‘पोलिटिक्स इज मोर डिफिकल्ट द्यान फिजिक्स,’ नोबेल पुरस्कार विजेता महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ हो यो। राजनीतिमा खराब मानिसहरूको भीड छ, त्यसकारण यो कर्म गर्न असल मानिसलाई कठिन छ भन्ने आशयमा आइन्स्टाइनले उक्त कुरा भनेको बुझ्न सकिन्छ। अहिलेको नेपालको राजनीति निश्चित रूपमा कठिन मोडमा छ। कठिनाइ एक मात्र छैन, अनेक छन्। यी अनेक कठिनाइको सामना गर्न कुनै चटकेले सक्दैन। राजनीतिक संकटबाट देशलाई मुक्त गर्न सक्ने मानिस तिनै हुन् जसले ‘राजनीति’ नै गर्दै आएका छन्।
राजनीतिको खुला मैदानमा झुलुक्क चटक देखाउन विभिन्न नाम र दल देखा पर्छन्। आधा वर्षअघि सम्पन्न स्थानीय निर्वाचनको सँघारमा पनि त्यस्ता पात्र देखिएका थिए। चटकेहरू नेपालको राजनीतिमा बेलाबखत हाजिर जनाउन लामो समयदेखि आइरहेका छन्। तिनले छोटो समय हाजिर गर्छन् र सानो हिस्साको ‘अटेन्सन’ आफूतर्फ खिच्छन्। समग्रमा तीमध्ये अधिकांश आफूले गर्दै आएको पेसा–व्यवसायमा नाम कमाउन नसकेर वा स्थापित हुन नसकेर राजनीतितिर सोझिन खोजेका हुन्। ती एकप्रकारले ‘अटेन्सन सिकर’ मात्रै हुन्। तिनले साँच्चिकै सर्वसाधारण जनताको पीरमर्का र अभाव वा समस्या समाधान गर्न सक्लान् ? यो प्रश्नको उत्तर हामी मतदाताले खोज्नुपर्ने हुन्छ। शंका छैन, मुलुक सधैं नै अस्थिर राजनीतिको सिकार बन्नुमा यिनै राजनीतिक दलका नेता जिम्मेवार छन्। मुलुकले विकासको गति नपक्रनुको कारण पनि यिनै नेताको गैरजिम्मेवार कार्यशैली हो।
मुलुक बहुदलीय व्यवस्थामा प्रवेश गरेसँगै थुप्रै राजनीतिक दल र नेताहरू यो मैदानमा देखा परेका छन्। तिनका दल छन् र तिनले कुनै न कुनै सिद्धान्त पनि अंगीकार गरेका छन्। झट्ट हेर्दा वा सुन्दा कुनै पनि दलका सिद्धान्त जनविरोधी लाग्दैनन्। तिनले भुइँतहका जनताको भाषा पनि बोलेका हुन्छन्। तर ती आफ्ना सिद्धान्त पालना गर्ने क्रममा भने चुक्दै आएका छन्। दलहरूमा अधिकांश पुराना नेता गैरजिम्मेवार प्रमाणित भइसकेका छन्। हामीले बिर्सनु के हुँदैन भने हरेक दलमा केही न केही असल र जिम्मेवार नेता पनि छन्। तिनले देशको राजनीति हाँक्न पाए भने अवश्य पनि जनपक्षीय काम हुन सक्ने छ। यस्तो अवस्थामा सर्वसाधारणको जिम्मेवारी भनेको तुलनात्मक रूपमा असल, नयाँ र आशालाग्दा अनुहारको चयन गर्नु हो।
जनताले लामो तथा पटकपटक संघर्ष गरेपछि प्राप्त लोकतन्त्र र त्यसकै बलमा बनेको संविधान देशलाई डो¥याउने आधार हो। लोकतन्त्रको रक्षा र देशको संविधानको पालना गर्न नचाहने वा नसक्ने व्यक्तिसमेत यतिखेर राजनीतिको मैदानमा उत्रिएका छन्। कतिपयका निम्ति त तत्कालै संविधान संशोधन गर्नु छ, सके त नयाँ संविधान नै लेख्नु छ। देशलाई आर्थिक रूपमा कसरी सम्पन्न बनाउने र जनहितकारी काम गर्ने भन्ने तिनको कुनै विश्वसनीय योजना छैन। तिनले राजनीतिक दलहरूका नेताहरूमाथि अनेक लाञ्छना लगाउँदै आफूलाई निर्वाचनमा जिताउन आह्वान गरिरहेका छन्। यो क्रम अहिले र स्थानीय निर्वाचनमा मात्रै होइन, सधैं कायम छ। तिनका नारा मिठा र आकर्षक छन्, तर ती नाराको कार्यान्वयनको आधार भने कतै देखिँदैन। हामीले बनाएको संविधान र अन्य नीतिनियमका कारण पनि एक्लो व्यक्तिले देशमा कुनै प्रभावकारी कार्य गर्न सक्ने अवस्था छैन। दिगो विकास, संस्कृति र परम्पराको संरक्षण तथा दूरगामी असरका कार्य गर्नका निम्ति बलियो संयन्त्र आवश्यक पर्छ। त्यस्तो संयन्त्र रातारात वा कुनै एक व्यक्तिले बनाएर बन्दैन। त्यसका निम्ति बलियो राजनीतिक संगठन आवश्यक पर्छ। त्यस्तो संगठनमा दूरदर्शी र निष्ठावान् नेता उदाउनुपर्छ।
यहाँनिर एउटा बलियो प्रश्न उठाउन सकिन्छ– हाम्रा अधिकांश राजनीतिक दलहरूसँग बलियो संयन्त्र हुँदाहुँदै पनि किन मुलुकले गति लिन सकेन त? यो प्रश्नको उत्तर पनि निश्चित छ– दलभित्र खराब मानिसको बाहुल्य हुनु र राजनीतिक–प्रशासनिक संयन्त्रलाई कमजोर पार्ने षड्यन्त्र निरन्तर भइरहनु। यी र यस्ता षड्यन्त्रलाई कमजोर पार्न दलभित्रकै असल पात्रलाई खोजीखोजी आवधिक निर्वाचनमा अघि सार्नु बुद्धिमत्तापूर्ण कदम हुने छ।
दलहरूले विगतमा जे जसो गरे, त्यसबाट जनता बिलकुलै खुसी छैनन्। त्यसकारण पनि जनताले हरेक निर्वाचनमा वैकल्पिक राजनीतिक शक्तिको खोजी गर्दै आएका छन्। विडम्बना नै मान्नुपर्छ, जनता वैकल्पिक शक्ति नपाएर हैरान छन्। यो हैरानीको पुर्ताल कुनै चटके उम्मेदवारले गर्न सक्दैन। कुनै एक व्यक्ति सिंगो मुलुकको वैकल्पिक राजनीतिक शक्ति हुनै सक्दैन। जनताका समस्या, पीडा र अभावको फेहरिस्त निकै लामो छ। त्यसको पुर्ताल गर्न बलियो संयन्त्र भएका राजनीतिक दल र त्यसभित्रका असल नेताले मात्रै सक्छन्।
देश गरिब भएर वा पूर्वाधार कमजोर भएका कारण अविकसित अवस्थामा रहेको होइन। हामीसँग जे छ, त्यसको सही सदुपयोग हुन नसकेका कारण देशको यो हविगत भएको हो। दलहरूको योजनाहीनता र गैरजिम्मेवार व्यवहारका कारण मुलुक पछि परेको हो। आफूसँग उपलब्ध स्रोतसाधनलाई ‘माटो’ ठान्ने र नभएको वस्तुलाई ‘सुन’ मान्ने हाम्रो मनोविज्ञान पनि उत्तिकै हानिकारक छ। हामीसँग भएका वस्तुहरू हाम्रो देश विकासका लागि पर्याप्त छन्। उपलब्ध स्रोतसाधनको भरपूर दोहन गर्ने इच्छाशक्तियुक्त नेतृत्व अहिलेको आवश्यकता हो। हामी सर्वसाधारण जनताको जिम्मेवारी भनेको त्यस्तो इच्छाशक्ति भएको इमानदार तथा सक्षम नेताको चयन गर्नु हो।
दलभित्र अधिकांश खराब आचरण भएका र चटके पात्र ढलीमली गर्दै आएका छन्। तिनले देश र जनताको हित होइन, आफू र आफ्नाको हित मात्रै सोच्छन्। निर्वाचनमा टिकट लिने पनि प्रायः त्यस्तै खराब पात्र हुन्। यही कारण पनि निर्वाचन भन्नु ‘खराबहरूबीचको प्रतिस्पर्धा’ बन्न पुगेको छ। यो अवस्थाको अन्त्य निर्वाचनका क्रममा असल पात्रको चयन गर्न सक्दा मात्र हुन्छ। हामीले बिर्सनु के हुँदैन भने, विभिन्न दलभित्र पनि असल मानिस छन्, तिनलाई निर्वाचनमा जिताउन सक्दा देशको अवस्थामा अवश्य परिवर्तन आउँछ। हामीभित्रको असल चेतनाले नै निर्वाचनलाई ‘असलहरूबीचको प्रतिस्पर्धा’ बनाउन सक्छ।
मौजुदा हरेक राजनीतिक दलले देशमा परिवर्तन ल्याउनका निम्ति धेरथोर योगदान गरेका छन्। तिनले आफ्नो जीवनको महत्वपूर्ण उमेर परिवर्तनका लागि खर्च गरेका छन्। त्यसकारण पनि देशमा राजनीति गर्ने र सत्ता सम्हाल्ने अधिकार तिनलाई नै छ। तर यसो भन्दैमा तिनलाई व्यभिचारी बन्ने वा जनघाती कार्य गर्ने अधिकार पटक्कै छैन। तिनलाई भ्रष्टाचारी र चटके बन्ने छुट पनि छैन। खराब कार्य गर्ने दल वा त्यसका नेतालाई आवधिक निर्वाचनमार्फत् पाठ पढाउन सक्ने हक हामी सर्वसाधारणले पाएका छौं। लोकतन्त्र र संसदीय पद्धतिको यो महत्वपूर्ण र सुन्दर पक्ष हो। यसको उपयोग सुझबुझपूर्ण ढंगमा गर्न सक्ने हो भने अहिलेको अवस्थामा सुधार अवश्य आउने छ।
हामीसँग राजनीति, साहित्य, पत्रकारिता, कानुन, शिक्षण, व्यवसाय वा अन्य विभिन्न विधाका संगठनहरू प्रशस्तै छन्। ती संगठनहरूमा बौद्धिक जमात र सम्बद्ध क्षेत्रका ज्ञाताको उपस्थिति बलियो छ। तिनले दल र नेताहरूलाई निरन्तर खबरदारी गरिरहने हो भने सत्ता अहिलेको जस्तो मैमत्त हुन पाउने छैन।
हामी आफूलाई मन परेको दल र नेता सत्तामा पुग्दा खुसी हुन्छौं। त्यसबाट केही पाउने अपेक्षा गर्न थाल्छौं र तिनको गल्ती तथा कमजोरीमा औंलो ठड्याउन बिर्सन्छौं। यसबाट तिनको मनोमानी बढ्दै गएको छ। हामीले तिनलाई प्रश्न गर्न छाडिदिएका छौं, तिनका हरेक गल्तीको ढाकछोप गर्ने ठेक्का लिन थालेका छौं। यही कारण ती गैरजिम्मेवार बन्दै गएका हुन्।
यस्तो प्रवृत्तिले राजनीति अविश्वसनीय र गैरजिम्मेवार त बनेको छ नै, साथै त्यो मुट्ठीभर मानिसको हातमा पुगेको छ। यो खराब अवस्थाबाट छुट्कारा दिलाउने जिम्मेवारी जसरी दलभित्रकै असल र जिम्मेवार नेताको हो, उसैगरी हामी सर्वसाधारणको पनि हो। र, जनताले नै आवधिक निर्वाचनमार्फत् खराब राजनीतिलाई पाखा लगाउन सक्छन्।
मौजुदा सबै राजनीतिक दलहरू यही देशका उत्पादन हुन्। हामीले यो देशको उन्नतिको अपेक्षा गर्ने पनि तिनैसँग हो। कुनै अमुक एकजना मानिस निर्वाचनमा कुनै पदको आकांक्षी बन्ला, गुलिया र मिठा आश्वासन पनि देला, सार्वजनिक मञ्चमा ताली पाउला तर तिनको विश्वसनीयता अनि भविष्यमा तिनले गर्न सक्ने खराबीको उत्तर माग्न कहाँ जाने, कोसँग माग्ने ? कम्तीमा दलका नेता (नयाँ वा पुराना)हरूले गरेको खराबीको उत्तर सम्बद्ध दलसँग माग्न त सकिन्छ !
हाम्रा अघिल्तिर संसद्को निर्वाचन आइरहेको छ। निर्वाचनका क्रममा देखाइने क्षणिक चटकमा हामी रमाउन थाल्यौं भने देश अहिलेको भन्दा अझै गम्भीर दुर्घटनामा पर्न सक्छ। हाम्रो बुद्धिमत्ता त्यही हुन्छ, दल र त्यसभित्रका असल पात्रको चयन गर्नु। निर्वाचनलाई असलहरूबीचको प्रतिस्पर्धाको अवसरका रूपमा बदल्ने जिम्मेवारी हामी सबै मतदाताको हो। यति गर्न सक्ने हो भने आइन्स्टाइनले भनेजस्तो राजनीति फिजिक्सभन्दा जटिल हुने छैन। त्यो कर्म सहज–सरल र जनसेवाको माध्यम बन्न पुग्ने छ।
प्रकाशित: २० कार्तिक २०७९ ००:३६ आइतबार