पूर्वी पहाड, तराई र मुगलानदेखिका दर्शनार्थी, विभिन्न मालसामान तथा श्रंृगारका वस्तु, लत्ताकपडाका पसल थापेका व्यापारी सौदागरको समूहले मन्दिर आसपासको सानो बजारदेखि तल कोशी कोकासम्मको बगर भरिएको थियो। मैनटोल र लालटिनका बत्तीका उज्यालोले बजारभरि झिलिमिली पारेको थियो। ठूलो बस्ती चतरामा पनि देखिएन, धरानमाथिको पिण्डेश्वरमा पनि थिएन। माथि विजयपुर डाँडामा सानो बस्ती थियो। धरान पनि स्यौतिका बगरमा रहेको बस्तीबिनाको उखर थियो। हप्ते हाट पनि लाग्ने हुँदा खरका झुप्रा भने लहरै देखिन्थे। त्यहीँ मैले खर्र गुडेको एउटा साइकल पहिलोचोटी देखेको थिएँ। चारकोशे झाडी पार गरेर पहाडका मानिस आएर मालसामान। नून, मसला, लत्ताकपडा किनेर लाने गर्थे र अहिलेसम्म गर्दैछन्। अहिले बजार ठूलो भयो। टिनका घर र पक्की बंगला बनेका छन्। अघि भने चारकोशे झाडीमा बाघ लाग्ने हँुदा तल बगरमा मान्छे रातबेरात नामोनिसान बस्तैनथे र झाडीतल समतलबाट मालसामान, अन्नपात बोकाएर ल्याएका गाडी त्यहीँ छाडेर माल बोकाएर गोरु धपाएर माथि बजार लगेर राख्थे। गाडी राख्ने (धर्ने) ठाउँ भएर नै यो बगरको बजारलाई पछि 'धरान' नामकरण गरियो।
चारकोशे जंगल पार गरेरमात्र झापाको सतासीधाम पुग्नु सकिन्थ्यो। बीचमा बास बस्ने ठाउँ थिएन। कतैकतै पहाडको फेदीमा घर भेटिन्थे। अहिलेका इटहरी, चन्द्रगढी, दमक आदि त्यसपछिका हुन्। महेन्द्र राजमार्ग सुरु भएपछि नै यस आसपासका पहाडे बस्ती र सहर हराभरा भएका हुन्। जोगबनीमा भारतीय रेल्वे आएपछि कृष्णप्रसाद कोइरालाको तत्परतामा १९०७ सालतिर गोग्राहको बजार विस्तार भयो। रंगेलीमा भएको सदरमुकाम यहाँ सर्योत। यसको नाम परिवर्तन भएर विराटनगर भयो। झापाको सदरमुकाम पनि चन्द्रगढीमा सर्योग र बजार बस्यो। गलगलेको रेल्वेमार्ग नजिक पर्दा यसको श्रीवृद्धि भयो। सुनसरीको सदरमुकाम बनेपछि इनरुवाको र धरान–विराटनगर जाने चोकमा परेकोले इटहरी बजारको रौनक बढ्दै आयो। पहाडका बासिन्दाहरूलाई नै यी बजारको श्रीवृद्धिको श्रेय जान्छ।
यस्तै, उदयपुरको सदरमुकाम गाइघाट सरेपछि फत्तेपुर र कन्चनपुरका हिउँदेबजार सुकेर गाइघाट पहाडे बस्तीले हराभरा बन्यो। अघिअघि विजयपुर, चौदन्डी, मकवानपुर र पाल्पा राज्यकालमा राजधानी आसपासका पहाडेबस्तीहरू तल समतलमा खेतीपाती गर्थे। शिखरमाडीमा बस्थे। हिउँद्भरिचाहिँ खेतीघरमै बस्थे। राजा–प्रजाकै यही रित थियो। राजाका मुकाम पनि तल मैदानमा र माथि महाभारत पर्वतशृंखला गरी दुईवटा हुन्थे। पहाडका फेदीमा पाखामा बस्ने पहाडे पनि खेती भने मैदानमै गर्थे। पाल्पाको फेदीमा पर्ने बुटवलमा पाल्पादरबार किल्लाको अवशेष छँदैछ। प्राचीनकालमा बुद्धपल्ली भनिने बौद्धहरूको यो बस्ती 'बटौली' हुँदै बुटवल भएको हो। त्यसैगरी, उसबेला खसपल्ली भनिने खसहरूको टोल अहिले 'खस्यौली' भएको हो। यस्तै सिञ्जाराज्य तथा डोटीराज्यका पनि समतलमा र माथि पहाडमा गरी दुईवटै मुकाम थिए।
१४०८ सालमा लेखिएको ऐतिहासिक दस्ताबेज 'नेपाल वृत्तान्त'मा पहाडदेखि तल अवस्थित भूमिलाई तरी भनिएको छ। 'तरी'बाट नै तराई भएको हो। यसको शब्दार्थ पहाडभन्दा तलको चिसो पानी जम्ने उर्वर भूमि हो। यस तराईमा वारपारै जंगल थियो। मैले बालककालमै देखेको र पछि त्यहाँ बस्ती बसेको प्रसंग माथि बताएँ। जंगलै जंगल भएबाट तरी शब्द जंगललाई पनि बुझाउने भो। वनसम्बन्धी नीतिलाई 'तरिया नीति' पनि भनिन्थ्यो। त्यस्तै, हेठ भनेको तल हो। तलको भूमि जनाउने हेठबाट हेठौडा हुँदै हेटौँडा भएको हो।
तराईको अर्को पुरानो नाम माल अर्थात् 'मालभूमि' पनि हो। राज्यले जागिर विर्ता दिएका, गुठी राखेका जग्गालाई माल भनेर उल्लेख गरिएका सिञ्जाराज्य तथा डोटीराज्यका सत्रौँ शताब्दीका धेरै स्याहामोहर पाइन्छन्। तर, अहिले माल शब्द नेपाली लोकभाकामा मात्र सीमित हुन गएको छ। जस्तो दाइँ गर्दा गोरु धपाउँदा दहेरेले गाउने गीतमा भनिन्छ। 'दाइँ बरादो हो दाइँ गरिदे, मालमधेसको सह ल्याइदे।' 'माल' शब्द अहिले धनसम्पत्तिलाई बुझाउन रुढ भएको छ, तराईमा जग्गाकरलाई 'मालगुजारी' भनिन्छ भने पहाडमा मालपोत। जग्गाकर उठाउने भएर नै अहिले मालअड्डा वा मालपोत कार्यालय भएका हुन्। यसरी पहिले धेरै अन्न उब्जाउने धनधान्यपूर्ण भूमि भएकोले नै तराईलाई माल वा मालभूमि भनिएको बुझिन्छ। यो भूमि हिमाली पर्वतशृंखलाकै तल्लो भाग तरी भएबाट यो समतल तराई क्षेत्रलाई समेत हिमाली क्षेत्र तथा हिमवन्त प्रदेश नै भनिन्थ्यो। मैले यस कुरालाई यही पत्रिकाको अघिल्ला लेखमा प्रमाणित गरिसकेको छु। मानवविकासका क्रममा क्रमशः मध्यदेशबाट जनता आउँदै यसस्थानमा बस्दै गर्दा यस क्षेत्रको नाम मधेस हुँदै आएको ऐतिहासिक तथ्य देखिन्छ।
बाह्रौँ शताब्दीमा भारतको कर्णाटकबाट महासामन्त नान्यदेव उत्तरतर्फ विजय गर्दै आएर यहाँका सेन राजालाई हराउँदै सिम्रौनगढमा राज्य स्थापना गरे। यस राज्यभित्र समस्त मिथिला क्षेत्र र पूर्वी पहाडी भाग पनि पर्थ्यो। यस राज्यको विस्तार गर्नमा अहिलेको गोरखाली जस्तै वीर सैनिक नायर र डोयहरू थिए। यिनीहरू यहीँ स्थायी बसोबास गर्न लागेपछि नेपाल दूनमा अन्यन्त चल्तीका भए। नेपाल दूनका बासिन्दाले सिम्रौनगढका राजालाई 'डोयराजा' भन्थे भने उनले पुजेका देवीलाई तलेजु वा 'डोयमाजु' भन्न थाले। त्यहाँका बाहुन 'डोभाजु' प्रजा पनि 'डोय' र राज्यलाई डोयदेश भन्न थालियो। नायरको सांस्कृतिक अवशेषको रूपमा यिनको नाम स्मरण गराउने गरी नेवारहरूको मृत्यु संस्कारमा बजाइने बाजा 'नायखाम' रहेको छ। सिम्रौनगढ राज्यले विद्याको ठूलो उन्नति गराएको थियो। राजा स्वयं पनि संगीतका पारखी थिए। त्यसबखतका ग्रन्थहरू राष्ट्रिय अभिलेखालयमा केही सुरक्षित छन्। पछि विसं. १३८३ मा फिरोज शाह तुगलकले आक्रमण गरी त्यस राज्यलाई ध्वस्त पारेपछि त्यहाँका राजा हरिसिंह देव नेपाल दूनतर्फ भागे। मन्त्रीलगायत अन्य नागरिक पनि पहाडका किल्लाहरूतर्फ भागे। समयक्रममा नायर र डोयहरू नेपाल दूनका स्थानीय बासिन्दासँग घुलमिल भई यसैमा समाहित भएर गए। बंशावलीअनुसार नायरहरू नै पछि नेवार भएका हुन् भनिन्छ, तर त्यो भने गल्प हो। उनीहरूका माध्यमबाट नेपाल दरवार भित्रिएको मैथिल साहित्य, संस्कृति र कला नेपालको सांस्कृतिक इतिहासका धरोहरका रूपमा रहेका छन्।
पहिले बिहारभन्दा नेपालको तराई बढी उर्वर थियो। कृषि मजदुर प्रशस्त आउँथे, कति त यहीँ बस्थे। त्यसपछि भारतमा अंग्रेजविरुद्ध १९१४ को विद्रोहपछिको दंगाफसाद हुँदा भागेर धेरै हिन्दु र मुसलमान शरणार्थीका रूपमा तराई पसे। मराठा वीर नानासाहेब र उनका परिवारसमेत ६० हजार सिपाही शरणार्थीका रूपमा पश्चिम तराई पसेका थिए। यिनीहरूलाई जंगबहादुरले शरण दिए।जंगबहादुरको अनुमतिले त्यहाँका जंगल फाँडेर उनीहरू बसेको इतिहास छ। त्यस्तै, अवधका नवाव वाजिद अलि खानकी बेगम तथा परिवारलाई पनि जंगबहादुरले शरण दिएका थिए। १९५६ सालमा वेगम हजरत महलको निधन काठमाडौँमा भयो। पूर्वोत्तर भारतमा बसेका नेपाली त्यहाँबाट खेदिँदा पनि तराईमै आएर बसेका छन्। सवा लाख भुटानी पनि भारतको बाटो हुँदै तराईमै आएर बसे। यसबीच पहाडबाट पनि ठूलो संख्यामा तराईतर्फ बसाई सर्ने काम भएको छ। सरकारले नै बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपपीडित नागरिकलाई तराईमा बसोबासको व्यवस्था गर्योा। यही नै हो नेपालको तराईको अहिलेको जनसंख्याको संरचना बनेको इतिहास।
सबैलाई शरण दिने, सहानुभूति राख्ने र मेलमिलापको ऐतिहासिक संस्कृति र संस्कार भएको नेपालमा किन र कहाँबाट आफ्नै देशभित्र भेदभाव बढाउने, जातीय र क्षेत्रीय भावलाई बढावा दिनेे कार्य गरिँदै छ? जसले गरे पनि यो कार्य एउटा स्वतन्त्र देशमा सहअस्तित्वको लागि बाधक बन्दै आएको छ। झन्डै ३ हजार वर्षदेखि सँगै बस्दै आएका, सांस्कृतिक र ऐतिहासिक सम्बन्ध जोडिएका जनताका बीचमा भेदभाव बढाउँदै जातीय र क्षेत्रीय भावलाई भड्काउने गरी कथित केही नेताद्वारा जुन प्रपञ्च हुँदैछ त्यो ज्यादै खतरनाक छ। त्यसलाई समयमै चिनेर रोक्ने काम अब आमजनताको काँधमा आएको छ।
प्रकाशित: २८ मंसिर २०७२ २१:३९ सोमबार

