१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

किन जीवनभर सत्तामोह?

जोगी नमरुञ्जेल मठाधीश भैरहन्छ। मठाधीश र नेताबीच फरक हुनुपर्ने हो। तर सत्तामा चुम्बक भएकाले मान्छे त्यहाँ पुग्न र टिकिरहन जसो पनि गर्न सक्छ। नैतिकता, आदर्श र सिद्धान्त सत्ता भएपछि कार्यकर्ता र मतदातालाई आवेग भर्न अनेकौँ प्रकारका तर्क खेती गरिन्छन्। आशमा लतार्नु र विपक्षको डर देखाउनु पहिलो अस्त्र बन्ने गर्छ। अधिकारयुक्त पदमा टिकिरहन ‘अपुरा कामहरू पूरा गर्नुपर्ने भएकाले फेरि अर्कोपटक उम्मेदवारी बनेको हुँ’ भन्ने गरिन्छ।

आयु रित्तिँदै जान्छ, नौनाडी गल्दै जान्छन्, शरीरले जवाफ दिन्छ, मस्तिष्कले काम गर्न छाड्दै जान्छ, नयाँ योजना दिमागमा फुर्दैनन् तब पनि शक्ति भोक भने रित्तिँदैन। सत्ता राजनीतिको मात्रै हुँदैन अहङ्कारको सत्ता अझ खतरनाक हुन्छ। टुट्न सक्छ, झुक्न र त्याग्न भने सक्दैन।  

स्वेच्छाले नेतृत्वबाट हटेर क्षमताअनुसारको अन्य पेसा सम्हाल्ने कति व्यक्ति नेपालमा छन्? जीवनका उत्तरार्धमा पनि कुर्सी मोह किन भैरहन्छन्? ‘म भइन भने संस्था, देश चल्नै सक्दैन’ भन्ने भाव कसरी आउँछन्? अलोकप्रियता पनि थाहा छ, बढ्दो जनघृणा पनि थाहा छ, जित्न सकिँदैन पनि थाहा छ तर किन चुनावी म्याराथन दौडमा सामेल हुन्छ ! हार्ने युद्ध पनि किन लड्न चाहन्छन्? त्यसको मनोविज्ञान के हो?

आखिर पार्टी, सत्ता र सङ्घ/संस्थाको नेतृत्व छाड्न नसक्नु र टाँस्सिइरहनाका कारण के हुन? कार्यकर्ताहरू पनि पद नभै किन पार्टीमा टिक्न सक्दैनन्? सत्तालाई सम्ंमान, सुरक्षा र सुविधाका केन्द्र सोच्नु नै मूल कारण हो। खिया लागेका हतियार र सत्तागुमाएका नेतालाई समान सोचिन्छ।  

चुनाव आँगनमा पुगिसक्यो। परीक्षित, नीति, आदर्श र योजना नभएका र दामली उम्मेदवारका सत्तामोह पनि छुटेन। नियतलाई तर्कले ढाकिन थाले। उम्मेदवार सिफारिस गरिने बेला देखिने लबिङ र चाकडीका नयाँ/नयाँ शैली देखापर्दै गए। प्रोक्सी उम्मेदवारी यत्रतत्र देखा पर्दैछन्। स्वतन्त्र उम्मेदवारीको आतङ्कले मूलधारका पार्टी दबाबमा छन्। छटपटिएका कार्यकर्ता बसाइँ नसरून्, अन्तरघाती कोही नबनून् भनेर नेतृत्वमा चिन्ता छाएको छ। बजार राजनीतिमा मूल नेतृत्वसामू ठूलो चुनौती भनेकै नेता र कार्यकर्ताको महत्वकांक्षा व्यवस्थापन गर्नु हो। प्रतिक्रिया र भयको राजनीतिले कार्यकर्ता र मतदातालाई आश र त्रासमा उल्झ्याउन पर्ने हुन्छ। जति आवेग भर्न सकिन्छ त्यसैमा विजयको हिसाव लगाइन्छ। पार्टी अनुशासन र निर्देशन पालन भनेको शक्ति र हुकुमको खेल बन्यो।  

जनमत र समयको नाडी छाम्न नसकेको नेतृत्वले पार्टी र देश बचाउन नसकिने कुरा सत्ता प्यासले स्वीकार्दैनन्। विकल्प के/कस्तो हुने? अहिलेभन्दा विकल्पमा आउन सक्ने शक्ति के/कस्तो हुन्छ भन्ने थाहा नपाए तापनि जनमत विकल्प खोजिरहन्छ। तर सत्ता समय, समाज र राजनीतिलाई यथास्थितिमा राख्न चाहन्छन्। परिवर्तन र यथास्थिति द्वन्द्वबीच अन्य शक्ति खेल्छन्।पार्टीमा दलाल वा विभीषणको रजगज चल्न थाल्छ।  

किन सत्ता नभै हुँदैन त?

कुनैबेला भनेको रहेछुः राजनीतिलाई व्यवसाय बनाएपछि सत्तामा पुग्ने र टिकिरहने खेल हुन्छ। सत्तास्वाद र सुविधा उपयोग गरिसकेकाले सत्ताहीन हुनेबित्तिकै सो हराउँछ। दास र भक्तजन उछिट्टिएर नयाँ मालिक रोज्छन्। कीर्तनकारको अभाव हुन्छ। हिजाका दिन भए/गरिएका गडबडीबाट नडामिन शासकहरू जीवनभर सत्तामा रहन चाहन्छन्।  

सिंहदरबार अत्यन्तै निर्दयी छ। नवशासकले कानुनी बदला लिन सक्छन्। शासनकालका अपराधको भयले जसरी भए पनि सत्तामा टिक्न र पुग्न खोजिन्छ। जोगिने अस्त्र र उपाय जीवनको अन्तसम्म सत्तामा रहिरहनु हो। हरेक शासकका श्रीपेच ढल्काएरै आर्यघाट पुग्ने सोच हुन्छ। भ्रष्टाचार गर्ने अधिकारपत्र राजनीतिलाई सोच्न थालेपछि सत्ता गुम्नेबित्तिकै लाइसेन्स खोसिने भयो। अन्यन्त्रका घटनाले सधैँ झस्क्याइरहन्छ नै।

पोल खुल्नेबित्तिकै पेरुका पूर्वराष्ट्रपति एलेन गार्सिया पेरेज र दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह मु–ह्युनले आत्महत्या गरे। दक्षिण कोरियाकै पार्क ग्युन–हे, लि म्युङ–बाक, चुन दो– ह्वाँ, रो तेअ–वु भ्रष्टाचार र शक्तिको दुरूपयोग गरेको आरोपमा चार जीवित शासक दोषी ठहरिएर जेल सजाय भयो।

दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाले सत्ता हस्तान्तरणको राम्रो नजीर त बसाले, भ्रष्ट श्रीमतीसँग पारपाचुके पनि गरे, तर उनकै सहयात्री पूर्वराष्ट्रपति ज्याकोब जुमा भने भ्रष्टाचारी भएर जेल गए। फ्रान्सेली पूर्वराष्ट्रपति निकोला सर्कोजी, सुरिनामका पूर्वराष्ट्रपति डेसी बउत्रेस, जर्जियाका मिखायल साकासिभ्लीसमेत भ्रष्टाचारी नै बने। पेरुका भिज्कारा मार्टिनलाई १० वर्ष सार्वजनिक पदको प्रतिबन्ध लगाइयो।

इन्डोनेसिया र चिलीमा पत्याएकै जर्नेलबाट सैन्य ‘कु’ भयो भने इराक, अफगानिस्तान, पाकिस्तान र बङ्गलादेशमा हत्या/प्रतिहत्याका सिलसिला नै चले। जो मारेर, षड्यन्त्र गरेर सत्तामा पुग्छन्, उनको हविगत दुःखदायी नै बन्यो।  

सबै परिवर्तन राम्रै हुन्छ भन्ने छैन। कर्णेल मुअम्मर गद्दाफीले लिबियालाई आधुनिक र सुविधासम्पन्न त गराए तर ४१ वर्षको शासनकालले जनमतले परिवर्तन चाहेको थियो। त्यही मनोविज्ञानमा खेलेर लिबिया ध्वस्त भयो। इराकी स्वाभिमानका प्रतीक बनेका सद्दाम हुसेनको २४ वर्ष लामो शासनलाई परिवर्तनको चाहना आक्रमणकारीलाई बहानाको बन्यो। अहमद चलावीजस्ता विभीषण देखापरे।  

कमै राजाले राजगद्दी उत्तराधिकारीलाई सुम्पे। ४ वषमै श्रीपेच लगाएका फ्रान्सेली राजा लुइ सोह्रौँले ७२ वर्ष भन्दाबढी राजा बने तब पनि सत्ता भोक टरेन। त्यसैको गर्भबाट समानता, स्वतन्त्रता र भातृत्वका नारा लगाउँदै विश्वको पहिलो गणतन्त्र फ्रान्सेली राज्यक्रान्ति जन्म्यो।  

क्रान्ति वा चुनावबाट सत्तामा पुगेका संसारमा अनेकौँ सत्ताप्यासा छन्। सिद्दान्तमा खारिएका नेता पनि संविधान वा पार्टी विधान फेरेर सत्तामा टिकिरहन चाहन्छन। नयाँ सोच्नु, चाहनु र विकल्प रोज्नु मानवीय स्वभाव हो। सद्दाम हुसेन र कर्णेल गद्दाफीले त्यति लामोकालसम्म सत्तामा नटाँसिएको भए ‘मनै देश हुँ’ भन्ने अहंकार नभएको भए इराक र लिवियाको अस्तव्यस्त हाल हुने थिएन। विदेशीले हस्तक्षेप गर्न सक्दैनथे।  

विद्रोही वा अन्य पार्टी प्रवेश  

परिस्थतिअनुसार विचार, विश्वास र सम्बन्धका आयामहरू फेरिँदै जान्छन्। गुटहरू स्थायी हुँदैनन् समीकरण फेरिँदै जान्छन्। पार्टी फुट्नु वा अन्य पार्टीमा कार्यकर्ता जानुको मूलकारण पुरानो पार्टीमा राजनीतिक भविष्य र सुरक्षा नदेख्नु हो। जब अवसर देखिँदैन तब आभामण्डलबाट उम्कन या त अन्यत्र जान्छन्, विद्रोह गर्छन् वा नेतृत्वको हत्या गरेर सो स्थान लिन्छन्। जहिले पनि प्रतिद्वन्द्वीलाई शक्तिले नस्वीकार्ने हुँदा अरू नेतृत्व विकास हुने अवसर दिँदैन। क्षमता प्रदर्शनको थलो अवसर हो। हरेक गुरु शिष्यले आफूलाई जितोस् भन्ने चाहन्छ तर नेता जहिले पनि सहयोद्धा र सहयात्रासँगै आतंकित भएर भर्‍याङ उक्लनै दिँदैन।  

क्षमतायुक्त महत्वकांक्षा क्षमता अवसरको खोजीमा हुन्छ। बाधकलाई पन्छाउँदै विद्रोह गर्छ। पुराना सम्बन्ध तोड्न नहिच्किचाएर जोखिम उठाउँछ। तर आत्मसमीक्षासँगै आफ्नो अवस्था र औकात, सीमा, समस्या र समय नियाल्नुपर्छ। भारतीय किङ मेकर के कामराजलाई स्वयं किन प्रधानमन्त्री बन्दैनौ भन्दा उनको जवाफ थियो: ‘भारतमा जसले राम्रो हिन्दी र अंग्रेजी बोल्न सक्दैन, त्यसले प्रधानमन्त्रीको कुर्सी नताके हुन्छ। मलाई अंग्रेजी र हिन्दी दुवै राम्रो बोल्न आउँदैन।’ तर महत्वाकांक्षीहरू आफ्ना सीमालाई नियाल्दैनन्। चौधरी चरण सिंहले आफ्नै जनता पार्टी फोडेर साढे चार महिना पनि पद टिकाउन सकेनन्। रोडेसियाबाट जिम्बाबेमा फेर्ने अफ्रिकन नायक रबर्ट मुगाबेलाई ३७ वर्षको शासन अपुग बन्यो र शेषपछि कान्छी श्रीमती ग्रेसा मुगाबेका लागि वातावरण तयार गर्न लागेपछि पार्टीले नै विद्रोह गरेर हटाउनुपर्‍यो। अफ्रिकी नायकले गुमनाम र तिरस्कृत मृत्यु भोग्नुपर्‍यो पनि।

राष्ट्रपति बिल क्लिन्टन, बाराक ओबामा, एपिजे अब्दुल कलाम समय सकिएपछि पहिलाकै पेसामा फर्किए। कैयौँ मूर्धन्य राजनीतिज्ञ लेखक, कूटनीतिक सल्लाहकार बने। नेपालमा भने एकपटक राजनीतिमा होमिएको व्यक्ति कर्ममा फर्केको पाइँदैन। बरु आसे र अपमानित भएर पनि सिंहदरबार वरिपरि नै रिँगिरहेको हुन्छ।  

अन्तमा  

चुनावले धेरै कुरा छर्लङ्ग बनाउँछ। अभ्यास हुँदैछ। जब पुराना विरोधी सकिन्छन् तब सत्तालाई निरन्तरता दिन आफैँभित्र नयाँ दुश्मनको खोजी हुन थाल्छ। पुराना जेलका सहयात्री, सहयोद्धा वा बालसखाबाट टाढिनुमा सबै कमजोरी थाहा भएर कमजोरीमा खेल्छन् भन्ने त्रास हुन्छ। सिद्धान्त सकिएपछि प्रतिक्रिया, गाली र नयाँ भक्तको भर हुन्छ। अवचेतन मस्तिष्कले निर्देशन गरेको हीनत्वबोधले जन्माएको अहङ्कारले इख साधना गरेर सुरक्षित सोच्छन्। क्षमता नभए पनि एकपटक कुनै स्तरको सत्तामा पुगेको व्यक्ति राजनीतिलाई व्यवसाय बनाउन थाल्छ। सत्ता गुमेपछि मान सकिन्छ, पुराना फाइल खुल्न सक्छन्, सुविधा हराँउछ भन्ने त्राहीमाम हुन्छ। असुरक्षाले नै मान्छेमा सत्तामोह बढ्छ। त्यसलाई तोड्न सिद्धान्तको राजनीतिले निर्देशन गरेको राजनीतिक संस्कृति, तय गरेको विधिले पुरस्कार र दण्डले संगठन चल्यो भने महत्वकांक्षाको व्यवस्थापन हुन सक्छ।

प्रकाशित: २३ भाद्र २०७९ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App