coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

बालेनका बयानहरू

फाइल तस्बिर

उनकी हाजिरजवाबी का भी कोई जवाब नहीं, मेरे सवालों को मुझ पर ही थोप गए (उसको हाजिरजवाफको कुनै उत्तर छैन। मेरो प्रश्न मैमाथि थोपर्छ।)

राजनीतिमा आउनुअगाडि र्‍याप संगीतको ‘स्टोरी टेलिङ’ (कथा भन्ने शैली) मा निकै अब्बल रहेका बालेन अर्थात बालेन्द्र साह महानगरको मेयर भएपछि झनै ‘हाजिरजवाफी’ भएका छन्। चाहे त्यो अदालतले अवहेलनाको विषयमा उठाएको प्रश्न होस् या विद्युत् प्राधिकरणले तिर्नुपर्ने करको विषयमा दिएको उत्तर, सबैमा साहको होसियारी झल्कन्छ।  

कार्यक्षेत्रमा दत्तचित्त भएर काम गर्ने अनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिने उनको शैली धेरैले मन पराएका छन्। पछिल्लोपटक बुधबार उनले अदालतको अवहेलना मुद्दाको विषयमा पनि सामाजिक सञ्जालमा सरल ढंगमा राखे।  

‘अदालतको अवहेलना मुद्दाको सम्बन्धमा सम्मानित सर्वाेच्च अदालतको आदेशबमोजिम मैले मंगलबार भदौ २१ गते लिखित जवाफ पेस गरिसकेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्– हाम्रो जस्तो लोकतान्त्रिक मूल्य पद्धति अपनाएको खुला समाजमा न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) विपरित नहुने गरी आलोचनात्मक विचार अभिव्यक्त गर्न पाइन्छ भन्ने कुरामा विश्वास गर्दछु।  

बहुआयामिक सन्तुलनमा आधारित मेरो विचार अभिव्यक्तिको स्वतन्त्रतालाई संकुचित गरिन्छ भने त्यसबाट प्रकारान्तरले महानगरबासी तथा आमनागरिकको मौलिक अधिकारसमेत कुण्ठित हुन जान्छ। यस कुरालाई विपक्षी निवेदकले नजरअन्दाज गरेकाले त्यो औचित्यहीन दाबी खारेजयोग्य रहेको हुँदा पूर्णरूपमा खारेज गरिपाउँ भनी सादर अनुरोध गर्दछु।

भेरिफाइड फेसबुक पेजमार्फत बालेनले ‘नक्सा पास नगरी बनाइएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ’ भनी गरेको टिप्पणी ....अशोभनीय मात्र होइन, सम्मानित अदालतको अवहेलनासमेत हुने गरी गरिएको भद्दा टिप्पणी भन्दै उनीमाथि उजुरी परेको थियो।  

उनको यो जवाफ दिने शैलीको धेरै फ्यान भएका छन्। ‘यतिको स्पष्टोक्ति शायद मै हुँ भन्नेलाई काफी हुन्छ, श्रीधर सामाजिक सञ्जालमा लेख्छन्– आमनागरिकको हक हितका लागि खट्ने र न्यायालयको सर्वसम्मान गरी काम गरेको देख्दा काठमाडौँ महानगरपालिकाले समयसापेक्ष सुहाउँदो मान्छेलाई पदीय जिम्मेवारी दिएर कुनै किसिमको गल्ती गरेको छैन...!  

त्यस्तै उनले काठमाडौँ महानगरपालिकाले विद्युत् प्राधिकरणको बत्तीको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा पनि जवाफ दिएका छन्। महानगरपालिकाले करको कुरा उठाएपछि विद्युत् प्राधिकरणले महानगरले तिर्नुपर्ने बिजुलीको बिलको प्रश्न उठाएको थियो।  

‘नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तीको रकम भनिएको छ,’ साहले सामाजिक सञ्जालमा लेखेका छन्– कुन सडकमा कुन मिटरमा कहिलेदेखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौँ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चार माध्यममा सो विषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो।  

साहले महानगर क्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के÷कति रकम प्राप्त गर्दछ ? यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ÷रहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नुपर्दछ, सो विषयमा समेत प्रश्न उठाए।  

‘योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरू हुन्। हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन’, उनी थप्छन्– नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउँछौँ।

यो विषयमा पनि पाठकहरूले विभिन्न प्रतिक्रिया राखेका छन्। ‘एकअर्कालाई आरोप÷प्रत्यारोप लगाउनु भन्दा पनि नियमअनुसार महसुल र कर दुवैले तिर्नुपर्छ। सामाजिक सञ्जालमा सुवास ढुंगाना लेख्छन्– दुवै राज्यको एउटै पैसा त हो त्यसैले एउटा गोजीको पैसा अर्कोमा राखेजस्तो त हो नि, सोचेर तिर्नु र नतिर्नुमा फरक छैन भन्न मिल्दैन। नियम कानुनअनुसार प्रक्रिया मिलाएर जनतालाई सबै हिसाब किताब क्लियर देखाउन सक्नुपर्छ।  

अझ उनले बानेश्वरको अल्फाबिटामा डोजर लगाएपछि राखेको स्टाटस झनै चर्चित रह्यो– ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ,’ उनले लेखेका थिए–‘मैले के बिराएँ।’ उक्त दिन अल्फाबिटाको सञ्चालकले नक्सा नदिएपछि ‘तपाईँको नक्सा मसँग हुन्छ ?’ भन्दै बालेन झोक्किएको भिडियो पनि निकै भाइरल बनेको थियो। अझै फिल्डमै पनि बालेनको हजारीजवाफी देखियो। हाम्रो सम्पत्तिको माया लाग्छ नि भनेर सञ्चालकले भन्दै गर्दा उनले डिलमा बसेर ‘देशको सम्पत्तिको मायाँ हामीलाई नि लाग्छ नि भनेर तत्कालै दिएको जवाफ पनि निकै चर्चित बन्यो।  

अल्फाबिटाको प्रकरणमा पनि थुप्रै प्रतिक्रिया आएका छन्। ‘नियम र कानुन सबैलाई बराबर हुनुपर्छ। केही कुरालाई सुव्यवस्थित र व्यवस्थित तरिकाले अगाडि बढाउनु छ भने यतिको कदम चाल्न र जोश जाँगर देखाउनैपर्छ’, चाँदनी नेपाल सामाजिक सञ्जालमा लेख्छिन्– नत्र परिवर्तनको आश नगरे हुन्छ।  

पछिल्लो समय महानगरमा रहेका अवैध संरचना हटाउने अभियानमा खटिएका बालेन्द्र साहको कार्यले सहरमा सहजता देखिएको छ। सहरमा सहजता छाएको छ। डोजर लगाउनुअगाडि नै कतिपयले आफ्नो संरचना आफैँ हटाएका छन्। त्यो देखेपछि साह पनि खुसी देखिए। ‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहीरूपमा प्रयोग होस्’, उनले लेखेका छन्– यो कुरालाई पहिलेदेखि नै व्यावहारिकरूपमा प्रयोग गर्नुभएकाहरूप्रति महानगर आभारी छ।  

फोहोरमैलाले राजधानी आक्रान्त भएको समयमा पनि साहले दिएका बयानहरूले निकै चर्चा बटुले। बालाजुबाट डम्पिङ साइट जाने बाटोको बिजोग अवस्था देखाएर साउनको अन्तिम साता उनले प्रचण्डप्रति गरेको कटाक्ष निकै भाइरल बन्यो– ‘श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ? बालाजुदेखि ककनीसम्मको सडक निर्माणका लागि आर्थिक वर्ष २०७०÷७१ मा ठेक्का भएको थियो। सडक निर्माणका लागि एआइपिएल र सैलुङ कम्पनीलाई ठेक्का दिइएको थियो।

सैलुङ कम्पनीका मालिक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। निर्माण सुरु भएको ८ वर्ष बित्दासमेत सो सडक सम्पन्न भएको छैन।

अझ, भक्तपुरका नेकपा एमालेका नेता महेश बस्नेतले त साहको खोइरो नै खन्ने गरेका छन्। साहमाथि विभिन्न टीकाटिप्पणी भएपछि साहको प्रशसंकको घेरामा स्वयं बस्नेत नै घेरिए। साहको ‘अनभेरिफाइड’ फेसबुकमा आएको जवाफमा समेत जुहारी खेलेर बस्नेत अप्ठेरोमा परे।  

सुरुवाती दिनमा र्‍यापर यम बुद्धको सालिक बनाउने प्रसंगमा मिडियामा साहको निकै आलोचना भएपछि साहले आफ्नै तलवबाट सालिक बनाउने बयानसमेत दिए। ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु’, निकै विवाद बढेपछि साहले लेखे– तपाईँहरूको दिन शुभ रहोस्।  

चुनाव जितेलगत्तै फोहोरको समाधान गर्छु भन्ने लक्ष्य लिएका साह १ सय दिनको समयमा सडकका फोहोर हटाउन सफल बने। अनधिकृत संरचना हटाउने उनको पहिलो अभियानमै ‘नर्भिक’ बाधा बने पनि उनी रोकिएनन्। संरचना हटाउने उनको अभियान महानगरको चारैतिर फैलिएको छ। उनको कामको मुलुकका अन्य नगरले पनि सिको गरेका छन्। अनधिकृत संरचनासँगै महानगरका कर उठाउने कामको पनि उनले थालनी गरेका छन्। कतिपय ठाउँबाट कर उठ्नसमेत थालेको छ।  

प्रायः एकपटक जवाफ फर्काउने मेयर साह त्यसपछि धेरै वादविवाद गर्न मन नपराउने देखिन्छन्। धरानका मेयर हर्क राईले साहप्रति गरेको टिप्पणी पनि अघिल्लो महिना निकै चर्चित बन्यो। साहले घुमाउरो र रमाइलो ढंगले गरेको टिप्पणीले अन्ततः राई नै अप्ठेरोमा परे। त्यसो त साहले पनि यस विषयलाई धेरै बढाउन चाहेनन्। ‘यु ट्रस्ट मि, आइ ट्रस्ट यु’, साहले घुमाउरो ढंगबाट लेखे– ‘इन्ड दि टपिक।’ पछिल्लो समय साह बयानमा भन्दा पनि बढी काममा केन्द्रित देखिन्छन् किनकि साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरीजवाफ ठीक नहुन पनि सक्छ।  

प्रकाशित: २६ भाद्र २०७९ ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App