१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

माया बैगुनी नभई नहुनी

नेपाल र भारत दुवैले एक–अर्कालाई निरन्तर गुन लगाएका छन्। तैपनि दुवैले एक–अर्काप्रति बैगुनी स्वभाव देखाउनुले यदाकदा समस्या बल्भि्कने गर्छ। स्वतन्त्रतापछि भारतले गोर्खा सेनाको सहभागिताविना कुनै पनि युद्ध नलडेको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भन्दै आएका छन्। भारतलाई विपत् पर्दा नेपालले र नेपाललाई विपत् पर्दा भारतले सघाएका घटना छन्।महाभूकम्पपछिको उद्धार र तत्कालको राहतमा भारतको सरकार स्तरमा नभई जनता स्तरबाट पनि उल्लेख्य सहयोग भयो। जवाहरलाल नेहरू विश्वविद्यालयबाट मात्र भूकम्पपीडितका लागि चार लाख रुपियाँ उठ्यो। भारतको जनस्तरबाट उठेको करोडौं रकम मात्र पैसा नभएर एक अर्काप्रतिको स्नेहभाव र सहयोगभावको उदाहरण हो। भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरूको योगदान इतिहासमा अंकित छ। त्यहाँको सामाजिक र आर्थिक क्षेत्रमा नेपालीले योगदान दिइरहेछन्। जोखिमयुक्त कामहरूमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन्। भारतीय नेताहरूले विश्वास गरेर नेपालीलाई घरदेखि कार्यालयसम्म महत्वपूर्ण जिम्मेवारीका साथ राखेका छन्। मोदीका धर्मपुत्र नेपाली अनि भाजपा अध्यक्ष अमित शाहका विशेष सहयोगी नेपाली। भारतका अधिकांश नेताहरूको घरमा पुग्दा गेटदेखि भान्छासम्म नेपाली भेटिन्छन्। बफादार, मेहनती र विश्वासिलो पहिचान बनाएका नेपालीले भारतलाई हानि नोक्सानी पुर्यामउने काम कहिल्यै गरेका छैनन्।

नेपालबाट बगेर जाने नदीहरूबाट भारतका विशाल खेतीयोग्य जमिन सिँचित हुन्छन्। पानी द्वन्द्वको मुख्य कारक बन्ने सम्भावना बढ्दै गएको वर्तमान विश्वमा भारतले नेपालबाट बग्ने पानीमा सहज पहुँच बनाउनु उसका लागि अति लाभदायक पक्ष हो। नेपाल भारतीय उत्पादनको सुरक्षित, लाभयुक्त र सहज बजार हो। भारतले नेपालको जल र जडीबुटीबाट फाइदा लिने क्रम बढिरहेछ। अर्कोतर्फ भारतको सुरक्षा चासोलाई नेपाली पक्षले सधै सम्बोधन गर्दै आएको छ। नेपाली भूमि भारतविरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धतालाई व्यवहारमा उतारेको छ। भारतले आतंकवादी घोषित गरेकाहरू नेपालमा लुकिछिपी बस्न खोज्दा पक्राऊ गर्न सघाएको छ। आतंकवादी घोषित यासिन भट्कल, अब्दुल करिम टुण्डा, नीरञ्जन होजाईका अलावा युसुफ मेमनलाई नेपाली भूमिमा पक्राउ गरी अघोषितरूपमा सुपुर्दुगी गरिएको थियो। भारतमा अपराध गरेर नेपालमा लुक्न खोज्ने बब्लु दुवेलाई पक्राउ गरी सुपुर्दुगी गरियो। भारतको सुरक्षा चुनौतीमा आँच आउन नदिनेतर्फ नेपाली पक्ष सधँै सचेत र सतर्क हुने गरेको इतिहास साक्षी छ।

नेपालले भारतबाट पनि उत्तिकै लाभ लिइआएको छ। लाखौंका संख्यामा नेपालीहरू भारतमा रोजगार पाइरहेछन्। उनीहरूले रेमिट्यान्समा पुर्यााउने योगदानको तथ्यांक प्रष्ट नभए पनि वार्षिक अरबौं हुनसक्छ। नेपालीले भारतको श्रम बजारमा सहज पहुँचका साथ अवसर पाइरहेछन्। नेपालका दक्ष युवाहरू भारतीय सरकारी र निजी सेवाहरूमा आकर्षक तलब सुविधा पाइरहेछन्। विश्वस्तरको भारतीय शिक्षा प्रणालीको लाभ नेपाली विद्यार्थीले लिइरहेछन्। छात्रवृत्तिमा अध्ययन गरेर नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रभावशाली सहभागिता जनाउनेहरूको उल्लेख्य संख्या छ। भारतको स्वतन्त्रता आन्दोलनका अलावा लोकतन्त्रबाट नेपालीले सिक्न र आफ्नो देशमा परिवर्तनको लहर ल्याउने हौसला पाएका छन्। भारतले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका क्षेत्रमा विशेष सहयोग पुर्या उँदै आएको छ। पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा भारतीय सहयोगमा बनेका दर्जनौं पुल पार गर्नुपर्छ। प्रधान मन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दौरान भएको दश बुँदे सम्झौता भारतका लागि चुनौती बन्न सक्नेबारे २२ मार्चको प्रेस ब्रिफिङका दौरान सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले संसारमा कुनै अन्य देशबीच नभएको विशेष र पृथक सम्बन्ध नेपालसँग भारतको रहेको तर्क गर्दै कूटनीतिक भाषामा घटनाक्रमप्रति सतर्कता जनाए। दुई देशबीचको सम्बन्धमा आएको चीसोपनले नेपाली पक्षको नजर उत्तरलगायत अन्य शक्तिराष्ट्रसम्म पुग्ने अवस्था बन्दै गयो। विश्वमै नभएको पारस्परिक सम्बन्ध रहेको नेपाल र भारतबीचको सम्बन्धमा आएको चुनौती केलाएर द्विपक्षीय हितका लागि तत्काल व्यावहारिक कदम चाल्नुपर्छ।

नेपालले भारतको हितमा र भारतले नेपालको हितमा लाभ हुने गरी भूमिका निर्वाह गर्दासमेत दुई देशबीच किन मन धमिलियो? बैगुनी शैली किन देखापर्योा? किन आपसी अविश्वास बढ्यो? दुई देशबीचको सम्बन्ध आउँदा दिनमा कसरी बढ्छ? यस्ता प्रश्नको उत्तर खोज्न वर्तमानका घटनाक्रम मात्र पर्याप्त छैन। विगतलाई केलाएर सामुन्ने देखापरेको भविष्यको जटिलतालाई मनन गर्नुपर्छ। भारततर्फबाट यदाकदा नेपाललाई 'उपनिवेश' जस्तै ठान्ने प्रवृत्ति र भारतको विरोध गर्नुलाई 'राष्ट्रवाद' ठान्ने प्रवृत्ति दुवै घातक छन्। दुई देशबीचको सम्बन्ध सम्झौताको भन्दा पनि सम्भावना र सहमतिको हुनसकेमात्र विश्वमा कुनै पनि देशबीच नभएको नेपाल–भारत पृथक सम्बन्ध सार्थक बन्न सक्छ। विकास स्वरूपले नेपाल र भारतबीचको सम्बन्ध विश्वमा कहीँ नभएको जस्तो पृथक भनी व्याख्या गरे। तर संसारमा कुनै देशबीच नभएको विशेष सम्बन्धबाट दुवै देशले जति लाभ लिनुपर्ने हो लिए कि लिएनन् मननीय पक्ष हो। भारतले जहिले पनि दिएको ठान्ने र नेपालले जहिले पनि भारतले हेपेको ठान्ने अवस्था विद्यमान छ। भारतले नेपालबाट मात्र नभई नेपालबाट पनि भारतले लिएको छ। नेपाल उसको उत्पादनको सुरक्षित बजार मात्र नभई पानीलगायत प्राकृतिक स्रोतको भण्डारसमेत हो।

नेपालको राजनीतिक परिवर्तनहरूमा भारतीय भूमिका लुकेको छैन। राणाशासनको अन्त्य, पञ्चायती शासनको अन्त्य, बृहत् शान्ति सम्झौता हुँदै राजसंस्था अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनामा भारतको भूमिका रह्यो। २०१७ सालमा राजा महेन्द्रको कुदेखि माओवादीको सशस्त्र गतिविधिमा भारतको शंकास्पद भूमिकाबारे चर्चा हुने गर्छ। नेपालमा हुने सकारात्मक र नकारात्मक परिवर्तनहरूमा भारत फेक्टर सवाल बन्छ। नेपाल मामलामा भारतीय नेताहरूको भूमिका सतहमै देखिने गरेको छ। कतिपयले भारतबाहेकको शक्तिले नेपालमा प्रभाव बढाउन खोज्दा खुलेरै आलोचना गर्छन्। विशेषगरी उत्तरी छिमेकी चीनसँगको सतर्कता प्रकट गर्छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टीको चासो पश्चिमाहरूले धर्म परिवर्तन गरी हिन्दु धर्मलाई संकटमा पार्न खोजे भन्नेसमेत देखिन्छ। नेपालमाथि विशेष चासोसँगै भारतीयहरूमा अनेक शंका र त्राससमेत छ। दक्षिण एसियाका अन्य देशमा आफूबाहेकको शक्ति हावी हुँदै जाँदा भारतीय पक्षमा सतर्कता बढेको हुनुपर्छ। उदाहरणका लागि नेपालको चीनसँगको पारवहन सम्झौताले दिल्लीमा हल्लीखल्ली भयो। नेपाल भारतको 'सुरक्षा छाता' मुनि रहनुपर्छ भन्ने परम्परागत मान्यतामा जोड दिने विज्ञहरूको कमी छैन भारतमा। यस कारण नेपालमा भारतको 'माइक्रोम्यानेजमेन्ट' बेलाबेलामा छताछुल्ला हुन्छ। मौन कूटनीति अपनाउने चिनियाँभन्दा भारतीयहरू बढी हल्ला मच्चाउने र भाषिक समानता र सहजताले पनि यस्तो अवस्था देखिएको हुनसक्छ। यसमा भारतीय पक्षको कमजोरी उत्तिकै छ।

यदि भारतले दक्षिण एसियामा प्रभाव गुमाउँदै जाने अवस्था बनेको हो भने सबैभन्दा ठूलो कमजोरी भारत आफैँको हो। आन्तरिक मामलामा खुलेआम र बढी हात हाल्ने भारतीय शैली प्रत्युत्पादक भएको छ। नेपाल मामलामा भारतीय पक्षले यही गल्ती गर्यो । यसलाई भारतीय नेताहरूले मनन गर्दै गएको पछिल्ला अभिव्यक्तिहरूबाट बुझ्न सकिन्छ। दुई देशबीच चिसिएको सम्बन्ध सुधार गर्ने हेतु दुई पक्षका विज्ञदेखि जिम्मेवार निकायका अधिकारीबीच व्यापक छलफल गराएर दिल मा‰ने अभियान चलाउने पहल थालिएको छ। अघोषित नाकाबन्दीपछि नेपालमा बढ्दो भारत विरोधी सोच हटाउन र गतिविधिलाई रोक्न भारत गम्भीर देखिएको छ भन्ने राजदूत रञ्जीत रेको त्यस दिशातर्फको सक्रियताबाट प्रष्ट हुन्छ। दिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्याय पनि नेपालको यथार्थबारे भारतीय पक्षलाई बुझाउन र सम्बन्धमा पूर्व अवस्थामा ल्याएर सुदृढ बनाउनेतर्फ सक्रिय छन्। भत्काउन सजिलो छ बनाउन निकै गार्हो । दुवै देशका अधिकारीले त्यो महसुस गरे होलान्। नेपालको आन्तरिक समस्या समाधानमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा समस्या गिजोल्न खोज्दा नेपालले क्षति बेहोर्नुपर्यो , भारतलाई समेत घाटा पुग्यो।

नेपाल–भारत सम्बन्ध चिसिएको हो, सकिएको होइन। हिउँका ढिक्का फुटेका छन्। विस्तारै सम्बन्ध पूर्ववत् अवस्थामा आउनेतर्फ बढ्दैछ। नेतृत्वले यसतर्फ गम्भीरता देखाउनुपर्छ। भू–राजनीतिक यथार्थ मनन गरेर भारतसँगको सम्बन्धको अनिवार्यतालाई ध्यान दिएर बढ्नै पर्छ। चीनसँगको भौगोलिक असहजता र सांस्कृतिक दूरी कटु यथार्थ हो। इतिहासमा अरनिको र भृकुटीको प्रसंग आउने गर्छ। चिनियाँ यात्रीहरूले पनि नेपाल आएर यात्रावर्णन लेखेका छन्। तैपनि, नेपालको भारतसँगको सम्बन्धमा रक्त सम्बन्धदेखि भावनात्मक सम्बन्धसमेत छ। यस्तो सम्बन्धको सदुपयोग दुवै पक्षबाट हुन जरूरी छ। भूगोलको सहजताले भारतसँगको निकटतालाई नेपालले समृद्धि हासिल गर्ने महत्वाकांक्षालाई सार्थक बनाउन सक्छ। भारतसँगको आर्थिक, सामाजिक र राजनीतिक निकटतालाई नेपालले भुलेर पनि अगाडि बढ्न सक्ने अवस्था छैन। सत्य तीतो हुन्छ। सत्यको सामना गर्दा उत्तिकै अप्ठ्यारा आउँछ। तर सत्य अटल रहन्छ। भारतसँगको नेपालको सम्बन्धको निकटता, सहजता र बाध्यताका पक्ष मनन गर्न जरूरी छ। विगतबाट पाठ सिकेर भविष्यको सम्बन्ध सुमधुर बनाउने नियतका साथ दुवैतर्फका जिम्मेवार पक्षहरूले आ–आफ्नो स्थानबाट योगदान पुर्यावउन जरूरी छ। अहिले नेपाल र भारतबीचको सम्बन्ध उदितनारायण झाले गाएको गीत 'माया बैगुनी नभई नहुनी' जस्तै भएको छ। अब यो सम्बन्धलाई 'माया गुनी दुवैलाई चाहिनी' बनाउनुपर्छ।

प्रकाशित: २२ चैत्र २०७२ २०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %