४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

मेरो हात नपरेको सत्यमोहन दाइको त्यो पुस्तक

स्व. सत्यमोहन जोशीसँग मेरो पहिलो भेट २०१० सालमा भएको थियो। एउटा साहित्यिक कार्यक्रममा उनी अतिथि भएर भक्तपुर आएका थिए। भक्तपुर खौमाको मल्लकालीन एउटा घरमा नेपाल साहित्य मन्दिरले एउटा साहित्यिक कार्यक्रम गरेको थियो। त्यो घर अझै बाँकी छ। त्यस कार्यक्रममा हामीले उनलाई अतिथिका रूपमा बोलाएका थियौं। त्यस कार्यक्रमको प्रमुख अतिथि भने साहित्यकार चित्तधर हृदय थिए। त्यही कार्यक्रममा मेरो पहिलो पटक सत्यमोहन दाइसँग भेट भएको थियो।

त्यो कार्यक्रम मैले मामा भन्दै आएका विज्ञानबहादुर मल्लको घरमा भएको थियो। कार्यक्रम एउटा कोठामा भएको थियो। कोठामा अहिले जस्ता मेचहरू केही पनि थिएनन्। सबैले बाहिर जुत्ता खोल्थ्यौं अनि भित्र कोठामा सुकुलमा मिलेर बस्थ्यौं। त्यो कार्यक्रम पनि त्यसरी नै सम्पन्न भएको थियो। त्यसको फोटो मैले अहिलेसम्म पनि राखेको छु।  

म त्यो बेला नेपाल साहित्य मन्दिरको सदस्य सचिव थिएँ। त्यसमा सात जना सदस्य थियौं हामी। त्यसको संस्थापक अध्यक्ष चाहिँ सूर्यबहादुर पिवा थिए। यो साहित्य मन्दिर हामीले श्री पदम मावि दरबार क्षेत्र, भक्तपुरको खुला चौरमा साँंझ तीनचार बजे बसेर छलफल गरी स्थापना गरेका थियौं।  

त्यो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चित्तधर हृदय पहिला नेपाल भाषामा मात्रै साहित्य लेख्थे। पछि राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिए। त्यसपछि उनले नेपाली भाषामा पनि साहित्य लेख्न थाले। त्यो बेला राजा महेन्द्र यसरी अरूलाई सम्मान गर्न, मन जित्न सिपालु थिए।  

त्यो बेला म १७ वर्षको मात्रै थिएँ। मैले शारदा रात्रि स्कुल तपलाछी भक्तपुरबाट एसएसली पास गरेको थिएँ। त्यो बेला रात्रि कक्षा लिएर मैले एसएलसी पास गरेको थिएँ। दिउँसो काम गर्नेहरू, दिउँसो व्यस्त हुनेहरू सबै साँझ प्रौढ कक्षामा पढ्न आउँथे। हामी त्यो बेला १७ जनाले एसएलसी दिएका थियौं। तर म एक्लै मात्रै पास भएँ।  

हुन त मेरो एसएलसी दिने पालो २००९ सालमै थियो। जेपी हाई स्कुलबाट दिनुपर्ने थियो। तर त्यो बेला मेरी आमा बिरामी पर्नुभयो। आमालाई टाइफाइड भएको थियो। बुबा काममा जानुपथ्र्याे। अनि आमालाई हामीले नै हेर्नुपथ्र्याे। त्यसकारण म त्यो स्कुल छोडेर शारदा रात्री पाठशाला तपलाछी भक्तपुरबाट एसएलसी दिएर पास गर्न पुगें।  

म त्यो बेलादेखि नै सक्रिय थिएँ। अहिले म ८९ वर्षको भएँ। अहिले पनि म उतिकै सक्रिय छु। तर बुढोपनले छोएर बाहिर आवतजावत गर्न अप्ठेरो भएको छ मलाई। त्यो बेला असारमा एडमन्ड हिलारी र तेन्जिङ शेर्पा सगरमाथा चढेर सफल भएका थिए। अनि उनीहरूलाई भक्तपुरको टौमढीमा मञ्च बनाएर सम्मान गर्ने कार्यक्रम हामीले बनाएका थियौं। त्यहाँ उनीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका थियौं। एसएलसी पास गर्ने त्यो बेलाको हाम्रो ब्याचको म मात्रै भएकाले मैले नै त्यो सम्मानपत्र पढेर सुनाएको थिएँ। यसरी म ऊबेलादेखि नै बिस्तारै सबैको अगाडि चिनिँदै आएँ।  

यसरी नै सक्रिय भएर हिड्ने क्रममा सत्यमोहन दाइसँग मेरो भेट निरन्तर भइरह्यो। संस्कृतिविद्, साहित्यकार मात्रै होइन, असाध्यै मिलनसार अनि माया गर्ने मानिस भएकाले पनि मेरो भेट सत्यमोहन दाइसँग भइरह्यो। म उहाँको घरमा पनि बारम्बार गइरहन्थे ऊबेला। उहाँ पनि मेरो घरमा आइरहनुहुन्थ्यो। हामी कहिले उनको घरमा त कहिले मेरो घरमा खाना खान्थ्यौं, बस्थ्यौं, कार्यक्रम गथ्र्यौं, छलफल गथ्र्यौं।  

म धेरैपटक सत्यमोहन दाइसँग कार्यक्रममा पनि बसेको छु, गएको छु। ललितपुरमा हुने विभिन्न साहित्य सम्मेलनहरूमा पनि उहाँले मलाई बोलाइरहनुहुन्थ्यो। त्यो बेला समयसमयमा साहित्य सम्मेलनहरू हुन्थे। विशेष गरेर त्यो बेला नेपाल भाषाका साहित्य सम्मेलनहरू हुन्थे।  

मलाई अझै याद छ, एकदिन म पाटनढोका गेट नजिकैको दरबार हाइस्कुलमा भएको एउटा साहित्यिक कार्यक्रममा भाग लिएर निबन्ध पढ्न मञ्चमा जान लागेको थिएँ। त्यो कार्यक्रममा सत्यमोहन दाइ मञ्चको तल बसिरहनुभएको थियो। दाइले मलाई धेरै हौसला दिनुभयो। तिमीहरूजस्तो युवाले गर्न सक्छौ, गर्नुपर्छ भनेर उहाँले मलाई प्रोत्साहन दिनुभयो। 

यसरी मेरो र सत्यमोहन दाइको भेट निरन्तर भइरह्यो। सत्यमोहन दाइ मलाई मात्रै होइन, सबैलाई उतिकै माया गर्ने, प्रोत्साहन गर्ने अनि हामी पनि दाइलाई सम्मान गथ्र्याैं। त्यसकारणले पनि हाम्रो सम्बन्ध निरन्तर अगाडि बढिरह्यो। सत्यमोहन दाइमा अहंकार भनेको कत्ति थिएन। कहिल्यै घमण्ड गर्नुभएन। सबैलाई सम्मान गर्ने, माया गर्ने, प्रोत्साहन दिने उहाँको बानी थियो। मलाई उहाँको त्यही कुरा मन पथ्र्याे।  

त्यही भएर हाम्रो सम्बन्ध निरन्तर अगाडि बढिरह्यो। पहिलोपटक दाइको जंको ७७ वर्ष ७ महिना ७ दिनमा भएको थियो। हामी परिवार, साथीभाइसहित पाटनको घरमा पुग्यौं। त्यो बेला ठूलो अण्डा आकारको फ्रेमसहित सबै साथीहरू, साहित्यकारहरू, साहित्यिक संस्थाहरूको नामसहित राखेर उपहार दिएका थियौं। त्यो बेला ओहो ! तेजेश्वर तिमीहरूले बडो अचम्म हिसाबले उपहार दियौं भनेर खुसी भएको मलाई अहिले पनि याद छ।  

त्यो बेला दाइको जंको हुने कुरा हामीलाई अगाडि नै थाहा थियो। त्यसकारण हामीले जंकोमा खुवाउने भोजमा सहभागी सबैलाई हाम्रैतर्फबाट आवश्यक दही जति भक्तपुरबाट लाने कुरा भयो। त्यो बेला तीनचार सय मानिस भोजमा सहभागी हुने खबर भयो। दहीका लागि मसँग त्यो बेला पैसा थिएन। अनि मैले गुरु माइला दाइ ऐश्वर्यलाल प्रधानाङ्गसँग सत्यमोहन दाइको जंकोमा तीन चार सय मानिसलाई ख्वाउन दही लान पाए भक्तपुरको इज्जत बढ्ने थियो भनें। गुरु माइला दाइले एकजनालाई भनेर मिलाइदिनुभयो। त्यसपछि हामीले एउटा गाडीमा राखेर आवश्यक दहीको व्यवस्था मिलायौं।  

दाइसँग उपत्यकाबाहिर पनि पटक पटक गएर होटेलमा सँगै बस्ने, खाने गरेको छु। पछिल्लोपटक पनि म मेरो जहानसहित गाडी रिजर्भ गरेर दाइको घरमा गएका थियौं। दाइकै घरमा एउटा कार्यक्रम थियो। नेपाल भाषा एकेडेमीले सम्मान गर्ने कार्यक्रममा हामी गएका थियौं। दाइकै प्रमुख आतिथ्यमा पाटनको घरमै कार्यक्रम भएको थियो त्यो।  

दाइको विवाह सात आठ वर्षको सानो उमेरमै भएको थियो। मेरो भने २०१० सालमा मात्रै चिनजान भएको थियो। त्यसकारण मैले चिनजान हुनुभन्दा अगाडि नै दाइको विवाह भइसकेको थियो। त्यसकारण दाइको विवाहमा जाने सौभाग्य मलाई मिलेन।  

दाइ तथ्यांक विभाग, काठमाडौं दरबार स्क्वायरमा ऊबेला खरदार हुनुहुन्थ्यो। २०१५ सालमा जनगणना हुँदा दाइ पनि सहभागी हुनुहुन्थ्यो कर्मचारीका रूपमा। उहाँ त्यो बेला तनहुँ, लमजुङमा जनगणना गर्न गएको सुनाउँनुहुन्थ्यो। त्यही समयमा पनि गाउँ युवाविहीन भएको बताउनुहुन्थ्यो। युवा जति गोर्खा भर्ती केन्द्रमा जाने कुरा थियो। बुढाबुढी र बालबालिका मात्रै बाँकी रहेको र गाउँ नै सुनसान भएको उहाँले सुनाउनु भएको थियो। त्यसकारण त्यहाँ छोरा पायो जमर्नको धावामा लन्डनलाई, हामी बुढाबुढी जति सबै घरमा केही गर्न नसक्ने भन्ने पीडाको गीत गाउने गरेको उहाँले सुनाउनुहुन्थ्यो। दाइ लोकगीतमा पनि अभिरुचि राख्ने भएकाले मन छुने लोकगीत सम्बन्धी पुस्तक लेख्नुभएको थियो। पछि यो पुस्तकले पहिलो मदन पुरस्कार पाएको थियो।  

पाको उमेर भई बाहिर हिँडडुल गर्न नसकेपछि टेलिफोनमा पनि हाम्रो निरन्तर वार्तालाप चलिरहन्थ्यो। पछिल्लोपटकको टेलिफोन संवादमा दाइले भन्नुभयो, ‘तेजेश्वर मेरो बारेमा एउटा किताब लेखेको छ एकजना (गिरीश गिरी) ले। उसले मलाई पनि मेरा बारेमा लेखेको पुस्तक दिएको छ। तिमीले किन्नुपर्दैन। तिमीलाई पनि म त्यो पुस्तक उपहारस्वरूप दिन भनेर लेखेर राखेको छु।’

मैले त्यो किताब हात नपारी उहाँ बित्नुभयो। म पनि बुढो भएँ। जान सक्दिन। उहाँले पनि मेरो घरमा पुर्‍याउन सक्नुभएन। त्यही कारण मलाई मेरो नाममा उपहार भनेर उहाँको हातले लेखेको पुस्तक हात पार्न मन छ। उहाँको बसाइ पाटनमा गएर त्यो पुस्तक हात पार्न मन छ। तर म जान सकिरहेको छैन। त्यो मेरो भागको पुस्तक कहाँ राखेको छ भनेर उहाँकै घरमा गएर खोज्नुपर्ने भएको छ अब।  

उहाँ पनि लेख्ने, म पनि लेख्ने भएकाले मैले उहाँका बारेमा नेपाली, नेपाल भाषा र अंग्रेजीमा धेरै लेखेको छु। उहाँले पनि मेरा बारेमा धेरै लेख्नुभएको छ।  

सत्यमोहन जोशी संस्कृतिविद्, साहित्यकार मात्रै हुनुहुन्नथ्यो। उहाँ महापुरुष हुनुहुन्थ्यो। उहाँ देशकै सम्पत्ति हो। राष्ट्रकै धरोहर हो। यही कुरालाई मनन गरी म काठमाडौं विश्वविद्यालयमा अध्यापनरत रहँदा नै दाइलाई काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधि दियो। शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीप्रति नमन्। 

प्रकाशित: ५ कार्तिक २०७९ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App