१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

बेथितिका अग्ला पहाड

आज नयाँ वर्ष २०७३को दोस्रो दिन। नवीनताको प्रशंसा अझै भैरहेका छन्। शुभकामनाका सन्देशहरू आदानप्रदान चलिरहेका छन्। भित्ताको क्यालेन्डरमा नयाँ पाना देखापरेको छ। धेरैखालका औपचारिकता भएका छन्, नयाँ वर्षका नाममा।नयाँ वर्षको उपलक्ष्यमा मुलुकका कार्यकारी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सन्देश दिए। उनको पट्यालाग्दो भाषणमा धेरै कुरा छन्। ओलीको वाकपटुता प्रशंसनीय मानिन्छ, उनी योग्य मानिन्छन्। बोलैरै सबै कुरा गर्न सकिने र सपनामा बाँच्न निर्देशन दिने प्रधानमन्त्रीको भाषणको विवेचना आवश्यक छैन। केके छ भाषणमा? के छैन? त्यसको लेखाजोखा पनि उपयुक्त नहोला। ओलीले प्रधानमन्त्री भएपछि पटकपटक विशेष अवसर पारेर यस्तैखाले उपदेशहरू दिँदै आएका हुन्।

नयाँ वर्षको अवसरमा नेपालीको नाममा जारी सन्देशमा ओलीको बोलीमा केही नयाँपन अवश्य छ। 'मबाट गल्ती हुँदैन' भन्ने भाषा उनले प्रयोग गरेका छन्। ओलीले वाचन गरेको आफ्नो राजनीतिक जीवनका विस्तृत चर्चा धेरैले सुन्न पाए। आत्मप्रशंसालाई जनताले कति ग्रहण गरेका छन्, त्यसको लेखाजोखा हुँदै गर्ला। आत्मरतिमा रमाउन सक्नु, सपनामा बाँच्नु सायद भाषणमा सम्भव छ। त्यस्तैखाले सम्भवहरूको सारथि हुन खोज्दैछन् ओली।

२०७२ को बिदाइ कसरी भयो त? समाजका विभिन्न पाटामध्ये राजनीतिमा हामीले संविधान पाएका हौँ। ६ महिना भयो संविधान जारी भएको। त्यसको कार्यान्वयमा कहाँ–कसरी भयो? प्रश्नहरू उठिरहेका छन्। सरकारको संरचना आफैमा संविधानको भावनाविपरीत छ। कानुनी भाषामा त्यसको स्पष्टीकरण दिन खोजिन्छ, संक्रमणकालीन व्यवस्थाका नाममा। संविधान कार्यान्वयका कानुनी, राजनीतिक र व्यावहारिक चुनौती आफ्नै ठाउँमा छन्। संविधानमा विरोधमा स्वरहरूको सम्बोधन भएको छैन। प्रधानमन्त्रीले पछिल्लो सन्देशमा वार्ता र सहमतिको भाषा प्रयोग गर्दै सिंहदरवारबाट अहंकार प्रकट गरेका छन्। नयाँ वर्षमा पनि संविधानको नाममा आन्दोलनहरूको उद्घोष भएको छ। यो वर्ष राजनीति कसरी अगाडि बढ्ला। चासोको विषय हो, तर यहाँ चर्चा नगरौँ।

मुलुकको मूल राजनीतिको भन्दा अलिक पृथक नेपाली समाजको पाटो कसरी चलेका छन्? त्यसबारे विस्तृतमा लेख्ने सामग्रीको अभाव छ। छोटो समयको अनुभव र केही सरोकारवाला पात्रसँगको संवादका आधारमा नेपालको शिक्षा प्रणाली र साहित्य दुई विधाबारे आफ्ना अनुभवलाई पाठकसामु पेश गर्ने प्रयत्नमा छु म यसपटक। शिक्षा र साहित्यबारे सतहमा अवलोकन गर्ने अवसर मिलेको थियो यसैसाता। छोटो समयको अवलोकन र अनुभवका आधारमा विश्वविद्यालयको शिक्षापद्धति र साहित्यको फराकिलो फाँटको चर्चा गर्न सायद मिल्दैन। त्यसैले किनाराबाट केलाउने प्रयास गरिएको छ। पाठकले यसलाई यही अर्थमा ग्रहण गर्नु हुनेछ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुर जानैपर्ने एउटा निजी काम पर्योे । साहित्य अनुरागी पत्रकार राजेन्द्र पराजुली आफैले चलाउने अर्को साहित्यिक कार्यक्रम पनि त्यहाँको सेडा हलमा आयोजना हुनेवाला थियो। म र राजेन्द्र सँगै कीर्तिपुर पुग्यौँ। दुई दशकअघि अध्ययन गरेको विश्वविद्यालय आफू पुरानो, जीर्ण हुँदै गए पनि प्रत्येक वर्ष नयाँनयाँ पुस्तालाई आकर्षण गरिरहेको छ। त्यहाँ प्रत्येक वर्ष हजारौँ नौजवान आउँछन्, आफ्नो उद्देश्य पूरा गर्छन् र जान्छन् । कलेजहरू चलिरहेका थिए कि कक्षाहरू बन्द भैसकेका थिए, थाहा हुन सकेन। केही विद्यार्थी देखिन्थे, त्यति ठूलो परिसरको त्रिविमा। ५ हजार ४ सय रोपनी क्षेत्रफलमा फैलिएको विश्वविद्यालयले चार किल्ला घेरबार पनि गर्न सकेको छैन। वर्षौंदेखिका उसका परियोजना कागजमा सीमित छन्, काम हुँदैन। त्यस शिक्षाको मन्दिरलाई हविगतले 'लथालिंग फूलबारी'को अनुभव गरायो। त्रिविका प्रांगणमा देखिएका युवा सायद हुनसक्छ पढाइले गलित र थकित देखिन्थे। बैँस उडिसकेका देखिने युवती र ऊर्जाहीन लाग्ने युवक देखापरे हामीसामु। मैले अध्ययन गरेको भूगर्भशास्त्र विभागमा गयौँ हामी। जीवाशेषहरूबीच घेरिएर बसेका कवि खुमनारायण पौडेलसँग सामान्य भलाकुसारी भयो। यो पंक्तिकारले चिनेजानेका केही अग्रज दाजु र केही समवयी साथी त्यहाँका जिम्मेवार पदमा पुगेका छन्। कतिपय अवसरको खोजीमा छन्। तर, त्रिविका प्राज्ञको भूमिका निर्वाह गरिरहेका उनीहरूमा अध्यापनप्रतिको लगाव, एकाग्रता र अध्ययनशीलताको अभाव खट्किन्छ। कारण, त्यहाँ पनि राजनीतिले तिखो पञ्जा फिँजाएको अनुभव भयो। राजनीतिकरणको चपेटामा परेको विश्वविद्यालयका आगामी दिन कसरी बौद्धिक हुने हो? उत्तरहरू सामुन्ने छैनन्। भागबन्डामा प्राज्ञिक पदहरू बाँड्ने संस्कार बसेको छ। लामो समय अध्यापन गरेको एउटा प्राज्ञ विभागीय प्रमुख, क्याम्पस प्रमुख वा त्योभन्दा माथिल्लो पदमा पुग्न उसले राजनीतिक दलको प्रमाणपत्र लिनुपर्ने प्रावधान बलिया रहेछन्।

कीर्तिपुरमा यो समयलाई नियुक्तिको मौसम मानिँदो रहेछ। को–कुन पदमा आसीन हुने? त्यसको छिनोफानो अनुभव, सेवा, प्राज्ञता वा विश्वविद्यालको जिम्मेवार पदमा हुन आवश्यक योग्यताको त्यहाँ अर्थ रहेनछ। केही प्राज्ञसँगको संक्षेपको भलाकुसारीले त्रिविमा चरम राजनीतिकरण भएको अनुभव भयो। खासमा, विषयगत डिन कार्यालयहरूले आफ्नो मातहतमा संस्थाहरूका विभागीय प्रमुख, क्याम्पस चिफको सिफारिस गर्ने र त्रिवि पदाधिकारीहरूले त्यसलाई औपचारिकता दिने कानुनी व्यवस्था छ। तर, दोस्रो जनआन्दोलनपछि स्थानीय निकायको अभावमा राजनीतिक संयन्त्र बनाएर विकास बजेट नेताहरूले आआफ्नो खल्तीमा हालेजस्तै त्रिविमा पनि संयन्त्र अस्तित्वमा रहेछ। विभिन्न दलसँग आवद्ध प्राध्यापक संघका 'जिम्मेवार' पदाधिकारीहरूको संयन्त्र जो बाहिर अस्तित्वमा छैन। दृश्यमा देखिँदैन त्यस्तो संयन्त्र। तर, खास काम त्यसैले गर्दो रहेछ। कुन पार्टीले कुन विभाग, निकाय वा कलेज लिने–दिने त्यसको भागबन्डा गरेपछि आफूअनुकूलका मानिस टिप्ने परम्परा स्थापित रहेछ। संयन्त्रले पर्दापछाडिबाट दिएका नामहरूमा डिन कार्यालयले औपचारिकता दिँदै अघि बढाउने र पदाधिकारी जहाँ भीसी, रेक्टार र रजिस्ट्रारहरू छन्, उनीहरूले हस्ताक्षर गरेर वैधानिक बनाउने अभ्यासमा हाम्रो विश्वविद्यालय चलेको रहेछ। त्यस्तो अवस्थाबाट गुजि्रएको विश्वविद्यालयको 'एक्सिलेन्स अफ एक्सपर्टिज'का योजनाहरू कता जाने हुन्? अनुमान गर्न कठिन छ।

केही प्राज्ञसँगको संवादपछि सेडा हलमा 'कन्भर्सेसन अन कराडौँ कस्तुरी बाइ अमर न्यौपाने'मा भाग लिने अवसर मिल्यो। कार्यक्रममा 'सेतो धरती'उपन्यासले मदन पुरस्कार पाएर एकाएक साहित्यिक नाम उच्च बनाएका उपन्यासकार अमर न्यौपाने र उनको पछिल्लो कीर्ति 'करोडौँ कस्तुरी'माथिको छलफल थियो त्यो। केही अग्रज साहित्यकर्मी र ठूलो संख्यामा विद्यार्थी सहभागी कार्यक्रममा अमर बहकिए। उनले आफ्नो विद्यार्थी, आफ्नै शिक्षण पेशाको अनुभवका आधारमा उपन्यास लेखिएको 'रचनागर्भ' सुनाए। आफ्नाबारे, आफ्नी आमा र ठूलीआमाबारेमा प्रशस्त बोलेका अमरलाई कार्यक्रमका मोडरेटर राजेन्द्र पराजुलीले र्या'खर्याआख्ती पारेका थिए, कतिपय सन्दर्भमा। कथा बुन्न सिपालु अमरले पराजुलीको प्रश्नमा कराडौँ कस्तुरीबाट सय पृष्ठ घटाए पनि फरक नपर्नेमा सम्मति जनाए। कार्यक्रममा उनले आफू हास्यकलाकार हरिवंश आचार्यबाट प्रभावित भएको र उनलाई नै मुख्य पात्र बनाएर उपन्यास लेखिएको बताए। तर, जब कथाकार मन्जु काँचुलीले उपन्यासमा अन्य पात्र भएको शंका गरिन्, उनको प्रश्नमा अमर बहकिए? उनले भनिदिए, 'त्यहाँ हरिवंशका साथसाथ म, मेरी आमा र मेरी ठूलीआमा पनि छिन्।

अमरको यो स्पष्टीकरणले पत्रकारिता पेशाको यो पंक्तिकारलाई केही खुल्दुली जाग्यो। बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले आयोजना गरेको त्यो कार्यक्रममा हास्य कलाकार 'हरिवंशको चिना हराएको मान्छे' र अमरको आफ्नै सृजना करोडौँ कस्तुरीको रचनागर्भ खोज्दै जाँदा दुवै पुस्तकका लेखक अमर आफै रहेछन् भन्ने जानकारी भयो। पहिले चिना हराएको मान्छे छापियो बजारमा आयो। त्यो आत्मकथा लेखनमा अमरले पूर्णरूपमा सघाएका रहेछन्, साहित्यजगतमा त्यस्तो चर्चा रहेछ। त्यसको केही समयपछि अमरको करोडौँ कस्तुरी उपन्यास बजारमा आएको थियो, जसमा हरिवंश उपन्यासका पात्र बनाइएका छन्। सिलसिलेबार घटनाजस्तै एउटै लय र प्रस्तुतिमा रहेका रचनाबारे आमपाठकले थाहा पाउने कुरा भएन। तर, यस्तो लाग्थ्यो, 'गोस्टराइटिङ' भएको रहेछ। यस्तो अभ्यास कति संगत र कति विसंगत? साहित्य बजारीकरण भएको र प्रकाशनगृहहरूले सिन्डिकेट चलाइरहेको चर्चाहरूबीच त्यस्ता बहस भैरहेका छैनन्। अमरलाई प्रश्न सोधियो? पुस्तकहरूको स्तर उसको गुणस्तरका आधारमा गर्ने कि बिक्रीका आधारमा प्रश्न उठाए मोडरेटर तथा क्रिटिक पराजुलीले? अमर अक्मकिए, उनले दुवैलाई आधार लिनुपर्ने उत्तर दिए नराम्ररी अलमलिँदै। मदन पुरस्कार प्राप्तिपछि अमर एकाएक सेलिबे्रटी भएका छन्। लाग्छ, सेलिबे्रटीहरूले बजारकै बोली बोल्नुपर्छ साहित्यमा पनि, सिन्डिकेटको सहारामा सृजनाहरू बेचिने परिपाटी जो स्थापित भएको छ। लाग्छ, राजनीतिइतरमा शिक्षा र साहित्य पनि थितिमा छैनन्। नयाँ वर्ष थिति बसाल्ने दिशामा एककदम अगाडि बढोस्। शुभकामना!

प्रकाशित: १ वैशाख २०७३ २१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App