९ चैत्र २०८२ सोमबार
image/svg+xml
विचार

विशाल अर्थतन्त्र जोड्ने सेतु

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपाल आर्थिक रूपान्तरणको एक निर्णायक मोडमा उभिएको छ। प्राकृतिक स्रोत, युवा जनशक्ति र रणनीतिक भौगोलिक स्थिति नेपालका मुख्य शक्ति हुन्। दुई विशाल अर्थतन्त्र, एकातिर शक्तिशाली भारत र अर्कातिर शक्तिशाली चीनबिच रहेको नेपालका लागि यो एक अद्वितीय अवसर पनि हो तर यथार्थ के हो भने देशको अर्थतन्त्र अझै पनि रेमिट्यान्समा अत्यधिक निर्भर छ।

हामीले अझै यस्तो अवस्थामा गर्न धेरै बाँकी छ। उत्पादन, उद्यमशीलता र निर्यातलाई केन्द्रमा राखेर व्यवसायमैत्री वातावरण निर्माण गर्नु अपरिहार्य भएको छ। नेपाललाई केवल एक बजार होइन, ‘ब्रिज इकोनोमी’का रूपमा स्थापित गर्नुपर्छ। साथै भारत र चीन दुवैसँग सन्तुलित सहकार्यमार्फत विकास सम्भव हुन्छ।

पछिल्ला आर्थिक तथ्यांकहरूले निर्यातमा वृद्धि देखिए पनि वास्तविक औद्योगिक उत्पादन अझै कमजोर रहेको संकेत गर्छ। नेपालको व्यापार घाटा अझै उच्च छ, विशेष गरी भारतसँग तर चीनसँग पनि व्यापार असन्तुलन चिन्ताजनक देखिएको छ। यसले स्पष्ट देखाउँछ कि नेपालले आफ्नो उत्पादन क्षमता बढाएर दुवै छिमेकीसँग सन्तुलित व्यापार सम्बन्ध निर्माण गर्न आवश्यक छ। विशेष गरी नीतिनिर्माण तहमा रहेका व्यक्तिहरूले व्यवसायमैत्री नीति ल्याउनुपर्छ, व्यवसायीहरूलाई सम्मान गर्नुपर्छ र राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ।

नेपालका व्यावसायिक नेतृत्वकर्ताहरूले भोगिरहेका चुनौती गम्भीर छन्। नीतिगत अस्थिरता, प्रशासनिक जटिलता, उच्च ब्याजदर र पूर्वाधारको कमजोरीले उद्यमशीलतालाई सीमित बनाएका छन्। उद्योग दर्तादेखि कर प्रणालीसम्मका प्रक्रियाहरू अझै जटिल छन्, जसले नयाँ लगानीकर्तालाई निरुत्साहित गर्छ। साना तथा मध्यम उद्यमहरू (एमएसएमई) का लागि उच्च धितो र ब्याजदरले विस्तारको ढोका बन्द गरेको छ। नेपाललाई सरसर्ती हेर्दा पूर्वाधार विकासमा केही प्रगति भए पनि अझै धेरै काम गर्न बाँकी छ।

यहाँ भारत र चीन दुवैसँग सहकार्यको ठुलो सम्भावना छ। भारतसँगको रेल, सडक, ऊर्जा, कृषि कनेक्टिभिटीले नेपालको दक्षिणतर्फको व्यापारलाई सहज बनाउँछ भने चीनसँगको उत्तरी कनेक्टिभिटी - सडक, रेल, कृषि, जडीबुटी तथा अन्य पूर्वाधारले उत्तरतर्फको व्यापारलाई सहज बनाउँछ। साथै रेल र ट्रान्जिट पहुँचले नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यदि नेपालले दुवै देशसँग सन्तुलित रणनीतिक सहकार्य गर्न सकेमा यो देश ‘ल्यान्डलक’बाट ‘ल्यान्डलिंक’ अर्थतन्त्रमा रूपान्तरण हुन सक्छ।

हाम्रो देशसँग निर्यातका लागि अत्यन्त सम्भावनायुक्त उत्पादन छन्, जसले भारत र चीन दुवै बजारमा स्थान बनाउन सक्छन्। जडीबुटी, चिया, कफी, अर्गानिक कफी, अलैंची, अदुवा, मह, यार्सागुम्बा, विभिन्न प्रकारका एसेन्सियल तेल आदिको दुवै देशमा उच्च माग छ। चीनको विशाल बजारमा जडीबुटी र अर्गानिक उत्पादनहरू विशेष आकर्षण बन्न सक्छन् भने भारतमा नेपाली खाद्य तथा कृषि उत्पादनहरू सहज रूपमा प्रवेश गर्न सक्छन्। त्यस्तै पश्मिना, गलैंचा, ढाका वस्त्र, हस्तनिर्मित कागज र कलात्मक सामग्रीहरूलाई ‘हिमालयन प्रिमियम ब्रान्ड’का रूपमा विकास गर्न सकिन्छ।

अहिले आएर नेपालको ऊर्जा क्षेत्र निकै सशक्त देखिएको छ। यसले देशको अर्थतन्त्रमा ‘गेम चेन्जर’को रूपमा काम गर्न सक्छ। जलविद्युत् उत्पादनमार्फत नेपालले भारतमा निर्यात सुरु गरिसकेको छ र भविष्यमा चीनसँग पनि ऊर्जा सहकार्यको सम्भावना खुला छ। यदि क्षेत्रीय ऊर्जा ग्रिड विकास गर्न सकियो भने नेपाल दक्षिण एसियाको ऊर्जा हब बन्न सक्छ।

त्यस्तै, डिजिटल अर्थतन्त्र र सेवा क्षेत्र पनि नेपालका लागि नयाँ अवसर हुन्। युवा जनशक्ति, आइटी सिप र फ्रिल्यान्सिङ क्षमता अहिले बढ्दो अवस्थामा छन्, जसले भारत र चीन दुवैसँग जोडिन सक्ने सम्भावना बोकेको छ। साथै स्टार्टअप इकोसिस्टमलाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेर लाभ लिन सकिन्छ।

यसरी सबै पक्ष हेर्दा मुख्य आवश्यकता नीतिगत सुधार हो। दीर्घकालीन, स्थिर र पारदर्शी नीति तथा स्थिर सरकार आवश्यक छ। यीबिना कुनै पनि विदेशी वा घरेलु लगानी आकर्षित गर्न सम्भव छैन। एकद्वार सेवा प्रणाली लागु गर्दै सम्पूर्ण प्रक्रिया डिजिटल बनाउनु आवश्यक छ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता सुनिश्चित गर्दै व्यवसायीहरूलाई विश्वास दिलाउनुपर्छ। नेपाल, भारत र चीनबिचको त्रिपक्षीय सहकार्य अब केवल अवधारणा मात्र नभई आवश्यकता बनिसकेको छ। व्यापार, ऊर्जा, पूर्वाधार, पर्यटन र डिजिटल क्षेत्रमा सहकार्यले तीनै देशलाई फाइदा पुर्‍याउन सक्छ। नेपाल यस कार्यको केन्द्रमा रहन सक्छ, यदि सही नीति, कूटनीति र आर्थिक रणनीति अपनाइयो भने।

महिला र युवाहरूको सशक्तीकरण यस परिवर्तनको आधार हो। एमएसएमई अर्थात् घरेलु साना तथा मझौला उद्यमहरूलाई उत्पादन, प्रशोधन र निर्यातमा जोड्दै उनीहरूलाई भारत र चीनको बजारसँग जोड्न सकिन्छ। यसले समावेशी विकास सुनिश्चित गर्छ र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ।

अन्ततः व्यवसायमैत्री नेपाल निर्माण केवल राष्ट्रिय लक्ष्य मात्र होइन, यो क्षेत्रीय समृद्धिको साझा सपना हो। यो नयाँ नेपालको सपना हो। नेपालसँग स्रोत छ, सम्भावना छ र रणनीतिक स्थान छ। अब आवश्यक छ - भारत र चीन दुवैसँग सन्तुलित, पारदर्शी र दीर्घकालीन सहकार्य। यसरी दुवै छिमेकीसँग सहकार्य गर्दै उत्पादनमा आधारित, निर्यातमुखी र समावेशी अर्थतन्त्रतर्फ अघि बढ्न सकेमा र हामीले अर्थतन्त्रलाई सही दिशामा चलायमान बनाउन सकेमा नेपाल दुई ढुंगाबिचको भूगोल मात्र नभई आर्थिक पुलको रूपमा उदाउन सक्छ।

-अध्यक्ष, नेपाल रिपब्लिक मिडिया लिमिटेड।

प्रकाशित: ९ चैत्र २०८२ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %