२३ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

अन्तर्राष्ट्रिय व्यक्तित्वहरूका दृष्टिमा बिपी

नेपालको आधुनिक इतिहासमा बिपी कोइरालाको नाम सर्वाधिक लोकप्रिय रहँदै आएको छ। उनी अन्तर्राष्ट्रिय स्तरमै चर्चित र प्रभावशाली राजनेता पनि थिए भन्ने कुरा स्वयं उनीद्वारा अन्तर्राष्ट्रिय मञ्चहरूमा व्यक्त विचार एवं उनको देहावसानपछि कैयौं विदेशी राजनेता तथा राजनीतिज्ञहरूद्वारा व्यक्त विचारहरूबाट ज्ञात हुन आउँछ। तीमध्ये कतिपय त उनका घनिष्ट राजनीतिक मित्र पनि थिए।

समकालीन नेपालको राष्ट्रिय राजनीति त बिपीका विश्लेषणको एक प्रमुख सन्दर्भ थियो नै, उसैगरी समकालीन विश्व राजनीतिक घटनाक्रमहरू एवं तिनले अन्तर्राष्ट्रिय स्तरमा पार्न सक्ने प्रभाव र परिणामका सन्दर्भमा पनि उनको अध्ययन र विश्लेषण तथ्यपूर्ण थियो। त्यसकारण बिपीलाई अन्तर्राष्ट्रिय स्तरमै दूरदर्शी राजनेताका हैसियतमा सम्मान प्राप्त भयो।

तत्कालीन पश्चिम जर्मनीका चान्सलर तथा सोसल डेमोक्रयाटिक पार्टी एवं सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष विली ब्रान्टले बिपी राष्ट्रिय सार्वभौमिकता एवं स्वतन्त्रताका कट्टर समर्थक एवं विश्व समाजवादी आन्दोलनमा आदर्श र वैचारिक दृढताका लागि सदा सम्झिइने ख्यातिप्राप्त व्यक्तित्व थिए भनेका छन् -“विश्वव्यापी जनतान्त्रिक समाजवादी आन्दोलन उनका आदर्शप्रतिको गहिरो आस्था एवं वैचारिक दृढताका लागि प्रतिबद्ध प्रसिद्ध व्यक्तित्वका रूपमा सधैँ सम्झिरहने छ”(मुक्तकण्ठ, पटना)। यस्तै डेमोक्रयाटिक सोसलिस्ट पार्टी, जापानका नेताहरू रोओसाकु सासाकी एवं नायसु से वातानावेले एशियाली समाजवादी आन्दोलनमा बिपीको अपूर्व योगदान रहेको स्मरण गरेका छन्-“एशियाको जनतान्त्रिक समाजवादी आन्दोलन एवं संघर्षमा आफ्नो अपूर्व योगदानका लागि उनी चीरस्मरणीय रहनेछन्।”

बिपी सोसलिस्ट इन्टरनेसनलका सम्मानित नेता थिए। सोसलिस्ट इन्टरनेसनलका महासचिव वर्न कार्लसीले बिपी जस्ता राजनेताको सहकर्मी हुन पाउनु आफ्नो लागि सम्मानजनक रहेको बताएका छन्-“उनलाई चिन्नु र उनको सहयात्री हुनु मेरा लागि अत्यन्त सम्मानजनक स्मृति हो।”

बिपीद्वारा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा पुग्न गएको योगदानलाई सम्झँदै भारतीय राजनीतिज्ञ हरिकिशोर सिंहले भनेका छन्-“अन्तर्राष्ट्रिय समाजवादी समुदायमा उनी सामाजिक न्यायको उच्व आदर्श र मानवीय मूल्यको प्रतिष्ठापनाका लागि गरेका संघर्षका कारण श्रद्धेय एवं आदरणीय व्यक्तित्व थिए। मानवीय आदर्श प्राप्तीका लागि आत्मोत्सर्गको भावनालाई मूर्त रूप दिने उनको अपूर्व साहस भावी पिँढीका लागि निरन्तर प्रेरणाको स्रोत बनिरहनेछ।”

यस्तै भारतीय जनता पार्टीका तत्कालीन नेता मधुदण्डवतेले भारतमा गान्धीजी र जयप्रकाश नारायणकै समान व्यक्तित्व भएका नेताका रूपमा बिपीलाई स्मरण गरेका छन्-“भारतमा महात्मा गान्धी र जयप्रकाश नारायणको जुन स्थान छ नेपालमा बिपीको त्यही स्थान छ। क्रान्तिकारी कहिल्यै मर्दैन बरु उसको रगतको थोपाबाट एक एक क्रान्तिकारी जन्मिन्छ। बिपी व्यक्ति होइन शक्ति हो। व्यक्ति मर्छ, शक्ति, विचार मर्दैन”(एकता, २०३९)।

भारतीय जनता पार्टीका तत्कालीन अध्यक्ष चन्द्रशेखरले बिपीलाई अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा सामाजिक न्याय र मानवताका लागि संघर्षशील राजनेताका रूपमा मूल्यांकन गर्दै “यस उपमहाद्वीपकै निम्ति प्रेरक व्यक्तित्व” का रूपमा स्मरण गरेका छन्।

यस्तै, समाजवादी चिन्तक सागर सिंहले बिपीलाई मानव चेतना प्राप्तिका लागि संघर्षरत दार्शनिक राजनेताका रूपमा स्मरण गर्दै उनी दक्षिण एशियाली राज्य संघका पक्षधर विचारक रहेको धारणा राखेका छन्-“बिपी भौगोेलिक, ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले समान पृष्ठभूमि भएका दक्षिण एशियाली मुलुकहरूको संयुक्त राज्यसंघका पक्षधर विचारक थिए। साथै उनी दक्षिण एशियाली मुलुकहरूका स्वायत्तता, समृद्धि, मानव स्वतन्त्रता एवं साझा सुदृढताका पक्षधर थिए।” सिंहले विश्वस्तरिय राजनीतिज्ञ भएर पनि समाजका प्रत्येक वर्ग र स्तरका जनताका साथ तादात्म्य स्थापित गर्न बिपी सधैँ अग्रसर रहने गरेको कुरा स्मरण गरेका छन्। दक्षिण एशियाली राज्य संघको परिकल्पना गरी यस क्षेत्रको समृद्धि एवं एकताका लागि साझा प्रयासको थालनी गर्नुपर्ने विचार बिपीले राखिसकेको कुरा सागर सिंहको भनाइबाट अवगत हुन्छ।

यस्तै माधव मुद्रणालय वाराणसीका सञ्चालक मदनमोहन धवनले बिपी विश्वका सबै राष्ट्रका मानवता, प्रजातन्त्र आदि विषयमा समान दृष्टिकोण राख्ने राजनेता रहेको बताएका छन्-“बिपी विश्वका सबै मुलुकहरूका मानवता, प्रजातन्त्र, मौलिक अधिकार आदि विषयमा समान दृष्टिकोण राख्थे। नेपाल र नेपालीका नेता भएर पनि उनी विश्वकै महापुरुषहरूमध्ये एक थिए।”

बिपीले आफ्नो बौद्धिक, वैचारिक राजनीतिक दृष्टिकोणलाई नेपालो राजनीतिक, आर्थिक एवं सामाजिक परिवेशसँग मात्र सीमित राखेर विश्लेषण गरेनन्। उनको वैचारिक सामथ्र्यको प्रकटीकरणको प्रथम लक्षित गन्तव्य नेपाल रहनु स्वभाविकै थियो। यद्यपि लोकतन्त्र एवं समाजवादका मूल्य मान्यता र आदर्श मानव जगत्कै लागि अपेक्षित एवं ग्राह्य विषय हुन् भन्ने कुरामा उनी विश्वस्त रहेका देखिन्छन्। उनले विश्वको कुनै पनि भूभागमा भएको वा हुने लोकतान्त्रिक संघर्षप्रति समाजवादीहरू उदाशीन हुन नहुने विचार विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनहरूमा व्यक्त गरेका छन्।

बिपीले सन् १९८१ मा भएको सिड्नी (अस्ट्रेलिया) सम्मेलनमा जहाँसुकै पनि भएका लोकतान्त्रिक आन्दोलनप्रति निरपेक्ष रहनु समाजवादीहरूका लागि उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्-“समाजवादीहरू विश्वका धेरैजसो मानिसको लोकतान्त्रिक संघर्षप्रति निरपेक्ष रहे भने त्योभन्दा नराम्रो अर्को कुनै काम हुन सक्दैन। उनीहरूको पहिलो चासो लोकतान्त्रिक संघर्षलाई सघाउनु नै हुनुपर्छ। मैले लोकतन्त्र भन्नुको तात्पर्य उदार लोकतन्त्र। केही समाजवादीहरू आर्थिक विकासलाई प्राथमिकता दिने अभियानमा कुनै कुनै बेला यस सवाललाई प्राथमिकता ठान्दैनन्, त्यसैले मैले लोकतन्त्रप्रति विशेष जोड दिएको हुँ”(नेपाली काँग्रेसका चार दशक, नरहरि आचार्य)।

समाजवादीहरूका लागि मुलुकको विकास तात्पर्य लोकतन्त्रको पनि विकास हो भन्ने सम्झिनु जरुरी भएको बिपीको आशय रहेको बुझिन्छ। बिपीले लोकतन्त्रबिनाको समाजवादको कल्पना गरेनन्। उनको समाजवाद भन्नु नै लोकतान्त्रिक समाजवाद हो। सन् १९८९ मा सोभियत संघको विघटनपछि तेस्रो विश्वको अवधारणा ओझेलमा परेको भए पनि बिपीले विकासशील मुलुकहरूका लागि असंलग्नता र समाजवाद अनिवार्य भएको विश्लेषण गरेका छन्।

सिड्नीमा बिपीले समाजवाद भविष्यको लहर भएको बताएका थिए-“समाजवाद भविष्यको लहर हो। समाजवादको अभावमा तेस्रो विश्वका मुलुकहरू कि फासिष्ट सैनिक तानाशाहीमा या तानाशाही साम्यवादतिर नभए प्रतिकृयावादी धार्मिक कट्टरतामा परिणत हुन सक्छन्।” समकालीन विश्व राजनीतिको विश्लेषणमा बिपीले समाजवादीहरूसामु रहेको चुनौतीबारे सम्मेलनमा सबैको ध्यानाकर्षण गराएका थिए। एशियाली एवं प्रशान्त क्षेत्रीय मुलुकहरूमा महाशक्ति राष्ट्रहरूको प्रभाव विस्तार भइरहेको तत्कालीन राजनीतिक सन्दर्भलाई स्मरणमा राख्दै बिपीले सिड्नी सम्मेलनमा उक्त विचार राखेका थिए भन्ने बुझ्न सकिन्छ।

बिपी सोसलिस्ट इन्टरनेसनलका सम्मानित नेता थिए। सोसलिस्ट इन्टरनेसनलका महासचिव वर्न कार्लसीले बिपी जस्ता राजनेताको सहकर्मी हुन पाउनु आफ्नो लागि सम्मानजनक रहेको बताएका छन्।

अर्कातिर, बिपीले समाजवादसम्बन्धी चर्चा गर्दा यसको आर्थिक आयामतर्फ मात्र लक्षित नगरी मानव समाज र चेतनाको विकासक्रमसँगै अभिन्न भएर समाजवादी विचारले निरन्तरता पाउँदै आएको बताएका छन्। बिपीको समाजवादी चिन्तनमा मानिसको आर्थिक आवश्यकता त उसको जीवनको समग्र आयामको एक अंश मात्र हो। माक्र्ससँग बिपीको विमति मूलतः यसैमा रहेको पाइन्छ। अन्तर्राष्ट्रिय समाजवादी संगठनका समकालीन राजनेताहरू बिपीका यस्ता चिन्तनबाट प्रभावित थिए।

अन्तर्राष्ट्रिय क्षेत्रका कैयौँ नेता एवं विशेषगरी अन्तर्राष्ट्रिय समाजवादी संगठनका नेताहरूद्वारा बिपीलाई विशेष महत्व र सम्मानका साथ सम्झिइने केही प्रमुख कारणहरू भएको महसुस गर्न सकिन्छ। पहिलो, बिपी नेपालको लोकतान्त्रिक आन्दोलनका एक शीर्ष नेतृत्वदायी राजनेता थिए। उनले मुलुकका लागि लोकतन्त्र सार्वभौमिकता एवं राष्ट्रियताका सम्बन्धमा कसैसँग सम्झौता गरेनन्। निरंकुशतासँग आजीवन झुकेनन्। यसकै निम्ति उनी निरंकुश व्यवस्थाको कोपभाजनका सिकार भए। जेलनेलका कहालीलाग्दा यातना भोगे। उनको यस्तो राजनीतिक व्यक्तित्वबाट परिचित बाह्य जगत्ले उनको त्यागमय, साहसी र निष्ठामय लोकतन्त्रवादी राजनीतिक पृष्ठभूमिलाई सम्मानजनक हिसाबले सम्झना गर्नु स्वभाविक रह्यो।

दोस्रो, मुलुकबाहिरका लोकतान्त्रिक संघर्षहरूप्रति बिपीको ऐक्यबद्धता रह्यो। उपनिवेशवाद एवं अन्तर्राष्ट्रिय जगत्मा एउटाले अर्का मुलुकप्रति गर्ने गरेका हस्तक्षेपका विरुद्धमा बिपी आफूमात्र अग्रसर भएनन्, समाजवादी संगठनका मुलुकहरूलगायत अन्य मुलुकलाई पनि त्यसनिम्ति निरपेक्ष नहुन प्रखररूपमा आह्वान गरे। यसबाट उनको अन्तर्राष्ट्रिय स्तरमा लोकप्रियता बढेर गएको बुझ्न सकिन्छ।

तेस्रो, अन्तर्राष्ट्रिय समाजवादी संगठनमा उनको स्थापनाकालदेखिकै निरन्तर सक्रिय सहभागिता रह्यो। उनका लोकतन्त्र र समाजवादप्रतिका धारणाहरू विकासशील एवं अल्पविकसित मुलुकका लागि पनि उपयोगी रहे। विकासशील मुलुकहरूले विकसित पश्चिमी वा अमेरिकी विकासको नमुना अपनाउन उपयुक्त नहुने विचार नेपाल जस्ता अन्य मुलुकहरूका लागि पनि प्रेरणादायी रहेका थिए र ती अझै पनि उत्तिकै सान्दर्भिक छन्। यसबाट बिपीको बाह्य प्रतिष्ठामा वृद्धि हुनु स्वाभाविक थियो।

चौथो, बिपीले आफू प्रधानमन्त्री भएका बेला अन्तर्राष्ट्रिय जगत्मा नेपालले अपनाउने नीतिलाई पूर्णतः असंलग्नताको सिद्धान्तअनुरूप अवलम्बन गरे। छिमेकी वा अन्य कसैको दबाब वा प्रभावमा परेर नेपालको असंलग्न नीतिलाई कसैप्रति रिझाउने वा चिढाउने ढंगले प्रयोग गरेनन्। यसबाट उनको अन्तर्राष्ट्रिय जगत्मा निर्भिक राजनेताको छवि बन्यो।

बिपीले जीवनकालमै अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्धि पाइसकेका थिए। सरकारको नेतृत्व तहले कूटनीतिक मर्यादास्वरूप बाह्य मुलुकबाट प्राप्त गर्ने औपचारिकता वा शिष्टाचारस्वरूप प्राप्त गर्ने सम्मान त पदमा रहुञ्जेलका लागि मात्र हो। प्रधानमन्त्रित्व कालमा बिपीले पाएको औपचारिक सम्मान प्रथम जननिर्वाचित सरकार प्रमुखको हैसियतमा मात्र थिएन। निरंकुश राणातन्त्रविरुद्ध संघर्ष गरी लोकतन्त्र स्थापना गर्नमा बिपीको नेतृत्वदायी भूमिका थियो। अन्तर्राष्ट्रिय राजनीतिक क्षितिजमा नेपाललाई एक लोकतान्त्रिक राष्ट्रका रूपमा उभ्याइसकेपछिको पृष्ठभूमिमा भएको आमनिर्वाचनपछि उनको प्रधानमन्त्रित्वलाई त्यसताका सम्मान दिइएको थियो।

बिपीको राजनीतिक व्यक्तित्वको लोकप्रियता मूलतः त्यसबेलादेखि नै अन्तर्राष्ट्रिय जगत्मा चर्चित हुन थालेको थियो। २०१७ सालपछिको जेल जीवन एवं जेलमुक्त भएपछि पनि उनले नेतृत्व गर्दै आएका लोकतान्त्रिक संघर्षहरूमा उनी शीर्ष निष्ठायुक्त राजनीतिक व्यक्तित्व भएकै कारण अन्तर्राष्ट्रिय राजनीतिक जगत् उनीप्रति श्रद्धानत रहेको मूल्यांकन गर्न सकिन्छ।

स्मरण गर्नैपर्ने कुरा के छ भने अन्तर्राष्ट्रिय समाजवादी संगठनमा नेपाली काँग्रेसको प्रवेश बिपीकै अग्रसरतामा भएको थियो। सरकारको नेतृत्वमा रहेका बखत छिमेकीसँग समदूरीको सम्बन्धलाई सन्तुलिततवरमा अघि बढाउँदै नेपालको राष्ट्रियताको पक्षमा महत्वपूर्ण कदम चाल्न बिपी सधँै तत्पर रहे। संयुक्त राष्ट्र संघको १५ औं महासभामा व्यक्त नेपालको दृष्टिकोण एवं नेपालको कूटनीतिक सम्बन्धको विस्तारीकरणका लागि भएको उनको अग्रसरता आदि प्रमुख घटनाक्रमहरूका कारण नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा/एवं व्यक्तितवमा वृद्धि भएको कुरा वर्तमान नेपालले पनि स्मरण गरिरहेको छ।

नेपालको राष्ट्रिय राजनीतिमा बिपीले पुर्‍याएको योगदानका सन्दर्भमा लेखक/विश्लेषक नरहरि आचार्यले मूल्यांकन गरेका छन्-“समग्रमा नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्वको चर्चा गर्दा सिद्धार्थ गौतम र अरनिकोपछि बिपी कोइरालाको नाउँ आउँछ भने २००७ सालपछिको नेपालको सन्दर्भमा अर्थात् यस कालखण्डका नाउँहरूमा उहाँको नाउँ सर्वप्रथम आउनुपर्छ किनभने उहाँले नै नेपाललाई अन्तर्राष्ट्रिय आन्दोलन र संगठनसँग जोड्नुभएको हो।”

कुनै पनि विचारक, राजनीतिज्ञ वा राजनेता आफैँमा पूर्ण हुँदैन। उसको व्यक्तित्वका पछाडि अरू कैयौँको वैचारिक प्रभाव र पृष्ठभूमि रहेकै हुन्छ। राजनीतिक विश्लेषक प्रदीप गिरीका अनुसार बिपीको स्वतन्त्र वैचारिक प्रस्थापनाका निर्माताभन्दा गान्धी, जयप्रकाश, माक्र्सलगायतका विचार परिदृश्यसँग सुसम्बद्ध रहँदै आफ्नो वैचारिक सामर्थ्यको निर्माण गरेका राजनेता थिए। नेतालाई विचारको सीमामा बाँध्न सकिन्न। उनी विचारकभन्दा बढी विश्व प्रसिद्ध केही राजनेताहरू समान निश्चित जीवनमूल्यका सम्वाहक रहेको विश्लेषण गिरीले गरेका छन्-“विचारक बरु केही निश्चित विश्लेषणबाट प्रेरित रहन्छ। तर नेता बढीमा केही निश्चित जीवनमूल्यका सम्वाहक हुन्छन्। वासिङ्गटन, लिंकन, चर्चिल, नेहरू र सर्वोपरि गान्धी यस्तै जीवन मूल्यका सम्वाहक र जीवन्त उदाहरणसमेत थिए। कोइराला पनि यसै गौरवशाली पंक्तिमा सधैँ सगर्व उभिइरहनु हुनेछ।”

बिपीको देहावसान भएको चालीस वर्ष बितिसकेको छ। यी चालीस वर्षमा मुलुकमा धेरै परिवर्तन भएका छन्। तीमध्येको एउटा मुख्य हो लोकतन्त्रको पुनस्र्थापना। गणतन्त्र नेपालको घोषणापछि राजनीतिक तहमा लोकतन्त्रात्मक संरचनाहरूको निर्माण भएको छ। तीमार्फत् सिद्धान्ततः मुलुकलाई डोर्‍याउने प्रयत्न हुँदै आएको भए तापनि ती संरचना र संस्थाहरूमा हुने गरेका दलीय स्वार्थहरूका टकरावका कारण तिनका सैद्धान्तिक मूल्य/मान्यताहरू कमजोर भएका छन्। मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध दिशाहीनझैँ देखिएको छ। विदेशको आँखामा नेपाल दलीय स्वार्थहरूको रडाकोमा रुमल्लिइरहेको गन्तव्यहीन मुलुक त बनिरहेको छैन? यस्ता अनेक प्रश्न बारम्बारजसो उठ्ने गरेका छन्।

बिपी जस्ता राष्ट्रवादी नेताले निर्माण गरेको मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सत्तारोहण गरेका कुनै पनि नेताले कायम राख्ने प्रयत्न नगरेको प्रतीत हुन्छ। मुलुक दलहरूको सत्तास्वार्थको म्युजिकल चियर खेल्ने मैदानमा परिणत भएजस्तै महसुस हुन्छ। वरिष्ठ अधिवक्ता गणेशराज शर्माले २०४८ सालतिर यस पंक्तिकारसँग बिपीका व्यक्तित्वको मूल्यांकन गर्ने क्रममा भनेका थिए-“अबको बीस वर्षपछि अहिलेका नेताहरूलाई मुलुकले के गरे भनेर सम्झिने ?” उनका भनाइको मर्मलाई वर्तमानको सापेक्षमा नेपाली नेताहरूले आफूमा आरोपण गरी सम्झे हुन्छ। बिपीलाई त्यसै अन्तर्राष्ट्रिय राजनीतिक समुदायले सम्मानजनकरूपमा निधनपश्चात् औपचारिकतावस मात्रै सम्झेका होइनन्।

प्रकाशित: २४ भाद्र २०७९ ००:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App