१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
विचार

बिपना जगाउने सपना

एक वयस्क व्यक्तिलाई दैनिक आठ घण्टाको सुताइ आवश्यक हुन्छ। ६ घण्टा पनि नसुत्ने व्यक्तिमा विभिन्न रोगको सम्भावना आकासिने अध्ययनले देखाएका छन्। कम सुत्ने व्यक्तिमा क्यान्सरसँग लड्न सक्ने अन्तर्निहित ‘न्याचुरल किलर सेल’को उत्पादन न्यून हुने भएकाले निद्रासँग सम्झौता गर्ने समूहमा अर्बुदरोगको सम्भावना बढ्छ। मस्त निदाएका बेला दिनभरिका महत्त्वपूर्ण घटनालाई मस्तिष्कले दीर्घकालीन भण्डारणका लागि स्थानान्तरण गर्छ अनि न्यून चासोका विषयलाई दिमागबाट हटाउँछ। स्मरणको ‘भण्डारण’ र ‘मेटाउने’ प्रक्रियाका कारण मानिसले विगत भोगाइका आधारमा परिपक्व निर्णय गर्ने गर्छ। यसले उसको दिमागी तागत बढ्छ। क्यान्सर र स्मरणशक्तिमा मात्र सुताइले भूमिका खेल्दैन, बरु निद्रा कम हुँदा ‘प्रतिरक्षा प्रणाली’ कमजोर हुनुका अतिरिक्त चपापचय (मेटाबोलिक) क्रियाकलाप कमजोर भई व्यक्तिमा थरीथरीका रोगको सम्भाव्यता बढ्छ।

निदाएका बखत सपना देखिन्छ। दिउँसो केही मिनेटको छोटो उँघाइ र रातको दीर्घ विश्रामका बखत व्यक्तिले देख्ने सपनाका बिच के फरक हुन्छ? व्यक्तिको मानसिक चनाखोपनमा छोटो र लामो सपनाले फरक पार्छ त? एक ‘निद्रा अध्ययन’ले रातभरमा मानिसले सालाखाला पाँचवटा सपना देख्ने निष्कर्ष निकालेको छ। यद्यपि रात्रिकालीन विश्राममा देखेको सपना उठ्दासम्ममा बिर्सिसक्ने भएकाले त्यो बेला दिमागले के कल्पना गर्‍यो भन्ने हेक्का आज हुँदैन।

वर्षभरिको रात्रिकालीन विश्राममा हामीले हजारौं सपना देख्छौं। यसरी देखिने परिदृश्यको कुनै महत्त्व नभए प्रकृतिले किन सपनाको कल्पना गर्‍यो त? भन्ने प्रश्न उठ्छ। मानिसलाई समस्याको जालोबाट उकास्न भगवान्ले सपनाको कल्पना गरे भन्ने एक पक्षको राय छ भने अर्को समूहले तन्द्रालाई प्रकृतिको अर्घेल्याइँ मात्र ठान्छ। अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयमा ‘मष्तिस्क विज्ञान’का प्राध्यापकसमेत रहेका डिलन सेल्टरम्यान सपनालाई प्रकृतिको शक्तिशाली ‘स्नायु उपचार’ मान्छन्। सपना दिमागी सबलताको औषधि मात्र नभएर समस्या समाधानको सल्लाहकार पनि ठान्छन्  सेल्टरम्यान।

सुतेका बेला निद्राका दुई आवधिक चक्र चल्छन् । एक पक्षमा व्यक्तिको आँखा ढक्कनभित्र अत्यधिक चलायमान अवस्थामा बस्छ अनि उक्त क्षणलाई ‘र्‍यापिड आई मुभमेन्ट’ अथवा आरइएम (रिम) भनिन्छ । रिम अवधिमा व्यक्ति गहिरो निद्रामा हुन्छ, सपना देख्छ । सुताइको अर्को पलमा व्यक्तिको आँखा चलायमान हुँदैन, सपना देखिन्न अनि त्यस्तो स्थिर अवस्थालाई ‘नन–रिम’ भनिन्छ। प्रत्येक ‘रिम’ चक्र झन्डै डेढ घण्टाको हुन्छ अनि उक्त क्षणमा मस्तिष्क दिउँसोभन्दा पनि बढी चलायमान हुन्छ। सपना अवधिमा दिमागले धेरै काम गर्ने भएकाले व्यक्तिको श्वासप्रश्वास र मुटुको धड्कन उकासिन्छ भने भौतिक शरीर पक्षघात भएझैं निश्चल हुन्छ। रातभरिमा दिमागले रिम र नन–रिम साइकलको ४–५ चक्र पार गर्ने भएकाले व्यक्तिले दैनिक झन्डै पाँच वटा सपना देख्ने हो । गहिरो निद्राले स्मरणशक्तिको सबलीकरण, बौद्धिक तथा आर्जित ज्ञानलाई तिखार्नुका अतिरिक्त मनोवस्थालाई स्थिरता दिने भएकाले सपनाले मानिसको दिमागी शक्तिलाई मात्र निर्खादैन, व्यक्ति प्रफुल्ल समेत हुन्छ।

सपनाले व्यक्तिको भविष्य पत्ता लगाउन मद्दत गर्छ भन्ने सोच्ने कम छैनन् तर त्यसको क्रमागत अध्ययन नभएकाले स्वप्नको सन्देश पढ्न कठिन छ । मनोविश्लेषणका पिता सिग्मन्ड फ्रायडले उन्नाइसौं शताब्दीको उत्तरार्धमा प्रकाशित ‘द इन्टरप्रिटेसन अफ ड्रिम्स’मा व्यक्तिका दमित इच्छाहरू सपनामार्फत पूर्ति हुने ब्यहोरालाई दर्साएका छन्।

सपनामा मासु खाएको देख्नु लामो समयसम्म मांसाहारी भोजनसँगको विच्छेदको उपज मान्छन् उनी। निदाउँदा सेकुवा खाएको देख्दा जुठो पर्छ भन्ने नेपाली समाजमा रहेको सोचलाई व्याख्या गर्न कठिन देख्छिन् अमेरिकाको क्लेभल्यान्ड क्लिनिककी निद्रा विशेषज्ञ डा. मिसेल ड्रिउरुप।

जसरी अव्यक्त भावनालाई दिमागले सपनामार्फत ओकल्छ, त्यही रीतले समस्याको दलदलमा फसेकालाई समाधान दिन पनि मस्तिष्कले सघाउँछ भन्ने ठान्छन् ‘निद्रा वैज्ञानिकहरू’। जटिल समस्याबाट निक्लिने जुक्ति सपनामार्फत व्यक्त हुन्छ भन्ने विज्ञको राय हो। दिउँसो उँघ्दा र राति सुत्दा देखिने सपनामा के भिन्नता छ त?

२०२३ मेमा हार्भड मेडिकल स्कुलका प्राध्यापक रोबर्ट स्टिकगोल्डको अनुसन्धान टोलीले सानो उँघाइले व्यक्तिलाई जटिल समस्याबाट बाहिर निकाल्न सहयोग गर्ने ब्यहोराको अध्ययन प्रकाशित गरे जर्नल ‘साइन्टिफिक रिपोट्र्स’मा। सूक्ष्म उँघाइपछि व्यक्तिमा समस्या समाधानको नवीन जुक्ति आउने उक्त रिपोर्टको निष्कर्ष थियो।

त्यस्तै एक फरक अध्ययनमार्फत ‘युनिभर्सिटी अफ क्यालिफोर्निया सन डियगो’का अनुसन्धानकर्ताहरूले कठिन समस्या समाधान गर्न रात्रिकालीन गहन निद्रा लाभप्रद हुने देखिएको छ। उल्लिखित दुई अध्ययनहरूले विश्लेषणात्मक तागत सबलीकरणका लागि सूक्ष्म उँघाइ र लामो सपना दुवै लाभप्रद हुने देखाए।

जर्मन जीवविज्ञानी ओट्टो लोएवीले स्नायु प्रणालीलाई क्रियाशील बनाउन मद्दत गर्ने रासायनिक तत्त्व ‘एसिटाइलकोलिन’ पत्ता लगाए बापत सन् १९३६ मा आयुर्विज्ञान क्षेत्रको नोबेल पुरस्कार पाए । उच्च पुरस्कार पाएपछि उक्त आविष्कारको श्रेय सपनालाई दिएको बताए लोएवीले। वर्षौंसम्म ल्याबमा खटिँदा कुन रासायनिक तत्त्वका कारण स्नायु संयन्त्र चलायमान हुन्छ भनी पत्ता लगाउन नसकी थकित भएर सुतेका बखत निद्रामा आएको विचारले एसिटाइलकोलिन पत्ता लगाउन सफल भएको बताए उनले। सपनालाई आविष्कारको जननी ठाने।

रसायनशास्त्री अगस्ट केकुलेले लामो समयको प्रयासका अतिरिक्त ६ कार्बन र ६ हाइड्रोजनले बनेको रासायनिक तत्त्व ‘बेन्जिन’को आकृति पत्ता लगाउन सकेनन्। एक रात सपनामा सर्पले आफ्नै पुच्छर खाएर गोलो स्वरूपमा बसेको देख्दा प्राध्यापक केकुलेको दिमागमा बेन्जिनको आकृति औंठीजस्तो त हुँदैन भन्ने सोच आयो । नभन्दै थप अध्ययनले बेन्जिन ‘साइक्लिक’ आकृतिको रासायनिक तत्त्व भएको यकिन भयो।

आजभन्दा आधा शताब्दीअघि पाश्चात्य मुलुकमा ‘द बिटलाइज’ ब्यान्डको ‘यस्ट्रडे’ भन्ने गीत चर्चित थियो । धेरै पसिना काढ्दा पनि स्तरीय लेखन भएको उक्त गीतमा राग दिन बेलायती संगीतकार पउल मकार्टनी सफल भएनन् । धेरै घोटिँदा पनि दिमागमा कुनै नवीन सोच नआउँदा दिक्क भएर सुते । मध्यरातमा सपनामा संगीतको घन्टी बज्यो । सरक्क उठेर झिसमिसेमै उनले गीतमा लय हाले। उक्त गीतले पउललाई चर्चाको शिखरमा पुर्‍यायो।

उदाहरणका लागि प्रस्तुत गरिएका भए पनि सपनालाई दोहन गरी भीमकाय समस्या समाधान गर्न सफल व्यक्तिहरू विज्ञान, साहित्यदेखि गृहस्थसम्म हजारौं छन्। यद्यपि रातमा देखिएका सपना बिहान उठ्दा बिर्सिने भएकाले तन्द्रामा देखिएका परिदृश्यको सही उपयोग गर्न भने कठिन छ।

रातमा देखिएका समस्या बिहान बिउँझँदा बिर्सिने भएकाले दिनको छोटो विश्रामलाई दोहन गर्नु फाइदाकारक हुन्छ कि भनी सोच्नु अन्याय भएन। थोमस एडिसन संसारकै अग्र आविष्कारक मानिन्छन् । सन् १९३१ मा स्वर्गवासी भएका एडिसनले संयुक्त राज्य अमेरिकामा मात्र आफ्नो एक हजारभन्दा बढी ‘पेटेन्ट’ दर्ता गराए। कलेजको मुख नै नदेखेका थोमसले ध्वनि रेकर्डिङ, मोसन पिक्चर, इलेक्ट्रिकल पावर जेनेरेटरदेखि बिजुलीको चिमसम्म आविष्कार गरे भन्दा पत्याउन कठिन हुन्छ । त्यति मात्र होइन, उनले आफ्नै अग्रसरतामा अनुसन्धानात्मक सुविधासहितका १४ कम्पनी स्थापना गरे, धेरै धन पनि कमाए । विश्वप्रसिद्ध जनरल इलेक्ट्रिक कम्पनीका जन्मदाता एडिसनको दिउँसो कामको समयमा उँघ्ने अचम्मको बानी थियो । केही सेकेन्डको निद्रा मात्र पनि नवीनताका लागि लाभप्रद हुन्छ भन्ने सोच थियो थोमसको । खानापछि केही मिनेट मात्र उँघ्थे उनी। एडिसनको व्यावसायिक सफलतामा कार्यालयमा उँघ्दा देखिने सपना बिपनामा उतार्न सक्नुको योगदान देखिन्छ। उँघ्दा नवीन सोचको विकास हुन्छ भन्थे उनी । पछिल्लो समयमा भएका अध्ययनहरूले एडिसनको दिउँसोको छोटो सपनाप्रतिको विश्वासलाई समर्थन गरेका छन्।

निद्रा शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक छ भने सुतेका बखत देखिने सपनालाई दोहन गरी जटिल समस्याबाट समेत पार पाउन सकिने भएकाले आफूले देखेका तन्द्राको लगबुक कायम गर्न आवश्यक छ। सपना केवल राति देखिने सिनेमा होइन, बरु जटिलताबाट उन्मुक्ति दिन प्रकृतिले दिएको उपहार मान्नुपर्ने भयो। सपना देख्नेबित्तिकै त्यसलाई लिपिबद्ध गर्न सकेपछि फाइदा हुन सक्छ।

प्रकाशित: १९ फाल्गुन २०८२ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %