१२ आश्विन २०७९ बुधबार
विचार

सामाजिक नेटवर्कको अन्त्य

आजकल विश्वका अर्बाैँ मानिस आफ्ना मोबाइल फोनमा टाँस्सिने गर्दछन्। उनीहरूले उपभोग गर्ने सूचना यसअघिको भन्दा नाटकीयरूपमा परिवर्तन भएको छ र यो सही दिशातर्फ उन्मुख देखिँदैन। अनुसन्धानकर्ताले गरेको एक अध्ययनमा फेसबुकमा पोस्ट गरिने सही समाचार भन्दा गलत समाचारको प्रवाह तीव्र हुने देखिएको छ।

 प्रयोगकर्ताले गलत सूचना नचाहे पनि सनसनी खोज, गलत र भ्रामक सूचनासहितका सामग्रीमा मानिसको रुचि रहेको सामाजिक सञ्जालको ‘एल्गोरिदम्स’ ले देखाएपछि त्यस प्रकारका सामग्रीको प्रवाह बढ्ने गर्दछ र यसले विज्ञापनमार्फत हुने आम्दानी र प्रयोगकर्ताको सहभागिता (इनगेजमेन्ट) लाई बढाउँछ।  

सन् २०११ मा इन्टरनेट एक्टिभिस्ट इली पारिसरले प्रयोगकर्ताको रुचि, रुझान र पक्षधरताको आधारमा फेसबुकले ‘फिल्टर बबल्स’ सिर्जन गर्ने बताएका थिए। पछिल्ला अध्ययनहरूले पनि यो प्रक्रियाले मानिसले कस्ता सूचना हेर्न चाहन्छन् भन्ने आधारमा फेसबुकमा सामग्रीहरूको प्रवाह हुने देखाएका छन् ।

त्यसो त, फेसबुकको ‘एल्गोरिदस्म’ को चाहनाबाहेक पनि सोसियल मेडियाका अन्य इकोसिस्टमले पनि प्रयोगकर्ताले आफ्ना रुचिअनुसारको समूह खोज्न पाउने सुविधा दिएका छन्। यो आफँैमा त्यति नकारात्मक विषय पनि होइन। उदाहरणका लागि चरा अवलोकनमा तपाईँको रुचि छ भने विश्वका चराप्रेमीसँग तपाईँ सामाजिक सन्जालमार्फत तत्काल जोडिन सक्नुहुन्छ। तर यही सुविधा अतिवादमा विश्वास गर्ने एक व्यक्तिले पनि पाउँदा उसले घृणात्मक भाषण र षडयन्त्रका सिद्धान्तहरूलाई प्रवाह गर्ने मौका पाइरहेको छ।  

आजकल घृणात्मक भाषण (हेट स्पिच), गलत सूचना तथा प्रोपागान्डाहरू सामाजिक सञ्जालमा मुख्यरूपमा प्रवाह भैरहेको तथ्यलाई कसैले अस्वीकार गर्दैन। दक्षिणपन्थी अतिवादीहरूले सामाजिक सञ्जाल युट्युब प्रयोग गरेका छन्। उता सन् २०२१ को जनवरी ६ मा अमेरिकाको क्यापिटल हिलमा भएको हिंसात्मक प्रदर्शनका लागि ‘ओथ किपर्स’ समूहले फेसबुकको व्यापक प्रयोग गरेका थिए। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको इस्लाम विरोधी ट्विटहरूले अमेरिकाका अल्पसंख्यकविरुद्धको हिंसा भड्काउन सहयोग गरेका थिए। यस्ता गतिविधि र प्रतिक्रिया भय उत्पन्न गराउनेखालका रहेका कतिपय आलोचक मान्छन्।

अन्य ससाना सामाजिक सञ्जालको तुलनामा फेसबुक र युटुबले यसप्रकार सामग्रीलाई नियन्त्रण र नियमन गर्न चासो दिन थालेका पनि छन्। यो सकारात्मक छ।  त्यसो त, कतिपय अनुसन्धानकर्ताले अन्य मिडियाको तुलनामा फेसबुक र ट्विटरमा गलत सामग्रीको प्रवाह तीव्र हुने भनाइ र अनुसन्धानका नतिजालाई चुनौती दिएका छन्। अझ कतिपय सोसियल मिडियाको विद्यमान वातावरण कपटपूर्ण रहे पनि यो अल्पकालीन रहेको ठान्छन्।

हुन पनि नवीनतम सञ्चार साधनहरूको दुरूपयोग भएको इतिहास हामीसँग छ। कुनैबेला मार्टिन लुथरले छापा माध्यमले प्रोटेस्टैन्ट धर्म र सेमेटिज्मविरुद्ध भूमिका खेल्ने बताएका थिए। यसैगरी रेडियोको दुरूपयोग गर्नेमा जर्मनीका नाजी तथा अमेरिकाका फादर चाल्र्स कुगलिन अगाडि आउँछन्। प्रिन्ट र ब्रोडकास्ट मिडियामा अझै पनि गलत सूचना अत्यधिक हुने गर्दछन् तर यसप्रकारका नकारात्मक सामग्रीलाई पचाउन र यसका नकारात्मक प्रभावलाई थेग्न समाज सफल बन्दै गएको छ।  

यो तर्कले सुदृढ नियमनकारी व्यवस्था र प्रविधिको प्रयोगले सामाजिक सञ्जालले निम्त्याउने चुनौतीलाई सम्बोधन गर्न सकिन्छ भन्ने देखिन्छ। उदाहरणका लागि सामाजिक सञ्जालका प्लेटफर्मले यसप्रकारका सामग्रीलाई प्रोत्साहन नगर्ने र समाचारको स्रोतको आधिकारिकतालाई पुष्टि गर्ने नीति अख्तियार गर्न सक्छन्। तर अबलम्वन गरिने यस्ता व्यवस्था पनि समस्याका गहिराइसम्म पुग्न नसक्ने हुन सक्छन् किनभने सोसियल मेडियाले इको–च्याम्बर मात्र सिर्जना गरेका छैनन्, उनीहरूले गलत–तथ्य र अतिवादी विचारको प्रवाहलाई सहजीकरण गरिरहेका छन्। यी माध्यमले वास्तविक भन्दा नक्कली सामाजिक नेटवर्क स्थापना गरेर मानव सञ्चार र सामाजिक सद्भावको आधारस्तम्भलाई हल्लाएका छन्।  

अन्य जीवजन्तुको तुलनामा समुदायसँग सिक्ने र अवलोकनमार्फत हुने सिकाइमा मानिस अगाडि छ। एकापसमा छलफल गरेर, शिक्षा हासिल गरेर तथा अन्य प्रहसन (परफरमेन्स) मार्फत हाम्रा विचार तथा धारणा निर्धारित हुने गर्दछन् र यसका लागि विश्वसनीय स्रोतको भूमिका अहं हुन्छ। यसअघिका सञ्चार माध्यमले यसलाई महत्व दिएका पनि छन् तर सोसियल मिडियाको सवालमा यसो हुन सकेको छैन। हामीले हाम्रा सामाजिक नेटवर्क मानेकालाई फेसबुक, ट्विटर र रिडिटले खेलवाड गरे भने यसको नतिजा के होला ? कटुसत्य के हो भने यसले निम्ताउने परिणामका बारेमा कसैलाई थाहा छैन र यो चिन्ताको विषय हो। अन्ततः यसप्रकारका समस्यासँग जुध्न र अनुकूलन हुन हामी सकौँला तर सामाजिक सञ्जालको उद्योग जुन हिसाबले र जुन दिशामा अगाडि बढेको छ, यो चिन्ताको विषय बनेको छ।  

सांस्कृतिक आलोचक निल पोस्टम्यानले ४ दशकअघि लेखेको पुस्तक ‘एम्युजिङ आओरसेल्फ्स टु डेथ’ नामक पुस्तकमा भनेको कुरा सामाजिक सञ्जालले अहिले निम्त्याएको सबैभन्दा खतरनाक प्रभावसँग मिल्छ। उनले भनेका थिए– अमेरिकनहरू एकापसमा वार्ता गर्दैनन्, उनीहरू एकअर्कालाई मनोरञ्जन मात्र दिन्छन्। उनीहरू विचारधारा विनिमय गर्दैनन्, इमेज (छवि) विनिमय गर्छन्। उनीहरूका कथन राम्रा अनुहार, सेलिबे्रटी र कमर्सियलका आधारमा हुन्छन् ।

जर्ज ओर्वेलको ‘१९८४’ र एल्डस हकस्लेको ‘व्रेभ न्यु वल्र्ड’ नामक कितावको तुलना गर्दै लेखक पोस्टम्यान थप्छन्– ‘ओर्वेलले कितावहरूलाई प्रतिवन्ध लगाउन सकिने ठान्थे भने हकस्ले भने कोही पनि किताव पढ्न इच्छुक नहुँदा त्यसको आवश्यकता नपर्ने ठान्थे। ओर्वेल सूचना प्रवाहमा कन्जुस्याइँ हुनेमा शंकित थिए भने हकस्लेको सूचनाहरूको बाढी नै आउने हुँदा हामी अन्ततः त्यसको प्रयोग गर्न अनिच्छुक बन्ने तर्क थियो। एकातिर ओर्वेल सत्यलाई लुकाइनेमा शंकित थिए भने हकस्ले असान्दर्भिक सूचनाको समुन्द्रमा सत्य डुब्ने ठान्थे।  

लेखक पोस्टम्यान हक्सलेको चिन्तासँग बढी नजिक देखिन्छन्। सामाजिक सञ्जालले यस्ताखाले दुवैथरी चिन्तालाई बढाएको छ। सम्बन्धित सरकारले यसप्रकारका समस्या समाधान गर्ने उपाय अवलम्बन गर्ने आशा त गर्न सकिन्छ तर कटु सत्य के हो भने हाम्रा ‘भर्चुयल’ साथीहरूले हाम्रा धारणालाई आकार दिन ठूलो भूमिका खेलेका छन्। सोसियल मिडियाका सञ्जालले नैतिकता र सदाचारको पथबाट दिग्भ्रमित गर्ने हुँदा हामी सजग हुनै पर्छ।  

बीसौँ शताब्दीको दार्शनिक हान्न अरेन्टले भनेका थिए– यदि कसैले तपाईँलाई सधैँ ढाँट्ने गर्छ भने त्यसको नतिजामा त्यसलाई तपाईँ विश्वास त गर्नुहुन्न नै तर यसले मानिसमा विश्वास हराउँछ।  

(लेखक अमेरिकाका मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अर्थशास्त्रका प्राध्यापक हुन्। प्राजेक्ट सिन्डिकेटबाट ।) 

प्रकाशित: २९ भाद्र २०७९ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App