८ माघ २०८२ बिहीबार
image/svg+xml
विचार

गोलोबोरोद्को, युक्रेन युद्ध र भोकमरी

गत फेब्रुअरीदेखि युक्रेन विश्व सञ्चार डबलीको केन्द्रमा छ। हुनत सन् २०१९ मा जब त्यहाँ हाँस्य अभिनेता भोलोदिमेर जेलेन्स्की राष्ट्रपतिमा निर्वाचित भए त्यतिबेलैदेखि यो देश कुनै न कुनै ढंगले चर्चामा छ। राष्ट्रपतिमा निर्वाचित हुनुअघि जेलेन्स्की राजनीतिक व्यंग्यको टेलिभिजन शृंखला ‘स्लुहा नारोदु’ (नेपाली अनुवाद जनतालाई सुनौँ) का मुख्य पात्र भासिली गोलोबोरोद्कोको रूपमा अभिनय गर्थे। सन् २०१५ देखि चल्न थालेको त्यस टेलिशृंखलालाई ‘जनताका सेवक’ भनेर पनि अनुवाद गरियो। टेलिशृंखलाको कथामा गोलोबोरोद्को एक माध्यमिक विद्यालयमा इतिहासका शिक्षक हुन्छन् जो नसोचे जस्तो देशको राष्ट्रपति बन्न पुग्छन्। सन् २०१९ मा युक्रेनको निर्वाचनमा जेलेन्स्की त्यही टेलिशृंखलाको नाम ‘जनताका सेवक’ पार्टीबाट साँच्चिकै राष्ट्रपति बन्न पुग्छन्। यो संयोग हो वा योजनाबद्ध कदम, जसरी अनुमान लगाए पनि भयो।

युक्रेनको राजनीतिक भूगोल गजबको छ। पूर्वी युरोपमा सातवटा देशसित यसको सिमाना जोडिएको छ जसमा रुस मुख्य हो। सोभियत संघको युगमा यी दुई छिमेकी हथौडा–हँसिया अंकित एउटै झण्डामुनि थिए। झण्डै २ दशकसम्म सोभियत संघको नेतृत्व गरेका लियोनिद ब्रेजनेभ (१९०६–१९८२) युक्रेनकै थिए, उनका अग्रज निकिता ख्रुश्चेव (१८९४–१९७१) पनि युक्रेनकै सिमाना नजिकका रुसी थिए। युक्रेनको दक्षिणमा कृष्णसागर छ जुन इस्तानबुलछेउ बोस्फोरस जलडमरुको मसिनो घाँटी हुँदै भूमध्य महासागरसित मिसिन पुग्छ। कृष्णसागरको नडुब्ने पानीमा तैरिन अनुमानित बर्सेनि १५ करोड पर्यटक पुग्छन्। करिब ६ हजार वर्ग किमि क्षेत्रफल भएको युक्रेन युरोपमा रुसपछिको दोस्रो ठूलो देश पनि हो। त्यहाँको जनसंख्या ४ करोड छ। अनुमान लगाउन गाह्रो छैन, युक्रेन सामरिकरूपले कति महत्वपूर्ण देश रहेछ।  

कुनैबेलाका सहकर्मी कमरेडहरू रुस र युक्रेन अहिले युद्ध मैदानमा आमने–सामनेका बैरी भएका छन्। युद्धमा जुन प्रकारले विज्ञान र प्रविधिको दुरूपयोग भैरहेको छ, त्यो अत्यन्तै गंभीर र निन्दनीय छ। युद्धका कारण विश्वभरि नै परेको असर खासगरी खद्यान्न, तेल, ग्यास जस्ता दिनानुदिनका आवश्यकीय वस्तुहरूको आपूर्ति समस्या झन् ठूलो चिन्ताको विषय भएको छ। हुन त नेपाल र श्रीलंकाको तेल आपूर्ति समस्या अनि अफ्रिकाका १७ भन्दा धेरै देशको खाद्य संकट यही युद्धसित जोडेर हेरिने गरिएको छ। तर समस्या, खासगरी खाद्य संकट चर्किनुको पछाडि रुससितको लडाइँ मात्र नभएर जलवायु परिवर्तनसँगै बढेको खडेरी पनि हो।  

युक्रेनको शक्ति भनेको उसको ठूलो ऊर्वर खेतीयोग्य भूमी पनि हो जुन देशको कुल भूभागको ५७ प्रतिशत छ। सूर्यमुखी फूल उत्पादनमा ऊ विश्वकै नम्बर एक हो, विश्वको ४६ प्रतिशत सूर्यमुखी तेल युक्रेनले उत्पादन गर्दछ। गहुँ उत्पादनमा पनि ऊ नवौँ नम्बरमा पर्छ। खाद्यान्न निर्यातमा विश्व बजारको १६ प्रतिशत मकै र १२ प्रतिशत गहुँ उसैको योगदान रहिआएको छ। यसैले, युक्रेनलाई युरोपको अन्न भण्डार भनिन्छ। विगत केही वर्षयता भने उसको कृषि उत्पादनमा ह्रास आउँदै थियो। कारण हो जलवायु परिवर्तनको असर, खडेरी र अन्य वातावरणीय संकटहरू। यो यतिखेर चलिरहेको लडाईँभन्दा अलि अगाडिदेखि नै चर्किन थालेको समस्या हो।  

यतिखेर रुसले युक्रेनलाई र युक्रेनले रुसलाई शत्रु देखिरहेका छन्। ती दुईबीचको शत्रुता चर्काउन बाह्य देशहरूको हात देखिन्छ।  

यो रुससित युद्ध हुनुअघिको कुरा हो। सन् २०२१ सेप्टेम्बरमा जतिबेला युक्रेनका राष्ट्रपति जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेनसित प्रतिरक्षा र सुरक्षा सम्झौताको कुरा गर्दै थिए उनका कृषि मन्त्री रोमन लेसचेन्को अमेरिकाको जर्ज वासिंगटन विश्वविद्यालयका प्राध्यापक र वातावरण विज्ञहरूसित उसको देशमा चर्किंँदै गैरहेको जलवायु परिवर्तन र कृषि क्षेत्रमा परिरहेको त्यसका नकारात्मक असरहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सल्लाह माग्दै थिए। उनी बताउँदै थिए कि युक्रेनमा गत १४० वर्षकै सबभन्दा धेरै गर्मी भैरहेको छ। युक्रेनमा युरोपभरिमै सबभन्दा उब्जाउ जमिन छ तर पानी अभावमा उसले गम्भीर खडेरी बेहोरिरहेको छ।  

सन् २००७ मा अमेरिकाको राष्ट्रिय सामुन्द्रिक तथा वायुमण्डलीय प्रशासन (नोआ) र राष्ट्रिय वातावरणीय भूउपग्रह, तथ्यांक तथा सूचना सेवा (नेसडिस) का वैज्ञानिकहरूले प्रस्तुत गरेको एक तथ्यांकअनुसार युक्रेनको ३० प्रतिशत भूभाग खडेरीको चपेटामा परेको थियो। त्यसअघि सन् २००३ मा पनि यस्तै खडेरीका कारण ३० प्रतिशत अनाज घटेको थियो। सन् २०१५ मा बोन, जर्मनीमा आयोजित एक संयुक्त राष्ट्र संघीय सम्मेलनमा युक्रेनका वैज्ञानिकहरूले प्रस्तुत गरेका एक कार्यपत्रअनुसार त्यहाँ सन् २००३ र त्यसपछि २००७ देखि २०१० सम्म लगातार खडेरी लागेको थियो। यसबाट देशको ८० प्रतिशत कृषि भूमि प्रभावित भएको थियो।  

सन् २०१२ मा इटालीको फ्रास्कातीमा आयोजित एक अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत एक कार्यपत्रमा सन् १९५० देखिको युक्रेनको खडेरीसम्बन्धी तथ्यांक समावेश थियो जसअनुसार सन् १९९० यता देशको दक्षिणी भागतिर सुक्खा बढ्दै गएको देखिन्छ। हालै मात्र पनि युक्रेनको राष्ट्रिय विज्ञान प्रज्ञा–प्रतिष्ठानका एकजना अनुसन्धानकर्मीद्वारा लिखित जलवायु परिवर्तनसम्बन्धी एक विश्लेषणात्मक लेख प्रकाशित भएको थियो। सो लेखले के भन्छ भने युक्रेनमा पछिल्लो समय हरेक २ देखि ३ वर्षमा ३० प्रतिशतसम्म भूभाग खडेरी छाउन थालेको छ। यस्तो पहिले थिएन। चर्को खडेरी सय वर्षमा एकचोटि जस्तो देखा पर्दथ्यो। अहिले यो छिटोछिटो दोहोरिन थालेको छ।  

जलवायु परिवर्तनसँगै आउने एउटा प्रमुख समस्या भनेको जलस्रोत हो। युक्रेन सीमित पानीको स्रोत भएको देशमा पर्छ र युरोपभरिमै उसको पानी वितरण प्रणाली कमजोर मानिन्छ। जलवायु परिवर्तनसित त्यहाँ देखा परेको समस्या भनेको वर्षातकै कमी रहेछ। उत्तर र पश्चिमी भाग जुन तुलनात्मकरूपले ओसिलो मानिन्छ ती ठाउँमा समेत खडेरी लाग्न थालेको बताइन्छ। जस्तो सन् २०१५ मा त्यतातिर यसअघि कहिल्यै देखा नपरेको परिमाणमा खडेरी देखा पर्‍यो। वैज्ञानिकहरूका अनुसार यदि यो प्रवृत्ति निरन्तर रह्यो भने त्यहाँको जलवायु विविधता नै समाप्त भैजानेछ। अर्थात् देशभरि एकैथरीको सुक्खा जलवायु व्याप्त हुनेछ र त्यहाँको जमिन घाँसे मैदानमा रूपान्तरण हुनेछ जहाँ भविष्यमा अन्नबालीको संभावना हराउनेछ।

युक्रेनमा देखापरेको जलवायु परिवर्तन र यससित जोडिएर आएको खडेरीको समस्या उसभित्र मात्र सीमित हुने छैन। किनभने युक्रेन विश्वकै ठूलो खाद्यान्न उत्पादक र निर्यातक देश हो। समय गुज्रँदै जाँदा विश्व जनसंख्या पनि बढ्नेछ। सन् २०५० सम्म यो संख्या ९.८ अर्ब पुग्ने अनुमान गरिन्छ । यति धेरै जनसंख्यालाई चाहिने खाद्यान्न कहीँ न कहीँबाट जुटाउनु पर्नेछ। युक्रेन जस्तो देश खडेरी र जलवायु परिवर्तनको चपेटामा पर्न थालेपछि खाद्यान्नको समस्या झनै चुनौतीपूर्ण हुनेछ। यस्तै समस्याबीच युक्रेन अहिले युद्धमा नराम्रो फस्न पुगेको छ। के अनुमान गरिन्छ भने उसको २ लाख वर्ग किमि भन्दा बढी भूभागमा युद्धका कारण खेतीपाती गर्न संभव छैन। यो भनेको उसको ३४ प्रतिशत भूभाग हो।  

विश्व खाद्य संगठनका अनुसार वर्तमान युक्रेन संकटले मात्र पनि विश्वको १ करोड २० लाख जनतालाई भोकमरीको चपेटामा धकेलेको छ। वासिंगटन पोस्टमा प्रकाशित एक लेखअनुसार यस संकटसित जलवायु परिवर्तनसमेत जोडिँदा विश्वमा भोकमरीमा पर्ने मानिसको संख्या ४ करोड ९० लाख पुग्नेछ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संस्था आइपिसिसीले भन्दै आएको छ कि पृथ्वीमा १ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा अहिले नै पनि त्यसको असरस्वरूप गहुँ, जुनेलो र धान जस्ता अन्नबालीको उत्पादनमा ह्रास आइसकेको छ र यो शताब्दीको अन्तसम्म ३० प्रतिशत भूभाग कृषिका लागि अनुपयुक्त भैसक्नेछ।

भोकमरी मानव सभ्यताको आदिम शत्रु हो। जलवायु परिवर्तनले यसको स्वरूपलाई अझ चर्काइदिएको छ। अक्सफाम र सेभ द चिल्ड्रेनबाट गत मे महिनामा प्रेषित एक प्रतिवेदनमा भनिएको छ– अहिले नै पनि इथियोपिया, केन्या र सोमालियामा गरी हरेक ४८ सेकेन्डमा एकजना मानिसको मृत्यु भैरहेको छ, संभवतः जलवायु जनित भोकमरीका कारण। तर यतिखेर रुसले युक्रेनलाई र युक्रेनले रुसलाई शत्रु देखिरहेका छन्। ती दुईबीचको शत्रुता चर्काउन बाह्य देशहरूको हात देखिन्छ। युद्धमा कसैको विजय होला त कसैको पराजय। विजय भएकै अवस्थामा पनि भोकमरी र जलवायु परिवर्तनबाट मानव सभ्यता पराजित भैसक्नेछ। यस्तो विजय वा पराजय स्लुहा नारोदुका राष्ट्रपति–पात्र गोलोबोरोद्कोको व्यंग्यभन्दा धेरै कठोर हुने पक्का छ।  

( प्राज्ञ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान)

प्रकाशित: २ श्रावण २०७९ ००:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App