१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

आठ वर्षपछिको नेपाल

करिब आठ वर्षपछि यही वैशाख पहिलो साता नेपाल फर्किएँ । यसबीचमा निकै फेरबदल आएछन्। कुरा सुरु गरौँ, इन्धनबाटै  भारतले नाकाबन्दी खोलेको यतिका समय भइसकेकाले यो समस्या हटेको मेरो सोच नेपाल ओर्लंदासाथ पम्पहरुमा देखिएको लाइनले गलत सावित गर्यो।खाना पकाउने ग्यासको अभाव झनै दर्दनाक रहेछ । अचम्म त यो लाग्यो कि बढी पैसा तिरेचाहिँ भान्सामै आइपुग्दोरहेछ ग्यास ।स्वार्थी व्यवसायी कालोबजारी गर्ने र सरकार राष्ट्रियताका नाममा तिनको संरक्षण गर्ने सर्वसाधारणको आरोप पत्याउन यो अवस्थाले निकै सघायो ।

नेपाली मुद्राले आफ्नो क्रयशक्ति यति गुमाएछ कि म छक्कै पर्न बाध्य भएँ । नेपाल राष्ट्र बैंककै कुरा गर्ने हो भने पनि उसले वैशाखमै निकालेको प्रतिवेदनमा मुद्रास्फीतिको दर १०.२ प्रतिशत देखाएर मूल्य घटेको दाबी गरेको छ । तर आमजनता जस्तै मलाई पनि यसमा कत्ति नि विश्वास लागेन । उनीहरुजस्तै मैले पनि मूल्य घटेको हैन, बढेको अनुभव सोझै गरेँ । विगत ८ महिनामा ४ खर्ब २७ अर्ब रेमिट्यान्समात्र भित्रिएको तथ्यांकले हाम्रो अर्थतन्त्र कतिविघ्न रेमिट्यान्समा आधारित हुँदै गएको भनेर झस्काएको छ । त्यसैगरी व्यापार घाटा ३ खर्ब ९३ अर्ब हुनुले हाम्रो परिनिर्भरताप्रति टिठ लागेर आयो ।

अर्थतन्त्रमात्र हैन, खेलकुद क्षेत्र, अझ त्यसमा पनि फुटबल र क्रिकेटमा मौलाएको भ्रष्टाचार र राजनीतिले निकै दुःखी तुल्यायो । फिफाबाट गणेश थापाको अपिल खारेजी र क्रिकेट संघको अन्तर्राष्ट्रिय प्रतिबन्धका समाचारले सबै खेलप्रेमी जस्तै मलाई पनि क्षुब्ध बनायो । कुनै बेला निकै राम्रो इज्जत कमाएका कमल थापाको व्यवहार यतिबेला सिंगै नेपालीका लागि लज्जाको विषय बन्न पुगेको छ ।

अर्कोतर्फ आफूलाई समाजको जान्नेसुन्ने दाबी गर्नेहरुको व्यवहार देखेर छक्कै पर्ने अवस्था आयो । अनुसन्धानका लागि समातिएका व्यक्तिलाई अनुसन्धान नै नगरी छाड्नुपर्छ वा समात्नै हुँदैन भनेर कोलाहल मच्चाउनेहरु देख्दा दया नै लाग्यो । के कुनै पनि व्यक्तिलाई सोधपुछ गर्ने अधिकार राज्यसँग हुन्न ? कोही पनि संविधानभन्दा माथि हुन्छ र ? कस्तो संस्कृति विकसित भइरहेको छ यहाँ भन्ने प्रश्नले निकै सताएको छ यतिबेला ।मुलुकमा समावेशिताका लागि आन्दोलन भइरहेको छ तर भर्खर नियुक्त भएका २१ राजदूतमा एउटा पनि मधेसी परेनन् । उसै त विभिन्न बहाना बनाएर आन्दोलन गरिरहेकाहरुलाई यस्तो अवस्थाले थप मौका दिन्छ कि दिन्न आन्दोलन गर्न ? यस्तो विषयमा किन सोच्दैनन् नेताहरु ?

चौतर्फीरूपमा भूकम्पपीडितको गुनासो आउने क्रम जारी छ । वर्ष दिन बितिसक्दा पनि यो अवस्था रहनु भनेको सरकारबिहीनताको अवस्था हो । शिलान्यासको खबर सुनिए पनि उद्घाटनका तिथिमिति अनिश्चित छन् । अन्तर्राष्ट्रिय दातृनिकायहरु सरकारलाई निर्देशन त दिइरहेका छन् तर उनीहरु आफैँचाहिँ पुनर्निर्माणका लागि के गरिरहेका छन् त भन्ने प्रश्नको उत्तर आशलाग्दो छैन । विश्व खाद्य कार्यक्रम नै यसका लागि काफी छ जसले कुहिएको चामल पीडितलाई वितरण गर्यो । १ लाख ६० हजार किलोग्राम चामल त कुहिएपछि खाल्डोमा पुर्यो । अर्कोतर्फ भूकम्पपीडितका लागि ४४ वटा संस्थाले भित्र्याएका ३० अर्ब रुपियाँको हिसाबकिताब पनि अनुत्तरित छ । आफू नगर्नेले अरुलाई मात्र उपदेश दिन मिल्छ र ? यहाँ यही देखियो ।

स्थानीय निकाय जनप्रतिनिधिबिहीन हुँदा जताजतै समस्या बल्झिएका छन् । सानातिना कुरामा पनि धेरै दुःख पाउने समस्या ज्युका त्युँ छ । सरकार भने पहिले स्थानीय निकायको निर्वाचन गराउने कुरा दोहो¥याएर थाकेको छैन । जबकि भारत, पाकिस्तान जस्ता संघीय सरकार भएका मुलुकमा पहिले केन्द्र, त्यसपछि राज्य र अनि स्थानीय निकायको चुनाव हुन्छ । यहाँचाहिँ पहिले स्थानीय निकायको चुनाव गर्ने रटानले लाग्छ– सरकार साँच्चै चुनाव गराउन चुनावको रट लगाइरहेको छैन ।

सरकार निकटको एउटा पत्रिकाले यो सरकारका २८ वटा उपलब्धि भर्खरै प्रकाशित गर्यो तर सतहमा नजर लगाउँदा ती सबै कागजमा मात्र सीमित देखिन्छ । भाषण, शिलान्यास र उद्घाटनलाई समेत उपलब्धिको पगरी दिइएको देख्दा गजबै लाग्यो । भूकम्पपीडितका लागि न्यानो कपडा तथा विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाउन नसकेको अवस्थाले यी सारा उपलब्धिको धज्जी उडाएको महसुस सबैले गरेकै छन् । तर सरकार भने धेरै वर्षपछिका योजना सार्वजनिक गरेर भ्याइरहेको छैन ।

अन्त्यमा,

अमेरिका बसाइका क्रममै पनि नेपाली बुद्धिजीवी, पत्रकार, कूटनीतिज्ञ, राजनीतिज्ञ र एकसेएक प्रा.डा.हरुको लेख निकै पढियो । ती लेखमा कुनै त्यस्ता सोच र विचार पाइएन जसले मुलुकका समस्या समाधान गर्ने हैसियत राखोस् । कुनै त्यस्ता सुझाव थिएनन् जसले मुलुक निर्माण हुन सकोस् । ३०÷३५ वर्षदेखि उनीहरु जे कुरा गर्दै आएका छन् त्यही सोच र धारणाबाट एक इन्च पनि अगाडि बढ्न सकेका छैनन् । अनि आफ्नो स्वार्थलाई केन्द्रमा राखेर लेखिरहेका छन् । अझ कतिपय विद्वान्ले त 'नेपालमा गणतान्त्रिक संविधान नभएकाले नै विकास हुन नसकेको' जस्ता वाहियात तर्क पनि गर्दै आएका छन् । यस्ताले बुझ्नुपर्छ, जुलुस, प्रदर्शन, हड्ताल र बन्द गरेर कसैलाई सत्ताबाट हटाउन जति सजिलो छ, त्योभन्दा निकै गाह्रो छ– मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्याउन । यसका लागि उच्चस्तरको योजना, कडा मेहनत र इच्छाशक्ति आवश्यक छ । जुन यतिबेला उपलब्ध साना/ठूला कुनै पनि दलका नेतामा देखिँदैन ।

अमेरिकाको पेन्सलभेनियामा कार्यरत्

प्रकाशित: १९ वैशाख २०७३ २१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App