coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

लोकतन्त्रको सबलीकरण

आवधिक निर्वाचनले मात्र लोकतन्त्र सवल हुन सक्दैन। जहिलेसम्म आमनागरिक निर्वाचित हुन चाहने उम्मेदवारको इमानदारिता र क्षमतालाई विश्लेषण गर्न सक्षम हुँदैनन् तबसम्म लोकतान्त्रिक प्रणाली स्थापित र सबल हुन सक्दैन। निर्वाचन प्रणाली तथा आवधिक निर्वाचन लोकतन्त्रको एउटा पक्षमात्र हो। विश्वमा आवधिक निर्वाचनबाट तानाशाह जन्मिएका प्रशस्त उदाहरण छन्। निर्वाचन स्वच्छ, धाँधलीरहित हुनु एक पक्ष हो भने मतदाताले स्वतन्त्र चिन्तन गरी स्वविवेकले उम्मेदवारमध्ये राम्रोलाई छनोट गर्नु अर्को महत्वपूर्ण पाटो हो।  

देशमा लोकतन्त्र सवल बनाउन विभिन्न पक्षमा सुधारको आवश्यकता छ। आमनागरिकको चेतनाको स्तर विकास गर्ने शिक्षा र रोजगारीको अवस्थामा सुधार ल्याउन अर्थतन्त्रको विकास गर्न नसक्ने हो भने लोकतन्त्र कुरामा मात्र सीमित हुन्छ। अझै पनि बिहान–बेलुका छाक टार्नकै लागि समस्या भएका, आधारभूत आवश्यकता पूरा गर्न आफ्नो सम्पूर्ण समय लगाउनुपर्ने मतदातले आफ्नो जनप्रतिनिधि छान्ने कार्य महत्वपूर्ण हो भनेर सोच्न र मतदानका लागि समय निकाल्न सम्भव हुँदैन। रोजगारीका लागि विदेश पुगेका युवाहरू जनप्रतिनिधि छनोट गर्न आफ्नो दुःखले आर्जेको कमाइ खर्च गरी नेपाल आउन सक्ने कुरा भएन। वैदेशिक रोजगारीमा गएका बीस पच्चीसलाख युवामत दिनबाट वञ्चित भएको अवस्थामासबै मतदाताले मतदिन पाउने अवस्था छ भन्न सकिँदैन। विदेशमा गएकामात्र होइन, श्रम बेच्न आफ्नो गाउँठाउँ छाडेर नेपालभित्रैका घरदेखि टाढाका विभिन्न सहर स्थानमा पुगेका मतदाता पनि मत दिनकालागि घरमा फर्कन सम्भव नहुने कुरा विगतका निर्वाचनमा देखिएकै छ।

आर्थिक र सामाजिकरूपमा पछाडि परेको समुदायका मतदाताहरू आर्थिक र सामाजिक शक्तिको प्रभावमा परेका घटना प्रशस्त देखिन्छन्। मेरो गाउँ टोलमा तथा मेरो नियन्त्रणमा यति मतदाता छन् भनेर एकजना व्यक्तिले उम्मेदवारसँग सौदाबाजी गरेका कुरा सुनिएकै हो। आफ्नो समाजका ठालुहरूले जे भन्यो त्यो मान्नुपर्ने अवस्थामा रहेका समुदायका मतदाताले स्वतन्त्र चिन्तन गरी उम्मेद्वार छान्न सम्भव हुँदैन। निर्वाचनको पहिलो दिन रातभर रकम बाँडियो, रकम बाँड्ने क्रममा दुई पक्षबीच झडप भयो, एक पक्षलाई रकम बाँड्न प्रशासनले छूट दियो, अर्को पक्षलाई गाउँटोलमा छिर्नै दिएन, फलानो गाउँमा पुगेर फलानाले राँगा, बोका काट्यो, भोज भतेर ग¥यो त्यसैले मत सहोर्न सफल भयो भन्ने जस्ता भनाइ विगतका निर्वाचनमा सुनिएका र समाचारमा आएका नै हुन्। यस्तो अवस्थामा मतदाता आफ्नो मत दिन स्वतन्त्र छन्, आफ्नो विवेकको प्रयोग गर्छन् भन्न र निर्वाचनले लोकतन्त्रलाई सबल बनाउँदैछ भन्न सकिँदैन।

वास्तविक लोकतन्त्र त त्यो हो जहाँ हरेक नागरिकले आफ्ना विचार राख्न पाउँछ, अरूको विचार सुनिन्छ, विचारको कदर हुन्छ। यो विचार राख, यो विचार, सिद्घान्त, दर्शनलाई मान भनेर कसैले करकाप लगाउँदैन। नागरिकले हरेक पक्षको सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गरेर निर्णय लिन स्वतन्त्र हुन्छ र हुन सक्छ। हरेक नागरिक आफ्नो र आफ्ना परिवारको दैनिक जीवन सञ्चालन गराउन काम तथा उद्यम गरी खान पाउने वातावरण छ, आफू र आफूले गर्ने कामप्रति सम्मान गर्दछ भने मात्र आफ्नो नेतृत्व छनोटकालागि हुने निर्वाचनको अर्थ हुन्छ।  

लोकतन्त्र सवल बनाउन सबै बालबालिकाले गुणस्तरीय शिक्षा पाउने, शिक्षा पाउनबाट कुनै पनि बालबालिका नछुट्ने वातावरण सुनिश्चित हुनुपर्दछ। अझै पनि पाँच, छ प्रतिशत बालबालिका विद्यालय भर्ना नै नहुने, भर्ना भएका बालबालिका धेरैले आधारभूत तहपूरा नगर्दै विद्यालय छाड्ने, एकतिहाइले मात्र माध्यमिक शिक्षा पूरागर्ने अवस्थाले लोकतन्त्र सवल हुन सक्दैन। सामान्य शिक्षा पाउनबाटै वञ्चितयुवाले वास्तविक लोकतन्त्रको अभ्यास गर्छ भनेर मान्न सकिँदैन। लोकतन्त्रलाई सवल पार्न बालबालिकादेखिनै स्वतन्त्र चिन्तन गर्ने, कुनै कुरामा सन्देह गर्न पाउने, प्रश्न र प्रतिप्रश्न गर्न सक्ने, तथ्यको विश्लेषणबाट निर्णयमा पुग्न मद्दत गर्नेखालको शिक्षा दिइनुपर्छ। विद्यालयका कक्षाकोठामा लोकतन्त्रको अभ्यास हुनुपर्दछ। सबै बालबालिकाले निसङ्कोच प्रश्न गर्न र प्रतिप्रश्न गर्न सक्ने, सबैबालबालिका सम्मानित हुने, समस्यामा परेका बालबालिकाको समस्याको ख्याल गरिने वातावरण हुनुपर्छ। साथीहरूको बीचमा अपमानित हुनुपर्ने, खिसिट्युरी, विभिन्न उपनाम सहनुपर्ने बाध्यता भएका बालबालिकाले आफूवयस्क हुँदासमेत लोकतन्त्रको अभ्यास गर्न सक्दैन।  

लोकतन्त्रलाई सवल पार्न हरेक घर-परिवारमा लोकतान्त्रिक वातावरण र अभ्यास हुनुपर्छ। परिवारमा निर्णय गर्ने क्रममा महिला, बालबालिका, वृद्ध सबैका विचार सुनिने, हरेकको विचारलाई सम्मान गरिने, परिवारका सबै सदस्यले आफ्नो क्षमताको विकास र प्रयोग गर्न पाउने, एकापसमा सहयोग र माया-ममता भएको परिवारको सदस्यले मात्र समाजमा लोकतन्त्रको अभ्यास गर्न सक्छ। परिवारमा महिलाले आफ्नो विचार राख्नै नपाउने, पुरुष तथा परिवारको मुलीले जस्तोसुकै मुर्ख कुरा गरे पनि उसैको विचार र निर्णय लागु हुने, छोरी बुहारीहरू घरका ज्येष्ठ तथा सम्मानित व्यक्तिसँग प्रश्न गर्ने, सन्देह व्यक्तगर्ने त कुरै छाडौँ, ठाडो शिर लगाएर बोल्नै नहुने अवस्थामा परिवारमा लोकतन्त्र हुँदैन। अलोकतान्त्रिक परिवारमा हुर्केको व्यक्तिले समाजमा लोकतान्त्रिक व्यवहार गर्न सक्दैन। लोकतन्त्रको सस्थागत विकास गर्न समाजमा पनि लोकतान्त्रिक वातावरण हुनुपर्छ। हाम्रा कतिपय समाजमा कुनै जातिविशेष, समस्यामा परेका, शारीरिकरूपमा अपाङ्गता भएका, गरिबीको चपेटामा परेका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने, उसका कुरा सुन्न त टाढाको कुरा, कुनै विचार राखेमा उपहासका रूपमा लिने गरिन्छ। समाजमा पछाडि परेका व्यक्तिले तथा शक्ति सम्पन्नले शक्तिविहीनलाई गरेका अन्यायका कुरा, समाजिक न्यायका कुरा गर्दा शक्तिको आडम्वर देखाउने, डर-त्रास सिर्जना गर्ने, धम्की दिने जस्ता कुरा हाम्रो समाजमा छँदैछन्। समाजमा जबसम्म परम्परागतरूपमा रहेका उचनीच, तहगत सोच र अन्तरसम्बन्धमा परिवर्तन हुँदैन तबसम्म सामाजिक लोकतन्त्र स्थापित हुँदैन।  

लोकतन्त्रको संस्थागत विकास हुन सरकारका हरेक संस्थाको संस्थागत विकास मात्र होइन, संस्थामा लोकतान्त्रिक पद्घति विकास हुनुपर्छ। स्थानीय तहका वडा सदस्यहरूसँग छलफल गर्ने क्रममा वडा अध्यक्षले सदस्यहरूका कुरा सुन्न त के, वास्तासमेत गर्दैनन्, केवल प्रक्रिया पूरागर्न वडा बैठक र नगर तथा गाउँसभामा उपस्थित हुने मात्र हो भन्ने गर्छन्। वडा बैठक तथा स्थानीय तहका सभाहरूमा सदस्यहरूले प्रश्न गर्ने, आफ्ना विचार राख्ने, निर्णय गर्दा उपयुक्त विचारलाई महत्व दिने पद्घति विकास नहुने हो भने लोकतन्त्रको जगनै कमजोर हुन्छ। दलका विभिन्न एकाइ, निकायहरूमा र भातृ संस्थामा समेत हरेक सदस्य, पदाधिकारीको विचार सुन्ने, सही विचारको कदर गर्ने, जिम्मेवार नेतृत्वका कार्यबारे प्रश्न सोध्ने, विचारमा चुनौती गर्ने मौका दिनुपर्छ। नेतृत्वसँग बाझिने विचार राखेकै आधारमा टाढाको महसुस गर्ने, नेतृत्वको गलत कार्यलाई पनि समर्थन गर्नेलाई नजिकको र आप्mनो ठान्ने, त्यसै आधारमा जिम्मेवारी थपगर्ने, विचार राख्दा मत बझाउनेलाई पन्छाउन खोज्ने जस्ता कार्यले दलभित्र लोकतन्त्र स्थापित हुन सक्दैन। दलभित्रका तहगत संरचना, सस्था, निकायमा लोकतन्त्र छैन भने त्यस्ता दलको नेतृत्वले देशमा लोकतन्त्रको सवलीकरण गर्छु भन्नु केवल गफमात्र हुन्छ, विश्वासयोग्य हुन सक्दैन। नेतृत्वका हरेक कार्य, निर्णय, आम्दानीका स्रोत, खर्च प्रक्रियासमेत सर्वसाधारणले शंकालागेमा सोध्न र चित्तबुझ्दो जवाफ पाउन सक्ने गरी पारदर्शी हुनुपर्छ। नेतृत्वमा रहेका व्यक्तित्वहरूको आम्दानीको विश्वासयोग्य स्रोत नदेखिने, भड्किलो जीवन पद्घतिले पनि नेतृत्वप्रति विश्वासको संकट सिर्जना भएको छ। लोकतन्त्र स्थापित हुन नेतृत्वका हरेक व्यवहार पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ।  

आममतदाताले उम्मेदवारलाई तपाईँलाई मत किन दिने ? निर्वाचित भएर के के गर्नुभयो ? तपाईँ निर्वाचित भए के के गर्नुहुन्छ ? हामी र हाम्रो समाजलाई सशक्तीकरण गर्न तपाईँका के कस्ता सोच, विचार र कार्यक्रम छन् ? जस्ता प्रश्न गर्न सक्दैनन्। जबसम्म उम्मेदवारले दिएका जवाफको विश्लेषण गरेर आफ्नो मत कसलाई दिने भनेर निर्णयमा पुग्न सक्ने अवस्था आउँदैन तबसम्म आवधिक निर्वाचनलेमात्र वास्तविक लोकतन्त्र स्थापित हुन सक्दैन, केवल राज्यको ढुकुटी नास मात्र हुन पुग्छ। 

प्रकाशित: १७ कार्तिक २०७९ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App