बूढेसकालमा आँप रोपेर के गर्नुहुन्छ? यसको फल तपाईंले खान पाउने होइन।
वृद्ध मुसुक्क हाँस्दै भने– मैले रोपेको आँपको बिरुवाको फल मेरो नातिनातिनाले खानेछन्, जसरी मेरो हजुरबुवा–हजुरआमाले रोप्नुभएको आँपको फल मैले खाएँ। वृद्धको उत्तर सुनेर त्यो व्यक्ति चुप भयो। वृद्धाले वृद्धको उत्तरमा साथ दिँदै थपिन्, 'हामीले जसरी अघिल्लो पुस्ताले रोपेको फल खाइरहेछौँ त्यस्तै हामीले भविष्यको पिँढीका लागि रोपेर जानुपर्छ।'
हरेक पुस्ता अघिल्लो पुस्ताको योगदानको फल खाइरहेको हुन्छ। अघिल्लो पुस्ताको देनबाट नयाँ पुस्ताको वर्तमान धेरै हदसम्म निर्धारित हुन्छ। अघिल्लो पुस्ताले स्रोतको दोहन गरेर केही बाँकी नराखी गएमा आउँदो पुस्ता दुःख र अभाव झेल्न बाध्य हुन्छ। स्रोतको उचित व्यवस्थापन गर्न नसके संकटको सामना गर्नुपर्छ। नयाँ पुस्ता अहिले त्यस्तै दुःख र अभावसँग जुध्न विवश छ। यसको जिम्मेवारी पुरानो पुस्ताले लिनैपर्छ। जिम्मेवारी र दायित्वबोधबाट पन्छन पाउँदैनन्। विगत साँढे दुई दशकयता शासन सञ्चालन गर्नेहरूले केकति बोले र केकति व्यवहारमा उतारे भन्ने प्रश्न गम्भीर छ। खोक्रो आश्वासन र बाचा सुन्दासुन्दा नयाँ पुस्ता वाक्कदिक्क भइसकेको छ। महŒवाकांक्षी योजनाबारे बोल्दा उपहासको पात्र बन्नुको कारण मनन गर्नुपर्छ। प्रधान मन्त्री केपी शर्मा ओलीले घरघरमा ग्याँस पाइप र हावाबाट बिजुली निकाल्छु भन्दा 'मजाक' गरेजस्तो भयो। डा. रामशरण महतले उत्कृष्ट अर्थ मन्त्रीको अन्तर्राष्ट्रिय उपाधि पाउँदा युवापुस्ता खुसी हुनुपर्नेमा धेरैले नेपालीको खिल्ली उडाएको ठाने। विदेशिनु र बेरोजगार हुनुको पीडा बोकेका छन् युवाले। भूकम्पपछिको अवस्था झन् दयनीय र त्रासदीपूर्ण बन्दैछ। कामभन्दा कुरा धेरै गर्ने नेतृत्वको प्रवृत्तिले यस्तो अवस्था आयो। राजनीतिक र प्रशासनिक निकायका नेतृत्वप्रति वितृष्णा बढ्दैछ। शुभ संकेत होइन यो। लोकतन्त्र स्थापनापछि नेतृत्वमा पुग्नेहरूबाट देशका लागि केकस्तो योगदान भयो? कस्तो थिति बसालियो? उनीहरूबाट भौतिक निर्माण र सामाजिक पुनर्संरचनामा केकस्तो योगदान भयो? स्वतन्त्र अध्ययन आवश्यक छ। जस जति आफू लिने र अपजसको भारी अरुलाई बोकाउने शैली नयाँ पुस्ताले पत्याउँदैन। डिजिटल युगको अभ्यास गरिरहेको पुस्ता हो यो। गोयबल्सको शैलीमा अधिप्रचार वा कुप्रचारलाई तत्काल पत्याइहाल्दैनन्। चेतना वृद्धि हुँदै जानुले जनताले दृश्य र भोगाइमा मात्र विश्वास गर्नसक्ने अवस्था छ।
दोहोरो अंकको आर्थिक प्रगति हासिल गर्ने महŒवाकांक्षी योजना धेरैले सुनाए। डा. बाबुराम भट्टराईले भ्यागुताजस्तो उफ्रने भन्दै जति उफ्रिएर देखाए पनि पोखरीमा थच्चिने अवस्थाको जिम्मेवारी लिने कि नलिने? पहाडमा रेल गुडाउने र देशलाई लोडसेडिङमुक्त बनाउने भनी उनले ७ वर्षअघि देखाएको सपना के भयो? लोकतन्त्रपछि अधिकांश समय अर्थ मन्त्री बनेका डा. महतले आर्थिक उदारीकरणको जस लिन खोज्छन्, तर उक्त अर्थनीतिका नाममा अनियन्त्रित निजिकरणबाट स्वदेशी उत्पादन घट्न गइ आयातमुखी अर्थतन्त्रमा देशलाई धकेलेको जिम्मेवारी लिने कि नलिने? सामजिक सुरक्षामा केही सम्झनलायक काम गरेबाहेक भरतमोहन अधिकारीको अर्थनीतिले केही नाम चलेका उद्योगीव्यापारीलाई मात्र लाभ पुगेको तथ्य घामजत्तिकै छर्लंग छ। देशमा रोजगारीका नयाँ अवसरहरू सृजना गरेको र स्वदेशी उत्पादन वृद्धि गरेकोबारे अहिलेसम्म देशको नेतृत्व हाँक्नेहरूसँग बोल्ने आधार छैन। लाजै पचाएर वैदेशिक रोजगारीको ढोका खोलेको ध्वाँस दिन्छन्! देशको विकासमा केन्द्रित विश्वका नेताहरू विदेश भ्रमण गर्दा निर्यात वृद्धि र आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्ने योजनासहित प्रस्तुत हुन्छन्। हाम्रा नेताहरू कचौरा बोकेर विदेशीसँग हात फैलाउन पुग्छन् अनि देशमा फलानो देश वा अन्तर्राष्ट्रिय संस्थाले यति सहयोगको घोषणा गर्योत भन्छन्! सहयोगको अधिकांश हिस्साको दुरूपयोग सर्वविदित छ।
हामी आर्थिकरूपमा दक्षिण एसियाको गरिब देशमा पर्न गयौँ। क्षेत्रफलले हामीभन्दा सानो देश श्रीलंकाको वार्षिक सुरक्षा बजेटभन्दा हाम्रो देशको कुल वार्षिक बजेट दोब्बरमात्रै छ। श्रीलंकाले सन् २०१६ मा ३ खर्बभन्दा बढी सुरक्षा बजेट छुट्याएको छ, जबकि हाम्रो यस आर्थिक वर्षको बजेट ६ खर्ब १८ अर्ब छ। भुटानले साँढे ७ प्रतिशत र श्रीलंकाले ६ प्रतिशतभन्दा माथिको वार्षिक आर्थिक वृद्धि हासिल गरिरहँदा हामी त्यसको आधामा सीमित छौँ। भूपरिवेष्टित देश भुटानले राज्य सञ्चालनको महŒवपूर्ण निकायमा नयाँ पुस्तालाई प्रोत्साहित गरी मानव स्रोतको उचित परिचालन गरको छ। छिमेकीसँग मिलेर प्राकृतिक स्रोतको उपयोग गरेर विकासलाई गति दिइरहेछ। श्रीलंकाले पनि २५ वर्ष लामो तामिल पृथकतावादी सशस्त्र विद्रोहको सामना गर्योा। जातीय हिंसाको सामना गरे पनि उसले हिंसारहित क्षेत्रमा स्रोतको उचित व्यवस्थापनबाट लाभ लिइरह्यो। देशको एउटा भूभागमा चलेको हिंसाको असर अन्य भूभागमा धेरै पर्न नदिन सुरक्षा र विकासको रणनीति सफलताका साथ लागु गरिह्यो। हामी यस मामलामा सधैँ असफल रह्याँै। जहिले पनि समस्यालाई दोष दिएर उम्कने स्वभावमा अल्भि्करह्यौँ। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आइपुगेको एक दशक बितिसक्दा पनि त्यसैलाई दोष दिएर प्रगति हुननसक्नुको अपजसको भारी अन्तै बिसाउन खोज्छौँ। एकअर्कालाई दोषी देखाउँदै कमजोरी लुकाउने प्रवृत्ति कहिल्यै गएन। नेतृत्वकर्ताहरू जनतालाई सुखी बनाउन काम गर्छन् कि कुनै शक्ति केन्द्रको स्वार्थ रक्षामा खटिन्छन्? गम्भीर सवाल हो।
देशलाई कंगाल हालतमा पुर्यावउन पुरानो पुस्ताको अक्षमता मूलकारण बन्यो। युवाबारे तथ्यांक विभागको २०१४ को अध्ययनले कुल जनसंख्याको ४० प्रतिशत रहेको देखाउँछ। उल्लेख्य युवाशक्तिको व्यवस्थापन र सदुपयोग गर्ने गतिलो नीति बनेन। देशभित्र मानव स्रोतको उचित व्यवस्थापनका साथै प्राकृतिक स्रोतको उचित प्रयोग भएको छैन। आर्थिक क्रान्तिको एकोहोरो रटान गर्ने, तर सामाजिक विकास र पुनर्संरचनामा बेवास्ता गर्दै विकासका कार्यक्रम लाद्न खोज्दा नीति तथा योजना विफल भइरहेछन्। कुनै अमूक शक्ति वा विदेशीलाई दोष दिएर जलविद्युत्को अपेक्षाकृत विकास वा जडिबुटीको सदुपयोग गर्न सकिएन भनेर पन्छिन मिल्दैन। आफैभित्रको स्रोतको उचित र आफ्नो देशको अधिकतम हित हुनेगरी प्रयोगका लागि कूनीतिक चातुर्य पनि चाहिन्छ, त्यो नेतृत्वमा हुनुपर्छ। सिंगापुरे विकासका सर्जक ली क्वानले त्यस्तो चातुर्य देखाए। भूगोललाई विकासको मुख्य कठिनाइ ठान्नु ठूलो भूल हुनेछ। हामीसँग जोडिएको तिब्बतको प्लेटुका कठिन पहाड थर्काउँदै रेल कुद्छन्। हाम्रो नेतृत्वले महŒवाकांक्षी विकासको लक्ष्य भेट्न दूरदर्शी योजना ल्याउन सकेन र साहसी निर्णय क्षमता देखाउन सकेन। क्षणिकरूपमा जो जतिसुकै हाइहाइ भए पनि शासनसत्तामा रगरगी गरिरहेका वर्तमान बूढो पुस्ताले भावी सन्ततिका लागि खासै मेहनत गरेनन्। उनीहरूको अधिकांश समय राजनीतिक विसंगति बढाउनेदेखि जनतालाई जातीय र क्षेत्रीय आधारमा विभाजन गरी शासन गर्नमै बित्यो। विभाजनको बिष प्रवासी नेपालीसम्म फैलाउनेहरूबाट नवनिर्माण र सुन्दर भविष्य निर्माणको कल्पना गर्न सकिँदैन।
पञ्चायतको काला दिनको प्रसंग छाडौँ। प्रजातन्त्रपछिको साँढे दुई दशकयता शासनसत्ताको वरिपरि अधिकांश उही अनुहारहरू छन्। जनताले महसुस गर्ने काम सायदै गरेका छन् तिनले। तब त सरकारी कार्यालयले महशुल नतिरेपछि स्विच बन्द गर्ने गोकर्ण बिष्ट र डीभी तथा पीआरधारी कर्मचारीलाई सेवामा रहन नदिने निर्णय गराउने लालबाबु पण्डित नायक बन्छन्। निराशा र वितृष्णामा रहेको पुस्ताका लागि आशा र अवसर जगाउने गतिलो काम गर्ने युगपुरूष पर्खनैपर्छ। बूढो पुस्ताबाट आशा नगरे हुन्छ। बूढो पुस्ताका लोकतन्त्रवादी दाबी गर्नेदेखि कम्युनिस्टहरू अधिकांश हिंसाको बाटो हुँदै आएका छन्। तिनको बोली र शैलीमा अझै हिंसा मिसिएको छ। विनाशको इतिहास छ धेरैको। भावी पुस्ताका लागि तिनले गरेको असल र खराब काम तराजुमा राख्यो भने खराब निकै भारी हुनपुग्छ। कनीकुथी बनाएका आयोजनाहरू बीचैमा तुहिनेदेखि निकै ढिलो भएका घटनाहरू छन्। कमिसनखोरहरूको घेराबन्दीमा परेपछि काम कसरी हुन्छ? जब कुनै ठूला आयोजनामा अवरोध हुन्छ, योजनाहरू असफल हुन्छन् तब केही न केही बहाना रच्ने गरिन्छ। अहिले महाभूकम्प हुँदै नाकाबन्दी बहाना बनेको छ। विगतमा महाभूकम्प र नाकाबन्दी नहुँदा पनि आयोजनाहरू ढिलो गर्ने र अलपत्र पार्ने गरियो। अहिले झन् दुवै घटनाले आयोजना ढिलाइ गरी मोटो रकमको चलखेल गर्ने माफियाहरूलाई लाभ पुग्ला। कालोबजारीको पकडमा देश गइरहेको छ। देशमा यो अवस्था आउनुको मुख्य दोषी लोकतन्त्रपछिका प्रधान मन्त्रीदेखि विकासे मन्त्रालय सम्हालेका नेतादेखि नीतिनिर्माता कर्मचारीहरू हुन्। जिम्मेवारी र जवाफदेहीबाट कोही पन्छन मिल्दैन। तपाईंहरूले छातिमा हात राखेर भन्नुपर्छ– देश र समाजको समग्र हितका लागि केके योगदान गर्नुभयो? देखिने र नदेखिने केकति विकासका कार्यक्रम सफल बनाउनुभयो? तपाईंहरूले विगतमा कुनै विकासरूपी वृक्ष रोपेको हो भने फल दिइरहेको छ कि छैन? नयाँ पुस्ता जान्न चाहन्छ। खोक्रो सपना देखाउन छाड्नुहोस्। उपदेश दिन छाड्नुहोस्। जीवनको लामो समय पदको अधिकतम् लाभ लिने अहिले जाति वा क्षेत्रविशेषको बिल्ला भिरेर अझै विभाजनको खेती गर्ने? भावी पुस्ताका लागि गम्भीर हुने हो भने समय अझै बाँकी छ। अमृतरूपी फलको बिरुवा रोप्नुहोस्, बिष होइन। तपाईंले रोपेको फल नातिपुस्ताले सेवन गर्न पाओस्। मार्गदर्शन पाओस् अनि भावी पुस्ताका लागि तपाईंले जस्तै फल रोपेर जाओस्।
प्रकाशित: २ माघ २०७२ २२:०८ शनिबार

