१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
विचार

राष्ट्रको आत्मा

फ्रान्सेली दार्शनिक अर्नेस्ट रेननले 'राष्ट्र के हो'शीर्षकमा सन् १८८२ मा प्रवचन दिएर धर्म, नश्ल, भाषा, व्यापार वा सीमाबाट राष्ट्र बन्ने तर्कलाई अस्वीकार गर्दै राष्ट्रलाई सम्पूर्ण जनताको साझा तर 'महान् सम्झौता' भने।राष्ट्रको परम्परागत संकुचित परिभाषालाई गलत ठहर्याउँदै राष्ट्र निश्चित सीमामा सीमित नहुने प्रष्ट पारे । उनको तर्कलाई आधार मान्ने हो भने, हरेक राष्ट्र एक आत्मा हो जसमा जनजनको मन जोडिएको हुन्छ । भिन्न पहिचान हुँदाहुँदै हरेक नागरिकलाई अदृश्य तन्तुले जोड्छ । 'हामी हौँ' भन्ने भावना जागृत हुन्छ । देशको एकता, समृद्धि र शान्तिमा यही भावनाले मुख्य भूमिका खेल्छ । त्यस्तो भावना बलियो बनाउने मूल दायित्व देशलाई नेतृत्व दिनेहरूको हो । बितेका युगमा राष्ट्रलाई विशेष योगदान पु¥याउने देशभक्तको समर्पण र महान् कार्यबाट जनताले गर्व गर्छन् । आशा गर्न लायक वर्तमान नेतृत्वबाट सुन्दर भविष्यको चाहना राख्दै नागरिकको कर्तव्य पूरा गर्छन् । यस्तै गर्व, आशा, अन्तर्सम्बन्ध र परस्पर सम्मानले भिन्न भाषा, धर्म, नश्ल र वर्गका नागरिकबीच आत्मीयता बढ्छ । जनजनमा राष्ट्रप्रति अगाध प्रेम प्रकट हुन्छ । नागरिकको मनमस्तिष्कमा राष्ट्रले आफूलाई सुरक्षा र अवसर दिइरहेको महसुस भई राष्ट्रलाई पनि दिनुपर्ने भावना विकास हुन्छ । सारमा राष्ट्र निश्चित भूगोलको प्राकृतिक स्रोत र साधनमात्र नभई आत्मा हो, जसले जनतालाई जोड्दै र सम्हाल्दै डोर्याउँछ ।

राष्ट्रको विगत, वर्तमान र भविष्य हुन्छ । विगतको गौरवले वर्तमानलाई ऊर्जा दिन्छ । वर्तमानको ऊर्जाले भविष्यको मार्ग कोर्छ । विगतका इतिहासका तीता–मीठा घटनाबाट पाठ सिकेर वर्तमानले सकारात्मक बाटो देखायो भनेमात्र सुन्दर भविष्य बन्छ । इतिहासलाई खोतलेर पूर्वाग्रही शैलीमा नकारात्मक पक्षमात्र देखाएर घृणा जगाउने हो भने संसारभर डरलाग्दो हिंसा हुन्छ । मंगोलहरूको क्रूरतम इतिहासलाई पल्टाएर घृणा जगायो भने तिनका वर्तमान पुस्ता बदलाको सिकार हुन सक्छन् । १३औँ शताब्दीमा चंगेज खाँले ध्वंस मच्चाएर लाखौँको ज्यान लिएका थिए । बेइजिङ्गमाथि विजय हासिल गरी ध्वस्त पारेका थिए । अर्कोतर्फ भूमि बढ्दैमा राष्ट्र फैलँदैन भन्ने उदाहरण चंगेज खाँ र अलेक्जेन्डर महान् हुन्, जसले विश्वको आधा भूभाग जितेर पनि टिकाउन सकेनन् । नेपालको सन्दर्भमा पृथ्वीनारायण शाह केही फरक देखिए । उनले भूगोलमात्र जितेनन्, नेपाल राष्ट्र निर्माणको बलियो सूत्र तयार गरे । पराजित राज्यको संस्कृतिको सम्मान गरे । 'नेपाल चार जात र छत्तीस वर्णको साझा फूलबारी हो,' उद्गारमार्फत् भिन्न जाति, समुदाय र क्षेत्रका जनताको संस्कृतिको सम्मान गर्दै देश कुनै खास जाति, भाषा र वर्णको मात्र होइन भन्ने सन्देश दिए । त्यसैले शाहलाई भौगोलिक एकीकरणकर्ता मात्र भन्नु अति पूर्वाग्रही सोच हो । उनले मुलुकको जेजस्तो व्याख्या गरे, त्यसलाई राष्ट्रको समृद्धि र विकासका लागि समयसान्दर्भिक तरिकाले परिवर्तन गर्दै जान सकिन्छ, योगदानलाई नदरअन्दाज गर्न सकिँदैन । उनको उद्गारलाई आफूअनुकूलको व्याख्या गर्ने पूर्वाग्रही शैली व्याप्त छ ।

पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा राष्ट्र निर्माणपछि प्रवाह गरेको सन्देशलाई शासकहरूले कसरी बुझे र व्यवहारमा उतारे वर्तमानको यक्ष प्रश्न यही हो । २१औँ शताब्दीमा आइपुग्दा समेत जाति, धर्म, भाषा वा क्षेत्रविशेषको पूर्वाग्रही सोच बोकेर राष्ट्रको परिभाषा निर्माण गर्दै शासन सञ्चालन गर्ने नेतृत्व पंक्ति वर्तमानको ठूलो समस्या हो । यस्तै सोचबाट ग्रस्तहरूबाट नेपालको एकता र अखण्डताबारे चिन्ता र प्रश्न उठाइरहनु हास्यास्पद हो । निश्चित भूभागमा केन्द्रित रही पृथकतावादी सोच सलबलाउन थालेबाट चिन्ता र प्रश्न उठेको छ । तर, पृथकतावादी सलबलाउनुको बाह्यसँगै आन्तरिक पक्षबारे गम्भीर हुन जरूरी छ । तराई–मधेसको आन्दोलनलाई अर्थ–अनर्थ लगाउनेको कमी छैन । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको नाममा नाका बन्द गरेर जनताको चुल्हो निभाउने कदम कदापि उचित होइन । तर, मधेसीले 'हामी नेपालको शासक बन्न चाहन्छौँ' भन्नुलाई अपव्याख्या गरेर पृथकवादी देख्नु ठूलो भुल हो । महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादवलगायतले राज्यको कार्यकारी पदको दाबेदारी प्रस्तुत गर्नु राष्ट्रहितमा छ । यसलाई अन्य जाति वा भाषिका नेताहरूले राष्ट्रियतामाथि चुनौती देख्नु 'मै राष्ट्र हुँ' भन्ने तानाशाही सोचबाहेक केही होइन । पृथकतावादी सीके राउत, जयकृष्ण गोइत र ज्वाला सिंहसँग संविधानको विपक्षमा उभिएका आन्दोलनकारी मधेसवादी दलका नेतालाई जोडेर हेर्ने पूर्वाग्रही सोच खतरनाक छ । सबैलाई एउटै डालोमा राख्नु आफैमा बिखण्डनवादी सोच हो । अर्कोतर्फ मधेसवादी दलहरू राष्ट्रको आत्मालाई मार्ने षड्यन्त्रको सहयोगी हुनुहुँदैन । तिनले शासनसत्ताको साँचो लिइआएकाबाट राष्ट्रको परिभाषामा भइआएको गल्तीलाई सच्याउन भूमिका खेल्नुपर्छ ।

नेपालमा शासन गर्न पहाडीमूलको हुनुपर्ने, त्यो पनि ब्राह्मण या क्षेत्री समुदायको पुरूष नै हुनुपर्ने अघोषित मापदण्ड ठूलो समस्या हो । जुनसुकै क्षेत्र, समुदाय, धर्म वा जातको नै किन नहोस् लोकतान्त्रिक पद्धतिबाट नेपालको बागडोर जनहितकारी, राष्ट्रभक्त, क्षमतावान्, जिम्मेवार र दूरदर्शी नेपाली नागरिकले सम्हाल्नुपर्छ । इतिहास साक्षी छ, कुनै जात र लिंगविशेषले जिम्मेवारी लिँदैमा देशले अपेक्षाकृत समृद्धि, शान्ति र स्थायित्व हासिल गरेन । केही अपवादबाहेक नेपालको कार्यकारी अधिकार कथित उच्च जातिका पुरूषहरूले मात्र हात पार्दै आएका छन् । उच्च जातिले शासन चलाउँदैमा देशले समृद्धि हासिल गर्ने रहेनछ । पुर्खाको बिर्ता होइन देशको शासनसत्ता । अस्थिरतामा भविष्य देख्नेहरू जातीय र साम्प्रदायिक घृणा फैलाएर परिस्थित आफूअनुकूल बनाउँछन् । नेपाली राजनीतिमा यही प्रवृत्तिले निरन्तरता पाइरहेछ । तिनै व्यक्तिहरू राष्ट्रवादको नारा घन्काउँछन् । भ्रम फैलाउने किसिमको राष्ट्रवादको मुद्दा उचालेर मत लिन्छन् अनि सत्ताको मह चाटिरहन्छन् !

राष्ट्रको आत्मामा ठेस पु¥याउनेहरू राष्ट्रवादी हुन सक्दैनन् । देशको नेतृत्व लिने सच्चा राष्ट्रवादीले जनताको मनमस्तिष्कमा राष्ट्र प्राथमिक हो भन्ने भावना जागृत गराउन सक्नुपर्छ । जाति, भाषा, क्षेत्र, समुदायविशेषको सोचभन्दा माथि उठेर सन्देश प्रवाह गर्न सक्नुपर्छ । लोकतन्त्रपछिको हाम्रो नेतृत्व यही भावना बोकेर जनताको सेवामा समर्पित रह्यो या रहेन ? जनताले उनीहरूबाट राष्ट्रभक्तबाट हुनुपर्ने व्यवहार भएको महसुस ग¥यो कि गरेन ? यी प्रश्नहरूको उत्तर खोज्ने हो भने अधिकांशले राष्ट्रवादको अपव्याख्या गर्दै कुनै खास जाति, भाषी वा समुदायको हितमा केन्द्रित राखेको तथ्य छर्लंग हुन्छ । आफूबाहेक अरुलाई राष्ट्रघाती देख्ने, आफ्नो जाति वा समुदायबाहेक अरुलाई राष्ट्रियताप्रतिको खतरा देख्ने प्रवृत्ति पञ्चायतकालदेखिकै हो । विपक्षीलाई कमजोर पार्नुपर्दा राष्ट्रघातिको आरोप लगाइदिए पुग्ने !

कुनै खास समुदायको व्यक्ति उग्रवादको सिकार भएर पृथकतावादी बन्यो भन्दैमा सिंगो समुदायलाई दोष दिनु उल्टै पृथकतावादलाई मलजल गर्नु हो । व्यक्ति खराब हुनसक्छ सिंगो समाज र समुदाय खराब हुन सक्दैन । अर्कोतर्फ नश्ल, जाति–जनजाति, भाषा वा धर्म भजाएर सामान्य जनतालाई भड्काउँदैमा राष्ट्र विभाजित हुँदैन । भाषा फरक हुँदैमा राष्ट्र खण्डित हुँदैन र भाषा समान हुँदैमा मात्र राष्ट्र एक भइरहँदैन । समान भाषा बोल्ने बहुसंख्यक नागरिक भए पनि कोरिया विभाजित भयो । जर्मनी पनि विभाजित भई १९९० मा पुनः एकीकरण भयो । सीमा जोडिएको बंगलादेश र पश्चिम बंगालमा बहुसंख्यक बंगाली भाषी छन् । भाषा फरक भएकै आधारमा श्रीलंकामा तामिलहरूले अलग देश बनाउन खोजे, तर विफल भए । हिंसाले जनधनको नोक्सानमात्र भयो । अरबका धेरै मुलुकमा अरबी भाषा बोलिन्छ, तर त्यहाँ धेरै देश छन् । मध्यपूर्वका देशहरूमा इस्लाम धर्म मानिन्छ । धर्मका नाममा इस्लामिक स्टेट नामक अतिवादी समूह मध्यपूर्वमा एउटा सिंगो देश बनाउन हिंसा मच्चाइरहेछ । धर्मले आपसी एकता स्थापित गर्ने भए मध्यपूर्वका देशहरूबीच युद्ध हुने थिएन । इराक र इरानबीच लडाइँ भयो । अहिले साउदी अरब र इरानबीच गतिरोध बढेको छ । शतप्रतिशत एकै धर्म मान्ने देशहरूभित्र पनि आन्तरिक द्वन्द्व छ । धर्मको राजनीतिले मात्र राष्ट्रिय एकता मजबुत हुने रहेनछ ।

भिन्न नश्ल वा जातिका नाममा राष्ट्र बनिहाल्दैन । रेननकै तर्कलाई आधार मान्दा जाति, जनजाति, नश्ल, भाषा, धर्म वा समुदायको संख्याका आधारमा राष्ट्र बन्ने भए संसारमा हजारौँ देश हुन्थे । नश्ल, जाति, भाषिलगायत तत्वका आधारमा मात्र राष्ट्र बनेको हुँदैन । राष्ट्र सम्प्रदायविशेष होइन । तसर्थ, जातीय वा भाषिक पहिचान फरक भएकै आधारमा विखण्डनवादी सोचलाई बढावा दिनेबाट सचेत हुन जरूरी छ । नेपाल राष्ट्र हो र यो कुनै भाषा वा जातिविशेषका आधारमा निर्माण भएको होइन । कुनै जातिविशेषको शासनमात्र रहनुपर्छ वा रहला भन्ने देख्नु अर्को भुल हो । राष्ट्र राजनीतिक व्यवस्थामा मात्र सीमित नभई सामाजिक अन्तर्सम्बन्ध र आत्मीय भावनाको सशक्त तथा स्थायी संगठन पनि हो । नेपाल राष्ट्र सशक्त आत्मा हो, जसले पौने तीन करोड सार्वभौम नेपालीलाई नेपाली हुनुको परिचयमात्र दिएको छैन विभिन्नताका बीच साझा ऐतिहासिक संगठनमा बाँधेको छ । त्यसैले जिम्मेवार पदमा रहनेले २१औँ शताब्दीमा दायरा फराकिलो हुँदै गएको राष्ट्रको परिभाषा बुझ्न जरूरी छ । राष्ट्रको आत्माको सम्मान गर्न सके समृद्धि, शान्ति र विकास हासिल हुन्छ ।

प्रकाशित: २६ माघ २०७२ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %