सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ। यसपटक शुक्रबार कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने) परेको छ। पञ्चाङ्गअनुसार शनिबार कात्तिक पञ्चमीका दिन अर्थात् कात्तिक १२ गते खरना पूजा परेको छ। यस दिन व्रतालुहरू स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्छन्। पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दुध, चामल र सख्खरको शीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यहरूलाई खुवाउने गर्छन्।
यो मात्र एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिएर मात्र पूजा सम्पन्न हुन्छ। चार दिनको छठ पर्वमा परिवारका सदस्यहरू जहा जता भए पनि आफ्नो घरमा पुग्छन् र परिवारलाई पूजाको व्यवस्थापनमा सहयोग गरी सबै मिलेर मनाउँछन्। त्यही भएर यस पर्वलाई पारिवारिक मिलनको पर्व पनि भनिने गरेको व्रतालुहरू सुनाउँछन्।
पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने यो पर्व नदी तलाउको किनारमा परिवारका सबै सदस्य तथा समूहमा मनाइने भएकाले यसले सामाजिक सद्भावसमेत कायम राख्ने कुरा छठ व्रतालु सुनिता मण्डलले बताइन्। उनी कालीमाटी तरकारी बजारमा शुक्रबार छठ पूजाका सामग्री किन्न आएकी हुन्। पहिलो सन्तान छोरा पाएलगत्तै सासूले उनलाई छठ पर्व गर्न लगाएको उनी सुनाउँछिन्। यो वर्ष आइतबार अर्थात् कात्तिक षष्ठी आइतबार परेको र सप्तमी सोमबार परेको उनी सुनाउँछिन्।
गौर निवासी मण्डल विगत १५ वर्षदेखि व्यापार र सन्तानको शिक्षाका लागि काठमाडौंमा बस्दै आएको बताउँदै उनी १५ वर्षदेखि काठमाडौंको टंकेश्वरको विष्णुमती नदी किनारमा सपरिवार छठ मनाउँदै आएको सुनाइन्। ‘मेरो परिवारमा हजुर आमाको पालोदेखि नै हरेक बुहारीले छोरा पाएलगत्तै छठ पर्व गर्दै आएका छौं। छठी माताको पूजा अर्चना गरि पुत्र तथा परिवारको कल्याणको लागि यो पर्व हामी बस्छौं,’ व्रतालु मण्डलले नागरिकसँगको भेटमा भनिन्, ‘छठ पूजामा शुद्धता र पवित्रताको विशेष ध्यान दिनुपर्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुन्छ।’
उनले थपिन्, ‘विगतमा काठमाडौंका नदी तलाउहरू सफा थिए। तर हाल ढलको पानी मिसिएर प्रदूषित हुँदै गएको छ। जलाशयमै उभिएर पूजा गर्नुपर्छ। पानी फोहोर छ। डेंगु प्रकोप पनि बढ्दो छ। सरकारले कम्तीमा छठ पर्वको समयमा काठमाडौंका नदी तलाउहरू विशेष रूपमा सफाइ गर्नुपर्छ।’
कात्तिक षष्ठीका दिन अर्थात् आइतबार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजन किर्तन गरी भोलिपल्ट अर्थात् सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएपछि मात्र चार दिनको व्रत पूरा हुन्छ। षष्ठीका दिन व्रतालुहरू अन्न र जल ग्रहण नगरी निराहार व्रत बस्छन्।
अर्की व्रतालु सुनिला हमालका अनुसार व्रतमा शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा निकै सजग हुनुपर्छ। यस दिन परिवारका सबै सदस्यहरू घरमै फर्कन्छन्। पारिवारिक मिलनको पर्व पनि भएकाले उनलाई छठ व्रत निकै खुसी लाग्छ। ‘मेरा परिवारका सदस्यहरू विदेशबाट पनि छठमा घर फर्कनुहुन्छ। हामी सबै परिवारका सदस्यहरू एकै ठाउमा बसेर चोखो खाना खाएर निराहार व्रत बसेर खुसीसाथ मनाउँछौं,’ सुनिलाले भनिन्, ‘मलाई त छठ पर्व पारिवारिक मिलनको पर्व लाग्छ ।’ उनले थपिन्, ‘पूजालाई आवश्यक पर्ने मुख्य प्रसाद ठेकुवा, पुरी, कसार, भुसुवा मेरो श्रीमान् र ससुराले पनि पकाउन सहयोग गर्नुहुन्छ। उहाँहरू पनि शुद्धतामा निकै सजग हुनुहुन्छ। व्रतालु मात्र नभएर सबै सदस्यहरू चोखो हुन्छौं। छठ मात्र यस्तो पर्व हो जुन पहाडी, मधेशी, हिन्दु, मुस्लिम सबैले व्रत बसी मनाउँछन्।’
पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुका साथै उनीहरूलाई स्वास्थ्य र दीर्घायु बनाउँन्छिन्। यस अवसरमा सूर्यदेवका श्रीमतीहरू उषा र प्रत्यूषालाई पनि अर्घ दिएर प्रसन्न बनाइन्छ।
सृष्टिको सुरुवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको अग्नि पुराणमा उल्लेख गरिएको छ। यो पर्व गरे कुष्ठरोग, चर्म रोगलगायतका विभिन्न रोगव्याधिहरू निको हुने धार्मिक मान्यता छ।
प्रकाशित: १२ कार्तिक २०७९ ०२:१९ शनिबार