१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सडक, सपना र संवेदना

सडक एउटा महत्त्वपूर्ण भौतिक संरचना हो। यो विकास र समृद्धिको संवाहक पनि हो। अनि यो सडक संरचना निर्माणसित धेरै मानिसको सपना पनि जोडिएको हुन्छ, समृद्धिको सपना। सडक निर्माणमा धेरै मानिसले आफ्नो सम्पत्ति त्यागेका हुन्छन् अथवा गुमाएका हुन्छन्। त्यसैले सडकसँग धेरै मानिसको संवेदना पनि जोडिएको हुन्छ। धेरै मानिसको सपना र संवेदना जोडिएको सडक र सडकपेटी निजी लाभका लागि प्रयोग हुनु उचित होइन र शोभनीय पनि होइन।

कसैले माने पनि नमाने पनि धेरै समयदेखि हाम्रा सहरका सडकपेटीहरू निजी लाभका लागि प्रयोग हुँदै आए। धेरै अघिदेखि नै सडकपेटी अतिक्रमण गरी व्यापार गर्ने क्रम चल्दै आएको छ। सडकपेटीमा सानोतिनो व्यापार गर्ने खुद्रे व्यापारी र नगर प्रहरीबीचको लुकामारी खेल पनि धेरै वर्षसम्म चल्यो र अझै चलिरहेछ।

व्यापारीलाई पनि बिना भाडा थोरै लगानीले सानोतिनो व्यापार गरी गुजारा गर्न मद्दत पुग्ने र ग्राहकलाई पनि सस्तो र किफायत मूल्यमा आफ्नो माग र चाहना पूरा हुने हुँदा सडकपेटीको व्यापार निकै लोकप्रिय पनि बन्यो। तर सडकपेटीको व्यापारले आवागमनमा अवरोध पुर्‍याएको, दुर्घटनालाई बढावा दिएको र केही हदसम्म सहरी सौन्दर्यलाई नै बिगारेको र पर्यटन व्यवसायलाई समेत नकारात्मक असर पारेको पनि सत्य हो। सम्भवत यही सत्यलाई मनन गरेर नै काठमाडौँ महानगरपालिकाले समय-समयमा सडक व्यापारीलाई हटाउने वा उठाउने कार्य गर्दै आएको हो। तर नगरप्रहरीको आँखा छल्दै वा नगरप्रहरीलाई घुस खुवाउँदै यस्तो व्यापार धेरै समय चल्यो। अद्यापि सहरका धेरै ठाउँका सडकपेटीमा यस्तो व्यापार चलि नै रहेको छ।

अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ। यसो हुँदा सडकपेटीमा व्यापार गर्नेलाई विभिन्न तरिकाले व्यवस्थापन गर्न खोजिए पनि पूर्णरूपमा सफल हुन सकेको छैन। त्यसैले नगरप्रहरी र सडक व्यापारीको लुकामारी खेल अहिले पनि चलि नै रहेको छ।

सडक र सडकपेटी निसन्देह आवागमनका लागि नै हो। यो सानो अथवा ठूलो कुनै पनि व्यापारका लागि हुँदै होइन। तर कहिलेकाहीँ गरिखान खोज्नेहरूले यही सडकपेटीलाई आफ्नो आश्रयस्थल बनाउन खोज्दा त्यहाँ नगरप्रहरी र व्यापारीको लुकामारी अथवा आँखाछोपी खेल चलिरहेको हो। अनि गरिब भएकै कारण भाडा तिरेर व्यवस्थित किसिमले व्यापार गर्न नसक्ने र थोरै लगानी र मेहनतले केही गरिखान खोज्नेप्रति सर्वसाधारणको समर्थन र सहानुभूति पनि जागेकै हो।

गरिबीसँग लड्दै केही गरिखान खोज्ने नागरिकप्रतिको सर्वसाधारणको सहानुभूति र संवेदनाका कारण कहिलेकाहीँ सडक व्यापारीलाई हटाउने वा उठाउने काम आलोच्यसमेत हुने गरेको छ। केही दिनअघि काठमाडौँको सडकमा मकै पोलेर बेच्ने दम्पतीमाथि नगरप्रहरीले गरेको धरपकडलाई धेरै सर्वसाधारणले विरोध पनि गरे। सडकको आवागमनलाई अवरोध पुर्‍याएर मकै पोलेर बेच्ने दम्पतीकै समर्थनमा धेरैले आआफ्ना मत पनि जाहेर गरे। आर्थिक सहयोग पनि गरे। तर हिजो त्यही सडक र सडकपेटी निर्माणका लागि लाखौँ र करोडौँ मूल्यको घर-टहरा भत्काउँदा हारगुहार गरिरहेका पीडितलाई राहत दिन वा आर्थिक सहयोग गर्न कसले र कुन निकायले जिम्मेवारीबोध गर्‍यो त? भावुकता र संवेदनालाई बढी महत्त्व दिंदै गर्दा व्यावहारिक पक्ष ओझेलमा पर्ने र अन्ततः यसले समस्यालाई थप पेचिलो बनाउने कुरालाई पनि बिर्सनु हुँदैन।

गरिखान खोज्नेलाई अवसर नदिने र विकासमा सहयोग गर्नेलाई सम्मान पनि नगर्ने सरकारलाई विवेकशील सरकार भन्न सकिन्न। ठगेर खानेलाई अवसर दिने र प्रोत्साहित गर्ने, अनि गरिखान खोज्नेलाई लखेट्ने र विकासमा सहयोग गर्नेलाई नै अपमानित गर्ने प्रवृत्तिले जनमानसमा सरकारप्रति असन्तुष्टि उत्पन्न गराउँछ र दुःखले ल्याएको लोकतन्त्रप्रति नै वितृष्णा जन्माउँछ। यसतर्फ पनि सचेत र सजग हुनु जरुरी छ। मुख्य कुरो हामीले गरिबलाई हटाउने कि गरिबीलाई? यसमा चाहिँ हामी स्पष्ट हुनु जरुरी छ।

विगतमा मान्छेका घर-टहरा भत्काएर र करेसाबारी पुरेर पनि सडक फराकिलो पार्ने र सडकपेटी बनाउने काम भएको छ। सडक र सडकपेटीका लागि जजसको घर भत्काइयो, तिनको संवेदनालाई पनि हामीले सम्झनुपर्छ र त्यसको सम्मान गर्नुपर्छ। सडकपेटीमा बसेर सानोतिनो व्यापार गरी गुजारा गर्नेको पक्षमा बोल्दै गर्दा हिजो सडक र सडकपेटीकै लागि घर भत्काइएका मान्छेको मन कुँडिनु स्वाभाविक हो। सडक र सडकपेटी कसैको होइन र सबैको हो पनि। यो सार्वजनिक हितका लागि प्रयोग हुनुपर्छ, न कि कसैको निजी लाभका लागि। त्यही सडक र सडकपेटीका लागि हिजो आफ्नो करोडौँ मूल्यको घर बङ्लङ् बङ्लङ् भत्काउँदा पनि सडक भनेको सबैका लागि हो भनेर मन बुझाएर बसेका मान्छेका मन अहिले त्यही सडकपेटीमा कसैले निजी लाभका लागि मकै पोलेर बेच्न बसेको देख्दा, तरकारी बेच्न बसेको देख्दा, मःम बेच्न बसेको देख्दा, चटपटे बेच्न बसेको देख्दा अथवा कपडा वा अन्य खुद्रासामान बेच्न बसेको देख्दा कति पोलेको होला? यो संवेदनाको पक्षलाई पनि उत्तिकै महत्त्वका साथ हेरिनुपर्छ।

हिजोका दिनमा पुस्तौँदेखि बसोबास गर्दै आएको घर-टहरा जबरजस्ती भत्काएर सडक र सडकपेटी फराकिलो पारेको कसैले व्यापार गर्नका लागि होइन। सहरका जनताले आफू बेघर भएर पनि विकासको काममा सघाएको र सडक फराकिलो पार्न सघाएको यसरी कोही-कसैलाई कुनै सानातिना व्यापार-व्यवसाय गर्नका लागि हुँदै होइन। बरु यात्रु र सवारी साधनको सहज आवागमनका लागि हो। विकासका लागि हो। सभ्यताका लागि हो र सहरको सौन्दर्य वृद्धिका लागि हो। यद्यपि सडकपेटीकै एउटा कुनामा बसेर केही गरिखान्छु भन्नेमाथि सरकार निर्ममतापूर्वक प्रस्तुत हुनुचाहिँ शोभनीय होइन र त्यो सह्य पनि छैन। सडकपेटीमा बसेर व्यापार गर्नुपर्ने अवस्था समस्याकै रूपमा छ भने त्यसलाई व्यवस्थापन गर्न सम्बन्धित निकायको पहल आवश्यक छ। क्षणिक आवेशमा बल र शक्ति प्रयोग गर्दैमा समस्या समाधान हुन्छ भनेर सोच्नु गलत हो। दीर्घकालीन समाधानसहितको सोच र योजनासहितको कामले मात्रै सबैको साथ, समर्थन र सहयोग प्राप्त गर्न सक्छ। आवेगको भरमा हुने कामकारबाहीले समर्थन र विरोध दुवैलाई उत्तिकै प्रश्रय दिन्छ। अहिले यस्तै नै भइरहेको छ। राज्यले सडकपेटीमा बसेर केही गरिखान खोज्ने र त्यही सडकपेटीका लागि आफ्नो सम्पत्ति गुमाएका नागरिकको पीडा र संवेदनालाई बुझ्न सक्नुपर्छ।

हिजो सहरका विभिन्न स्थानमा सडक फराकिलो बनाउने नाउँमा जनताका निजी सम्पत्ति मास्दै गर्दा पनि पीडितको पक्षमा भन्दा सरकारकै कामको समर्थनमा वकालत गर्नेहरूको संख्या धेरै थियो। त्यो समर्थन विकासका लागि थियो। अनि त्यो विकास कोही कसैका लागि मात्रै होइन, सबैका लागि थियो। त्यसैले केही मान्छेका पीडा र वेदनालाई लत्याएर पनि सडक र सडकपेटी विस्तार गर्ने काम भयो। तर अहिले गरिखाने निहुँमा त्यही सडकपेटी ओगटेको देख्दा सडक र सडकपेटीकै लागि भनेर आफ्नो लाखौँ र करोडौँको सम्पत्ति गुमाएका जनताको मनमा कस्तो पीडा भइरहेको होला भन्ने विषयलाई पनि मनन गर्नुपर्छ। गरिब र गरिखाने वर्गप्रतिको एकतर्फी समर्थन, सहानुभूति र संवेदनाले अर्को पीडित पक्षको मनमा असन्तुष्टि, आक्रोश र विद्रोहको ज्वाला दन्काइरहेको पनि हुन सक्छ। गरिखान खोज्नेका लागि उचित व्यवस्थापन गर्दै हिजोका पीडितहरूलाई पनि सान्त्वना दिने काममा राज्यका सम्बन्धित निकायहरू सजग र सचेत हुनु जरुरी छ।

सडकपेटी ओगटेर गरिखान खोज्नेको पक्षमा मात्रै भावावेशमा समर्थन, सहानुभूति र संवेदना प्रकट गर्दै गर्दा हिजोका सडकपीडित नागरिकप्रति सरासर अन्याय हुन जान्छ। सडक र सडकपेटी कसैका लागि गरिखाने ठाउँ होइन भन्ने सचेतना जगाउन र त्यस्ता वर्गलाई उचित स्थानमा व्यवस्थापन गर्न स्वयं महानगरपालिकाले नै अगुवाको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। आफू बेघर भएर पनि अरूलाई सुविस्ता दिन योगदान गर्नेहरूलाई पनि उचित सम्मान दिनुपर्छ। आखिर जुनसुकै वर्गको नागरिक होस्, तिनको पीडामा मलम लगाउने दायित्व त राज्यकै हो नि।

प्रकाशित: २२ श्रावण २०७९ ००:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App