शेरबहादुर देउवा पुस्ता हस्तान्तरणको संक्रमणकालमा आफूलाई सभापतिको रूपमा उभ्याउन सफल भएका छन्। अब उनको पुस्ताभन्दा पुरानो पुस्ता पार्टीको मुख्य नेतृत्वमा आउने सम्भावना छैन। उनीसँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनबाट पार्टीको मुख्य नेतृत्व लिन सकेका खण्डमा पनि नयाँ पुस्ताका लागि केन्द्रीय समितिलाई सहज एवं आकर्षक बनाउने काम गर्ने दायित्व वर्तमान सभापतिकै हुन्छ। यसअर्थमा उनको कार्यकाल पुस्ता हस्तान्तरणका दृष्टिले संक्रमणकालीन हो भन्न सकिन्छ।
त्यसो त पुस्ता हस्तान्तरणमात्र पार्टी पद्धतिका लागि ठूलो कुरा होइन। पार्टीको परम्परा, गौरवशाली इतिहास र पार्टीलाई समयानुकूल हिसाबले हाँक्न सक्ने सामर्थ्य सबैभन्दा ठूलो कुरा हो। नयाँ पुस्ताको उपस्थितिले मात्र हौसिनुको अर्थ रहन्न, नयाँ पुस्ताका क्षमतवान्हरू नेतृत्वमा आउन सके कि सकेनन् भन्ने कुरा प्रमुख हो। कांग्रेसका तत्कालीन प्राथमिकताहरू निर्धारण गरेर अगाडि बढ्ने क्षमता देखाउन सक्छन् कि सक्दैनन् भन्ने कुराको छिनोफानोले मात्र नेतृत्व कस्तो रह्यो भन्ने कुराको मूल्यांकन हुने हो। कुन उमेरका कति जना छन् भन्ने सन्दर्भले एउटा सकारात्मक सन्देश त देला, तर त्यही नै सम्पूर्ण सुन्दरताको आधार हुन सक्दैन। अहिलेको सन्दर्भमा नेपाली कांग्रेसले नै नेतृत्व गरेर प्राप्त भएका उपलब्धिको रक्षा गर्नका लागि बनेको संविधानको लाभ जनताले महसुस गर्ने बनाउनु हो। नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रका माध्यमले समृद्ध मुलुक बनाउने विषयलाई कसरी कार्यान्वयनमा लैजान्छन् भन्ने आधारमा वर्तमान नेतृत्व (शेरबहादुर¬)को सफलताको मापन हुनेछ। विभिन्न विचारका थुप्रै पार्टीको प्रभुत्व रहेको हाम्रोजस्तो सानो मुलुकमा सबै पार्टीसँग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध कायम गर्दै सबै राजनीतिक दललाई व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न अभिप्रेरित गर्दै नेतृत्वदायी भूमिका खेल्ने कामलाई देउवाले कसरी अगाडि बढाउँछन् भन्ने कुराले उनको सफलताको मापन हुनेछ।
संघीयताको नवीन अभ्यासको थालनी गर्दैगर्दा त्यसका नकारात्मक प्रभाव आउन नदिन नेतृत्व कत्तिको जिम्मेवार र गम्भीर बन्न सक्छ भन्ने पनि मूल्यांकनको आधार हुनेछ। शदियौँदेखि भाइचाराको सम्बन्ध राखेर हुर्किएका विभिन्न जातजाति, धर्म, सम्प्रदाय, संस्कृतिका जनतालाई नेपाल र नेपालीको समृद्धिमा एकजुट गराइ कतै कुनै कोणबाट पनि विभक्त हुन नदिइ हिमाल, पहाड र तराईबीच सुमधुर सम्बन्ध कायम हुने वातावरणको सृजना गर्ने काम सबैभन्दा महत्वपूर्ण हो। यी कुराले नै नेतृत्व हस्तान्तरणसँगै पार्टीको गौरवशाली भूमिकाको निरन्तरताको महसुस गर्न सकिनेछ। नेपाली कांग्रेसको इतिहास हेर्दा देखिन्छ, यो पार्टीको नेतृत्वमा पुगेकाहरूले देशलाई चमत्कारिक नेतृत्व दिएर पार्टीको छविलाई हिमालयको उचाईभन्दा माथि पुर्याछइदिएका छन्। यो परम्पराको निरन्तरता अहिलेको आवश्यकता हो। कांग्रेसका पूर्व सभापति बीपी कोइरालादेखि सुशीलसम्मले आफूलाई कांग्रेसको नेतामात्र हैन, राष्ट्रिकै नेताका रूपमा योगदान दिए। कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत पनि देशका स्मरणीय नेता बन्न सके। बीपी, सुवर्ण, गणेशमान सिंहको नामबिना नेपालको आधुनिक इतिहास नै पूर्ण हुन सक्दैन। कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशीलले समयमै निर्वाचन गराएर अथवा शान्तिप्रक्रियाको प्रारम्भ गरेर होस् वा संविधान सभाबाट संविधान बनाउने ऐतिहासिक कार्यभार पूरा गरेर होस् हामी सबैले महसुस गर्ने गरी देशलाई अतुलनीय गुन लगाएका छन्। नेपाली इतिहासमा कांग्रेसका सभापतिहरूको नाम लिपिबद्ध हुँदै आएको छ। यो क्रमलाई निरन्तरता दिनु नै शेरबहादुरका सामु उपस्थित सबैभन्दा ठूलो चुनौती हो। तर, यो चुनौतीको सामना गर्नका लागि उनीसँग अवसर पनि प्रशस्त छन्। त्यो अवसरको सदुपयोग गर्दै पार्टी र आफ्नो छवि अझ उजिल्याउन उनको स्वभावमा केही परिवर्तन हुनु जरुरी छ। कुनैबेला कम्युनिस्टप्रति अनुदार मानिने गिरिजाप्रसादले पछि तिनैसँग सहकार्य गरेरै मुलुकलाई ठूलै गुन लगाएका थिए। त्यस्तै सन्दर्भ अहिले देखापरेको छ।
अहिले कांग्रेसका लागि दुईवटा बाटा छन्। एउटा, सत्तामा जाने। अर्को, संविधान कार्यान्वयनका लागि नेतृत्व गर्ने। सत्तामा गएर पनि संविधान कार्यान्वयनमा भूमिका खेल्न त सकिएला, तर त्यसरी भूमिका खेल्दा जसभन्दा अपसज बढी आउने खतरा रहन्छ। संविधान निर्माणको नेतृत्व गरेको पार्टीले त्यसको सहज कार्यान्वयनका लागि पनि नेतृत्वदायी भूमिका खेल्न आवश्यक छ। के हो त संविधानको कार्यान्वयन भन्ने सवाल पनि उठ्न सक्छ। त्यसका लागि बुँदागत छलफल गर्दा सहज होला।
१) असन्तुष्ट समुदायको सम्बोधनः संविधान निर्माणसँगै मधेसमा देखिएको असन्तुष्टि, आदिवासी, जनजाति, थारुहरूको चित्तदुखाइलगायतलाई सम्बोधन गर्नु संविधान कार्यान्वयनका सन्दर्भको सबैभन्दा पहिलो कदम हुनेछ। कांग्रेसको वर्तमान नेतृत्वले यो विषयलाई बुझ्न सक्नुपर्छ।
२) सीमांकन : संविधान कार्यान्वयनको सबैभन्दा जटिल पक्ष भनेको सीमांकनलाई टुंगो लगाएर संघीयतको कार्यान्वयन गर्नु हो। सीमांकनका वैज्ञानिक आधारहरू पहिल्याउँदै देश व्यावहारिकरूपमा संघीयतामा प्रवेश गरेको सन्देश दिँदै संघीय संरचनाहरूको निर्माणका लागि पनि कांग्रेस नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न सक्छ। यो पनि उसका लागि उपस्थित एउटा अवसर हो।
३) स्थानीय निर्वाचन : यो काम पनि संविधानसँग जोडिएको महरूवपूर्ण पक्ष हो। लोकतान्त्रिकीकरणको अभियानलाई निरन्तरता दिनु र लोकतन्त्रको अनुभूति तल्लो तहका नागरिकसमेतलाई गराउनु जरुरी छ। त्यसका लागि स्थानीय निकाय अनिवार्य हुन्छ। कांग्रेसले अगुवाई गर्दै स्थानीय निकायको निर्वाचनको वातावरण बनायो भने त्यो अर्को ठूलो उपलब्धि हुनेछ र संविधान क्रमशः आफै क्रियाशील हुँदै जानेछ। स्थानीय निर्वाचन नहुँदा विपद्का बखत काम गर्न अप्ठ्यारो परेको सबैले महसुस गरिरहेका छन्। तसर्थ स्थानीय चुनाव जनताको चाहना पनि हो र लोकतान्त्रिकीकरणको एउटा महायात्रा पनि हो। यो सवाल पनि कांग्रेस नेतृत्वसामु अवसरका रूपमा स्थापित छ।
४) संघीयताको अम्यासको थालनी : संघीयतामा मुलुक प्रवेश गरे तापनि संघीयताको मानसिकता अझै विकास हुन सकेको छैन। संघीय संरचनाबाट राज्य प्रदत्त सेवा–सुविधा नलिँदासम्म र प्रान्तीय नेतृत्वका लागि मतदान नगरेसम्म संघीय मानसिकताको विकास हुन सक्दैन। यो मानसिकता नबन्दासम्म संघीय अभ्यासको थालनी भएको मान्न सकिँदैन। तसर्थ संघीय अभ्यासलाई अगाडि बढाउनका लागि संघीय संरचनाको निर्माण र प्रान्तीय निर्वाचन अनिवार्य छ। यो कुराको अगुवाई गर्ने अवसर पनि कांग्रेस नेतृत्वसामु छ।
यी सवाललाई कार्यान्वयन गर्नका लागि बृहद् राष्ट्रिय सहमति अनिवार्य हुन जान्छ। त्यो राष्ट्रिय सहमतिको नेतृत्व चारित्रिक दृष्टिबाट पनि नेपाली कांग्रेसले मात्रै गर्न सक्छ। तर, यसका लागि नेतृत्व उदार भएर प्रस्तुत हुन सक्नुपर्छ। सत्तालाई प्राथमिकता दिने मानसिकतामा परिवर्तन ल्याउँदै नेतृत्व राष्ट्रिय जिम्मेवारी बहन गर्न उत्प्रेरित हुन सक्नुपर्छ। चुनौती र अवसरहरूको पहिचान गर्दै त्यसबाट उत्प्रेरित हुने नेतृत्वमात्र आफ्नो लक्ष्यमा सफल हुन सक्छ। शेरबहादुरको सफलता किन पनि अनिवार्य छ भने, उनको सफलताले कांग्रेसका सभापतिहरूको राष्ट्रिय व्यक्तित्व निर्माण हुने शृंखलाले निरन्तरता पाउनेछ। यो सबै कांग्रेसजनका लागि सुखद अवस्था हुनेछ। उल्लिखित चारवटा कुरा सम्पादन हुन सके भने संघीय नेपालको वास्तविक अनुभूति पनि सिंगो देशलाई हुनेछ। राष्ट्रलाई नयाँ अनुभूति दिलाउँदै राजनीतिका प्राविधिक तगाराहरूबाट पार लगाइ समृद्धिको मार्गमा हिँडाउनु चानचुने कुरा होइन। यो असामान्य कुरालाई फत्ते गर्न सक्यो भने नवनिर्वाचित नेतृत्वले सफलता चुमेको मानिनेछ भने पुस्ता हस्तान्तरणको संक्रमणमा पनि सफलताका साथ पार्टीका स्थापित परम्परा र गौरवशाली इतिहासलाई निरन्तरता दिइ संक्रमणकालको सहज अवतरण गरेको मानिनेछ।
प्रकाशित: ६ चैत्र २०७२ २१:१३ शनिबार

