१२ आश्विन २०७९ बुधबार
विचार

चिहानबाट शान्ति कि भय ?

म अपराह्नतिर डाइकुन्डी जिल्लाको सदरमुकाम मिरामोर नजिक रहेको चिहान परिसरतर्पm आएको छु। अफगानिस्तानको झण्डै बीचमा रहेको यो उच्च भूभाग साँच्चै अनौठो देखिन्छ। यहाँ काँडा भएको डुकु जस्तो वनस्पति भरल्तै उम्रेका छन्। बढीमा ४ फिट जति अग्लो हुने यो वनस्पतिको बाहिरको बोक्रा छिलेर भित्रको गुदी खाँदा ठ्याक्कै मुलाको डुकु खाएजस्तै लाग्छ। पात पनि अलि–अलि मिल्छ।

म समाधिस्थलमा नै पुगेँ। भेडा/बाख्रा चराउने केटाकेटी थुप्रै छन्। यहाँ चिहान डरलाग्दो मानिँदैन। खुला र प्रशस्त पर्ती जग्गा भएकाले केटाकेटी खेल्ने ठाउँ पनि त्यही बनेको रहेछ। घरहरू मसानघाट वरिपरि नै टाँसिएर बनेका छन्।  

इस्लाम धर्मको कुनै सम्प्रदायअनुसार महिनाको कम्तीमा एकपटक आफ्नो मृतव्यक्तिको चिहानमा पुगी फूल चढाउँदा वा सम्झना गर्दा त्यस व्यक्तिको आत्माले शान्ति पाउँछ। इसाई धर्ममा पनि यो चलन छ। आफूलाई दुःख परेका बेला आफ्ना प्रिय व्यक्तिको चिहानमा गई बसेर गहिरो चिन्तन गर्दा उसबाट प्रेरणा वा शान्ति मिल्ने विश्वास गरिन्छ। हिन्दुधर्ममा यस्तो चलन नभए तापनि वर्षको एकपल्ट एकोदिष्ट श्राद्ध र पितालाई मूलपितृ मानी घर, मावल, ससुरालीतर्फका ३ पुस्ता, गुरु तथा राजालाई सम्झेर पार्वण श्राद्ध (मालय वा सोह्र श्राद्ध) मा पिण्ड, तर्पण दिइन्छ। यसरी श्रद्धा अर्पण गर्ने प्रथा नै श्राद्धकर्म हो। आ–आफ्नो जाति, धर्म, संस्कृतिअनुसार मृत व्यक्तिलाई संझने विभिन्न तरिका हुन सक्छन्।  

अफगानिस्तानको यस चिहान क्षेत्रमा जसको लास जहाँ गाडिएको छ त्यसको जमिनी सतहमा करिब दुई फिट देखिने गरी ढुङ्गाको फलेक ठड्याइएको छ। त्यो फलेकमा मृतव्यक्तिको जन्ममृत्युको मिति र विशेषखालको मान्छे भए त्यसको दर्जा, पदवी तथा सानो परिचय पनि लेखिन्छ। कतिपयमा त नम्बर पनि राखेको देखियो। महिलाको लास भए गाडेर ठड्याइएको ढुङ्गे–फलेकको कुना उत्तर–दक्षिण पारिन्छ र पुरुषको भए पूर्व–पश्चिम।

मसानघाटका विषयमा मैले कतै पढेको प्रसङ्ग यहाँ उद्धृत गरौँ। पथप्रदर्शकले पर्यटकलाई समाधिस्थलको सयर गराउँदै थियो। त्यहाँ एउटा बोर्ड देखियो जसमा लेखिएको थियो– ‘यो उनै व्यक्तिहरूको चिहान हो, जो आफू कहिल्यै मर्दिन भनी ठान्थे।’ बाँचुन्जेल अभिमानले गर्दा आफू कहिल्यै मर्दिन भनी ठान्नेहरूका लागि यो भनाइ ठूलै मुक्का हो। शक्तिशाली व्यक्ति आफ्नो जीवनकालमा आफू कहिल्यै नमर्ने भ्रममा बस्छन्। अब सोचौँ– कति गहिरो छ माथिको सन्देश। मसानघाटका करिब करिब सबैजसो चिहानहरूको कुरो यही हो।  

नेपालको सन्दर्भमा चिहान  

नेपालमा लास, मसान, चिहान, चिता, समाधिस्थल भन्नासाथ एक प्रकारको भय पैदा हुन्छ। यसले भूत, प्रेत, काँचोवायु, तर्साउनेको लक्षण हाम्रो दिमागमा भरिदिन्छ। मृत्यु सबैका लागि निर्दयी त अवश्य हुन्छ नै। तर प्रियजनको मृत्युपछिको अवस्थालाई आफ्नो संवेदनाले कसरी लिने भन्नेकुरा महत्वपूर्ण छ।  

नेपालको समाजमा पुरानो मान्यताअनुसार महिलालाई मलामी जाने अनुमति छैन। लास बोक्न अल्लि बलियो पनि हुनुपर्ने, कृयाकर्म गर्ने जिम्मेवारी छोराको मानिएको, शुभकर्म वा पितृकार्यका बेला महिला रजस्वला वा सुत्केरी हुनसक्ने र महिलाको व्रतबन्ध गरिने परम्परा पनि नभएका आदि कारणले होला कतिपय संस्कारजन्य वा धार्मिक कामहरूमा महिलालाई प्रयोग नगरिएको।

परम्परागत कार्य विभाजनले महिलालाई भित्री र पुरुषलाई बाहिरी कामको जिम्मा दिएको जस्तो बुझिन्छ। को कहाँसम्म पुग्न सक्छ भर्तृहरि (वैराग्य शतक) को निम्न श्लोकबाट बुझ्न सकिन्छः  

धनानि भूमौ पशवश्च गोष्ठे, नारी गृहेद्वार जनाः श्मसाने।  

देहः चितायां परलोक मार्गे, धर्मानुरोगच्छति जीव एकः।।  

अर्थात ‘धन भूमिमा नै रहन्छ, पशुहरू गोठमा नै बस्छन्। पत्नी घरको ढोका (परिसर) मा नै हुन्छिन्। बन्धुबान्धव मसानघाटसम्म पुग्छन्। शरीर चितामा जान्छ। अन्त्यमा, धर्मप्रति अनुराग राख्नेहरू स्वर्ग प्रस्थान गर्दछन्।’ आखिर व्यक्तिको अन्तिम गन्तव्य चिहानबाट नै उसको कतैको महाप्रस्थान सुरु हुने विश्वास गरिँदोरहेछ। यस यात्रामा ऊ एक्लै जान्छ।  

अहिले पुरुष मात्रै अन्त्यर्कममा संलग्न हुन्छ भन्ने भनाइमा पुनर्विचार गर्नुपर्ने मान्यता राखिएको देखिन्छ। धेरैजसो पुरुषहरू वैदेशिक रोजगारमा जाने हुँदा घरको दैनिक कामका अतिरिक्त हलगोरु चलाउने र दाहसंस्कारको कामसमेत महिलाले नै गर्नुपर्ने वाध्यता छ। कानुनअनुसार छोरीले पनि अंश पाउने र छोरा नहुनेका अंशको हकदार पनि छोरी नै हुने भएपछि मसानघाट पुग्ने र आफ्ना बाबुआमाको कृयाकर्म पनि छोरीले नै गर्ने प्रचलन बढेको छ।  

यसका अतिरिक्त महिलाले पनि संस्कृत, व्याकरण, वेद, पुराण, कर्मकाण्ड आदिको औपचारिक अध्ययन गरी उच्चस्तीय ज्ञान हासिल गरी व्यासासनमा बसेका पनि छन्। यसरी संस्कारगत कर्म, पितृ तथा देवकार्य सबैमा उनीहरूको पहुँच बढेको छ। परिस्थिति र आवश्यकताले यसलाई स्वीकार गर्दै ल्याएको छ। यस अर्थमा बाबुआमा वा स्वजनको मृत्युमा छोरा वा छोरी दुवैको उत्तिकै दायित्व रहेको अनुभूत गर्न सकिन्छ।  

आफ्नो खाल्टो आफैँ खन्ने  

सुनिन्छ– युरोप, अमेरिकामा आफू मर्नुभन्दा पहिले आफ्नो चिहान आफैँले किन्नुपर्छ। गरिब र असमर्थले आफ्नो र आफ्नाको चिहान बनाउन सक्तैन। जो किन्न सक्तैन ऊ ‘मैले आफ्नो जीवनकालमा चिहान पनि किन्न सकिनँ’ भनेर धुरु धुरु रुन्छ रे। यता हिन्दुको गरुड पुराणमा पनि भनिएको छ– ‘स्वस्थावस्था शरीरेषु वैतरण्यां समाचरेत् (अ.८, श्लो. ८५)’ अर्थात् आफू स्वस्थ भएको अवस्थामा नै वैतरणी विषयक कार्य सम्पन्न गरोस्।  

हिन्दु परम्परामा सामान्यतः लासलाई अग्निदहन गरिने हुनाले छुट्टै चिहान किनिराख्नु परेन। तर नेपालका कतिपय जनजाति वा मङ्गोल समुदायमा मृत्युपूर्व आफ्नो चिहान बनाउने गरेको बुझिन्छ। आफूले गर्न मिल्ने अन्त्यसंस्कारजन्य काम आफ्नो जीवन–कालमा आफैँले नै गर्दा कसैलाई भारा नलाग्ने विश्वास गरिन्छ। यसैले खासगरी चौरासी पूजा गर्दाका बखत नै प्रायः दशदान तथा वैतरणी गर्ने चलन पनि छ। यस विन्दुमा आएर पूर्वीय शास्त्र र पश्चिमाको सोच वा प्रचलन मेल खाएको देखिन्छ।  

सत्य एउटा, विश्वास दुइटा  

मलाई अफगानिस्तानमा रहेको यस चिहान परिसरको अवलोकनपछि तर्साउने, भूतप्रेत, भय, काँचोवायु, डाइनेबोक्सी आदिको विषय केवल मान्छेको मनभित्रको कुरा रहेछ कि जस्तो लाग्छ। उही वस्तु र अवस्थाले कतै कसैलाई भयभीत पार्ने र कतै त्यही नै सुखमय र शान्तिको विषय हुने, आखिर सत्य के हो त ? नेपालको वातावरण र अफगानिस्तानको वातावरणमा एउटै कुरा तथा घटनामा पनि किन फरक परिणाम निस्कने हुन्छ ? सायद आआफ्नो धर्म, संस्कृति, भूगोल र शासन व्यवस्थाको प्रभाव हुनसक्छ।  

लाग्छ– मरेकासँग केको डर, डर त ज्युँदासँग पो हुनुपर्ने हो, जो खुलेआम काटमार गर्दै हिँड्छ। एउटै सत्यमाथि दुई विपरीत धारणाहरू– विश्वास गरौँ कसरी, नगरौँ कसरी?(लेखक केही वर्षअघि राष्ट्रसङ्घीय मिसनअन्तर्गत काम गरी फर्केका हुन्।)

प्रकाशित: ३० भाद्र २०७९ ०६:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App