७ वैशाख २०८१ शुक्रबार
विचार

अवैध निर्माण र प्रयोगविरुद्धको कामनपा अभियान

यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौँमा निर्माण भएका अवैध संरचना र नक्सापास जुन प्रयोजनका लागि भएको भएको हो सो नभएको पाइएपछि त्यसविरुद्ध अभियान छेडेका छन्। उता भारतको राजधानी नयाँ दिल्लीको राष्ट्रिय राजधानी क्षेत्र, नोयडामा रहेको भारतको नामी कुतुब मिनारभन्दा अग्लो अवैध संरचना ३२ र ३० तले ट्विन टावर केही सेकेन्डमै धूल धूसरित भएको छ। यो भारतको इन्जिनियरिङ क्षेत्रमै उत्कृष्ट मानिएको सुपरटेक बिल्डर्सद्वारा ५०० करोड भारुमा बनाइएको एपेक्स र केएन नामक ट्विन टावर थिए। यसमा विलासी जीवन रुचाउने धनाढ्यहरू बस्दथे। यसबाट के स्पष्ट हुन्छभने धनको बलमा कोही किन जतिसुकै शक्तिशाली किन नहोस्, कानुनविरुद्ध काम गर्ने छूट कसैलाई छैन।

मेयर बालेन्द्रले मुलुकको राजधानी काठमाडौँमा विरासतमा प्राप्त भएको अनेकौँ बेथितिमध्ये पार्किङ समस्याका लागि सशक्त कदम उठाएका छन्। यस बेथितिविरुद्ध उनीभन्दा पहिलेका एमालेका मेयर विद्यासुन्दर शाक्यले कदम उठाउन सक्थे तर उनले उठाएनन्। उनको यस कदमलाई आमनगरबासीले व्यापक समर्थन गरेका छन्। किनभने काठमाडौँमा पार्किङ समस्या भयाबह छ। न पैदलयात्रीहरूले सडक पेटीमा हिँड्न पाएका छन न त बाहन चलाउनेले आफ्नो बाहन पार्क गर्ने ठाउँ नै पाएका छन्। निर्माण भएका बहुतले भवनमा पार्किङका लागि भनेको स्थानमा व्यापार गरिएको छ।

मेयर बालेन्द्रको यो अभियान यसैविरूद्ध हो। उनको यस लोकप्रिय कदमविरुद्ध आउँदो आमचुनावमा आफ्नो जनमत खस्किने डरले सत्ताधारी र विपक्षी पार्टीका नेता एमालेका बस्नेत र सत्ताधारी पार्टी नेपाली कांग्रेसका विश्वकर्माले उनको विरोध गरेका छन्। यसका साथै वरिष्ठ कलमजीवीहरूलेपनि बालेन्द्रलाई कानुनअनुसार चल्न चेतावनी दिएका छन्। यसमा गहिरिएर के कुरा विचार गर्नुपर्छ भने काठमाडौँका मेयर बालेन्द्रले कानुनविरूद्ध के गैरकानुनी काम गरेका छन्? जस्तै-सुन्धारास्थित काठमाडौँ मलले नक्सा पास नगरी बनाएका व्यापारिक संरचना र परराष्ट्र मन्त्रालयद्वारा १ अरब ५ करोडमा निर्माण भएको भवनलाई कानुनको दायरामा ल्याउन खोजेका छन्।

उनले त जुन प्रयोजनका लागि नक्सा पास भएको छ सोही बमोजिम त्यसको प्रयोग गराउनाका लागि यो अभियान थालेका हुन। र, यो अधिकार नेपालको संविधान, कानुनअनुसार स्थानीय निकायलाई प्राप्त छ। उनले सोही अधिकार प्रयोग गरेका हुन्। काठमाडौँमा रहेका सरकारी निकायहरूमा सेवाग्राहीहरूको सर्वाधिक चाप हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र काठमाडौँ जिल्ला अदालतले आफ्नो भवन र क्षेत्र जुन प्रयोजनका लागि नक्सापास भएको हो सो नगरेर सेवाग्राही अत्यन्त मारमा पर्नुका साथै ट्राफिक प्रहरीलाई सो क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको कुरा कसैबाट लुकेको छैन।

मेयर बालेन्द्रलाई यो अभियानकै रूपमा व्यापक रूपमा सञ्चालन गर्न किन पनि बाध्य पार्‍यो भने स्थानीय निकायको अधिकार क्षेत्रभित्र रहेर नेपालका अर्बपति र सत्तारुढ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य विनोद चौधरी संलग्न अत्यन्त महँगो शुल्क लिएर स्वास्थ्य सेवादिने स्वास्थ्य संस्था ‘नर्भिक’ ले गैरकानुनी रूपमा अतिक्रमण गरेको सरकारी जग्गा खाली गराउन जाँदा सर्वोच्च अदालतले चौधरीको पक्षमा अल्पकालीन स्टे अर्डर दिएको थियो। हाल त्यो अल्पकालीन स्टे अर्डरको सुनुवाइ आजसम्म भएको छैन।

यस प्रकरणमा मेयर बालेन्द्र साह सामाजिक सञ्जालको माध्यमबाट नगरबासीलाई भन्न बाध्य भए-‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ।’ अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन, शायद यो कार्यकालपछि आउँछ कि? यस्तो छ हाम्रो न्यायप्रणालीको बेथिति! बालेन्द्रको यो भनाइविरुद्ध परेको अदालतको अपहेलना मुद्दामा परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग्ने आदेश समेत दिएको छ।

यसले बालेन्द्रलाई अब आउँदा दिनहरूमा कानुनी रूपमा सजग र सक्षम हुनुपर्छ भन्ने सन्देश दिएको छ। यहाँनेर ध्यान दिनयोग्य कुरा के छ भने अहिलेसम्म बालेन्द्रको यो अभियानविरुद्ध ‘नर्भिक’ बाहेक अरू कोही पनि न्यायिक उपचार खोज्न अदालत गएका छैनन्। यसले के जनाउँछ भने उनले चालेको यो कदम न्यायिक दृष्टिकोणले पनि उचित छ।

यसभन्दा अघि मेयर बालेद्र साहको हरेक काममा सँगसँगै देखिँदै आएकी एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल यस अभियानमा कहीँ कतै देखापरिनन्। र, उनको यस अनुपस्थितिलाई लिएर आमनगरबासी बीच चर्चा/परिचर्चा हुन थालेपछि उनलाई काठमाडौँ महानगरको यस अभियानमा मेरो पूर्णसाथ छ भनी वक्तव्य निकाल्न बाध्य पार्‍यो। काठमाडौंको यो अभियानको असर मुलुकका विभिन्न भागमा देखापरेको छ-हेटौँडा, कोहलपुर र पोखरा आदि।

विरासत बोकेका राजनीतिक पार्टीहरूले राष्ट्रहित र जनहितमा उल्लेखनीय रूपमा काम गर्न नसक्दा काठमाडौँबासीले अत्यधिक मतका साथ स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई ठूलो आशा र भरोसाका साथ विजयी गराएका हुन्। तसर्थ उनलाई असफल हुने छूट छैन। काठमाडौँको फोहोर व्यवस्थित रूपमा विसर्जन गर्न खोज्दा स्थानीय राजनीतिक पार्टीहरूले वक्तव्यै निकालेर अवरोध गरेकै हुन्। अहिले आम चुनाव मुखमा आएको हुनाले बन्चरे डाँडामा फोहोर विसर्जन गर्न दिइएको बुझ्न नसक्ने कुरै भएन। मेयर बालेन्द्र अहिले वैकल्पिक राजनीतिमा सबैले आश गरेका युवा नेता हुन्। उनी युवा छन् र उनमा जोश र जाँगर छ। उनी काठमाडौँलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउन लागिपरेका छन्। त्यसमा सबैको साथ र सहयोय आवश्यक छ।

काठमाडौँ मुलुकको राजधानी हुनुका साथसाथै सम्पूर्ण नेपालका सबै भौगोलिक क्षेत्रका नागरिक बस्ने थलो हो। त्यसकारण यसको विशेष महत्व छ। यसका साथै काठमाडौँ उपत्यका अनेकौँ सांस्कृतिक सम्पदाले भरिपूर्ण थलो हो। त्यसकारण यसको उचित व्यवस्थापन हुनु आवश्यक छ। हाम्रो मुलुकको प्रमुख आयस्रोत पर्यटन भएको र सबभन्दा पहिले पर्यटकले काठमाडौँमै पाइला टेक्ने हुनाले यो सहर सफा, सुन्दर, स्वच्छ र हराभरा हुनु आवश्यक छ। तसर्थ मेयर बालेन्द्रको यस अभियानलाई सम्बद्ध सबै पक्षले होस्टेमा हैँसे गर्नु आवश्यक छ।

प्रकाशित: १६ भाद्र २०७९ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App