१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

ओलीको दिल्ली परीक्षा

भारतलाई उसकै भूमिमा पराजित गरेर २३ वर्षपछि नेपालले सागको फुटबलतर्फको स्वर्ण पदक जित्दा सारा नेपाली आफूलाई सम्हाल्नै नसक्नेगरी खुसी भए। सामाजिक सञ्जाल खुसीका शब्दहरूले भरिए।सार्कको कुनै अर्को सदस्य राष्ट्रलाई पराजित गरेर फाइनल जितेको भए नेपालीमा यो हदसम्मको खुसी सायद प्रस्फुटित हुँदैनथ्यो। छिमेकीबाट सधैँ हेपिएको र समस्यामा पारिएको महसुस गरिरहेका नेपालीको अन्तरमनका असन्तुष्टि खुसीसँगै प्रस्फुटित भए। साँढे चार महिना लामो नाकाबन्दीले चरम पीडा भोगेका नेपाली मधेसले होइन भारतले नाकाबन्दीमा मुख्य भूमिका खेलेको ठान्छन्। मधेसवादी केही नेता गोटीमात्र बनाइएको विश्लेषण मधेसकै विद्वानहरूले खुलेरै गरिसके। भारतलाई फुटबलमा पराजित गर्दा सिंगो नेपालमा जुन शैलीले राष्ट्रवाद पुनः जाग्यो त्यसबाट नेपाली जनताको भारतलाई हेर्ने पछिल्लो दृष्टिकोण बुझ्न सकिन्छ। जसरी भारतीयको हृदयमा क्रिकेट छ, नेपालीको हृदयमा उसैगरी फुटबल छ। फुटबल प्रतिस्पर्धालाई नेपालीले प्रतिष्ठाको विषय ठान्छन्। साग फुटबल स्वर्णलाई नेपालीले नाकाबन्दीको बदला र पीडा बिर्साउने सुन्दर उपहार ठानेका छन्।

भारतको पूर्वोत्तर राज्य आसाममा नेपाली फुटबल टोलीले सानदार प्रदर्शन गरिरहँदा हिमालदेखि मधेससम्मका नेपालीले एक भएर टोलीलाई हौसला दिए। नेपाली राष्ट्रियतालाई खेलमार्फत् जागृत गराए। हिमालदेखि तराई–मधेससम्मका नेपालीमा खेलमार्फत् 'हामी हौँ' भन्ने भावना जागृत गरायो। खेलभावनाले राष्ट्रिय एकताको आत्मालाई जगायो। जब देशको सवाल आउँछ तब नेपाली जनता जाति, धर्म रंग त के आफैभन्दा माथि उठ्छन् भन्ने सन्देश प्रकट भइरह्यो। देशभक्ति र राष्ट्रियताको सवालमा नेपाली जनता कठोर पीडा सहन तयार हुन्छन्। नाकाबन्दीको सामना गरेर त्यो देखाइसके। खेलकुद प्रतिस्पर्धा होस् या बाह्य हस्तक्षेपको बेलामा नै किन नहोस् जुनसुकै कष्ट सहेर पनि राष्ट्रवादको लागि सहयोगीसिद्ध हुन्छन्। देशभक्तिको बलियो संस्कृतिलाई शासनसत्तामा रहेकाहरूले कसरी लिएका छन् र यसबाट देशहित या व्यक्तिगत स्वार्थमा ढाल्ने नीति लिनेछन् समयक्रमले देखाउला। शासनमा रहेकाहरू विदेशीसमक्ष कसरी प्रस्तुत हुन्छन् र देशहितका लागि कतिसम्म व्यक्तिगत जोखिम मोल्न तयार हुन्छन्, त्यो परीक्षाको घडी आउँदैछ।

प्रसंग प्रधान मन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको हो। नाका खोलिएपछि ओलीको भ्रमणको तिथि तोकियो। दिल्लीमा उत्रिएदेखि फर्कंदासम्म ओलीले बोकिराखेको राष्ट्रवादको पगरी उनको बोली र व्यवहारबाट छर्लंग हुनेछ। राष्ट्रवादको पगरी शीर निहुर्यादउँदा झर्ने त होइन? दूरगामी महŒव राख्ने वा असर पार्ने सम्झौताहरूको आशंका पनि गरिँदैछ। नाका खोल्ने विगतमा केही भित्री सम्झौताको बाचा त गरिएको छैन? ओलीले देशको दूरगामी हितलाई ध्यानमा राखेर भारतसँग सुमधुर सम्बन्ध राख्नु अनिवार्य छ। तर, यसो भन्दैमा नेपालले आफूमाथि छिमेकबाट लादिएको पीडाको विषय उठाउन छाड्नु हुँदैन। व्यापार र राजनीतिक मुद्दाको कूटनीतिक छलफल छँदैछन्। विशेषगरी सुरक्षाका सवाललाई गम्भीरताका साथ उठाउनुपर्छ। भारतले नेपाली भूमिमा आफूविरूद्धका गतिविधिबारे निकै चासो राख्छ। जाली नोटको कारोबार, सीमापार अपराध, भारत सरकारले आतंकवादी घोषणा गरेकाहरूले बेलाबेलामा नेपालमा आश्रय लिनेगरेको सवालका साथै भारतीय भूमिमा गैरकानुनी सामानको ओसारपसार नेपाली बाटो भएर हुने गरेको तर्फ प्रश्न उठाउने गर्छ। नेपालले चाहिँ नेपालविरोधी गतिविधि गर्नेहरूले भारतीय भूमिको दुरुपयोग गर्न खोजेको तर्फ गम्भीरताका साथ मुद्दा उठाउनु पर्दैन? ओलीले यो सवाललाई उठाउलान् कि नउठाउलान् प्रतीक्षाको विषय बनेको छ। नेपालको अखण्डतालाई चुनौती दिएका कुरालाई हल्का मानेर उखानटुक्का बनाएर उडाउनु हुँदैन।

ओलीको भ्रमण तिथि तय हुनु दुई साताअगाडि सरकारी, सैन्य अधिकारीका साथै नागरिक समाजका परिचित अनुहारहरूले दिल्लीको औपचारिक–अनौपचारिक भ्रमण गरे। सबै भ्रमण स्वाभाविक र सामान्य रह्यो। तर, नितान्त व्यक्तिगत भनिएको एउटा भ्रमणचाहिँ विवादास्पद छ। काठमाडौँका मिडियाले चर्चामा नल्याए पनि दिल्लीमा मिडियाले चर्चामा ल्याएको भारत बसाइमा छन्– सीके राउत। नेपालबाट 'मधेस टुक्राउँछु' भन्दै गतिविधि गरिरहेका उनलाई दिल्लीका केही मिडियाले महŒव दिए। भारतीय मिडियामा कार्यरत एकजना नेपालीले अन्तर्वार्तासमेत लिएर प्रकाशित गराए। मूलधारको भारतीय मिडियाबाट उनले पाएको महŒवले धेरै अर्थ राख्छ। उनी दिल्ली आउनु र राजनीतिक उद्देश्यले सक्रिय हुनुले नेपाली अधिकारीहरूलाई पक्कै पनि गम्भीर बनाइरहेको होला। त्यसमाथि उनले मधेसी समुदायका नेपालीसँग दिल्लीमा भेटघाट तीव्र पारे। नेपालको विभाजन अभियानमा लागेका राउत दिल्लीमा नेपाल मामलामा चासो राख्नेहरूसँग भेटघाटमा रहे। उनले क–कसलाई भेटे समयले सतहमा ल्याउला। नेपालमा रहँदा युरोपेली राजदूतहरूसँग उनले गरेको भेट विवादमा नआएको होइन। यी विषयहरूमा थप गम्भीर बन्ने कि नबन्ने?

यहाँ अर्को गम्भीर र मननीय पक्ष पनि छ, जतिबेला नेपाल टुक्राउँछु भन्दै हिँडेका सीके राउत भारतीय भूमिमा अघोषित राजनीतिक सक्रियता देखाइरहेछन् त्यतिबेला दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा भारतविरोधी नारा लागेको भन्दै विद्यार्थी युनियनका निर्वाचित अध्यक्ष 'देशद्रोह'को अभियोगमा पक्राउ परेका छन्। पक्राउ परेका विद्यार्थी नेताले विभाजनको बोली बोलेको नभई नागरिक स्वतन्त्रताको पक्षमा आवाज उठाएको तर्क भइरहेको छ। पक्राउ भारतको आन्तरिक मामला हो। तर, यो एउटा स्पष्ट सन्देश हो– भारतमा विभाजनको बोली बोल्नेसमेतले गम्भीर कानुनी कारबाहीको भागिदार बन्नुपर्छ। विद्यार्थी पक्राउको पक्ष र विपक्षमा गतिविधिहरू भइरहँदा भारतीय गृह मन्त्री राजनाथ सिंहले भारतको शान्ति, सुरक्षा र एकतामाथि खलल पुर्यामउन खोज्नेलाई छुट नदिइने अभिव्यक्ति सार्वजनिक गरिसके। भारत आफ्नो एकता र सुरक्षाका दृष्टिमा निकै गम्भीर छ भन्ने बुझ्नुपर्छ।

भारतले नेपालको सुरक्षा र एकताका सवालमा बनाएको दृष्टिकोण उत्तिकै चासोको विषय हो। भारतीय सुरक्षाविज्ञहरू त्यहाँको सुरक्षाबारे चिन्तन गर्दा नेपाललाई सुरक्षादृष्टिले शीरजत्तिकै ठान्छन्। तीनतर्फ सीमा जोडिएको हिमालको काखमा रहेको देशबाट आफूलाई सुरक्षा चुनौती हुने गतिविधितर्फ सधैं चनाखो हुने गर्छन्। चीन या अन्य शक्तिराष्ट्रले प्रभाव बनाएर असजिलो पार्न सक्नेतर्फ सतर्क हुन्छन्। नेपालले भारतको सुरक्षा चासोमा सधैँजसो सहयोगी भूमिका निर्वाह गर्दै आएको इतिहास साक्षी छ। भारतविरोधी गतिविधि गर्नेलाई नेपालमा ठाउँ बनाउन नदिन सुरक्षा निकाय उत्तिकै गम्भीर छ। नेपाली भूमिमा लुकेर बसेका कतिपय भारतविरोधीहरू पक्राउ गरी सुपुर्दुगी गरिएका छन्। खुल्ला सीमाको दुरूपयोग गरी प्रवेश गरेका आतंककारी गतिविधिका आरोपीदेखि भारतको विभाजनमा सक्रियहरूसमेत नेपाली भूमिमा प्रवेश गर्नेबित्तिकै पासोमा परेका घटना छन्। नेपालले कहिल्यै पनि भारतविरोधी गतिविधिलाई छुट नदिने नीति व्यवहारमै कार्यान्वयन गरेर देखाएको छ।

के भारतले नेपालको सुरक्षा र एकतामा यस्तै गम्भीरता देखाएको छ? भारतका पछिल्लो गतिविधिले नेपालमा निकै शंका उब्जाएको तीतो सत्य हो। सिक्किमीकरणको प्रसंग उठाएर राष्ट्रवादी बन्नेहरू नेपालमा निकै बलियो भएका छन्। नेपालको विभाजनमा सक्रिय सशस्त्र र निशस्त्र गतिविधि गर्नेहरूको भारतीय भूमिमा शंकास्पद ओहोरदोहोरलाई गम्भीरताका साथ लिएका छन्। 'खुल्ला सीमा' को प्रसंग पुरानो भइसक्यो। नेपाल र भारत दुवैतर्फ सशस्त्र सीमा सुरक्षा फौज तैनाथ भएपछि निगरानी बढिरहेको सीमामा परिणत भइसक्यो नेपाल–भारत सीमा। अर्कोतर्फ सीके राउतले दिल्लीमा रहेर बढाएको सक्रियता निकै संवेदनशील विषय हो। कूटनीतिक माध्यमले यसबारे भारतसमक्ष चासो व्यक्त भयो–भएन भविष्यमा खुल्ला। तर, नेपाली सुरक्षा अधिकारीहरूले यसलाई निकै गम्भीरताका साथ लिएको हुनुपर्छ। उच्च तहको भेटघाटमा यी सवालहरू प्राथमिकताका साथ उठ्नुपर्छ।

प्रधान मन्त्री ओलीले भारत भ्रमणमा सुरक्षाका विषयलाई कसरी उठाउलान् प्रतीक्षाको विषय छ। भौतिक विकाससम्बन्धी सम्झौता गर्दैमा र त्यसको कार्यान्वयन हुँदैमा देशमा शान्ति र स्थायित्व आउँछ भन्ने छैन। सुरक्षा र आन्तरिक एकता नहुँदा विनाशकारीहरू जन्मिएर संरचना ध्वस्त पारिदिन्छन्। १० वर्षे माओवादी हिंसाले प्रष्ट पारिसक्यो। अर्कोतर्फ राजनीतिक स्थायित्व र शान्तिबिना विकासनिर्माणले गति लिन सक्दैन। सुरक्षाबिना विकास असम्भव छ। देशको अखण्डतामाथि चुनौती दिन खोज्नेहरूको सक्रियता र शंकास्पद भ्रमणहरूले खतरनाक अवस्था ल्याउन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्छ। देशमा जातीय घृणाको बीउ रोपेर विभाजनको मार्ग खोल्न हिंसात्मक द्वन्द्वको प्रतीक्षा गरिरहेकाहरूले बाह्य महŒव पाउनु सामान्य हुन सक्दैन। यो गम्भीर विषय हो जसले कालान्तरमा देशमा अर्को विनाश निम्त्याउन सक्छ। विषयको गम्भीरता नबुझ्दा विगतमा देशले १० वर्षे द्वन्द्वको भारी बोक्नुपर्योच। अब अर्को भारी बोक्ने अवस्था नआओस्।

भारत भ्रमणमा आउनुअघिसम्म प्रधान मन्त्री ओली 'राष्ट्रवादी' कहलिएका छन्। राष्ट्रवादका लागि भन्दै जनताले अभाव र कालोबजारीले ढाड सेकिँदासमेत सहिरहे। नेपाली जनता राष्ट्रियताका सवालमा हदैसम्मको आन्तरिक अन्यायसम्म सहन तयार हुँदोरहेछन्– घटनाक्रमले प्रमाणित गर्योि। ओलीले जनताको राष्ट्रवादी भावनालाई कमजोर हुन नदिने गरी भारत भ्रमणलाई सार्थक बनाउन सक्नुपर्छ। तर, भारतविरोधी राष्ट्रवाद नेपाल र भारत दुवैको हितमा छैन। सीके राउतदेखि जयकृष्ण गोइत र ज्वाला सिंहहरूले छिमेकीको भूमि नेपालविरुद्ध दुरुपयोग गर्ने क्रम रहिरहे भारतविरोधी राष्ट्रवाद झन् उठ्छ। यो अवस्थामा परिवर्तन ल्याएर परस्पर सहयोगको सम्बन्ध पुनर्विकास गर्ने मार्ग खोल्नुपर्छ। नेपालको सुरक्षा, शान्ति, समृद्धिका लागिमात्र नभई अखण्डताका सवालमा भारतको गम्भीरता व्यवहारमै प्रदर्शन हुने वातावरण विकास गर्न सकेमात्र ओली सफल देखिने छन्।

प्रकाशित: ६ फाल्गुन २०७२ २१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %