नवीन र वैज्ञानिक प्रविधि आत्मसात् गरेपछि मात्र कुनै पनि समाज आधुनिकतामा प्रवेश गरेको मानिन्छ। प्रविधिको प्रयोगले कम लागतमा गुणस्तरीय नतिजा दिने भएकाले काममा सहजता, समयको बचत र नतिजामा प्रभावकारिता थपिन्छ। यसैले कृषि, उद्योग, सञ्चार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा दिनानुदिन नवीन प्रविधिको प्रयोग र अभ्यास बढ्दै गएको छ।भौतिकरूपमा गरिएका कामको अन्तर्यका रूपमा समेत प्रविधिको भूमिका रहने भएकैले २१औँं शताब्दीलाई सूचना तथा प्रविधिको युग पनि भनिन्छ। प्रविधिलाई आत्मसात् गर्न नसक्ने क्षेत्रको अस्तित्व समाप्तप्रायः हुने भएकाले अहिले वैज्ञानिक आविष्कारदेखि परम्परागत पुरोहित्याइँसम्मका गतिविधिमा प्रविधि माध्यम बन्न थालेको छ।
विकसित राष्ट्रले पहिलेदेखि नै हरेक क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग गर्दै आएका भए पनि नेपाललगायत अविकसित मुलुकमा प्रविधि भरपर्दो विकल्पका रूपमा प्रयोग हुन सकेको थिएन। संसारलाई नै त्रस्त पारेको कोरोना महामारीले मानव सभ्यतामा नकारात्मक असर पारे पनि प्रविधिको विकास र विस्तारमा भने निकै सकारात्मक भूमिका खेल्यो।
महामारीका बेला सबैजसो क्षेत्रमा वास्तवमै सञ्चार र प्रविधि प्रयोग गर्ने प्रतिस्पर्धा नै सुरु भएको थियो।चाहे कक्षाकोठा हुन् वा स्वास्थ्य क्षेत्रसित सम्बन्धित गतिविधि वा पत्रपत्रिकालगायत सञ्चारका माध्यम नै किन नहोउन्, सबैतिर प्रविधिको अत्यधिक प्रयोगलाई जोड दिइएको थियो।त्यसैले महामारीको समयमा सूचना प्रविधि, सामाजिक सञ्जालका रूपमा मात्र प्रयोग भएनन्, बरु सामाजिक सञ्जालहरूसमेत मानव जीवनका उपयोगी, व्यावसायिक र व्यावहारिक क्रियाकलाप सञ्चालन गर्न सहायक बन्न पुगे। धेरै विद्यालयले सूचना प्रविधिको प्रयोग गरी भरपर्दो विकल्पका रूपमा भर्चुअल कक्षाहरू सञ्चालन गरे। पत्रपत्रिकाहरू छापा संस्करणलाई सञ्चालन गर्न कठिन अवस्था सिर्जना हुँदा अनलाइनमा आफ्नो छवि उजिल्याउने काममा सक्रिय रहे।
प्रविधिलाई दैनिक क्रियाकलापको अभिन्न अङ्ग बनाउने हो भने काममा छरितोपनर प्रभावकारिता आउन सक्छ भन्ने कुरा कोरोनाकालमा प्रयोग भएको सूचना प्रविधिले प्रमाणित गर्यो।
अनेकन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन, सेमिनार गुगल मिट, माइक्रोसफ्ट टिम्स, जुम मिटिङमार्फत सम्पन्न भए। यतिमात्र होइन, स्तरीय इन्टरनेट सेवा उपलब्ध नभएका ठाउँमा समेत मोबाइलका माध्यमबाट सामाजिक सञ्जालमा सहजै उपलब्ध हुने फेसबुक म्यासेन्जर, भाइबर, युट्युबलगायत प्रयोग गरी विद्यार्थीको सिकाइ क्रियाकलापलाई निरन्तरता दिने प्रयास भए।शिक्षक–शिक्षिकाले घरबाटै मोबाइलका माध्यमबाट गरेका शिक्षण सिकाइ क्रियाकलाप वास्तवमै अनुकरणीय र अनुशरणीय देखिए। धेरै कार्यालयले ‘वर्क फ्रम होम’ सञ्चालन गरी कम्प्युटर र इन्टरनेटका माध्यमबाट दैनिक क्रियाकलापहरूलाई निरन्तरतामात्र होइन, प्रभावकारीरूपमा सम्पादनसमेत गरे। विदेशी विश्वविद्यालयमा पढिरहेका नेपाली विद्यार्थी महामारीका समयमा स्वदेशमै बसेर अनलाइनका माध्यमबाट विश्वविद्यालयको अध्ययनलाई अगाडि बढाउन सफल भए।
प्रविधिलाई दैनिक क्रियाकलापको अभिन्न अङ्ग बनाउने हो भने काममा छरितोपन र प्रभावकारिता आउन सक्छ भन्ने कुरा कोरोना कालमा प्रयोग भएको सूचना प्रविधिले प्रमाणित गर्यो।विश्वग्रामको अवधारणा विकसित भएको वर्तमान सन्दर्भमा विश्वस्तरमै प्रतिस्पर्धी नागरिकको उत्पादन गर्नका लागि उपयुक्त माध्यमका रूपमा सूचना प्रविधिको भूमिका रहन्छ। प्रविधिका राम्रा गुणहरू हुँदाहुँदै पनि आफूलाई परिवर्तन गर्नबाट डराएर कार्यक्षेत्रमा प्रयोग नगरेका शिक्षक कर्मचारीलाई कोरोना काल अनिवार्यरूपमा प्रविधिगत साक्षरता सिप सिक्नैपर्ने समयका रूपमा रहन पुग्यो। उपलब्ध भएको प्रविधि हाम्रा दैनिक कामलाई प्रभावकारी बनाउन सहयोगी हुन्छन् भन्ने जान्दाजान्दै पनि प्रयोग नगरीकन बसेकामा पश्चातापसमेत महसुस भयो।सहरी क्षेत्रका धेरै विद्यालयले अनलाइनका माध्यमबाट पठनपाठन कक्षाहरू सञ्चालन गरे। राष्ट्रिय र अन्तर्राष्ट्रिय बोर्डका परीक्षाहरू कतै आंशिक त कतै पूर्णरूपमा अनलाइन पद्धतिमा सञ्चालन भए।यी सबै कुराले प्रविधिलाई आत्मसात गर्न हामी सबैलाई उत्प्रेरित गर्यो।
आगो लागेपछि मात्र कुवा खन्ने अनि एकपटकको आगो निभ्नासाथ कुवा पुर्ने हाम्रो मानसिकताका कारण कोरोना मत्थर भएपछि प्रयोग गर्दै आएको प्रविधिलाई बिर्सेर सबै काम पूर्वअवस्थामै सञ्चालन गर्न थालेका छौँ। सङ्कटको सारथि प्रविधिलाई चटक्कै बिर्सन उपयुक्त हो त भन्ने प्रश्न अहिले हामीसामु गम्भीर विषयका रूपमा उभिएको छ।
नेपाल सरकारले इन्धन खरिदमा धेरै रकम बाहिरिएको कारण देखाइ खपत घटाउन सातामा दुई दिन बिदा दिने घोषणा गरेको थियो, यसमा सरकार पछि हटिसकेको छ।सरकारबाट आइतबार बिदा घोषणा गरिनासाथ यो निर्णय विवादको घेरामा तानियो। आलोचनामा उत्रिने प्रायः सबैजसोले आइतबारे बिदालाई नकारात्मकरूपमा प्रस्तुत गरे तर बिदाको विकल्पका रूपमा प्रविधिको प्रयोग हुन सक्ने तर्क अघि सारेनन्। सातामा कम्तीमा एक दिन हरेक क्षेत्रका काम कम्प्युटर र इन्टरनेटका माध्यमबाट सम्पन्न गरी इन्धन खपत घटाउन कसैले तत्परता पनि देखाएन।त्यसो त सातामा दुई दिन विद्यालय तथा कार्यालयहरू बिदा गर्नैपर्ने उर्दी जारी गर्ने नेपाल सरकारले कम्तीमा साताको एक दिन वैकल्पिक माध्यमबाट दैनिक क्रियाकलाप सञ्चालन गर्नू भन्ने निर्देशन दिन पनि सकेन।
विद्यालयका सन्दर्भमा धेरै बस चलाउने ठूला विद्यालय सहरबजारमै छन्। प्रायः ती विद्यालयसँग सूचना प्रविधिको राम्रो पहुँच छ। विगतका दुई वर्ष यी विद्यालयले भर्चुअल कक्षा सञ्चालन गरे।यस आधारमा उनीहरूसँग सूचना प्रविधिका लागि आवश्यक पूर्वाधार छन्। यति हुँदाहुँदै पनि आइतबार विद्यालय बन्द गर्न निर्देशन दिँदा विरोध र अवज्ञा गर्दै विज्ञप्ति निकाल्ने यी संस्थाले सरकारी निर्णयलाई स्वीकार गर्दै आइतबार अनलाइन माध्यमबाट पठनपाठनका क्रियाकलाप सञ्चालन गर्ने घोषणा गर्न सकेनन्। प्रविधिको महत्त्वबारे भाषण गरेर नथाक्ने संस्थाले वास्तवमै प्रविधिलाई विश्वास गर्न नसकेकाले र समयानुकूल आफू स्वयम् परिवर्तित हुन नसकेकाले म्यानुअल काम गर्नुलाई मात्र प्रभावकारी मानेको देखियो। सहर बजारका उत्कृष्ट भनिएका विद्यालयहरूले दुईदिने बिदाको विरोधभन्दा सातामा पाँच दिन प्रत्यक्ष र एक दिन भर्चुअल कक्षा चलाउने हिम्मत गर्न नसक्ने अवस्था किन सिर्जना भयो? यस विषयमा गहन अध्ययन आवश्यक देखिन्छ।
पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिँदै गएको छ। धेरैजसो वस्तु आयात हुने र नगन्य मात्रामा निर्यात गर्ने नेपालजस्तो मुलुकका लागि यो निकै कठिन समय पनि हो। यस्तो अवस्थामा मितव्ययी भएर स्रोतहरूको उपयोग नगर्ने हो भने छिटै सङ्कटको अवस्था देखा पर्नेछ। प्रविधिका कारण संसारको जुनसुकै कुनामा बसेर पनि प्रभावकारी र छरितोरूपमा आउटसोर्सिङ काम गर्न सक्ने अवस्था विद्यमान छ। यस्तो अवस्थामा प्रविधिलाई अझ बढी विश्वसनीय र सबल बनाउँदै विद्यालय, कार्यालय र सरकारी सेवा सुविधालाई प्रविधिमैत्री रूपान्तरण गर्नु उपयुक्त हुन्छ। प्रविधिको प्रयोगले सहरी क्षेत्रमा बढ्दै गएको भिडभाड र सवारी साधनको अस्तव्यस्त अवस्थालाई व्यवस्थित गर्न सकिन्छ।
समयको बचत इन्धनको सुरक्षा र काम गर्न सहजता र लचकता ल्याउने महत्त्वपूर्ण माध्यमसमेत प्रविधि बन्न सक्छ। यसका लागि जिम्मेवार निकायले गहन अध्ययन गरी प्रविधिको अत्यधिक उपयोग गरेर बढीभन्दा बढी लाभ लिन सक्ने अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता हो। अब प्रविधि सङ्कटको बेला गर्जो टार्न मात्र होइन, सामान्य अवस्थामा समेत हाम्रो जीवनको सहयोगी पक्ष बन्न सक्नुपर्छ। यसले संसारको एक कुनामा बसेर जहाँसुकैका संघ/संस्था र नागरिकलाई सहयोग गर्ने अभिप्रायसमेत राख्छ।
सामान्य अवस्थामा नियमितरूपमै विद्यालयहरू सञ्चालन भएको अवस्थामा समेत समूह कार्य, परियोजना कार्य र सामग्री सङ्कलन कार्यमा सूचना प्रविधिको प्रयोग गर्दै जानुपर्छ, जसले समाज र अन्ततः राष्ट्रकै विकास र सकारात्मक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।सम्भव भएसम्म सबैजसो कामलाई प्रविधिमैत्री बनाई प्रविधिमा रूपान्तरित हुन राज्यस्तरबाट प्रोत्साहनमूलक कार्यक्रम योजना गरिनुपर्छ। प्रविधि सङ्कटका बेला वैकल्पिकरूपमा मात्र प्रयोग गर्ने हो भनेर हामी त्यत्तिकै बस्यौँ भने एक्काइसौँ शताब्दीका सिकाइ सिपका रूपमा रहेको इन्टरनेट साक्षरता सिप सिक्ने कामबाट हाम्रै बालबालिका वञ्चित हुन्छन्। यसैले सरकारले इन्धन बचतका नाममा बिदालाई प्रोत्साहन गर्ने वा अवैज्ञानिक र अपरिपक्व निर्णय गर्दै जानुको साटो प्रविधिको प्रभावकारी उपयोग गर्ने दिशामा गृहकार्य गरी प्रविधिलाई भरपर्दो विकल्पका रूपमा स्थापित गर्न तत्परता देखाउनुपर्छ। यसमै सबैको भलो छ।
प्रकाशित: २८ असार २०७९ ००:५३ मंगलबार

