सुरु भएको थियो। लद्दाखका इन्जिनियरबाट अभियन्ता बनेका वाङ्चुकको अभियान र सिजेपीका सदस्यहरूले गरेको पछिल्लो आन्दोलनको संयोजनले एउटा सन्देश दिएको छ– अब अति भयो, देशमा सुधार आवश्यक छ र सुधार नभएसम्म उनीहरू चुप लागेर बस्ने छैनन्।
भारतका आमनागरिक युवा नेतृत्वको सिजेपी आन्दोलनको सफलतासँगै सोनम वाङ्चुकले देशको शिक्षा प्रणालीमा सुधारका लागि दिएको समर्थनलाई पनि उत्साहसाथ हेरिरहेका छन्। मोदी नेतृत्वको भाजपा गठबन्धन सरकारमा पहिलोपटक एक मन्त्रीले राजीनामा दिएका छन् भने प्रधानमन्त्री मोदीले देशमा भइरहेका परीक्षा प्रश्नपत्र चुहावटको समस्या समाधान गर्न कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यहीबिच भारतीय सञ्चारमाध्यममा कक्रोच जनता पार्टी र स्वयं सोनम वाङ्चुक पश्चिमी देशका एजेन्ट भएको आरोपसहितका षड्यन्त्रका सिद्धान्तहरू पनि फैलिरहेका छन्।
नेपालमा पनि यस्तै षड्यन्त्रका सिद्धान्तहरू सुनिँदै आएका छन्। जेनजी पुस्ताको आन्दोलन र त्यसपछि भएका घटना पनि अन्य देशको स्वार्थबाट प्रेरित भएको दाबी गर्नेहरू छन्। बालेन शाह, रवि लामिछोन र स्वर्णिम वाग्लेलगायतका नेतालाई समेत पश्चिमी देशका एजेन्टको आरोप लगाइएको छ।
यस्ता षड्यन्त्रका सिद्धान्तहरू किन फैलिन्छन् ? के यिनका पछाडि कुनै ठोस प्रमाण छन् ? के स्थापित दललाई नयाँ पुस्ताका युवा नेतृत्वका दलहरू, जस्तै भारतको कक्रोच जनता पार्टी र नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी, आफ्नै बलमा केही गर्न सक्दैनन् र उनीहरूलाई सधैं बाह्य शक्तिले नै परिचालन गर्नुपर्छ भन्ने लाग्छ ?
सन् २०२३ मा म भारतका केही साथीहरूसँग लद्दाख पुगेकी थिएँ। हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, पांगोङ ताललगायतका रमणीय स्थानका अतिरिक्त हाम्रो भ्रमणको सबैभन्दा विशेष अनुभव एउटा अद्भुत विद्यालयको यात्रा थियो, जहाँ कक्षा १० को परीक्षामा असफल भएका विद्यार्थीलाई भर्ना गरिन्छ।
सोनम वाङ्चुकले लद्दाखको शिक्षा प्रणालीमा सुधार ल्याउन अभियान सुरु गर्दै सन् १९८८ मा ‘स्टुडेन्ट्स एजुकेसनल एन्ड कल्चरल मुभमेन्ट अफ लद्दाख’ स्थापना गरेका थिए। यसको उद्देश्य लद्दाखका विद्यार्थीमा रहेको उच्च असफलता दरलाई सम्बोधन गर्नु र त्यहाँको परम्परागत शिक्षा प्रणालीमा सुधार ल्याउनु थियो।
ग्रामीण क्षेत्रबाट आएका, असफल भनेर हेपिएका र अब उनीहरूले सम्मानजनक जीवन जिउन सक्दैनन् भन्ने ठानिएका विद्यार्थीको आवश्यकतालाई यो विद्यालयले कसरी सम्बोधन गरेको छ भन्ने देख्नु मेरा लागि निकै सुखद अनुभव थियो। विद्यालयमा हाम्रो पहिलो परिचय सोनम वाङ्चुकको एउटा भिडियोमार्फत भएको थियो। उनले अत्यन्त सरल भाषामा हामी सबैले गर्न सक्ने साना–साना प्रभावकारी कामबारे बताएका थिए। उदाहरणका लागि चाँडै सुत्ने र चाँडै उठ्ने बानीले विद्युत् बचत गर्न सकिन्छ र यसरी हामीले पृथ्वीको संरक्षणमा योगदान दिन सक्छौं भन्ने उनको सन्देश थियो।त्यहाँका विद्यार्थीले हामीलाई विद्यालय घुमाए। त्यो आफैंमा एउटा अद्भुत अनुभव थियो। परम्परागत माटाका इँटाबाट बनाइएका संरचनाहरू हामीले देख्यौं। विद्यालयको सम्पूर्ण परिसर वातावरणमैत्री छ र पूर्ण रूपमा सौर्य ऊर्जाबाट सञ्चालन हुन्छ। अन्न र तरकारी भण्डारण गर्न नवीन संरचनाहरू बनाइएका छन्। त्यहाँका कक्षाकोठाहरू पनि हामीले परम्परागत विद्यालयमा देख्दै आएका कक्षाकोठाभन्दा निकै फरक छन्। प्रयोगात्मक सिकाइ, दिगोपन र स्थानीय संस्कृति तथा परिवेशसँग सम्बन्धित शिक्षामार्फत त्यहाँका बालबालिकाले माध्यमिक तहका विद्यार्थीका लागि आवश्यक ज्ञान र सिप हासिल गरिरहेका छन्।
त्यस विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थी अहिले सुखी र सफल जीवन बिताइरहेका छन्। हाम्रो भ्रमणका क्रममा विद्यार्थीहरूले त्यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू उद्यमी, किसानलगायत विभिन्न पेसामा संलग्न रहेको जानकारी दिएका थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा उनीहरूले आफ्नो आर्थिक वा सामाजिक अवस्था जस्तोसुकै भए पनि सम्मानजनक जीवनयापन गर्न सक्ने अवस्था बनाएका छन्। विद्यालयमा केही नेपाली विद्यार्थी पनि थिए। म नेपालबाट आएको थाहा पाएपछि उनीहरू निकै खुसी भए र मलाई विद्यालय परिसर घुमाउन पनि लगे।
कक्रोच जनता पार्टीको सुरुवात भारतका एक वरिष्ठ न्यायाधीशले बेरोजगार भारतीय युवाहरूलाई ‘कक्रोच’ अर्थात् साङ्ला भनेपछि त्यसको व्यंग्यात्मक प्रतिक्रियाका रूपमा भएको थियो। यही जुनदेखि सिजेपीले दिल्लीमा परीक्षा प्रश्नपत्र चुहावटको विरोध गर्दै आन्दोलन गरिरहेको थियो र भारतको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको आवाज पनि उठाइरहेको थियो।
भारतको शिक्षा प्रणालीमा सुधारको माग गर्दै र लद्दाखका जनताको आवाज उठाउँदै आएका सोनम वाङ्चुकले सिजेपीको आन्दोलनलाई समर्थन गर्दै अनशन बसे र सरकारलाई सिजेपीको आवाज सुन्न आग्रह गरे। भारतको राजधानी दिल्लीमा सिजेपीको आन्दोलनमा हजारौं मानिस सहभागी भए, जुन मोदी नेतृत्वको गठबन्धन सरकारका लागि एउटा महत्त्वपूर्ण घटना बन्यो।
भारतलाई दक्षिण एसियामा लोकतन्त्रको मसालवाहकका रूपमा हेर्ने गरिन्छ। तर, मोदी नेतृत्वको भाजपा गठबन्धनले तीन कार्यकालदेखि भारतमा शासन गरिरहँदा जनआन्दोलन र मानवअधिकारका मागलाई सडकबाट उठाउने क्रम बिस्तारै नियन्त्रणमा पर्दै गएको र अहिले लगभग रोकिएको देखिन्छ।
यसै सन्दर्भमा यस वर्ष जुनदेखि सुरु भएको सिजेपीको आन्दोलन र वाङ्चुकको अनशनले अधिकांश लोकतान्त्रिक भारतीय नागरिकले खोजिरहेको आन्दोलन हो। हप्तौंसम्म चलेको आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिए र त्यसको केही समयपछि वाङ्चुकले पनि २६ दिन लामो अनशन अन्त्य गरे।
भारतको यो आन्दोलनलाई नरेन्द्र मोदी सरकारविरुद्धको सबैभन्दा ठुलो असन्तुष्टिको प्रदर्शनका रूपमा हेरिएको छ। आन्दोलन दिल्लीमा मात्र सीमित रहेन, देशभर फैलियो। तर, भारतमा सोनम वाङ्चुकजस्ता व्यक्ति तथा सिजेपीका नेता र सदस्यहरूलाई पश्चिमी देशका एजेन्ट भएको आरोप लगाउनु आफ्नो अधिकारका लागि संवैधानिक बाटोबाट आवाज उठाइरहेका युवाहरूको अपमान हो।
वास्तवमा, भ्रष्टाचार र अलोकतान्त्रिक गतिविधिको आरोप लागेका स्थापित दलहरूले नै युवा आन्दोलनहरूलाई बाह्य शक्तिबाट सञ्चालित भएको आरोप लगाउँदा त्यस्ता आरोप लगाउनेहरूको नियतमाथि पनि प्रश्न उठ्छ। युवा पुस्ताले आफ्ना अधिकार र परिवर्तनका लागि आवाज उठाउँदा त्यसलाई विदेशी शक्तिको प्रभाव भनेर मात्र खारेज गर्नु समस्याको समाधान होइन।
आजको समय भनेको पुरानो पुस्ताले युवाका लागि बाटो खुला गरिदिने र आफ्नो अनुभव तथा ज्ञान उनीहरूसँग बाँड्दै राष्ट्र निर्माणमा सहयोग गर्ने समय हो।
प्रकाशित: १५ श्रावण २०८३ ११:२२ शुक्रबार

