३१ श्रावण २०७९ मंगलबार
विचार

अर्थको सिसिटिभी र मकै पर्व

अर्थमन्त्री जनार्दन शर्माले बजेट पढ्नु अघिल्लो रात अर्थमन्त्रालयको बजेट महाशाखामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर ७ सय ५० बढी वस्तुको कर परिवर्तन गरी बजेटबाट राजस्व घटाउने जुन हर्कत गरे त्यो कुनै हालतमा क्षम्य हुन सक्दैन।

यो घटनाबाट देखिन्छ, हाम्रो राज्य, कर्मचारीतन्त्र कस्तो रहेछ? गोप्य र अतिसंवेदनशील क्षेत्र कसरी सञ्चालित हुनेरहेछ भन्ने छर्लंगै देखिन्छ। बाह्य प्रभाव कहाँसम्म कुन हदसम्म प्रभावकारी रहेछ अब भनिराख्नु परेन। यति हुँदा पनि होइन, कोही प्रवेश गरेकै थिएन भन्ने नक्कचरो अर्थमन्त्रीको झुट फरेव पुष्टि हुन्छ कि हुँदैन? यसका लागि अर्थमन्त्रालयमा राखिएको सिसिटिभीको फुटेजको खोजी हुँदा फुटेजहरू नै मेट्ने दुस्साहस गर्ने अर्थमन्त्रीको यो कार्य गंभीर प्रकृतिको अपराध हो।

अफगानिस्तानमा ‘युद्ध सरदार’ ले सार्वजनिक हितविरुद्ध हतियार बोकेर लुटपाट मच्चाउँछन्। हाम्रा अर्थमन्त्रीको गतिविधि त्यसभन्दा के कम छ? अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो। राष्ट्रहित गर्न बसेका कर्मचारीहरू कुन हविगतका रहेछन् त्यो पनि जगजाहेर भएको छ। स्थायी सरकार भनेको कर्मचारीतन्त्रको हदैसम्मको अस्थायी चरित्र पनि प्रष्ट भएको छ।

आजीवन आकर्षक तलब–भत्ता, सुविधा दिएर पालिएको र जागिर सकिएपछि जिन्दगीभर परिवारलाई समेत पेन्सन दिने ग्यारेन्टी गरेर पोषिएको स्थायी सरकार भनिने कर्मचारीले पनि देश र जनताविरुद्ध कुकर्म गर्न पाइँदैन भन्नसम्म सकेन! निरंकुश पञ्चायतीकालमा त्यतिखेरका कर्मचारी देवेन्द्रराज पाण्डेले प्रधानमन्त्री सूर्यबहादुर थापासँग पंगा लिए। जागिरलाई दाउमा राखे तर इमान छाडेनन्।

रामेश्वर खनाल भएको भए अर्थमन्त्रीको हर्कत सहँदै चूपचाप बस्थे होलान्? अर्थमन्त्रालयको लुटखसोटको यो भोर जुवा चलिरहेकाबेला मुलुकका मूर्धन्य अर्थशास्त्री भन्नेहरू चैँ के भन्छन्? खै, कहाँ गए तिनीहरू? सुशासन र विधिका तर्क अगाडि सार्ने कृष्ण ज्ञवाली, कृष्णहरि बाँस्कोटा, लीलामणि पौडेल, शान्तराज सुवेदीहरू कता गए? पूर्व अर्थसचिवहरू कुन दुलोभित्र पसे? कि आफ्नै पोल खुल्ने डरले त्राहीमाम भएका छन्? अनि पूर्वअर्थमन्त्रीहरूको फोरम कहाँ गयो? वर्षमान पुन त चूप हुने नै भए तर डा. रामशरण महत, प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डेहरू के भन्छन्? बोल्नु पर्दैन?

अर्थमन्त्री जनार्दन शर्माको नग्न क्रियाकलाप, राज्यको ढुकुटीमा यो निर्लज्ज लुट र नग्न नृत्य लर्तरो विषय होइन। सांसद किन बोल्दैनन्? के प्रतिपक्ष मात्र बोल्ने? नेपाली कांग्रेसका पूर्वअर्थमन्त्रीहरू कहाँ गए? अर्थमन्त्रीले बजेट पढिसक्न नपाइ रेडियो टिभीमा बोल्ने प्राध्यापक भनाउदा डाक्टरहरू कुन दुलोमा पसे? अरू त अरू, यहाँ पूर्वप्रधानमन्त्रीहरूको समेत क्लब छ रे। ती यतिखेर कहाँ छन्? प्रतिपक्ष बोल्नुलाई उसको आरोप भन्ने मात्र बुझिन्छ। तर पनि पाँच दलीय सत्तापक्षका दलहरूलाई संकोचसम्म नलाग्नुले यसमा सत्तासीन दलको सहमति सिधै सावित हुँदैन र?

सामुदायिक वन, गाउँलेको धन

गएको साता राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै विषयमा छुट्टाछुट्टै भेटघाट र छलफलमा सहभागी भइयो। भेटघाट, छलफल र विचार विमर्शहरू भए। अगुवा थियो, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल!

सामुदायिक वनको सफलता, अवसर र चुनौतीबारे राष्ट्रप्रमुख र प्रमुख राजनीतिक दलका नेताहरूसमक्ष गरिने प्रस्तुति छलफल र विचार विमर्श गरेर साझा धारणा बनाउने उद्देश्यबाट आयोजना गरिएको रहेछ। कार्यक्रममा सामुदायिक वनका विज्ञ, उपभोक्ता समूहरूका प्रतिनिधिहरूको उपस्थितिमा कार्यनीति, रणनीति, ऐन नियमबारे गहन छलफल भयो।

कार्यक्रम राष्ट्रपति भवन, महाराजगन्ज, एमाले कार्यालय, बालकुमारी च्यासल र नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा भएको थियो। सामुदायिक वन अभियान नेपालको वन, वातावरण र जैविक विविधताको मात्र सवाल होइन, यो त सुदूर गाउँमा रहेका सर्वसाधारण जनताको जीविकोपार्जनसँग जोडिएको सशक्त कार्यक्रम पनि रहेछ।

देशकै सबैभन्दा ठूलो सामुदायिक संगठन कति व्यापक रहेछ भने ३५ हजारभन्दा बढी समूहमा देशव्यापी रूपमा संगठित डेढ करोड बढी जनता यसमा आबद्ध रहेका आयोजकको दाबी थियो। छलफलका क्रममा यो त विश्वकै यस्तो मौलिक नेपाली कार्यक्रम रहेछ जसको सिको संसारभर गरिँदै रहेछ। ४० वर्षअघि वनविनासले नेपाल मरुभूमि बन्ने अन्तर्राष्ट्रिय अध्ययनको प्रतिवेदनले झस्केर सामुदायिक वनको योजना मान्न सरकार बाध्य बनेको रहेछ।

वनविनासले नांगा बनेका डाँडापाखा जनतालाई अविच्छिन्न उत्तराधिकारको अधिकारसहित हस्तान्तरण गर्न थालिएपछि गरिव विपन्न जनताले सामूहिक रूपमा वनको संरक्षण गर्न थालेका हुन्। नेपाली वन विकास र उपयोगिताको यो यस्तो मौलिक कार्यक्रम रहेछ जो दिगो वन विकास र वातावरणको क्षेत्रमा नेपाल भनेको सामुदायिक वन र सामुदायिक वन भनेपछि नेपाल भनेर पो चिन्न थालिएको रहेछ। यो सामुदायिक विकासको यस्तो आधारशीला रहेछ जसले १६ वटा मन्त्रालयले गर्ने काम स्थानीय तवरमा गर्दोरहेछ।

अर्थ मन्त्रालयमा राखिएको सिसिटिभीको फुटेजको खोजी हुँदा फुटेजहरू नै मेट्ने दुस्साहस गर्ने अर्थमन्त्रीको यो कार्य गंभीर प्रकृतिको अपराध हो। अफ गानिस्तानमा ‘युद्ध सरदार’ ले सार्वजनिक हितविरुद्ध हतियार बोकेर लुटपाट मच्चाउँछन्। हाम्रा अर्थमन्त्रीको गतिविधि त्यसभन्दा के कम छ?

सामुदायिक वन महासंघकी अध्यक्ष भारती पाठक र महासचिव विर्खबहादुर शाहीले राष्ट्राध्यक्ष र प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतृत्वसँगको यो छलफल सरकारले सामुदायिक वन अभियानलाई समाप्त पार्ने कदम चालिरहेकाले आयोजना गरिएको बताए।

उनीहरूले भने, सामुदायिक वन ऐन विपरित नियमावलीको नाउँमा समुदायलाई निमिट्यान्न पार्न लागेकाले नै यो स्तरमा छलफल गरेर दबाब सिर्जना गर्न खोजिएको हो। गैरकानुनी, अवैध र समुदायविरोधी नियमावली फिर्ता गर्ने सामुदायिक आन्दोलनको यो एक अंग हो।

बामदेवको तिर्सना

झलझली आँखामा, कस्तो बस्यो मायाप्रीति

सक्दिन म बिर्सन, तिम्रै हो यो लैजाउ जोवन!

नयाँनयाँ जवानी छ, नयाँनयाँ रंग

आफ्नो रूप हेरिहेरी आफैँ हुन्छु दंग

हेर नि यो गगन, मन मेरो झन् मगन...

सक्दिन म विर्सन, तिम्रै हो यो लैजाउ जोवन

जुन तिर्सनाले बामदेव गौतमले नेकपा एमाले फुटाए, एकताको नाउँमा फेरि तिर्सना देखाउन थाले। तर बामदेवलाई उनकै एकता पार्टीले कारबाही पो गरिदियो।

यही हो बामदेव प्रवृत्ति भनेको। कमल थापा र बामदेव गौतम प्रवृत्तिमा केही फरक छैन। यी दुबै पूर्वगृहमन्त्री राज्यसत्ताको हालिमुहाली बाहिर रहिरहन सक्दैनन्। यिनीहरू जुन तहबाट पनि बेइमानी गर्न पनि हच्कँदैनन्। लाभका लागि यिनले जतिखेर पनि बेइमानी गर्न तम्तयार रहन्छन्।

नेकपालाई छिन्नभिन्न पार्ने ग्रान्ड डिजाइनका औजार बनेका गौतमलाई अहिले अर्को कसैले औजार बनायो भने आश्चर्य नमाने हुन्छ किनभने बामदेवको तिर्सना नै सधैँभरि कसै न कसैको औजार बन्नु नै हो। बामदेवले जीवनको उत्तरार्धमा पनि बुझ्न नसकेको के भने नेपालमा पार्टी परम्परामा मूल पार्टीबाट जो निस्कन्छ, त्यो कमजोर हुन्छ। एमाले फुटेर २०५६ मा माले बन्दा बामदेव नेता थिए। चुनावमा पत्तासाफ भएपछि टिकेनन् र माउ पार्टी भन्दै एमालेमा फिर्ता भए।

फेरि उनको तिर्सना त्यहीँभित्र सुरु भयो। माओवादीसँग एमालेको एकीकरण भैसकेपछि फेरि बामदेवको तिर्सना चुलियो। चुनाव हारेर पनि राष्ट्रिय सभामा बलजफ्ती सदस्य भए। उनको तृष्णा त ओलीलाई हटाएर आफैँ प्रधानमन्त्री बन्नेसम्मको थियो। आफ्नो तिर्सना पूरा नभएपछि प्रचण्ड र माधव नेपाललाई नेकपा फुटाउन सहमत गराए। साह्रा दुनियाले यो दृश्य देखिरहेको छ। मैले जे गरेँ, ठीक गरेँ भन्दै नयाँ पार्टीको नाम दिएर अर्को तृष्णा बोकेर पत्रकार ऋषि धमलाकोे रिपोर्टस क्लबबाट झुल्किए। उनको तृष्णाछेपाराले चाटेको ढुंगोझैँ छ्याँग देखियो। श्रीमती, छोरो, आफू, आफ्ना सहयोगी र एजेन्टहरूसमेत दल घोषणा गर्न पुगे।

शेखर कोइरालाका अजेन्डा

कांग्रेसको महाधिवेशनबाट सभापतिमा पराजीत डा. शेखर कोइराला चुनाव हारिसकेपछि सभापति शेरबहादुर देउवाविरुद्ध उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगन थापासमेतलाई लिएर प्रधानमन्त्री देउवाको बेथितिको धज्जी उडाउँदै मुद्दाहरू बोकेर अघि सरेका छन्। डा. शेखर सभापति देउवाविरुद्ध ५ बुँदे कार्यक्रम लिएर सार्वजनिक रूपमा अगाडि बढ्नुले राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। शेखर समूहले अगाडि सारेका ५ बुँदा यसप्रकार छन्: 

१) सरकार प्रमुख हुँदा केपी ओलीले सबै अधिकार प्रधानमन्त्री कार्यालयमा लगेको आरोप कांग्रेसीहरूले लगाएका थिए। तर देउवा प्रधानमन्त्री बनेको वर्षदिन वित्न लाग्दा पनि ती निकाय प्रधानमन्त्री कार्यालयबाट फिर्ता गरेका छैनन्। यो नाजायज हो। फिर्ता गर्नुपर्छ।

२) शेरबहादुरको शासनकालमा अचाक्ली मूल्य वृद्धि भैरहेको छ।

३) शेरबहादुरको शासनकालमा सुशासन भएन।

४) यो सरकार भ्रष्टाचारमा लिप्त छ।

५) कृषिप्रधान देशमा सर्वत्र मलको हाहाकार छतर सरकार मौन छ।

झट्ट हेर्दा डा. शेखर कोइराला मौन छैनन् तर के कुरा उनी र उनको खेमाले बुझ्न सकेको देखिएन भने शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको लाइन बोकेका छन्। कोइरालाको विरासत बोकेको दावा गरे पनि शेखर गिरिजाप्रसाद भन्दा धेरै पर छन्। सिद्धान्त र आदर्शको कुरा गर्न थालेका छन्।

यद्यपि, शेखरले के कुरा पत्तो पाए जस्तो देखिएन भने शेरबहादुरसँग द्वन्द्व नै गर्नु छ भने किन चुनाव हारेर पनि देउवाको निगाहमा केन्द्रमा मनोनीत बनेका? यो त २ ठाउँबाट चुनाव हारेर माधव नेपाल प्रधानमन्त्री बन्न पुगेजस्तो भएन र भन्या! जसले माधव नेपाललाई प्रधानमन्त्री बनाइदियो त्यसैले डा. शेखरलाई केन्द्रीय सदस्य बनाइदिएको त होइन? हो भने यो उनको कमजोरी हो।

तर शेरबहादुर भने ढुक्कसँग गिरिजाप्रसाद कोइरालाको नीति अंगीकार गरेर शासनमा विराजमान देखिन्छन्। गिरिजाप्रसाद माओवादीलाई बोकेर जसरी सफलबनेका थिए, त्यो तरिका नैअबलम्बन गरेर सभापति शेरबहादुर प्रधानमन्त्री बनेका छन्। शेरबहादुर के कुरामा ढुक्क छन् भने उनी गिरिजाप्रसादले झैँ माओवादीसँग मिलेर नेपाली कांग्रेसलाई बलियो पार्दैछन्!

नयाँ मकै पर्व

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरविरोधी मकै पर्व यतिखेर नयाँ रूपमा देखिन खोजेको छ। सडक र पेटीमा मकै पोलेर बस्नेहरूलाई उठाएर सडक पेटी खाली गर्न काठमाडौँ महानगरपालिका के लागेको थियो मकै पोल्नेलाई टुँडिखेल खुला गर भन्ने नारा पो लाग्न थालेको छ। सामाजिक सञ्जाल हेर्दा अराजक भीडतन्त्रले बालेनका विरुद्ध नयाँ मकै पर्व सुरु गर्न लागेजस्तो देखिन्छ।

चुनावी अभियानमा जे गर्छु भनेर महानगरको नयाँ नेतृत्व निर्वाचित भएको थियो, राजधानीका सडक पेटी व्यवस्थापन गर्ने अभियानलाई नयाँ मकै पर्वझैँ उफ्रिएको देखियो। विधिको शासन, कानुनीराज, नागरिकहरूको स्वतन्त्र आवागमनको मार्ग सुनिश्चित गर्ने जिम्मेवारी बोकेको महानगरविरुद्ध नारा लागेको देखियो।

सुरुवात हो, सुरुवातमै बालेनलाई असफल सावित गर्न खोज्नेहरूको दिवास्वप्न मात्र हो नयाँ मर्क पर्व! बालेनले सुझबुझका साथ जनताको समेत सहभागितामा महानगरलाई व्यवस्थित, आकर्षक र सबैले गौरव गर्न लायकको राजधानी बनाउने अभियानमा सफलता हासिल गर्नुपर्छ। उनी ढुक्क भएर अघि बढ्नुपर्छ, यो नै चुनावमा उनलाई प्राप्त भएको मतको सम्मान हो। विचलित नहोऊ बालेन!

मलले खियाइदिएको घनश्याम!

घटना, दुर्घटना र परिघटना पनि गजबकै हुनेरहेछन्। अघिल्लो सरकारका कृषिमन्त्री घनश्याम भुसाललाई समयमा मल ल्याउन नसकेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त गरेनन् तर शेरबहादुुर देउवाले महेन्द्र यादवलाई कृषिमन्त्रीबाट वर्खास्त गरेर राष्ट्रियसभा सदस्य मृगेन्द्रप्रसाद सिंहलाई कृषि मन्त्रालय थमाएका छन्। घनश्यामले भने निक्लनुपरेको थिएन। उनी नै बरु प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री हटाउने क्याम्पमा सामेल भए।

कसरी नयाँ पुस्ताको एउटा भर्भराउँदो जाज्वल्यमान प्रतिनिधि घनश्याम भुसाल कृषि मन्त्री बने? मन्त्री बनेपछि के/कति कारणले उसले आफ्नो प्रमुख कार्य सम्पादन गर्न सकेनन्? त्यो अझै प्रष्ट भएको छैन। उनले कृषिमन्त्रीको प्रमुख जिम्मेवारी कसरी भूले? कि उनलाई पनि बिचौलियाले ह्विस्कीमै लट्ठ बनाइदिएका थिए? अथवा उनी आफ्नो कामबाट नराम्ररी चुके? लरतरो होइनन् घनश्याम भुसाल! २०४६ सालको उदीयमान नेता कसरी मलमा चिप्लियो?

प्रकाशित: २२ असार २०७९ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App