३ माघ २०८२ शनिबार
image/svg+xml
विचार

सृजनशील इख

'आर्थिक विकास' यतिबेला धेरैको थेगो बनेको छ। यसैलाई केन्द्रमा राखेर सोच्नुपर्छ, काम गर्नुपर्छ भनेर राष्ट्रका, राजनीतिक पार्टीका, विभिन्न संस्थाका नेता भन्दैछन्। जनता सुनिरहेका छन्। कोही अविश्वासमा रिसाएर 'इस्' भन्दैछन् कोही भने 'हो त नि!' भन्दै पनि छन्। तर, के हुन्छ त हाम्रो आर्थिक विकासको बाटो? अरु कसैसित सिक्ने हो कि हामीले आफ्नै बाटो लिने हो?

अन्तर्निर्भरताको यो युगमा न झ्याल ढोका सबै थुनेर 'अरुले हिँडेको बाटो त म हिँड्दै हिँड्दिनँ' भन्न सकिन्छ, न अरुकै अनुभवलाई मात्र 'कपी–पेस्ट' गर्न मिल्छ। झण्डै हाम्रैजत्रो आकारको र हाम्रोभन्दा अलि बढी जनसंख्या भएको दक्षिण कोरिया तीन दशकभित्रै एउटा गरिब देशबाट समृद्ध तथा दातृ राष्ट्रका रूपमा विकसित भएको छ। केही दशकअघिसम्म पनि हाम्रैजस्तो दयनीय आर्थिक स्थिति रहेको त्यो देशले झेलेको दुःख हाम्रोभन्दा कम थिएन। बरु युद्धको विभिषिका र विभाजनको पीडासमेत भोग्यो। अहिले त्यो देशको प्रगतिलाई देख्दा त्यहाँबाट सिक्ने कुरा के के होलान्, हामीले पनि कोरियाले जसरी विकास गर्न सक्छौँ कि सक्दैनौँ होला भनेर मनमा खुल्दुली लाग्नु स्वाभाविक हो।

जानिफकारहरू भन्छन्, धेरै तत्वले भूमिका खेलेका छन् कोरियाको द्रुत आर्थिक विकासमा। कोरियाली जनताको राष्ट्रिय भावना, जोरिपारी छरछिमेकीसामु समृद्ध भएर देखाइदिने राष्ट्रिय इख, मेहनत, लगनशीलता, बुद्धिविवेक आदि यस्ता कुरा हुन्, यो जुनसुकै देशले सिक्नैपर्छ। तर, अरु पनि धेरै कारक तत्व छन् त्यस देशको विकासका। ती सबै तत्व भने हाम्रा निम्ति सान्दर्भिक नहुन पनि सक्छन्। र, कुनै कुनै कुराको अन्ध नक्कल गर्न खोज्दा त हामी अर्कै भड्खालोमा जाकिने सम्भावनासमेत हुन्छ।

कोरियाबाट सिक्ने हो भने त्यो देशका केही विशेषताबारे वास्ता नगरी हुँदैन। नजिकैको जापानले दोस्रो विश्वयुद्धपछिको छोटो अवधिमा तीव्र गतिमा विकास गर्योक। त्यो देखेर संसारभरिकै टाढाटाढाका देशहरूसमेत लोभिएका बेला, त्यत्तिकै युद्धपीडित नजिकैका कोरियालीहरू नलोभिने कुरै भएन। सैनिक विद्रोह गरेर राष्ट्रपति बनेका तनाशाह पार्क चुङ ही त जापानको विकास देखेर इर्ष्याले भुतुक्कै भएका थिए। उनीभित्र पलाएको इखले 'म पनि केही गरेर देखाउँछु' भनी आर्थिक विकास प्रमुख एजेन्डा बन्न पुग्यो। उनको क्रूर तानाशाही प्रवृत्तिसमेत यही उद्देश्यप्राप्तिको साधन बन्यो। औद्योगिक क्षेत्रमा हुने गरेका हड्ताल र सडकमा हुने गरेका कुनै पनि प्रदर्शनलाई अत्यन्त क्रूर किसिमले दमन गर्न थाले उनले। विकासले तीव्र गति लियो। आखिर एकदिन उनको हत्या भयो। त्यसपछि लोकतान्त्रिक संविधान बन्यो र तत्कालका निम्ति जनताले तानाशाहीबाट मुक्ति पाएकोमा राहतको सास फेरे। तर, यतिका वर्षपछिको समृद्ध र लोकतान्त्रिक दक्षिण कोरियामा त्यहाँका जनता आफ्नो समृद्धिका निम्ति तिनै तानाशाह पार्कप्रति कृतज्ञ छन्। यस्तो लाग्छ, उनको लोकतन्त्रविरोधी छवि कता हरायो कता! त्यो बेलाको तानशाही पार्कलाई जनताले करिबकरिब क्षमा गरिसकेको जस्तो लाग्छ। उनकी छोरी राष्ट्रपति बन्नुका कारणमा पार्कप्रति जनताको कृतज्ञताभाव कतै मिसिएकै हुनुपर्छ।

हामीले कोरियाबाट सिक्नुको अर्थ पार्ककालीन तानाशाहीको चाहना गर्नु कदापि होइन– हुन सक्दैन। तर, उनमा भएको त्यो राष्ट्रिय इखको भावना हाम्रा नेताहरूमा हुने हो भने यो देशमा धेरै कुरा फरक हुन्थ्यो। बितेको एक वर्षमा हाम्रो 'राष्ट्रिय स्वाधीनता' कति कमजोर रहेछ भन्ने तथ्य छ्याङ्ङै भएको छ। यति हुँदासमेत इख नलिने हो भने त हामी विनाशकै बाटोमा ओर्लिरहेका हुनेछौँ। राष्ट्रिय इख त लोकतन्त्रमा अझ चर्को र सृजनशील हुनुपर्ने हो। र, त्यो हुन सक्छ। हामीले त्यही देखाउने बेला हो यो।

कोरियाको विकासमा अर्को महत्वपूर्ण भूमिका रह्यो 'चेबल'का रूपमा चिनिने केही जहानियाँ उद्योग–व्यवसायको। अहिलेसम्म पनि ह्युन्डाई, सामसुङजस्ता चिनिएका कोरियाली कम्पनीहरूकै बोलवाला छ दुनियाँमा। जबजब राष्ट्रपतिको चुनावको बेला आउँछ, आफ्ना आर्थिक एजेन्डाहरूका निम्ति सम्भाव्य समर्थनको लोभले यी सबै कम्पनी तातिन्छन्। राष्ट्रपतिले आफ्नो कार्यकालको आधाउधी अवधि बिताइसकेपछिको अवस्थामा भने यी उद्योगका मालिकहरू उनको वास्तै गर्दैनन् भन्ने सुनिन्छ। अब आउने राष्ट्रपति कस्तो हुन्छ? कस्तो मानिसलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने कुरामा मात्र यिनको ध्यान जान थाल्छ। अर्थात्, थोरै मानिसको हातमा रहेको विश्वव्यापी प्रभाव जमाउन सफल उद्योगी–व्यवसायीहरूको राष्ट्रिय राजनीतिमा अत्यन्त ठूलो प्रभाव पर्ने रहेछ। यिनै कम्पनीहरूका कारण दक्षिण कोरियाको अर्थतन्त्र निर्यातमुखी बन्न सफल भएको छ र विश्वका बलिया आर्थिक शक्तिसँग कोरिया आज प्रतिस्पर्धा गरिरहको छ।

आर्थिक विकासको निम्ति भनेर हामी पनि नेपालमा 'चेबल' जस्ता घरानियाँ कम्पनीहरूको सपना देख्ने कुरा आउँदैन। लोकतन्त्रको अन्य 'उदार' पुँजीवादी मोडेलतिर आकर्षित हुने कुरा पनि सायद आउँदैन। तर, दुई कुरा भने गर्न सक्छौँ– शासनको भार बोक्ने मानिसलाई विकासका एजेन्डामा साँच्चै प्रतिवद्ध पार्ने अभियानमा लाग्न सक्छौँ। राष्ट्रिय आर्थिक हितलाई सर्वोपरी राख्न अनेक दबाब सृजना गर्न सक्छौँ। (अहिलेको एनसेल प्रकरणले यो सम्भव छ भन्ने देखिँदै पनि त छ!)

नेपाली उद्योगले दक्षिण कोरियासँग सिक्ने अझ महत्वपूर्ण कुरा हो– निर्यातमुखी उद्योग–व्यवसाय। कोरियामा औद्योगिक विकासको लहर सुरु भएका बेला सबै कोरियन कम्पनी, ती सबै जहानियाँ 'चेबल'समेत– नाफामा हैन निर्यात कसरी बढाउने भन्ने कुरामा केन्द्रित रहे। त्यसैले गर्दा आज उनीहरू यो अवस्थामा आइपुगेका हुन्। हामीकहाँ जस्तो अमेरिकामा भुटेको मकै बेचेर नाफा कमाउने वा विदेशी गाडीमा चर्को भन्सार तिराएर देश चलाउने गरेको भए आजको कोरिया समुन्नत बन्ने थिएन। अझ आफैलाई दास बनाउने गरी, आफ्नै मासु लुछ्ने गरी जानाजान मिचाहा छिमेकीका फटाहा कम्पनीलाई भएभरको बाटोघाटो बनाउन दिएर त कुनै पनि देशको आर्थिक विकास कहिल्यै हुँदै हुँदैन।

अमेरिकासँगको विशेष मित्रताका कारण पनि दक्षिण कोरियाको विकासमा धेरै मद्दत पुगेको हो भनिन्छ। एसियामा चीनको बढ्दो प्रभावका कारण अमेरिका अझै पनि तर्सिरहेकै छ। केही दशकअघि त चीनसँगको प्रतिस्पर्धा हैन कटु शत्रुता नै थियो। र, त्यो शत्रुताको जगमा साम्यवाद विरोधी भावना थियो, त्यसैले वैरभावको अनौठो दुष्चक्र सृजना गरेको थियो। एसिया–प्रशान्त क्षेत्रमा अमेरिकीहरूले आफ्ना सहयोगी, समर्थक तथा अनुयायीको 'हित' पनि हेर्नैपर्ने बाध्यता थियो। तर यो क्रममा अमेरिकी 'अभिभावकत्व'का कारण दीर्घकालीनरूपमा यी एसियाली देशहरूले धेरै कुरा गुमाएका पनि छन्।

कसैलाई 'मालिक', 'ठुल्दाइ' वा 'संरक्षक' मानेर वैतरणी पार गर्ने त्यस्तो बाटो हामी छान्न सक्छौँ र? सक्दैनौँ। तर, विश्व परिस्थितिको उचित आकलन गरेर आफ्ना एजेन्डामा अरुको लगानी भित्राउन भने सक्छौँ नै। परिस्थितिको समुचित सदुपयोग गरेर आफ्नो उद्योगको जग बलियो बनाउन पनि पक्कै सक्छौँ। दोस्रो विश्वयुद्धपछि अमेरिकीहरूले नै 'संरक्षकत्व' प्रदान गरिरहको जापान, कोरिया युद्धका बेलामा सैनिक प्रयोगका सामान उत्पादन गर्ने थलो बन्यो। त्यसबेला बनेको जगमा उभिएको औद्योगिक विकासले युद्धपछि निरन्तरतामात्रै पाएको हैन, अनपेक्षित तीव्र गतिसमेत लियो। सन् १९८०को दशकमा आइपुग्दा त जापानमा उत्पादित गाडीले अमेरिकी बजार यसरी ओगटे कि अमेरिकी गाडी उद्योग नै धराशायी हुन थाल्यो। जापानी येनको सटही दर बढाउनका निम्ति अमेरिकीले जबर्जस्ती हस्तक्षेप नै गरे। येनसँगै जापानी गाडीहरू महँगा भएपछि बल्ल अमेरिकी गाडी उत्पादकहरूले राहतको स्वास फेरे। त्यही मौका पारेर जापानीको देखासिकी गर्दै अमेरिकीले पनि ससाना गाडी बनाउन थाले र गाडी उद्योगले फेरि व्यापारिक लय समात्यो।

यो परिदृश्यकै छेउछाउमा अर्को अप्रत्याशित घटना पनि भयो। कोरियाको गाडी उद्योगलाई कसैले वास्तै गरेको थिएन त्यो बेला। जापानी गाडीको व्यापार घटेको बेला, कोरियालीले गाडी उत्पादनमा विशेष ध्यान दिए। जापानी गाडीकै हाराहारीमा आफ्ना उत्पादनलाई पुर्याटए। जापानीभन्दा सस्तो र उस्तैउस्तै चिटिक्क परेका कोरियन गाडीले अमेरिकी बजारमा प्रवेश पायो। र, आज हामी देखिरहेका छौँ, कोरियन गाडी नपुगेको संसारको कुनै कुना छैन।

कोरिया र त्यस्तै नवविकसित देशहरूबाट सिक्न सकिने कुरा प्रशस्त छन्। चाँडो सिकौँ। अन्धानुकरण वा 'कपी–पेस्ट' गर्न नखोजौँ। आफ्नो यथार्थलाई बुझेर, त्यसमा उभिएर निर्णय गरौँ। प्रतिक्रियात्मक अन्धराष्ट्रवाद हैन, सामाजिक न्यायसहितको समृद्धिका निम्ति प्रतिवद्ध लोकतान्त्रिक, सृजनशील राष्ट्रवाद हुर्काउँदा हाम्रो भलो हुनेछ, विश्वकै भलो हुनेछ। त्यो यज्ञमा लागौँ। देशको जय होस्, सबैको मंगल होस्!

प्रकाशित: ३१ वैशाख २०७३ ००:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App