सामाजिक सञ्जाल, अनलाइन गेमिङदेखि जेनेरेटिभ कृत्रिम बुद्धिमत्ता प्रणालीलगायतको डिजिटल वातावरण आज मानिसहरूको स्वास्थ्य निर्धारण गर्ने शक्तिशाली कारकमध्ये एक बनिसकेको छ। यसको प्रभाव विशेष गरी बालबालिका र किशोरकिशोरीमा अझ गहिरो छ। विश्वभर बाल्यकाललाई डिजिटल प्रविधिले नयाँ ढंगले पुनःनिर्माण गरिरहेको छ। आजका बालबालिकाले कसरी सिक्छन्, खेल्छन् र एकअर्कासँग सम्बन्ध स्थापित गर्छन् भन्ने कुरा डिजिटल प्रविधिले नै निर्धारण गर्न थालेको छ।
हाम्रो उद्देश्य प्रविधिको अन्धसमर्थन वा विरोध गर्नु होइन। हामीले एउटा सरल यथार्थ स्वीकार गर्नुपर्छ, त्यो हो– डिजिटल वातावरणले एकातिर अपार सम्भावना बोकेको छ तर अर्कातिर यसले बालबालिकाको स्वास्थ्य र विकासमा गम्भीर जोखिम पनि निम्त्याएको छ। त्यसैले हाम्रो जिम्मेवारी यसको लाभलाई अधिकतम बनाउनु र जोखिमलाई न्यूनतम गर्नु हो। उपयुक्त कदम चाल्न अझै ढिलो भएको छैन तर अब सामान्य र सानो सुधारले मात्र पुग्ने अवस्था भने छैन।
डिजिटल उपकरणहरूले सिकाइ, सञ्चार तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गरेर अवसरका नयाँ ढोका खोल्न सक्छन्। विशेषगरी दुर्गम वा संकटग्रस्त क्षेत्रमा रहेका बालबालिकाका लागि यो निकै उपयोग देखिन्छ। धेरै युवायुवतीका लागि अनलाइन संसार सिर्जनशीलता, समुदाय र अपनत्वको माध्यम पनि बनेको छ। विशेषगरी वास्तविक जीवनमा बहिष्करण वा विभेदको सामना गरिरहेका युवाका लागि यो झन् उपयोगी छ।
यी फाइदा स्वतः सुनिश्चित हुँदैनन्। यी फाइदामा कसले पहुँच पाउँछ, प्रविधि कसरी डिजाइन गरिएको छ र कसको हितलाई केन्द्रमा राखेर विकास गरिएको छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
विश्वभरका सरकारले बालबालिकालाई अनलाइन वातावरणमा सुरक्षित राख्नु सार्वजनिक स्वास्थ्यको अपरिहार्य आवश्यकता भएको स्वीकार गर्न थालेका छन्। अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न नदिने विश्वकै पहिलो कानुनी व्यवस्था लागु गरेको छ। फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन अघि बढाइरहेको छ। इन्डोनेसियाले १६ वर्षमुनिका बालबालिकामाथि यस्तै प्रतिबन्ध लगाइसकेको छ। स्पेनले पनि त्यस्तै योजना सार्वजनिक गरेको छ भने आयरल्यान्डले युरोपेली संघका साझेदारहरूसँग मिलेर उमेर प्रमाणीकरण र उमेरसम्बन्धी सुरक्षा प्रणाली विकास गरिरहेको छ।
डिजिटल उपकरणहरूले सिकाइ, सञ्चार तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गरेर अवसरका नयाँ ढोका खोल्न सक्छन्। विशेषगरी दुर्गम वा संकटग्रस्त क्षेत्रमा रहेका बालबालिकाका लागि यो निकै उपयोग देखिन्छ।
संयुक्त अधिराज्य (बेलायत) ले पनि हालै १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल सेवाबाट वञ्चित गर्ने योजना सार्वजनिक गरेको छ। साथै यो योजनाअन्तर्गत प्रत्यक्ष प्रसारणमा प्रतिबन्ध तथा अपरिचित व्यक्तिबाट सम्पर्क हुन नदिने अतिरिक्त सुरक्षा उपाय पनि प्रस्ताव गरिएको छ। क्यानडाले पनि १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने तथा प्लेटफर्महरूलाई सुरुदेखि नै सुरक्षित डिजाइन अपनाउन र बढी उत्तरदायी बनाउन कानुनी व्यवस्था अघि सारेको छ।
यी सबै कदमले एउटा बढ्दो विश्वव्यापी सहमति झल्काउँछन्– डिजिटल वातावरणको प्रभावकारी नियमन, उमेरअनुकूल डिजाइन र कडा सुरक्षा मापदण्ड आवश्यक छन्। विश्व स्वास्थ्य संगठनले यसका लागि आवश्यक अनुसन्धानलाई सुदृढ बनाउँदै, सदस्य राष्ट्रहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै तथा सुरक्षित, समावेशी र स्वास्थ्यमैत्री डिजिटल वातावरण प्रवर्धन गरिरहेको छ।
यस्ता समाधान किन आवश्यक छन् भने डिजिटल वातावरण तटस्थ हुँदैन। यसलाई कसरी डिजाइन, सञ्चालन र व्यावसायीकरण गरिन्छ भन्ने कुराले हाम्रो जीवनका धेरै पक्ष, विशेषगरी स्वास्थ्यलाई प्रत्यक्ष प्रभावित गर्छ।
उदाहरणका लागि रुढिवादी, यौनजन्य, हिंसात्मक वा विभेदकारी सामग्रीको बारम्बार सम्पर्कले बालबालिकाले आफू र समाजलाई कसरी बुझ्छन् भन्ने धारणा निर्माण गर्छ। अहिले एल्गोरिदमहरूले सहीभन्दा पनि मानिसको ध्यान तान्ने सामग्रीलाई प्राथमिकता दिने भएकाले गलत स्वास्थ्य सूचना तीव्र रूपमा फैलिन्छ। व्यक्तिगत तथ्यांक संकलन र त्यसको प्रयोग, विशेषगरी प्रोफाइल निर्माण र लक्षित विज्ञापनका लागि गोपनीयता, मानसिक नियन्त्रण र समग्र कल्याणबारे गम्भीर चिन्ता उत्पन्न गरिरहेको छ।
हालसम्मका अध्ययनले अत्यधिक डिजिटल सम्पर्कलाई चिन्ता, अवसाद, निद्राको समस्या, आक्रामक व्यवहार र गम्भीर अवस्थामा आत्महत्यासम्बन्धी सोचसँग जोडेको देखाएका छन्। विशेषगरी जोखिममा रहेका किशोरकिशोरीमा यसको असर बढी देखिन्छ। त्यस्तै, डिजिटल प्लेटफर्ममार्फत सुर्तीजन्य पदार्थ, मदिरा र जुवाजस्ता हानिकारक वस्तुको प्रचारप्रसारले पनि बालबालिका र किशोरकिशोरीलाई नकारात्मक प्रभाव पार्न सक्छ।
सामाजिक सञ्जाल, गेमिङ र कृत्रिम बुद्धिमत्ताको अत्यधिक प्रयोगले एक्लोपन बढाउन सक्छ र वास्तविक जीवनका सम्बन्धलाई कमजोर बनाउन सक्छ। लामो समयसम्म स्क्रिनमा बिताउँदा शारीरिक गतिविधि घट्ने र पर्याप्त निद्रा नपुग्ने हुन्छ, जुन नसर्ने रोगका प्रमुख जोखिम कारक हुन्।
अनलाइन यौन शोषण र दुरुपयोग पनि विश्वभर तीव्र रूपमा बढिरहेको छ। बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री, एआईद्वारा सिर्जित अश्लील तस्बिर तथा ‘डिपफेक’मार्फत गरिने यौनजन्य वा अपमानजनक सामग्रीको विस्तारले बालबालिकाको मानसिक स्वास्थ्य, विश्वास र सुरक्षामा दीर्घकालीन क्षति पुर्याइरहेको छ।
व्यावसायिक अभ्यासहरूले यी सबै जोखिमलाई अझ बढाएका छन्। धेरै डिजिटल प्लेटफर्मको डिजाइनको मुख्य उद्देश्य प्रयोगकर्तालाई सकेसम्म धेरै समयसम्म आफैसँग राख्नु हो। बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने वा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने व्यवस्था पर्याप्त छैन।
यसैगरी गैरकानुनी, चरम वा अत्यन्त हिंसात्मक सामग्रीबाट बालबालिकालाई जोगाउनु अत्यावश्यक छ। केवल हानिकारक सामग्री हटाउनु मात्र पर्याप्त हुँदैन। बालबालिकाको समुचित विकासका लागि स्थिर पारिवारिक सम्बन्ध, उचित सीमारेखा, नियमित शारीरिक गतिविधि र वास्तविक जीवनमा सामाजिक सम्बन्ध आवश्यक हुन्छ। जब डिजिटल वातावरणले यी पक्षलाई सहयोग गर्नुको सट्टा बाधा पुर्याउँछ, जोखिम झन् बढ्दै जान्छ।
जेनेरेटिभ एआईले बालबालिकाको हितका लागि अवसर र जोखिम दुवैलाई धेरै गुणाले बढाइदिएको छ। जिम्मेवारीपूर्वक प्रयोग गरिएमा विशेष उद्देश्यका लागि बनाइएका एआई उपकरणले शिक्षा, पहुँच र स्वास्थ्य सेवामा उल्लेखनीय सहयोग पुर्याउन सक्छन्। यसले बालबालिकाको सम्बन्धबारेको अपेक्षा, सहानुभूति र आत्मनियन्त्रण क्षमतामा दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्छ भन्ने अझ स्पष्ट छैन। जबसम्म यसको स्पष्ट उत्तर प्राप्त हुँदैन, सावधानी अपनाउनु नवप्रवर्तनको विरोध होइन, बरु बालबालिकाको पक्षमा उभिनु हो।
डिजिटल सन्तुलन पनि समाधानको एउटा महत्वपूर्ण हिस्सा हो। डिजिटल वातावरणलाई प्रभावकारी नियमन, पारदर्शिता, उमेरअनुकूल डिजाइन, बलियो सुरक्षा प्रणाली र जवाफदेहिताको आवश्यकता छ। साथै प्रविधिको गतिसँगै प्रमाण र अनुसन्धान पनि अघि बढ्नुपर्छ। त्यसका लागि विभिन्न आयस्तर र भौगोलिक क्षेत्र समेट्ने स्वतन्त्र तथा दीर्घकालीन अनुसन्धान अपरिहार्य छ।
सबैभन्दा महत्वपूर्ण कुरा हामीले आजका युवाको आवाज सुन्नुपर्छ। प्रविधिका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरूले डिजिटल वातावरणलाई जिम्मेवार ढंगले विकास गर्न महत्वपूर्ण योगदान दिन सक्छन्। आज अनलाइन र अफलाइन संसार छुट्टाछुट्टै होइन, एउटै जीवनको निरन्तरता बनिसकेको छ। डिजिटल उपकरणहरूले स्वास्थ्य विकासलाई सहयोग गर्न सक्छन् र त्यसलाई विस्थापित पनि गर्न सक्छन्। त्यसैले युवाहरूले आफ्नै अनुभवका आधारमा आवश्यक सुरक्षा सीमारेखा निर्माण गर्न भूमिका खेल्नुपर्छ। यस प्रक्रियामा अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदाय पनि उत्तिकै सहभागी हुनुपर्छ।
यसका लागि सरकार, प्रविधि उद्योग, नागरिक समाज र सार्वजनिक स्वास्थ्य संस्थाबिच दीर्घकालीन सहकार्य आवश्यक छ। साझा उद्देश्य एउटै हुनुपर्छ– लाभलाई अधिकतम बनाउने र हानिलाई न्यूनतम गर्ने। विशेषगरी बालबालिकाका लागि बढी पारदर्शिता, तथ्यांक साझेदारी, स्वास्थ्य प्रवर्धन गर्ने डिजाइन तथा प्रभावकारी सुरक्षा मापदण्ड लागु गर्न कम्पनीहरूको प्रतिबद्धता अपरिहार्य छ। विश्व स्वास्थ्य संगठनले यसमा अन्तर्राष्ट्रिय मापदण्ड निर्माण र समन्वयकारी भूमिका निर्वाह गर्न सक्छ।
हाम्रा बालबालिका र युवाहरू कुनै प्रयोगका विषय, बजार वा बेचबिखन गरिने वस्तु होइनन्। उनीहरूको स्वास्थ्य विकासलाई संरक्षण र प्रवर्धन गर्ने डिजिटल वातावरण निर्माण गर्नु हाम्रो साझा दायित्व हो। आज हामीले गर्ने निर्णयको प्रभाव पुस्तौंसम्म प्रतिध्वनित हुनेछ।
–म्याक्रोन फ्रान्सका राष्ट्रपति हुन् भने टेड्रोस विश्व स्वास्थ्य संगठनका महानिर्देशक हुन्।
(प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: २३ असार २०८३ ०९:०६ मंगलबार

