१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

सुपरहिट कहिल्यै बनेनन् उनीहरू

कोटेश्वर चोकमा दैनिक दुई दाजुबहिनी सडकमा गीत गाउछन्। लगभग सातआठ वर्षदेखि नै उनीहरू यही काममा निरन्तर छन्। एउटा लाउड स्पिकर, माइक अनि थाप्ने टोकरी लिएर बस्छन्। नाम चलेका गायक–गायिकाका मर्मस्पर्शी गीत गाउँछन् सानु मिजार र राजेश मिजार। यी दुवै आँखा देख्दैनन्, तर गीतको भावले सडक यात्रुलाई प्रभावित पार्ने प्रयास गर्छन्।  

कहिले राम्रै कमाइ हुन्छ त कहिले हुँदैन। उनीहरू भन्छन्, ‘हामी धेरैका लागि मजाक बन्ने गरेका छौं। हामीसँग अरू काम गर्ने योग्यता पनि छैन र शरीर पनि। हात नचल्ने बाबा आमा छन्। भोको बस्न सकिएन। गाएर भए पनि मुस्किलले पेट पाल्ने प्रयास गर्छांै। बिहान ६ बजेदेखि नै हामी सडकमा गाउन बस्छौं, साझसम्म नै गाउँछौं। त्यही पनि कहिले त मेहनत बेकार जान्छ।’

यो कथा सानु र राजेशको मात्र होइन। चर्चित कलाकारका गीत गाएर सडक सडकमा बस्ने थुप्रै छन्। वर्षांैदेखि सडकका पेटी, गल्ली, मन्दिरमा गीत गाएर आफ्नो र परिवारको पेट पाल्नेहरूको आफ्नै कथा व्यथा छन्।  

पशुपतिको मूल गेटमा दायापट्टि भजन र सुपर हिट हिन्दी गीत गाएर भावुक बनाउने सन्तोष गौचनको पनि आफ्नै कथा छ। उनी दुवै आँखा देख्दैनन्। उनको अवस्था साह्रै दयनीय छ। आमा सानैमा बितिन्। बाबाले कान्छी आमा ल्याए। दाजुले वास्ता नगरेपछि उनले यो पेसा अपनाए। यही पेसाले पेट पालेका छन्। उनी कहिलेकाहिँ वरिपरि बस्नेहरूका रुचिअनुसारका गीत पनि गाइदिन्छन् र पैसा पनि राम्रै पाउँछन्। झरिबादल दश दिन पर्‍यो भने मलाई पेट पाल्न गाह्रो हुन्छ।  

वर्षौंदेखि नै सडकमा निरन्तर गीत गाएर जीविका पाल्नेहरू न त कहिल्यै सुपरस्टार भए, न त गाडी, महलको सुविधा लिए। उनीहरूले कसैसित कुनै प्रतिस्पर्धा पनि गरेनन्। उनीहरूको जिन्दगी बाँच्ने आधार गला बनेको छ। सडक उनीहरूको स्टेज अनि बटुवाहरू दशर्क श्रोता।  

सडकपेटी, गल्ली र मन्दिरमा वर्षांैदेखि गीत गाउनेहरू बिहान ६ बजेदेखि साँझसम्म एक सुरले गाइरहेका हुन्छन्। गायक रामकृष्ण ढकाल, नारायण गोपाल, किशोरकुमार, यम बरालजस्ता चर्चित गायकका गीत गाएर बटुवाहरूलाई आकर्षण गरिरहेका सडक गायकहरूले वर्षांैदेखि सडकमा गीत गाएर आफू र परिवारको पेट पाल्नेहरू दजनौं छन्। कतिको बास छैन, कतिको आँखा छैन, कतिको शरीर छैन। जीवनमा खालि चोट मात्र एक छाक खानका लागि दैनिक सडकमा आवाज बेचिरहेका उनीहरूको अवस्था दयनीय छ। यो विषय कसैको चासोमा पनि रहेको छैन।  

हामी कुनै स्टेजमा गाउँदैनौं। हामीसँग सेल्फी लिने कोही छैन। हामीसँग सबै तर्केर हिँड्छन्। हामीलाई न अवार्ड दिइन्छ, न सम्मान। हाम्रो गीत सुन्न भिड लाग्छ तर यो कुनै कन्सर्ट होइन।  

‘कसैले सन्चो बिसन्चो सोध्दैन। कति जनाले हेपेर बोलिराखेका हुन्छन्। तर हामी कसैलाई जबर्जस्ती गर्दैनौं। मन लागेर दयाले दिए लिन्छौं हामी। बुढाबुढी नै आँखा देख्दैनांै। जति कमाउँछौं, त्यसैमा सन्तुष्ट छांै। सातआठ वर्ष भइसक्यो, सडकमा गाएर पेट पालिरहेका छौं,’ गिरी दम्पती बताउँछन्।  

कुनै राजनीति अजेन्डामा नपर्ने यिनीहरूको कथा बैग्लै छ। यिनीहरूलाई बजेट भाषणमा पनि चासो छैन, यिनीहरूलाई रेमिट्यान्स, चर्चा कुनै कुराको मतलब छैन। मात्र दुई छाक पेटभरि खान पाइयोस्, उनीहरूको सरोकारको विषय यही हो।

सडकबाट नै आफ्नो जिन्दगी सुरु गरेकी महालक्ष्मी गुरुङ पनि संकटा महाङकाल मन्दिर अगाडि बसेर गीत गाउँछिन्। एक दयालुले गाउने सबै सामान जुटाइदिएपछि उनले गाउन सुरु गरेकी हुन्। उनी पनि आँखा देख्दिनन्। श्रीमान्ले छोडेपछि सडकमा गाएर नै कोठा भाँडा, खाना र दुई छोरीको लालनपालन गर्दै आएकी छन्।

‘कुनै दिन दिउँसोभरि गाए पनि पचास रूपैयाँ हुँदैन। कहिले दुईसयसम्म हुन्छ,’ उनी भन्छिन्, ‘तीन दिन झरी पर्‍यो भने छाक टार्न पनि धौ धौ हुन्छ,’ उनको गुनासो छ। शारीरिक रूपले अपाङ्ग, त्यसमाथि पनि कुनै आयस्रोत नहुनुले उनीहरूको जिन्दगी ओझेलमा परिरहेको छ।  

मानिसले सोचेजस्तो जीवन हुँदैन। समस्याहरूले घेरिएको जिन्दगीमा एकपछि अर्को गर्दै आइ नै रहन्छ तर मान्छेका बाँच्ने आधारहरू धेरै छन्। कति भिडमा हराउँछन्, कति भिडमा किनारा लाग्छन्।  

हुन त सडकबाट उठेका गायक–गायिका, व्यापारी धेरै छन्। नामसँगै दाम पनि कमाएका छन्। जिन्दगी खाली चेकजस्तै हो। कुन बेला भरिन्छ थाहा हुँदैन। तर यस्ता सडक गायकहरूप्रति सम्बन्धित निकायको ध्यान जान नसक्नु दुःखको कुरा हो।  

हामी यथार्थभन्दा पर छैनौं। प्रत्येक दिन सूर्य उदाउँछ। ढिलो चाँडो मात्र हो। प्रयास गर्ने र अठोट गर्ने नै सफलतामा पुग्ने हो र प्राप्तिको बलियो खम्बा पनि हो। जीवन विसङ्गतिले भरिपूर्ण छ। पीडाले ग्रस्त छ। विभेद र संकटले घेरिएको पनि छ तर फरक कतिलाई जिन्दगी उज्जालो बनाउन धेरै मेहनत गनुपर्छ, कतिलाई नपर्ला। कतिले चौरासी व्यञ्जन खालान्, कतिलाई एक छाक खान पनि गाह्रो छ।  

कुटी खाने ढिकी जाँतो नभएपछि अगेनो कसरी बल्छ र। विपत्तिका कारकतत्वहरूको पूर्णविराम नभएपछि विपत्तिका घडाहरू सधैं भरिइरहन्छन्। रुँदा कराउँदा गरिब अवशेषहरू मात्र खेलको सिकार बनेका छन्। यो त एउटा उदाहरण मात्र हो। हाम्रो देशको अवस्था यति नाजुक भइसकेको छ।  

हामी यस्तो धरतीमा छौं कि न हाम्रो जीवनमा मरुभूमि छ न हरियाली नै छ। हाम्रो जीवनमा वेदनाको घाम पानीले पटक पटक हिर्काउँछ। रुन पनि सकिँदैन, हाँस्न पनि सकिँदैन। चोट र व्यथाका घाउहरू हामी माँझ माझिएका छन्। सबै कुरा हामीले स्वीर्कानै पर्छ। पहाडको उकाली ओराली, घाम नपुगेका डाडाँ, गल्लीका चापहरूमा कयांै चोट र व्यथाका घाउ छन्। कुहिरो नफाटेको देशमा कयांै सपना दबिएका छन्।  

अरूको मानो खाएर जीवन चलाउने अर्थात् अरूको फाटेको लुगा लगाएर जिउ छोप्ने आदर्श हाम्रो जिन्दगीको यथार्थ बनिसक्यो। भाग्दै भांैतारिँदै हिँड्ने बानी परिसक्यो। अब मागेको नखाए पेट टम्म हुँदैन। सहरभरि नाङ्गा शरीर अनि भोका पेट मात्र भेटिन्छन्। गल्ली गल्ली, चोक चोक अनि उकाली ओराली सबै ठाउँमा यही समस्या छ। देशका प्रतिष्ठित र सम्मानित व्यक्तिको आँखामा नपर्ने गरिबीको कथा मर्मस्पर्शी छ । 

प्रकाशित: २९ आश्विन २०७९ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App