६ वैशाख २०८१ बिहीबार
विचार

खाँचो उचित पात्रलाई उचित जिम्मेवारीको

ओसोको शब्द सापटी लिँदा ‘राजनीति डकैतीको आधुनिक व्यवस्था हो।’ उनले त बरु व्यंग्यमिश्रित भावमा त्यसो भनेका होलान् तर राजनीतिमा लागेका हाम्राको हालसम्मको रवैया नियाल्दा त त्यसलाई साकार पार्न यिनले कुनै कसर बाँकी राख्लान् जस्तो देखिँदैन। दुर्भाग्य, जुनसुकै व्यवस्था या वादमा पनि यहाँ नेतृत्वमा प्रायः उनै दोहोरिन्छन्। त्यसो भएपछि स्वाभाविकरूपमा परिणाम पनि उही हुने नै भयो। हो, देश र जनताका नाम त यिनले बगे्रल्ती भजाउँछन्। तर उल्टै देशको नै शोषण गरेर र जनताका हक अधिकार खोसेर आफ्नो, आफन्तको, आफ्नो दल÷गुटमा आबद्धको, आफूमाथि गणेशभक्ति र चाकडी चाप्लुसी गर्नेहरूको उत्थान र सन्तुष्टि दिलाउनेबाहेकका काम यिनले के नै पो गरेका छन् र ? अर्को विडम्बना के भने कमजोर अथवा निर्णायक भूमिकामा नरहुञ्जेल दलहरू देश र जनहितका चर्का कुरा गर्छन्। तर कथम यिनै निर्णायक भूमिकामा पुगेमा कसरी अनुचित शक्ति सञ्चय गरेर हिटलर बन्ने दाउमा हुन्छन् भन्दा अतिशयोक्ति नहोला। फलतः दलीय राजनीतिप्रति जनतामा तीव्र वितृष्णा पैदा भएको छ।  

घोषित सङ्घ र प्रदेशको निर्वाचन आउन अब दुई महिना मात्र बाँकी छ। दलहरूको पटक–पटकको ज्यादतिबाट आजित बनेका नागरिकले पूर्वपरीक्षित कसैलाई पनि कार्यकारी प्रमुखमा नदोहोर्‍याउने अभियान नै चालेको बताइन्छ। तथापि, आसन्न निर्वाचनमा उनै ठूला तीन दलका पूर्वपरीक्षित तर असफल पात्र नेतृत्व लिन लालायित देखिन्छन्। अघिल्लो निर्वाचनमा नराम्ररी पछारिए पनि अपुताली परेर पाँचौँ पटक सत्ताको नेतृत्व गर्न पुगेका र ज्योतिषिबाट सातपटक प्रधानमन्त्री बन्ने योग रहेको भविष्यवाणीमा भरोसा गर्ने देउवाको अर्जुनदृष्टि नै छैटौँ पटकको प्रधानमन्त्रीको जोहो गर्नमा नहुने कुरै भएन। तसर्थ उनी त गठबन्धनकै प्रधानमन्त्री उम्मेदवार भइहाले। उता, एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरिसकेको छ। माओवादी सके एमालेलाई पछारेर नभए पनि काँग्रेसलाई साइजमा राखेर वा घुक्र्याएर कम्तीमा आधा अवधिको नेतृत्व हत्याउन र कथम नसके आफ्नो हातमा सत्ताको चाबी राख्ने दाउमा छ।  

यसका लागि दलहरूले पार्टी प्रवेश अभियानलाई त व्यापक बनाएका छन् नै। अर्कोतिर, आफ्नो बलबुताले नभ्याउने देखेपछि गठबन्धन गरेमा मतदाता बढ्ने जुक्तिको सहारा लिँदैछन्। साँच्चै भन्नुपर्दा साम, दाम दण्ड, भेदलगायत जस्तोसुकै हतकण्डा प्रयोग गरेर भए पनि आफूअनुकूलको परिणाम ल्याउने यत्नमा उनीहरू छन्। दलहरू पूर्वसक्रिय कहाँ छन् र ? भनौँ भने गठबन्धनलाई साकार पार्न निर्वाचनअगावै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतका महत्वपूर्ण पदहरूमा यिनको सौदाबाजी चल्दैछ। तर विडम्बना, डेङ्गुको प्रकोपले मुलुक आक्रान्त छ। हाल वर्षातको मौसम भएकाले प्रदूषणको प्रभाव केही न्यून रहे पनि वर्षातपछि विकराल स्थिति आउने निश्चित छ। तर यीलगायत विद्यमान सयकडौँ राष्ट्रिय सरोकारका जल्दाबल्दा समस्याबारे संयुक्तरूपमा यिनले कुनै दिन एक घन्टा खर्चिएका छैनन्। जबकि यिनले गठबन्धनको भागबन्डाका लागि गठित समितिमा डेढ महिनाभन्दा लामो समयदेखि कुनै कुनै दिनमा त ११–११ घण्टा छलफल चलाउँदै आएका छन्। त्यो पनि राज्यकोषको दुरूपयोग गरेर प्रधानमन्त्री निवासमै।  

त्यसो त, मतदाताको चित्त दुखाउनु प्रत्युत्पादक हुने बुझेकाले दलहरूले नागरिकलाई सोझै दोष लगाउन सकेका छैनन्। वास्तवमा, हालसम्मको परिणामका लागि दलमा आबद्धहरू त निश्चितरूपमा दोषी छन् नै। तर स्वीकार्नै पर्ने हुन्छ कि हामी नागरिक पनि दोषमुक्त छैनौँ। हामी एउटा निर्वाचनमा काँग्रेसलाई भोट हाल्छौंँ। उसले राम्रो गर्दैन। अनि अर्को निर्वाचनमा एमालेलाई भोट हाल्छौँ। उसले पनि चित्तबुझ्दो काम गर्दैन। फेरि, दिक्दार भएर माओवादीले पो गरिहाल्छ कि भनेर बेलाबखत उसको पनि पारख गछौंँ। अनि, आजित भएर यिनीहरू भन्दा त बरु राजसंस्था नै पो ठीक हो कि भनेर त्यता लहसिन थाल्छौँ। परीक्षित बेठीक भइसकेपछि अर्को ठीकको पहिचान गर्नुको साटो पुनः असफल पूर्वपरीक्षितहरूबीच नै गोलचक्कर काट्नु कति युक्तिसंगत होला ? विचारणीय छ। ०००  

गएको स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारको विजयले स्थापित ठानिएका र आआफ््नै बर्चस्वको भ्रान्तिमा रहेका मूलतः ठूला दलहरूको साखमा धक्का लागेको छ। झन् ती विजितले कथम् अपेक्षा गरेअनुसार काम पनि गरे भने त दलहरूको कमजोरी थप उदाङ्गिने ठानेर उनीहरू त्रसित छन्। स्मरण रहोस्, दलगत संयन्त्रको समर्थन र सहयोग छँदा त विगतदेखि नै उपत्यकाको फोहोर व्यवस्थापन राज्य संयन्त्रका लागि टाउको दुखाइको विषय रहँदै आएको छ। त्यसमाथि, बालेन परे संयन्त्रबिनाका स्वतन्त्र मेयर। दुर्भाग्य, सबैलाई प्रत्यक्ष असर पर्ने काठमाण्डूको फोहोर व्यवस्थापनमा उनलाई सघाउनु त कता कता ? उल्टै कतिपय दलका खलपात्रले भाँजो हाल्न आन्दोलनरत जमातलाई उचालेर उनलाई असफल सावित गर्न चालेका घृणित कदमबाट हाम्रो राजनीतिको स्तर कुन हदसम्म गिर्न सक्दोरहेछ भन्ने प्रष्टिएको छ।  

दलहरूको यस्तो निन्दनीय हर्कतका बावजुद जनताको समर्थन पाएका बालेन डटेर आफ्नो लक्ष्य पूरा गर्ने अठोटमा छन्। फलतः फोहोर व्यवस्थापनमा तुलनात्मक सुधार आएको छ। सडक पेटी अतिक्रमण गरेर हुँदै आएका व्यापार व्यवसायलगायत कतिपय अवैधानिक गतिविधि निस्तेज भएका छन्। उता, मूलतः दलहरूकै आडमा रजगज गर्दै आएकाहरूबाट नियम कानुन मिचेर निर्मित अवैध संरचना भत्काउने कार्यले तीव्रता पाएको छ। दलहरूको यस्तो व्यापक संयन्त्र भएको मुलुकमा कथम् यिनै बालेन दलका प्रतिनिधि हुँदा हुन् त यस्तो सफलता सम्भवै थिएन भन्दा पूर्वाग्रही नठहरिनुपर्ने हो। यसबाट मूलतः इमानदार, दूरदर्शी र दलको अनुचित दबाबबाट मुक्तहरूले अवसर पाएमा धेरै कुरा गर्न सक्छन् भन्ने स्पष्ट सन्देश गएको छ। साथै, यस्तै योग्य तथा कर्मठ पात्रहरू आगामी निर्वाचनमा निर्वाचित भइदिए हुन्थ्यो भन्ने जनचाहना उर्लँदो छ। तर, यसको अर्थ आफ्नो हैसियतको यथोचित मूल्याङ्कनबिना स्वतन्त्रको नाममा लौरो चिह्नबाट लडे त जोकोहीले जित्छझैँ गरी उम्मेदवारी दिने रहर गरिएमा अन्य हैसियतवानको अवमूल्यन हुनुका साथै बनेको माहौल निरर्थक हुनेतर्फ सचेत हुन जरुरी छ।

समष्टिमा, नेपाली आमाका एकसेएक असल सपुतहरू आआफ्ना क्षेत्रमा अब्बल छन्। तर, सबै नीतिको मूल राजनीति नै प्रदूषित भइदिनाले उनीहरूको योगदानको यथोचित प्रतिफल देखिन पाएको छैन। त्यसो त, जनतालाई पटक–पटक थाङ्नामा सुताइसकेका दलहरूले विगतमा झैँ निर्वाचनअघि आफ्नो हुति नभए खेताला लगाएर भए पनि राष्ट्रिय अजेन्डासहितको चामत्कारिक घोषणापत्र प्रस्तुत गरेर हामीलाई पुनः भ्रान्तिमा पार्ने दुस्साहस गर्ने नै छन्। तर उनीहरूको ज्यादतीबाट आजित नागरिकले यसपटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरेका छन्। साथै, विगतको तुलनामा यसपटक वातावरण पनि अनुकूल बनेकाले उनीहरू थप पाँच वर्ष खेर फाल्न नहुनेमा कटिबद्ध छन्। हेक्का रहोस् शासनकालभरि उनै दलहरूलाई सत्तोसराप गरेर नथाक्ने। तर, निर्वाचनका बेला को पो सद्दे छ र ? आखिर जित्ने पनि यिनै हुन् भन्दै घुमाइफिराइ पुनः उनै नालायकहरूलाई मतदान गर्न नछाड्र्ने प्रवृत्ति कायम रहेसम्म परिणाम फरक आओस् भन्ने अपेक्षा कसरी गर्न सकिन्छ र ?

अन्त्यमा, “नेपालमा यस्तै हो, यहाँ केही हुनेवाला छैन” भनेर निरासा बोकेर यथास्थितिमा अभ्यस्त हुनु ÷चित्त बुझाउनु भनेको देश र स्वयं आफूमाथि गद्दारी गर्नु हो। इमानदारिता, दृढ इच्छाशक्ति, भिजन, र विज्ञता भएमा एक्ला बालेनले मेयरका रूपमा त यति गर्न सक्दारहेछन् भने कथम्, नेपाली आमाका एकजना असल सपुतले मुलुकको नेतृत्व पाएर कुलमानजस्ताले ऊर्जा मन्त्री, भगवान कोइराला वा सन्द्रुक रुइत जस्ताले स्वास्थ्य मन्त्री, महावीर पुनलाई शिक्षा विज्ञान प्रविधि मन्त्री, अनुराधा कोइरालालाई सामाज कल्याण मन्त्री बनाउन पाउने हो भने यो देशको काँचुली फेर्न धेरै समय लाग्ने छैन। खाँचो छ त सिर्फ उचित पात्रले उचित स्थान पाउनुपर्ने आवश्यकताको। अब प्रश्न उठ्र्छ के दलहरू यसका लागि तयार छनु ? यदि छैनन् भने यो गहन दायित्व साकार पार्न नागरिक (खासगरी युवा) ले इमानदारिताका साथ असल नागरिकको भूमिका खेल्नैपर्नेछ न कि गैरजिम्मेवार दलहरूका प्यादाको।  

प्रकाशित: ४ आश्विन २०७९ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App